Friday, August 16, 2013

पुराना शैलीका आधुनिक घर

पुराना शैलीका आधुनिक घर
स्पेनी नागरिक फर्नाण्डो लाजुयेलोसँगको सहकार्यमा कम्पनीले यस नमूना गाउ“को निर्माण कार्य शुरू गरेको हो । प्रमुख कार्यकारी अधिकृत पुरीका अनुसार २०६८ सालदेखि यो निर्माण योजना शुरू गरिएको हो । ५ वर्षभित्र गाउँ निर्माणको कार्य सम्पन्न गर्ने कम्पनीको योजना छ ।


काठमाडौंमा गगनचुम्बी अपार्टमेण्ट तथा सुविधासम्पन्न हाउजिङ निर्माण कार्य बढ्दै गएको छ । निर्माणसँगै यिनलाई प्रयोग गर्नेको सङ्ख्यामा पनि उत्तिकै वृद्धि भइरहेको छ । आधुनिक जीवनशैलीप्रति मानिस आकर्षित हुँदै जाँदा यस्ता सुविधासम्पन्न घर तथा अपार्टमेण्टको माग बढ्न थालेको हो । यस्ता आधुनिक (विदेशी) शैलीका घर निर्माणको क्रम बढिरहेको बेला आर्ते नमूना हाउजिङ कम्पनीले भने पुरानो शैलीका घर निर्माण गरिरहेको छ । यसलाई कम्पनीले ‘नमूना गाउँ’ नामकरण गरेको छ ।

कम्पनीले निर्माण गर्ने घर मल्लकालीन शैलीका छन् । यस्ता घर वातावरणमैत्री मात्र नभई सुन्दर पनि हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रवर्द्धक रवीन्द्र पुरी बताउँछन् । काठमाडौंनजिकै काभ्रे जिल्लाको साँगासँग जोडिएको सरस्वती डाँडा (दक्षिणी पहाड)मा कम्पनीले उक्त ‘नमूना गाउँ’ निर्माणको काम शुरू गरेको हो । ५४ रोपनी क्षेत्रफलमा फैलिएको नमूना गाउँमा ५० ओटा घर निर्माण गरिनेछ । नमूना गाउँमा बन्ने घर परम्परागत शैली तथा आधुनिक प्रविधिको संयोजनबाट निर्माण हुनेछन् । नेपाली संस्कृति तथा मौलिकता जोगाइराख्न नमूना गाउँको अवधारणा अघि सारेको पुरीको भनाइ छ ।

आशापुरी महादेवको मन्दिर जाने बाटोमै पर्ने यो गाउँ प्रदूषण र कोलाहलरहित छ । काठमाडौंको प्रदूषणबाट टाढा रहन चाहने मानिसलाई लक्षित गरी कम्पनीले नमूना गाउँको निर्माण शुरू गरेको हो । गाउँ अरनिको राजमार्गदेखि ९ सय मिटरको दूरीमा छ । त्यस्तै, काठमाडौंदेखि १५ दशमलव ५ किलोमिटर र भक्तपुर–सल्लाघारीदेखि ८ दशमलव ७ किलोमिटरको दूरीमा रहेको छ । यसैगरी, काभ्रे जिल्लाको व्यापारिक केन्द्र बनेपाबाट भने ४ किलोमिटरको दूरीमा पर्छ । नमूना गाउँबाट अन्नपूर्णदेखि गौरीशङ्कर हिमशृङ्खला र काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । नमूना गाउँमा निर्माण गरिने घरको शैली मात्र नभएर यहाँको प्राकृतिक सुन्दरताले पनि मानिसलाई आकर्षण गर्ने प्रवर्द्धक पुरीले बताए ।

