Thursday, November 14, 2013

बैङ्कहरु कृषिकर्जामा आकर्षित

बैङ्कहरु कृषिकर्जामा आकर्षित
काठमाडौं । अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको कृषिक्षेत्रमा बैङ्कहरूको चासो बढ्न थालेको छ । कृषकलाई आकर्षित गर्न बैङ्कहरूले विभिन्न योजना सार्वजनिक गर्न थालेका छन् । नेपाल राष्ट्र बैङ्कले गतवर्ष कुल लगानीको १० प्रतिशत कृषिक्षेत्रमा लगानी गर्न बैङ्कहरूलाई निर्देशन दिएकोमा यो वर्ष भने त्यसलाई बढाएर १२ प्रतिशत पुर्‍याएको छ । राष्ट्र बैङ्कको उक्त निर्देशनपछि बैङ्कहरू कृषि कर्जातर्फ प्रेरित भएका हुन् । कृषि कर्जाअन्तर्गत बैङ्कहरूले पशुपालन, माछापालन, मौरीपालन, फलफूल तथा तरकारी खेती, नगदे बाली उत्पादन तथा प्रशोधन, जडीबुटी तथा कृषि, हस्तकला, कृषि उपकरण खरीद आदिमा लगानी गर्दै आएका छन् ।
ग्लोबल आईएमई बैङ्कले आफ्नो लगानीको अधिकतम हिस्सा कृषिक्षेत्रमा गर्ने रणनीति बनाएको छ । बैङ्कले स–साना किसानलाई पनि समट्ने गरी सहज र सुलभ कृषि कर्जा योजना सार्वजनिक गरेको बैङ्कका कर्जा प्रमुख अधिकृत सुरेन्द्रराज रेग्मीले बताए । उक्त योजनाअन्तर्गत बैङ्कले नेपालगञ्ज शाखालाई कृषिशाखाको रूपमा स्थापित गरेको छ भने लालबन्दीमा पनि कृषिशाखाको रूपमा शाखा सञ्चालन गर्ने योजना बनाएको छ । बैङ्कले कृषिक्षेत्रमा अहिलेसम्म रू. १० करोड लगानी गरिसकेको रेग्मीले बताए । बैङ्कका अनुसार सो लगानीबाट २ सय ४५ कृषक लाभान्वित भइसकेका छन् । बैङ्कले न्यूनतम रू. ५० हजारदेखि अधिकतम रू. ५ लाखसम्म कृषि कर्जा उपलब्ध गराउँदै आएको छ । यस्तो कर्जामा बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज १ प्रतिशत घटाएर १४ प्रतिशत कायम गरेको छ । कर्जाको साथमा बैङ्कले ऋणी कृषकको बीमासमेत गर्छ । यसअन्तर्गत बैङ्कले विभिन्न १२ रोगको बीमा गर्दै आएको छ । ती रोगका कारण कृषकको मृत्यु भएमा बैङ्कले बीमा कम्पनीबाट नै आफ्नो ऋण असुली गर्ने गरेको प्रमुख रेग्मीले बताए । यसले गर्दा कृषक ऋण लिन प्रेरित हुने गरेको उनको दाबी छ । बैङ्कले कृषकको उत्पादनलाई उचित मूल्य प्रदान गर्न विभिन्न योजना सञ्चालनमा ल्याउने तयारी पनि गरिरहेको छ । तीमध्ये कृषकको उत्पादनलाई राख्नका लागि गोदाम निर्माण गर्न निकट भविष्यमै फाइनान्सको सुविधा उपलब्ध गराउने योजना रहेको रेग्मीले बताए ।  
सिद्धार्थ विकास बैङ्कले पनि २ वर्षदेखि कृषिकर्जा योजना सञ्चालन गर्दै आएको छ । सो योजनाअन्तर्गत बैङ्कले साना किसानलाई न्यूनतम रू. ५० हजार उपलब्ध गराउँदै आएको छ । यस्तो कर्जामा ११ दशमलव २९ प्रतिशत ब्याज तोकिएको छ । कर्जा भुक्तानी अवधि भने ६ वर्ष रहेको छ । बैङ्कले ७० देखि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँदै आएको बैङ्कका रिलेशनशिप अफिसर प्रकाश आचार्यले जानकारी दिए ।  बैङ्क अफ काठमाण्डूले किसान बैङ्किङ सेवाअन्तर्गत कृषिकर्जा उपलब्ध गराउँदै आएको छ । सो योजनाअन्तर्गत बैङ्कले किसानलाई न्यूनतम पनि रू. १० हजारदेखि अधिकतम रू. २ लाखसम्म कर्जा उपलब्ध गराउँदै आएको बैङ्कका सञ्चार अधिकृत वृन्दा सिंहले जानकारी दिइन् । यस्तो कर्जामा बैङ्कले १२ प्रतिशतसम्म ब्याज तोकेको छ । भुक्तानी अवधि भने २ वर्षसम्म रहेको उनले बताइन् । 
http://www.abhiyan.com.np/new/Articles/view/34335

