Friday, January 22, 2021

कूटनीतिक पहल नहुँदा ज्यालामा ठगिँदै महिला आप्रवासी श्रमिक

मुना कुँवर

 २०७७ माघ १०

दोलखा घर भएकी ३४ वर्षीया सुशीला खड्का तीन वर्षअगाडि काठमाडौंस्थित ब्लू स्काई म्यानपावरबाट रोजगारीका लागि कतार पुगेकी थिइन् । म्यानपावर कम्पनीलाई १ लाख ३० हजार बुझाएर गएकी उनी कतारस्थित ददमोर कम्पनीमा काम गर्थिन् । कोरोना संक्रमणअघिसम्म राम्रै काम भइरहेको उनको कम्पनी कोरोनाको महामारीपछि बन्द हुने अवस्थामा पुग्यो । कम्पनी बन्द हुने अवस्थामा पुगेपछि उनको रोजगारी गुम्यो, लामो समय कतारमै बेरोजगार बस्न बाध्य भइन् । सात महिना काम गरेको पारिश्रमिक पनि पाइनन् । कतारमा काम नपाएपछि साथीहरूसँग सहयोग मागेर उनी अहिले नेपाल फर्किएकी छिन् ।  

सिन्धुपाल्चोकी ३५ वर्षीया मनमाया तमाङ पनि कुवेतमा राम्रो कमाइ हुने सुनेर साथीहरूको सल्लाहअनुसार स्थानीय एक दलालको सम्पर्कमा पुगिन् । दलालमार्फत कुवेत जान म्यानपावर गएकी उनी कम्पनीले इजिप्ट राम्रो भएको भनेपछि त्यतै जाने निधो गरिन् । सोहीअनुसार म्यानपावर कम्पनीलाई उनले १ लाख ५० हजार र पासपोर्ट बुझाइन् । पासपोर्ट बुझाएको तीन महिनामा कम्पनीले उनलाई इजिप्टको भिसा पनि दियो ।

साथै, दुबईको भिजिट भिसा पनि हातमा दियो । म्यानपावरको सेटिङमा उनी दुबई हुँदै इजिप्ट पुगिन् । इजिप्ट पुगेपछि चारवटा दलालले उनलाई चार ठाउँ घुमाउँदै एउटा घरमा लगेर राखे । दुई दिनपछि काम गर्ने घरका मानिसले उनलाई लिन आए । उनले त्यो घरमा ६ महिना काम गरिन् । तर, मालिकले अमानवीय व्यवहार गरे । ‘हप्तामा एकपटक मात्रै राम्ररी खान दिन्थे । कसैसँग पनि सम्पर्क गर्न दिएनन् । पारिश्रमिक पनि दिएनन्,’ उनले भनिन् । ६ महिनापछि भने उनले साउदीमा रहेको भाइमार्फत इजिप्टस्थित काउन्सलरको सम्पर्कमा पुगिन् । काउन्सलरको सल्लाहबमोजिम उनले अर्को घरमा काम गर्न थालिन् । त्यो घरमा उनले करिब चार वर्ष काम गरिन् । तर, नेपाल फर्कने वेलामा घरमालिकले विभिन्न बहाना बनाई ६ महिनाको पारिश्रमिक नै दिएनन् । 

शारीरिक रूपमा अशक्त श्रीमान् र आर्थिक संकटले घेरिएकी झापाकी ४० वर्षीया विमला अधिकारी छोरीको टाउकोमा समस्या भएपछि झनै आर्थिक संकटमा परिन् । छोरीको उपचारका लागि घडेरी नै बैंकमा राखेर ३ लाख कर्जा लिएर उपचार गराइन् । तर, बंैकको ब्याज र किस्ता भुक्तानी गर्न नसकेपछि उनले वैदेशिक रोजगारीमा जाने निधो गरिन् । चिनेजानेका प्रकाश सुनुवारले ग्लोबल म्यानपावर कम्पनीमार्फत उनलाई अवैधानिक बाटोबाट कुवेत पुर्‍याए । ‘म्यानपावरले पहिला मलाई दिल्ली लग्यो । दिल्लीमा चार दिन बसँे । त्यसपछि दुबई हुँदै कुवेत लग्यो,’ उनले भनिन् ।  

केही वर्ष काम गरी बैंकको कर्जा तिर्ने सोचमा कुवेत पुगेकी अधिकारी अर्को फन्दामा परिन् । कुवेतमा काम गर्ने परिवारमा ६ महिनाको बच्चासहित ६ जनाको काम उनी एक्लैले गर्नुपथ्र्यो । त्यति काम गर्दा पनि घरमालिकले २४ घन्टामा एक छाक मात्रै खान दिने गरेको उनले सुनाइन् । ‘दिनमा एक छाक खान दिन्थे । दिसापिसाब गर्न पनि उनीहरूसँग अनुमति लिनुपथ्र्यो । केही गल्ती भयो भने हात नै हाल्थे,’ उनले भनिन् । घरमालिकको यस्तो व्यवहार सहन नसकेपछि चार महिनामा उनी भागेर कुवेतस्थित नेपाली दूतावास पुगिन् । दूतावासले आश्रय त दियो, तर नेपाल फर्काउन सकेन ।