घरका प्रकार
नमूना गाउँमा चार प्रकारका घर निर्माण गरिनेछन् । माटेघर, इँटेघर, ढुङ्गेघर र डाँचीघर । तर, अहिले कम्पनीले माटे, इँटे र ढुङ्गे गरी तीन प्रकारका घरको निर्माण गरिसकेको छ । यी घर भूकम्प प्रतिरोधात्मक किसिमले निर्माण गरिएका छन् । घरबाहिरबाट हेर्दा पुरानो नेपाली शैलीको देखिन्छ । तर, घरभित्रको संरचना भने आधुनिक शैलीको छ । गाउँभित्र बनेका घरमा बाहिर बस्ने तथा दृश्यावलोकन गर्न मिल्ने पिँढीको व्यवस्था गरिएको छ, जहाँबाट काठमाडौं, साँगाको महादेव, गौरीशङ्कर हिमशृङ्खला राम्रोसँग देख्न सकिन्छ । छिँडीलाई बैठक कोठामा रूपान्तरण गरिएको छ । छिँडीको एउटा कुनामा भान्सा तथा डाइनिङ, अर्को कुनामा बाथरूम तथा बीचमा ‘फायर प्लेस’ राखिएको छ । कोठाको बीच भागमा अग्राखका कलात्मक थाम छन् । कोठामा हावा प्रवाहका लागि झ्यालहरू राखिएको छ । छिँडीबाट पहिलो तलामा पुग्न कलात्मक काठकै भर्‍याङ बनाइएको छ । पहिलो तलामा बाथरूमसहितका दुईओटा सुत्ने कोठा छन् । मुख्य सुत्ने कोठाको बीचमा विभाजन (पार्टिशन) गरिएको छ । पार्टिशन गरिएको कोठालाई अध्ययनकक्षका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसैगरी, अर्को पाहुना कोठा रहेको छ ।

दोस्रो तला भने बुइँगलको अवधारणामा बनाइएको छ । यसलाई आवश्यकताअनुसार अध्ययन, योगा, व्यायाम तथा सामूहिक भेटघाट गर्ने हलका रूपमा पनि प्रयोग गर्न सकिन्छ । बुइँगलभन्दा माथि सानो कौशी छ । घरमा सिमेण्ट, प्लाष्टरको सट्टा चुन, ढुङ्गा, माटो, काठ र इँटाको धूलो मिसाएर बनाइएको सुर्की प्रयोग गरिएको छ । ‘यी सामग्री कम्पनीले स्थानीय स्रोतबाट नै तयारी गरेको हो, ’प्रमुख कार्यकारी अधिकारी पुरीले भने । घरका झ्यालढोका र दलिन आलसको तेलको परम्परागत चहकले टल्काइएको छ । घरको छानोका लागि झिँगटीको प्रयोग गरिएको छ । ढुङ्गा र इँटाको भित्ता तथा भुइँका लागि माटोको लिउन र तेलिया इँटाको प्रयोग गरिएको छ । घरमा अग्राख काठका बुट्टे ढिक शैलीका ढोका राखिएको छ ।

नमूना गाउँका अन्य योजना
स्पेनी नागरिक फर्नाण्डो लाजुयेलोसँगको सहकार्यमा कम्पनीले यस नमूना गाउ“को निर्माण कार्य शुरू गरेको हो । प्रमुख कार्यकारी अधिकृत पुरीका अनुसार २०६८ सालदेखि यो निर्माण योजना शुरू गरिएको हो । ५ वर्षभित्र गाउँ निर्माणको कार्य सम्पन्न गर्ने कम्पनीको योजना छ । पहिलो डेढ वर्षमा कम्पनीले १० ओटा घर निर्माण गर्ने लक्ष्य लिएको छ । यसैगरी, दोस्रो चरणको डेढ वर्षभित्र २० ओटा र अन्तिम चरणमा पनि उत्तिकै (२० ओटा) सङ्ख्यामा घर बनाइने उनले जानकारी दिए । घर निर्माण गर्दा इञ्जिनीयरिङको साथमा वास्तुशास्त्रलाई पनि उत्तिकै जोड दिइएको छ । गाउँभित्रै पानीको स्रोत पनि छ । साथै, ‘ट्रिटमेण्ट प्लाण्ट’ निर्माण गर्ने कम्पनीको योजना छ । ‘यसले गाउँमा बसोवास गर्ने मानिसलाई स्वच्छ पानी वितरण गर्नेछ, ’पुरीले भने ।

