चंकी क्षेत्री
प्रमुख कार्यकारी अधिकृत
सगरमाथा इन्स्योरेन्सका
बिमाका लागि नेपाल अधिक सम्भावनाको क्षेत्र हो । भौगोलिक विकटताका कारण नेपालमा जति जोखिम छ बिमा कम्पनीका लागि त्यति नै अवसर पनि छ ।
तर, सीमित क्षेत्रमा मात्रै कम्पनीहरू केन्द्रित हुँदा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको बताउँछन् सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री ।
बिमाक्षेत्रमा लामो समयको अनुभव बटुलेका क्षेत्री नेपालमा बिमाका लागि अनगिन्ती अवसर देख्छन् । सन् १९९१ मा सहायक पदका लागि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका क्षेत्री सन् १९९३ मा भने अफिसरका रूपमा युनाइटेड इन्स्योरेन्समा प्रवेश गरेका थिए ।
उनी त्यतिमा मात्रै सीमित रहेनन् । पाँच वर्ष युनाइटेडमा काम गरेपछि सन् १९९९ मा उनी सगरमाथा इन्स्योरेन्स कम्पनीमा सहायक म्यानेजरका रूपमा प्रवेश गरे । गत असारदेखि उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । उनै क्षेत्रीसँग नेपालको बिमा व्यवसायका विषयमा कारोबारकर्मी मुना कुँवरले गरेको कुराकानी :
सरकारले चालू आर्थिक वर्षदेखि नै बिमा कम्पनीहरूलाई ५ प्रतिशत लघुबिमा जारी गर्न अनिवार्य गरेको छ, तर तपाईंहरूले त अहिलेसम्म जारी गर्नुभएको रहेनछ नि ?
लघुबिमा भनेर बिमा समितिले निर्जीवन बिमा कम्पनीका लागि विषेश गरी तीनवटा योजना छुट्ट्याएको छ । एउटा १ लाख बिमांक रकमको व्यक्तिगत दुर्घटना, ३५ हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा र २ लाख बिमांक रकमको घर बिमा । सरकारले ल्याएको योजना राम्रो भए पनि व्यावहारिक कठिनाइ भने छन् ।
लघुबिमाका जुन लक्षित वर्गहरू छन् उनीहरूसम्म पुग्न कम्पनीहरूलाई गा¥हो छ । किनभने सरकारले ७५ प्रतिशत अनुदान दिएर सञ्चालन गरेको कृषि बिमा नै जारी गर्न अप्ठ्यारो भएको अवस्थामा लघुबिमा जारी गर्नु अर्को चुनौती हो । कम्पनीहरूलाई समस्या भनेको लक्षित वर्गसम्म पुग्नु नसक्नु हो ।