दुई महिना दूतावासमा नै बसिन् । त्यति नै वेला उनका घरमालिकले उनलाई घरबाट भागेको मुद्दा लगायो । कुवेत प्रहरीले उनलाई दुईवटा जेलमा ११ दिनसम्म राख्यो । त्यसपछि कुवेत प्रहरीले नै उनलाई नेपाल फर्काइदियो । यति दुःख पाएर पनि अधिकारीले काम गरेको पारिश्रमिक भने पाइनन् । बैंकको कर्जाबाट घर–घडेरी उकास्न कुवेत हिँडेकी अधिकारी रित्तो हात फर्किइन् ।  

माथिका घटना उदाहरण मात्रै हुन् । वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली श्रमिकहरू ज्यालामा ठगिने गरेका छन् । तोकेको समयभन्दा बढी काम गर्नुपर्ने, बढी काम गरे पनि रकम भुक्तानी नहुने, कम्पनीले सम्झौताअनुसारको पारिश्रमिक नदिने, महिनौँसम्म पनि पूरै पारिश्रमिक नदिनेलगायतका समस्या नपाली श्रमिकले व्यहोर्दै आएका छन् । कोरोना संक्रमणपछि नेपाल फर्कने अधिकांश श्रमिकले ६ महिनासम्मको पारिश्रमिक नै नपाएको पीडितहरूले बताए । 

महिला श्रमिक झनै ठगीमा
वैदेशिक रोजगारीमा गएका श्रमिकहरूमा महिलाहरू ज्यालामा बढी ठगिने गरेको पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङले बताइन् । नेपाल सरकारले घरेलु श्रमिकलाई वैदेशिक रोजगारीमा जान प्रतिबन्ध गरेको छ । तर, अवैधानिक बाटो हुँदै घरेलु श्रमका लागि खाडी मुलुक जाने नेपाली महिला उत्तिकै छन् । यस्ता महिला श्रमिक बढी रोजगारदाताबाट ठगिने गरेको गुरुङको अनुभव छ । अवैधानिक रूपमा जाने महिला श्रमिकसँग कानुनी कागजपत्र केही पनि हुँदैन । जसका कारण रोजगारदाताले सहजै ठग्ने गरेको उनले बताइन् । ‘महिलाहरू गैरकानुनी रूपमा जाने हुँदा कानुनी कागजपत्र केही हुँदैन । त्यसैले ठगिँदा पनि न त सम्बन्धित मुलुकमा नै कानुनी उपचार पाउँछन्, न त नेपाल आएपछि नै पाउँछन्,’ उनले भनिन् । 

विभागसम्म उजुरी नै आउँदैन
वैदेशिक रोजगारीमा ठगिएका श्रमिकहरूमध्ये धेरै कमले मात्रै विभागमा उजुरी दिने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । विभिन्न संघ–संस्थाबाट श्रमिकहरूको समस्या सुनिएपछि औपचारिक माध्यमबाट श्रमिकहरूले विभागमा उजुरी नदिने गरेको उनले बताए । ‘श्रमिक ठगिएका हुन् भने उनीहरूले कानुनी उपचार पाउनुपर्छ । यसका लागि उजुरी दिनुहोस् भनेर हामीले बारम्बार आह्वान गरिरहेका छाँै । बाहिर समस्या जति छ, त्यति विभागमा उजुरी आउँदैन,’ उनले भने । 

कूटनीतिक पहलको कमी
वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली श्रमिकहरू कुनै न कुनै तरिकाले ज्यालामा ठगिने गरेको पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङले बताइन् । तर, यस विषयमा छलफल कम हुँदा के–कति समस्या परेका छन् भन्ने यकिन तथ्यांक नभएको उनको भनाइ छ । ‘हाम्रो संस्थासम्म आइपुग्ने अधिकांश वैदेशिक रोजगारीका समस्या ज्यालासँग जोडिएका छन् । कतिले महिनौँसम्मको ज्याला नै नपाई फर्किएका छन् । कतिले तोकेभन्दा कम ज्याला पाएका छन्,’ उनले भनिन् । यसलाई मात्रै नमुना मान्ने हो भने धेरै नेपाली श्रमिक विदेशमा ज्यालामा ठगिने गरेको उनको दाबी छ । 

ज्यालाको समस्यालाई सम्बोधन गर्न सरकारले नै कूटनीतिक पहल गर्नुपर्ने उनले सुझाइन् । ‘ज्याला पाउने श्रमिकको न्यूनतम अधिकार हो । यसलाई कार्यान्वयन गराउन सरकारले श्रम कूटनीतिक पहल गर्नुपर्छ । विदेशी मुलुकसँग श्रम सम्झौता गर्दा पनि यस विषयलाई महत्वका साथ राखिनुपर्छ,’ उनले भनिन् । 

https://www.nayapatrikadaily.com/news-details/58941/2021-01-23

No comments:

Post a Comment