यसैगरी गाउँ भित्र नै अर्ग्यानिक खेती पनि गरिनेछ । गाउँभित्र बसोवास गर्ने मानिसलाई तरकारी खरीदका लागि अन्यत्र जानु नपर्ने उनले बताए । वैकल्पिक ऊर्जाका लागि सौर्य र वायु प्रणाली पनि प्रयोगमा ल्याइनेछ । गाउँभित्र बनाइने संरचना पनि पुरानै शैलीका हुनेछन् । परम्परा झल्किने नेपाली पहिचानका ढुङ्गेधारा, पाटी, चैत्य, मन्दिर, चौतारोको निर्माण गरिनेछ । ५ वर्षसम्म नमूना गाउँको व्यवस्थापन कम्पनीले नै गर्नेछ । ५ वर्षपछि गाउँमा बसोवास गर्ने समूहलाई नै व्यवस्थापन कार्यको जिम्मा दिइनेछ ।

घरको मूल्य

कम्पनीले घरअनुसारको मूल्य तोकेको छ । ढुङ्गेघरको मूल्य रू.१ करोड १० लाख रहेको छ । इँटेघरको मूल्य १ करोड तथा माटेघरको मूल्य ९० लाख रुपैयाँ तोकिएको प्रमुख कार्यकारी अधिकृत पुरीले जानकारी दिए । ‘पहिलो चरणमा घर निर्माण गर्न न्यनूतम पनि पाँच आना जमीन आवश्यक पर्छ, ’उनले भने । कम्पनीले एक आनाको मूल्य ५ लाख रुपैयाँ तोकेको छ । जमीन खरीद गर्ने व्यक्तिको रुचिअनुसार कम्पनीले घर निर्माण गर्नेछ । ढुङ्गेघर निर्माणका लागि रू.६० लाख, इँटेघरका लागि ५५ लाख तथा माटेघरका लागि ५० लाख रुपैयाँ लाग्नेछ । घर निर्माण गर्न चाहने व्यक्तिले २५ प्रतिशत अग्रिम भुक्तानी दिनुपर्नेछ । बूकिङ भएको १८ महीनाभित्रै घर निर्माण सम्पन्न गरिसक्ने व्यवस्था मिलाइएको छ ।

पुरानो शैलीको घर निर्माण गर्दा शुरूमा विक्री नहोला कि भन्ने डर भए पनि अहिले भने यस्ता घरप्रति मानिसको आकर्षण बढेको पुरीको भनाइ छ । पहिलो चरणमा निर्माण गरिएका १० घरमध्ये सातओटा बूकिङ भइसकेका छन् । ‘बूकिङका बेला पनि मानिसको छनोट गरिनेछ, ’पुरी भन्छन्, ‘रहर र शौखका लागि मात्रै घर खरीद गर्ने व्यक्तिलाई निरुत्साहित गर्ने कम्पनीको योजना छ । ’वास्तवमै नेपाललाई माया गर्ने र नेपालीपन भएका मानिसलाई घर छनोटमा प्राथमिकता दिइने उनले प्रस्ट पारे ।
http://www.abhiyan.com.np/new/Articles/view/30123

Friday, August 9, 2013

एउटै छानामुनि घरजग्गासम्बन्धी सबै सेवा उपलब्ध छन्

मुना कुँवर

 

