Sunday, December 22, 2013

ब्रोकर कम्पनीमा बढ्यो लगानीकर्ताको भीड

ब्रोकर कम्पनीमा बढ्यो लगानीकर्ताको भीड
काठमाडौं । बानेश्वर निवासी गोविन्द कार्की पर्यटन व्यवसायी हुन् । तर, अहिले सहायक व्यवसायको रूपमा उनले शेयरमा लगानी गर्न थालेका छन् । त्यसो त यो व्यवसाय उनका लागि नयाँ भने होइन । ४ वर्षअघि उनले केही बैङ्कका साधारण शेयरमा लगानी गरेका थिए, जतिबेला यस व्यवसायलाई उनले साखै महत्व दिएका थिएनन् । तर, अहिले शेयर बजारले गति लिन थालेपछि यसमा उनको आकर्षण बढेको छ । बिहान उठ्नेबित्तिकै आर्थिक पत्रिका तथा समाचार पढ्ने र एकपटक ब्रोकर कम्पनी पुग्ने उनको दिनचर्या नै बनिसकेको छ । कार्कीले प्राथमिक तथा दोस्रो शेयर बजारमा करीब रू. ४ लाखजति लगानी गरेका छन् । सबै राजनीतिक दलहरूबीच समझदारी भएमा आगामी दिनमा शेयर बजार बढ्ने ठोकुवा गर्छन् उनी । पुतलीसडकको एक ब्रोकर कम्पनीमा भेटिएका उनले संविधान बन्ने सङ्केत देखिएकाले वित्तीय बजार अझै बढ्ने अनुमान लगाए । ‘अब चाहिँ बजार राम्रो होलाजस्तो लागेको छ,’ उनले भने, ‘त्यसैले पनि ब्रोकर कम्पनी दैनिक धाउन थालेको हुँ ।’

Sunday, December 8, 2013

विप्रेषण आप्रवाह १४ प्रतिशत बढ्यो

चालू आर्थिक वर्ष २०७०/७१ को साउनको तुलनामा असोजमा विप्रेषण आप्रवाहमा १४ दशमलव ४ प्रतिशत बढेको छ । साउनमा २३ दशमलव ८ प्रतिशत वृद्धि भएको विप्रेषण असोजमा भने ३८ दशमलव २ प्रतिशत बढेको छ । असोज र कात्तिकमा नेपालीका दशैं, तिहार, छठ तथा इदजस्ता ठूला पर्व परेकाले पनि विप्रेषणको आप्रवाह बढेको अर्थविद् चन्द्रमणि अधिकारीले बताए ।
राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार साउनमा रू. ८८ अर्ब ४ करोड विप्रेषण आप्रवाह भएकोमा असोजमा बढेर रू. १ खर्ब ३५ अर्ब ३ करोड पुगेको छ । भदौमा भने ३४ दशमलव ७ प्रतिशत वृद्धि भई रू. ८८ अर्ब ४ करोड आप्रवाह भएको थियो । चाडपर्व पर्नु तथा डलरको मूल्य बढ्नुले पनि असोजमा विप्रेषण आप्रवाह बढ्नमा थप सहयोग पुगेको वैदेशिक रोजगारविद् डा. गणेश गुरुङले बताए ।