मुना कुँवर
एक वर्षमा २० लाख पर्यटकलाई स्वागत गर्ने । यो संकल्प सन् २०२० का लागि निर्धारण गरिएको राष्ट्रिय उद्देश्य हो । त्यसैले सन् २०२० लाई भ्रमण वर्षका रूपमा घोषणा गरिसकिएको छ । निकै उत्साहका साथ घोषणा गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन अब एक महिना मात्रै बाँकी छ । सन् २०१८ मा करिब १२ लाख पर्यटक नेपाल आएकामा त्यसको दुई वर्षभित्रै ८ लाखभन्दा बढी पर्यटक ल्याउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्ष सफल हुनेमा सरकार आफैँ र पर्यटक व्यवसायीसमेत अझै विश्वस्त भने देखिँदैनन् ।
नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्व बजारमा स्थापित गर्न सरकारले आव ०७५/७६ को बजेटमार्फत भ्रमण वर्ष २०२० को घोषणा गरेको हो । तर, भ्रमण वर्षको प्रचार–प्रसार, तालिम, भ्रमण र छलफलबाहेक पूर्वाधार निर्माणको तयारीमा भने सरकारको ध्यान गएको देखिँदैन । तयारीका लागि पर्याप्त समय र बजेट हुँदाहुँदै पनि पूर्वाधार निर्माण कार्यमा सरकारले बेवास्ता गरेको पर्यटनविज्ञ चन्द्र रिजालले बताए । ‘भ्रमण वर्ष सुरु हुन एक महिना बाँकी छ । तर, भ्रमण वर्षको अनुभूत हुने गरी गतिविधि भने भएका छैनन्,’ उनले भने ।