युवराज श्रेष्ठयुवराज श्रेष्ठ
कार्यकारी निर्देशक,‘द पोर्टल’ प्रालि

एउटै छानामुनि घरजग्गासम्बन्धी सबै सेवा उपलब्ध छन्
भारत र अष्ट्रेलियाबाट इञ्जिनीयरिङमा उच्चशिक्षा हासिल गरेका युवराज श्रेष्ठ हाल रियल इस्टेट तथा इञ्जिनीयरिङसम्बन्धी काम गर्ने कम्पनी ‘द पोर्टल’का कार्यकारी निर्देशक छन् । विदेशमा प्राप्त अवसरलाई छाडेर आफ्नो अध्ययन तथा अनुभवलाई स्वदेशमै प्रयोग गर्ने उद्देश्यले श्रेष्ठ नेपाल फर्किएका हुन् । एक दशकदेखि घरजग्गा निर्माण व्यवसायमा आबद्ध श्रेष्ठसँग नेपालको घरजग्गा व्यवसायको अवस्थाका विषयमा अभियान संवाददाता मुना कुँवरले गरेको कुराकानीको सार :

घरजग्गा कारोबारको अवस्था कस्तो छ ?

अहिले नेपालमा घरजग्गा व्यवसायको अवस्था राम्रै छ । हालै गरिएको एक सर्वेक्षणले काठमाडौंको जनसङ्ख्याअनुसार ४० हजार घर अपुग रहेको देखाएको छ । यसले नेपालमा घरजग्गा व्यवसायको अवस्था अझै राम्रो भएको सङ्केत गर्छ । तर, केही वर्षअघि भने धेरै मानिस अर्काको देखासिकी गर्दै यस व्यवसायमा लागे । थोरै समयमा धेरै नाफा कमाउने होडमा मानिसले गरिरहेको काम छाडेर पनि यस व्यवसायमा हाम फालेका थिए । त्यसले गर्दा यस व्यवसायलाई हेर्ने मानिसको दृष्टिकोण नकारात्मक भएको छ । यसैगरी, अहिले अपार्टमेण्ट तथा घर निर्माण गर्ने कम्पनी प्रशस्त खुलेका छन् । तर, अधिकांश कम्पनीसँग निर्माणसम्बन्धी राम्रो ज्ञान छैन । त्यसकारण यस्ता कम्पनीमा विभिन्न समस्या पनि देखापर्ने गरेका छन् । यद्यपि, बजारमा केही राम्रा कम्पनी पनि छन् । ती व्यावसायिक रूपमै अगाडि बढिरहेका छन् ।

शहरी क्षेत्रमा मानिसमा कस्तो खालका घर बनाउने ‘ट्रेण्ड’ छ ?

केही समयदेखि मानिस अपार्टमेण्ट तथा हाउजिङप्रति आकर्षित थिए । आधुनिक शैली तथा सुविधासम्पन्न हुने भएकाले पनि यसप्रति मानिसको चासो बढेको हो । तर, अहिले भने मानिसमा आफ्नै घरको चाहना बढिरहेको छ । उचित मूल्य र आधुनिक शैलीका घरप्रति मानिसको चासो बढ्न थालेको छ । त्यसैले, अहिले नेपालमा कम मूल्यमा आधुनिक शैलीमा निर्माण गरिएको चिटिक्क परेको घर बनाउने ट्रेण्ड छ । 

उपत्यकामा घर निर्माण गर्दा भूकम्पीय जोखीमलाई कत्तिको ध्यान दिइन्छ ?

केही वर्षअघि बनेका घर भूकम्पीय दृष्टिकोणले असुरक्षित छन् । काठमाडौंमा यस्ता घर थुप्रै छन् । तर, केही समययता भने भूकम्पका विषयमा मानिस सचेत हुन थालेका छन् । यससम्बन्धी चेतनाको विकास हुँदै गएको छ । साथै, घर निर्माणमा अत्याधुनिक वैज्ञानिक प्रविधिको प्रयोग हुन थालेको छ । त्यसैले, पहिलेको तुलनामा अहिले निर्माण भएका घर भूकम्पीय दृष्टिकोणमा बलिया र सुरक्षित छन् ।

घर बनाउन कस्तो जग्गा उपयुक्त हुन्छ ?