Sunday, November 10, 2013

लगानीकर्ता विकास बैङ्कतर्फ आकर्षित

मङ्सिर १२, काठमाडौं । पछिल्ला व्यापार दिनहरूमा सर्वसाधारण लगानीकर्ताको आकर्षण विकास बैङ्कहरूमा केही बढेको छ । उच्च शेयरमूल्य भएका कम्पनीमा लगानी गर्न नसक्ने लगानीकर्ताले विकास बैङ्क रोजेको विश्लेषकहरू बताउँछन् । सो अवधिमा वाणिज्य बैङ्कहरूको परिसूचक भने ओरालो लाग्दै गएको छ । राजनीतिक वातावरण अनुकूल बन्दै गएपछि समग्र नेप्से परिसूचक सकरात्मक देखिए तापनि बैङ्किङ समूहको परिसूचक भने घट्दो प्रवृत्तिमा देखिएको हो ।
शेयर बजारमा दैनिकजसो कारोबार भइरहने केही ठूला बैङ्कको शेयरमूल्य घटेपछि यसको प्रभाव बैङ्किङ समूहको परिसूचकमा परेको हो । बुधवार शून्य दशमलव ८५ प्रतिशतले यस समूहको परिसूचक घटेको छ । निर्वाचनअघि ५ सय ७४ दशमलव ४४ बिन्दुमा रहेको बैङ्किङ समूहको परिसूचक निर्वाचनपछिको दुई दिन भने ६२ दशमलव ४२ अङ्कले बढेर ६ सय २५ दशमलव ८८ मा उक्लिएको थियो । तर, गत सोमवारदेखि १५ दशमलव शून्य ७ अङ्कले घटेर यस समूहको परिसूचक बुधवार ६ सय १९ दशमलव ३१ मा झरेको छ ।

Friday, November 1, 2013

तिहार खुशीले मनाऔं, होशियारी पनि अपनाऔं

तिहार खुशीले मनाऔं, होशियारी पनि अपनाऔं
तिहारमा बत्तीको प्रयोग बढी हुने हुँदा आगलागीको सम्भावना धेरै हुन्छ । गतवर्ष तिहारको समयमा आगलागीको ६ ओटा घटना भएका थिए । लक्ष्मी पूजाको दिन (कात्तिक २८ गते)मात्रै काठमाडौंका चार स्थानमा आगलागी भयो । बिजुली बत्तीको प्रयोग सबैभन्दा बढी हुनाले तिहारमा आगलागीको दुर्घटना धेरै हुने जुद्ध वारुण यन्त्र, काठमाडौंका प्रमुख किशोरकुमार भट्टराई बताउँछन् । ‘आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो,’ उनी भन्छन्, ‘त्यसैलाई आप्mनो नियन्त्रणमा रहने गरी नै आगोको प्रयोग गर्नुपर्छ ।’

काठमाडौंलगायत शहरी क्षेत्रमा आगलागी हुने मुख्य दुई कारण ग्यास र विद्युत् रहेका छन् । भट्टराईका अनुसार ग्यासका कारण ६० प्रतिशत तथा विद्युत् ‘शट’का कारण ४० प्रतिशत आगलागीका घटना हुने गर्छन् । तिहारमा यी दुवै वस्तुको बढी प्रयोग गरिन्छ । त्यसैले, आगलागीको सम्भावना धेरै हुने उनले बताए । त्यस्तै, आगलागीको अर्को कारण यस विषयमा मानिसमा चेतनाको कमी पनि हो । तर, पहिलाको तुलनामा यस्ता दुर्घटना कम हुने गरेको उनले बताए । ‘अहिले घर तथा कार्यालयमा पनि आगो निभाउने उपकरण राख्ने प्रचलन बढ्दै छ,’ उनी भन्छन् । मानिसले विलासिताको सामग्रीमा गर्ने जति नै लगानी सम्भावित दुर्घटनाबाट बच्ने सावधानीका उपकरणमा पनि गर्नुपर्ने भट्टराईले बताए ।