काठमाडौं : नयाँ जीवन बिमा कम्पनीहरूले कारोबार सुरु गरेपछि बिमा समितिले निर्जीवन बिमा कम्पनी सञ्चालनका लागि सैद्धान्तिक सहमति दिन सुरु गरेको छ । आइतबार तीन निर्जीवन बिमा कम्पनीरुले सैद्धान्तिक सहमति पाएका छन् ।
निर्जीवन बिमा व्यवसाय सञ्चालनका लागि समितिमा निवेदन दिएका चार कम्पनीमध्ये सानिमा, अजोड र जनरल इन्स्योरेन्स कम्पनीले सैद्धान्तिक सहमति पाएको समिति स्रोतले जनाएको छ ।
समितिबाट सैद्धान्तिक सहमति पाएका कम्पनीहरूलाई पुँजी कायम गरी आउन तीन महिनाको अवधि दिइएको छ । समितिको निर्देशनअनुसार उक्त अवधिमा पुँजी कायम गरी आउने कम्पनीले मात्रै सञ्चालन अनुमति पाउनेछन् । सञ्चालन अनुमति पाएका कम्पनीले तीन महिना भित्रका आवश्यक पूर्वाधार तयारी गरी कारोबार सुरु गर्नुपर्नेछ ।
बिमा व्यवसाय सञ्चालनका लागि आव २०६४/६५ मा यी कम्पनीहरु कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भइ बसेका थिए । तत्कालीन समयमा पाँच निर्जीवन बिमा कम्पनी कार्यलयमा दर्ता भएका थिए । तर, समितिले अद्यावधिक भएर आउन निर्देशन दिँदा चार वटा कम्पनीमात्रै समितिमा पुगेका थिए । दर्ता भएका पाँच कम्पनीमध्ये आइडियल जनरल इन्स्योरेन्स आफैंमा खारेजीमा गएको थियो ।