घर निर्माण गर्दा जग्गाको छनोट महत्वपूर्ण विषय हो । घर बनाउने जग्गा सामाजिक तथा प्राविधिक रूपमा उपयुक्त हुनुपर्छ । जग्गावरपरको समाजिक परिवेश सभ्य हुनुपर्छ । जग्गा फराकिलो हुनुपर्छ । जग्गामा बाटो, पानीको पाइप, ढलको पाइप पुगेको हुनुपर्छ । साथै, इञ्जिनीयरिङ र वास्तुका दृष्टिकोणले चार कुना भएको जग्गा घर बनाउन उत्तम मानिन्छ ।

सुरक्षित घर बनाउन केके विषयमा ध्यान दिनुपर्छ ?  

घरसँग मानिसको जीवनका धेरै विषय जोडिएका हुन्छन् । त्यसैले, घर बनाउँदा धेरै विषयमा ध्यान पुर्‍याउनुपर्छ । उदाहरणका लागि जग्गाको छनोट, निर्माण सामग्री र निर्माण गर्ने कम्पनीको छनोटमा ध्यान दिनुपर्छ । यस्ता विषयको छनोट गर्दा गुणस्तरमा ध्यान दिनुपर्छ । केही रकम जोगाउने सुरमा कमजोर घर बनाउनुहुँदैन । गुणस्तरीय निर्माण सामग्री तथा आकर्षक डिजाइनको घर बनाउनुपर्छ । यसका लागि राम्रो निर्माण कम्पनी तथा सक्षम इञ्जिनीयरको आवश्यकता पर्छ ।

घर निर्माण गर्दा इञ्जिनीयरले औसत पारिश्रमिक कति लिने गरेका छन् ?

इञ्जिनीरयले लिने पारिश्रमिक कहिल्यै निश्चित हुँदैन । यसमा विभिन्न विषयले प्रभाव पारेको हुन्छ । उदाहरणका लागि घरको आकार, बनोट तथा इञ्जिनीयरको दक्षताले पनि पारिश्रमिक निर्धारण गर्छ । यद्यपि, नेपाली बजारमा सामान्य घर निर्माण गर्दा भर्खरै कोर्स पूरा गरी काम थालेका इञ्जिनीयरले ७५ हजार रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । यसैगरी, पुराना तथा दक्ष इञ्जिनीयरले २ लाख रुपैयाँसम्म लिने गरेका छन् ।

तपाईंको कम्पनीले केकस्तो सेवा उपलब्ध गराउँछ ?

मानिसलाई एउटै छानामुनि सबै प्रकारका सुविधा दिने उद्देश्यले हाम्रो कम्पनीको स्थापना भएको हो । यो कम्पनी नयापुस्ताको परिकल्पना हो, जुन ललितपुरको झम्सिखेलमा अवस्थित छ । हामीले अष्ट्रेलियन एनआरएन (गैरआवासीय नेपाली) एशोसिएशनसँग पनि मिलेर काम गरिरहेका छौं । अष्ट्रेलियामा रहेका नेपालीलाई नेपालमै लगानी गर्न प्रेरित गरिरहेका छौं । हामीले एउटै छानामुनि घरजग्गासम्बन्धी सबै सेवा प्रदान गरिरहेका छौं । आर्किटेक्ट र इञ्जिनीयरिङ, भवन निर्माण, घरजग्गा खरीदविक्री, जानकारी तथा सुझावलगायत मार्केटिङ सेवा पनि हामीले यही कम्पनीद्वारा प्रदान गर्दै आएका छौं । साथै, हामीले दक्ष कर्मचारीद्वारा गुणस्तरीय सेवा प्रदान गर्दै आएका छौं । अहिले हामी सानेपा र इमाडोलका परियोजनाहरूमा व्यस्त छौं । अन्य परियोजना पनि शुरू हुने क्रममा छन् । यसैगरी, काठमाडौंको सुविधासम्पन्न स्थानमा हामीले नयाँ योजना शुरू गर्न लागेका छौं, जहाँ १५ ओटा घर निर्माण गरिनेछ । यो योजना हामीले दशैंअघि नै सार्वजनिक गर्नेछौं ।
http://www.abhiyan.com.np/new/Articles/view/29822

