मुना कुँवर
२०७७ कार्तिक २
धनकुटाका मणिकुमार राई (३४ वर्ष) करिब एक वर्षअघि रोजगारीका लागि कम्बोडिया पुगे । सहपाठी साथीका भिनाजु नाता पर्ने हरिकुमार राईले कम्बोडियामा राम्रो जागिर पाइने बताएपछि उनी लोभिएका थिए । धनकुटामै निर्माणसम्बन्धी काम गर्दै आएका मणिकुमारलाई भोजपुरका हरिकुमारले कम्बोडियामा सोही क्षेत्रमा काम गर्दा नेपालभन्दा राम्रो आम्दानी हुने भन्दै फकाएका थिए ।
हरिकुमारले कम्बोडियामा आफ्नै भाइ सागरकुमार राईले निर्माण क्षेत्रमा काम गर्दै आएकाले जागिर निश्चित भएको ढाडस दिएका थिए । साथीकै भिनाजुको विश्वासमा परेर उनले कम्बोडिया जाने निधो गरे । घरमा सबै चाँजोपाँचो मिलाएपछि मणिकुमारले एजेन्ट हरिकुमारलाई साढे तीन लाख रुपैयाँ बुझाए । पैसा पाएपछि हरिकुमारले बाँकी कागजपत्र मिलाएर पठाउँछु भनेर आफूलाई थाइल्यान्ड उडाएको पीडित मणिकुमार बताउँछन् ।