मुना कुँवर
चैत २५ देखि दर्ता प्रक्रिया, जेठदेखि स्वास्थ्य सेवा
चैत १६, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम कैलाली जिल्लाबाट शुरू हुने भएको छ । सो कार्यक्रम स्वास्थ्य मन्त्रालयले शुरू गर्न लागेको हो । पहिलो चरणका लागि छानिएका तीन जिल्लामध्ये कैलाली जिल्लाबाट कार्यक्रम सञ्चालन गर्न लागिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले बताए । उक्त कार्यक्रम सञ्चालनका लागि पहिलो चरणमा सरकारले इलाम, बाग्लुङ र कैलालीलाई छनोट गरेको थियो । कैलालीमा कार्यक्रम चैत महीनामै शुरू हुने र त्यसका लागि चैत २५ गतेदेखि दर्ता प्रक्रिया थालिने पनि लोहनीले जानकारी दिए । उनले भने, ‘जेठदेखि भने स्वास्थ्य सेवा नै शुरू गरिनेछ ।’
बीमितको स्वास्थ्य उपचारका लागि मन्त्रालयले स्थानीय स्वास्थ्य संस्था तथा अस्पतालहरूसँग सम्झौता गरिसकेको छ । कोहलपुर हस्पिटल, मेलकुना हस्पिटल, धनगढी हस्पिटल, टीकापुर हस्पिटल तथा चार प्राथमिक स्वास्थ्य केन्द्रसँग सम्झौता गरिएको समितिले बताएको छ । त्यस्तै, कार्यक्रमका लागि कैलाली जिल्लामा १ सय २४ जना स्वयंसेवकसमेत परिचालन गरिएको छ । समितिका अनुसार स्वयंसेवकहरूलाई आवश्यक तालीमसमेत दिइसकिएको छ ।