Wednesday, August 7, 2013

दक्ष व्यक्तिले मासिक न्यूनतम रू. ४० हजार कमाउँछन्

मुना कुँवर

 
दक्ष व्यक्तिले मासिक न्यूनतम रू. ४० हजार कमाउँछन्


टङ्कप्रसाद भट्टराई
उपाध्यक्ष, मानव संसाधन विभाग, सुबिसु केबल नेट प्रालि

नेपालमा अहिले सूचनाप्रविधिको क्षेत्रमा दक्ष कर्मचारीको उपलब्धता कस्तो छ ?

पहिलेको तुलनामा अहिले इन्फर्मेशन टेक्नोलोजी (आईटी)को क्षेत्रमा कर्मचारीको उपलब्धता सहज छ । नेपालमा अहिले थुप्रै आईटी कलेज सञ्चालनमा छन् । त्यस्ता कलेजबाट दक्ष जनशक्ति उत्पादन पनि भइरहेका छन् । त्यस्तै विभिन्न सूचनाप्रविधिसँग सम्बन्धित कम्पनीले पनि जनशक्ति उत्पादन गर्दै आएका छन् । यस्तै विविध कारणले पनि सूचनाप्रविधि क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता सहज बन्दै गएको हो ।

कम्पनीको विकासका लागि मानव संसाधन विभागले कस्तो भूमिका खेलेको हुन्छ ?

कुनै पनि कम्पनीको दिगो विकासका लागि मानव संसाधन विभागको भूमिका महत्वपूर्ण हुन्छ । कम्पनीको मुख्य अङ्ग भनेको कर्मचारी हो । विभागले कर्मचारीको नियुक्ति, विकास तथा कर्मचारीबाट उच्च प्रतिफल लिन विभिन्न गतिविधि सञ्चालन गर्छ । उपयुक्त समयमा सही कर्मचारीको छनोट गने, कर्मचारीलाई आवश्यकताअनुसार तालीम प्रदान गर्ने, कर्मचारीबाट धेरै काम लिन उनीहरूलाई उत्प्रेरित गर्नेजस्ता काम विभागले नै गर्छ ।

Friday, August 2, 2013

वास्तुशास्त्रअनुसार घर बनाउँदा राम्रो हुन्छ

 

राजेन्द्र न्यौपानेराजेन्द्र न्यौपाने
प्रबन्ध निर्देशक, पर्फेक्ट कन्ष्ट्रक्शन एण्ड इञ्जिनीयरिङ प्रालि

वास्तुशास्त्रअनुसार घर बनाउँदा राम्रो हुन्छ
पोखरामा घर निर्माण व्यवसायको अवस्था कस्तो छ ?

पोखरामा गतवर्षको तुलनामा यस वर्ष घर निर्माण हुने क्रम घटेको छ । पोखरा उपमहानगरपालिकाले घर निर्माणसम्बन्धी नयाँ नीति २०७० वैशाख १ गतेदेखि लागू गरेको छ । नयाँ नीतिमा घर बनाउँदा कन्सल्ट्याण्ट राख्नुपर्ने, जमीनमुनि ढलान गर्नुपर्ने, डबल टाइबिम राख्नुपर्ने लगायतका छन् । यसले गर्दा पनि यस वर्ष ३० देखि ४० प्रतिशतले घर निर्माण कम भएको हो । नयाँ नियमअनुसार घर बनाउँदा निर्माण लागत करीब ४० प्रतिशत बढ्छ । तर पनि नेपालमा घर निर्माण गर्ने तथा इण्टेरियर गर्ने क्रम बढ्दो छ । विदेश गएर आउनेहरूले त्यही सिको गर्न थालेका छन् । घर होस् वा कार्यालय हेर्दा राम्रो तथा सुन्दर देखिनुपर्छ भन्ने सबैको मान्यता छ । त्यसैले पनि घर निर्माण गर्ने व्यवसाय फस्टाएको हो । रू.१ करोडसम्मको घरजग्गा कारोबारमा स्रोत देखाउन नपर्ने नियमले यो क्षेत्रलाई सकारात्मक बनाएको छ । समग्रमा यो क्षेत्रको भविष्य आशालाग्दो छ ।

मानिसले घर बनाउँदा ध्यान दिनुपर्ने मुख्य विषय के हो ?

मानिसले घर बनाउँदा ध्यान दिनुपर्ने मुख्य विषय भनेको निर्माण सामग्रीको गुणस्तर हो । अधिकांश मानिसले घर बनाउँदा ठेकेदारलाई जिम्मेवारी दिने गर्छन् । यसरी सबै जिम्मेवारी ठेकेदारलाई दिँदा घर बनाएको केही वर्षमा विभिन्न समस्या देखा पर्छन् । उदाहरणका रूपमा घरको भित्तामा चिरा पर्ने, पानी चुहिने, ढुसी पलाउने, ढोका र झ्यालमा समस्या हुने आदि हुन्छ । तसर्थ, घर बनाउने व्यक्ति आफूले निर्माण सामग्रीको गुणस्तरमा विशेष ध्यान दिनुपर्छ । यसका लागि विश्वसनीय निर्माण कम्पनीको सहायता लिन सकिन्छ । त्यसैगरी घर बनाउनुअघि बजेटलाई ध्यान दिनुपर्छ । जति बजेट छ, सोहीअनुसारको मात्रै घर निर्माणको थालनी गर्नुपर्छ । घरको डकोरेशनमा घर निर्माणभन्दा बढी खर्च हुन्छ । त्यसैले, घर बनाउन मानिसहरू ऋण लिन बाध्य हुन्छन् । तसर्थ, पछिसम्मको खर्चलाई अनुमान गरी बजेटअनुसारको घर निर्माण थालनी गर्नुपर्छ ।

घर बनाउँदा जग्गाको छनोट कसरी गर्ने ?  

घर निर्माण गर्दा जग्गाको छनोटलाई विशेष ध्यान दिनुपर्छ । घर निर्माण गर्न लागेको जग्गा खुला हुनुपर्छ । जग्गामा सडक, पानीको सुविधा तथा वरपरको सामाजिक परिवेश पनि राम्रो हुनुपर्छ । पोखराको हकमा हेर्ने हो भने पूर्व र उत्तर कोण भएको जग्गालाई सबैभन्दा उपयुक्त मानिन्छ । किनभने, पूर्व र उत्तर कोण परेको जग्गा भएको खण्डमा हिमालको दृश्यलाई घरबाट नै नियाल्न सकिन्छ । यसैगरी घर बनाउँदा इञ्जिनीयरिङ तथा वास्तुलाई पनि ध्यान दिनुपर्छ । यसो भएमा घर प्राविधिक तथा धार्मिक रूपमा पूर्ण हुन्छ । घर बलियो, सुन्दर हुनुका साथै घरमा सकारात्मक वातावरण सृजना हुन्छ ।

घर निर्माणमा वास्तुशास्त्रको कत्तिको महत्व हुन्छ ?

घर निर्माण गर्दा जति इञ्जिनीयरको आवश्यकता पर्छ त्यति नै वास्तुशास्त्रीय ज्ञान हुनु जरुरी छ । इञ्जिनीयरले घरको संचरनालाई बलियो बनाउने काम गर्छन् भने वास्तुशास्त्रले घरको कोण निर्धारण गर्छ । घरको कोण मिलेको खण्डमा मात्र घरभित्र रहने व्यक्तिमा सुख, शान्ति र समृद्धि छाउँछ । वास्तुशास्त्रमा वैज्ञानिक अध्ययन गरेर कहाँ र कसरी घर निर्माण गर्ने भन्न पत्ता लगाइएको हुन्छ । त्यसैले, वास्तुशास्त्रअनुसार घर बनाउनु राम्रो हुन्छ । 

घर निर्माण व्यवसायीका प्रमुख समस्या केके हुन् ?

यो व्यवसायको मुख्य समस्या भनेको दक्ष कामदारको अभाव हो । युवाहरू रोजगारीका लागि विदेशिन थालेपछि निर्माण क्षेत्रमा जनशक्तिको अभाव हुन थालेको हो । राम्रो पारिश्रमिक पाउँदा पनि युवाहरूले यस्ता कामलाई बेवास्ता गरिरहेका छन् । सबैको प्राथमिकता कार्यालयमा काम गर्ने मात्र हुन्छ । जनशक्तिको अभावका कारण मैले चाहेर पनि आफ्नो व्यवसायलाई विस्तार गर्न सकेको छैन । यो मेरो मात्र होइन, अन्य निर्माण व्यवसायीको पनि समस्या हो । त्यस्तै, अस्थिर सरकारले देशको आर्थिक अवस्था अस्तव्यस्त बनाएको छ । घर निर्माणको कामका लागि वर्षौं समय लाग्छ । त्यसैले, सम्झौता गरेको समयको तुलनामा काम सकिँदा निर्माण सामग्रीको मूल्य धेरै बढेको हुन्छ । त्यतिबेला भने हामी घाटामा पर्छौं, जुन हाम्रा लागि ठूलो चुनौती हो ।

पोखरामा रहेका अन्य निर्माण कम्पनी र तपार्इंको कम्पनीबीच के फरक छ ?

पोखरामा रहेका धेरै निर्माण व्यवसायीले आआफ्नै तरीकाबाट काम गरिरहेका छन् । पोखरामा पहिलोपटक सबै सुविधा एउटै छानामुनि दिने प्रयास हामीले गरेका हौं । घरलाई पूर्ण रूपमा मजबुत तथा सुन्दर बनाउन इञ्जिनीयर, वास्तुशास्त्र, इण्टेरियर तथा निर्माण प्रविधिको आवश्यकता पर्छ । हामीले यी सबै सुविधा एउटै कम्पनीबाट दिने गरेका छौं, जुन पोखराका लागि भने पहिलोपटक हो ।  
http://www.abhiyan.com.np/new/Articles/view/29450

Thursday, August 1, 2013

विदेश जानेलाई सचेत र सक्षम बनाउँदै ‘पौरखी नेपाल’

विदेश जानेलाई सचेत र सक्षम बनाउँदै ‘पौरखी नेपाल’

नेपालबाट वैदेशिक रोजगारीका लागि दैनिक १ हजार ५ सयभन्दा बढी मानिस विभिन्न मुलुकमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । नेपालबाट रोजगारीका लागि विदेश पलायन हुने क्रम दिनप्रति दिन बढ्दो छ । वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषणले नै अहिलेको अर्थतन्त्रलाई धानिरहेको छ । तर, धेरै नेपालीहरू वैदेशिक रोजगारीसम्बन्धी आवश्यक जानकारीको अभावमा अल्मलिने तथा ठगिने गरेको पौरखी नेपालकी प्रवक्ता सत्रकुमारी गुरुङ बताउँछिन् । अझ पछिल्लो समयमा विदेशिने नेपाली महिलाको सङ्ख्या पनि बढ्दो छ । यो क्रमसँगै उनीहरू विभिन्न किसिमको शोषण र दुव्र्यहारको शिकार हुने डर पनि उत्तिकै बढेको छ ।

वैदेशिक रोजगारीमा जाने महिलाहरू आफूले गर्ने कामको प्रकृति, तह, शीप र सूचनाको अभावका कारण स्वदेशमै ठगिने गरेको उनको भनाइ छ  । म्यानपावर कम्पनीले गरेको शर्तअनुसार विदेशमा काम, तलब, सुविधा नपाएको दाबी गर्ने नेपाली धेरै छन् । त्यसैले, कामदारहरूले आफू जाने देशको श्रमसम्बन्धी ऐन, मापदण्ड, कामदारको हकअधिकार तथा सेवासुविधासम्बन्धी जानकारी राख्नुपर्छ ।