Friday, July 27, 2018

बिमा समितिको क्षेत्राधिकार नखुम्च्याउन कर्मचारीको माग


मुना कुँवर
काठमाडौं, ९ साउन
छलफल गर्न गएका बिमा समितिका कर्मचारीलाई अर्थमन्त्रीले समय दिएनन्
अर्थ मन्त्रालयले संघीय संसद्मा दर्ता गरेको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा गरिएको व्यवस्थाप्रति सरोकारवालाहरूले आपत्ति जनाएका छन् । विधेयक यथास्थितिमा नै पारित भएमा बिमा क्षेत्रमा नकरात्मक असर पर्ने उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
समितिका कर्मचारीलगायत कर्मचारी युनियनले विधेयकमा राखिएका केही बुँदाप्रति असहमति जनाउँदै मन्त्रालयको ध्यानाकर्षण गराएको बिमा समिति स्रोतको भनाइ छ । सो विषयमा जानकारी दिन धेरैपटक प्रयास गरे पनि अर्थमन्त्री डा.युवराज खतिवडाले भेट्ने समय नदिएको समितिका एक कर्मचारीले बताए ।

गलत मूल्यांकन गर्ने सर्भेयरलाई बिगो वा ५ वर्षसम्मको कैद


नयाँ पत्रिका
काठमाडाै‍‌, ११ साउन
बिमा विधेयकमा भएको दण्ड–सजाय घटाउन सर्भेयर संघको माग
अर्थ मन्त्रालयमा दर्ता भएको बिमा विधेयकमा गरिएको दण्ड सजाय व्यवस्थाप्रति नेपाल बिमा सर्भेयर संघले आपति जनाएको छ । संसद्मा प्रस्ताव गरिएको बिमा विधेयकको दफा १४२ मा बिमा सर्भेयरले बदनियतपूर्ण तरिकाले क्षतिको गलत मूल्यांकन गरी बिमक वा बिमितलाई हानि–नोक्सानी पु-याउने काम गरेमा बिगो जफत गर्ने उल्लेख छ । त्यस्तै अधिकतम १ करोड रुपैयाँसम्म बिगो भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरिएको छ । तर, सर्भेयर संघले भने जरिवानाको व्यवस्था गरे पनि कैदको व्यवस्था हटाउन माग गरेको छ ।
सबै बिमाको सर्भे गर्न पाउनुपर्ने
एउटा विषय अध्ययन गरेका सर्भेयरले अन्य विषयमा सर्भे गर्दा उचित मूल्यांकन हुन नसक्ने विज्ञहरूले बताउँदै आएका छन् । तर, नेपालमा भने एउटा विषयमा इन्जिनियरिङ गरेर सर्भेयरको इजाजत पाएका सर्भेयरले सबै खालको बिमाको सर्भे गर्दै आएका छन् । सोही कारण नयाँ बिमा विधेयकमा एउटा सर्भेयरले आफ्नो योग्यताअनुसार एक प्रकारको बिमाको मात्रै सर्भे गर्न पाउने व्यवस्था गरिएको छ । तर, सर्भेयर संघले पुरानै व्यवस्था कायम हुनुपर्ने माग गरेको छ ।

Wednesday, July 25, 2018

७ अर्ब दाबी भुक्तानी गरेनन् निर्जीवन बिमा कम्पनीले


मुना कुँवर
काठमाडौं, ११ साउन
भुक्तानी गर्न अझै उदासीन छन् कम्पनीहरू
निर्जीवन बिमा कम्पनीहरूको व्यवसायको दायरा बढ्दै गए पनि दाबी भुक्तानीको प्रक्रियामा भने अझै अनुदार देखिएका छन् । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीहरूले दाबी भुक्तानीबापत छुट्याएको रकम करिब ७ अर्ब रुपैयाँ पुगेको छ । यो सोही अवधिको अघिल्लो आवभन्दा करिब २२ प्रतिशतले बढी हो । तर, समितिको तथ्यांकभन्दा पनि धेरै रकम व्यवस्था गरिएको हुन सक्ने नेको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले बताए ।
‘धेरै दाबी देखाउँदा धेरै प्रोभिजनिङ (व्यवस्था) गर्नुपर्छ । त्यसैले अधिकांश कम्पनीले कम देखाउने अभ्यास छ,’ उनले भने । समितिको प्रावधानअनुसार कम्पनीहरूमा परेको दाबी भुक्तानी नभएमा १ सय १५ प्रतिशत रकम व्यवस्था गर्नुपर्छ । अर्थात्, १ करोड दाबी भुक्तानी गर्न बाँकी रहेमा कम्पनीले १ करोड १५ लाख रुपैयाँ व्यवस्था गर्नुपर्छ ।
के छ ऐनमा ?
बिमा विनियमावली २०४९ को दफा ३२ अनुसार कुनै दुर्घटना भएको जानकारी पाउनेबित्तिकै बिमकले सर्भेयर खटाउनुपर्नेछ । सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बिमकको दायित्व निर्धारण गरी बिमकसमक्ष पेस गर्नुपर्छ । सर्भेयरले बिमकसमझ प्रतिवेदन पेस गरेको ३५ दिनभित्र बिमितलाई दाबी  भुक्तानी गर्नुपर्छ ।
युनाइटेड र सगरमाथाले घटाए भुक्तानी रकम
बिमा समितिको तथ्यांकअनुसार गत आवको अन्त्यसम्म लुम्बिनी जनरल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीको भुक्तानी हुन बाँकी रकम धेरै छ । नेसनल इन्स्योरेन्स कम्पनीको ७५ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
युनाइटेड इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्न बाँकी रकम घटाएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा युनाइटेड इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी रकम करिब ५२ प्रतिशतले घटेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्सले भने करिब ४६ प्रतिशतले घटाएको छ ।
प्रभुको सबैभन्दा कम
प्रभु इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी रकम सबैभन्दा कम छ । कम्पनीमा गत आवको अन्त्यसम्म भुक्तानी गर्न बाँकी रकम ५ करोड १८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट इन्स्योरेन्सको ९ करोड ३३ लाख रुपैयाँ बाँकी छ । यो रकम अघिल्लो आवको तुलनामा करिब ८ प्रतिशतले बढी हो । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सको गत आवसम्म भुक्तानी हुन बाँकी रकम ९ करोड ५९ लाख रुपैयाँ छ ।
१६ प्रतिशत बढ्यो निर्जीवन व्यवसाय
गत आवमा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय १६ प्रतिशतले बढेको छ । समितिको तथ्यांकअनुसार समीक्षा अवधिमा १७ निर्जीवन बिमा कम्पनीले २२ अर्ब १३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १९ अर्ब रुपैयाँले बढी हो । कम्पनीहरूको औसत वृद्धि भने २० प्रतिशत रहेको छ ।
http://www.nayapatrikadaily.com/2018/07/27/76070/

Sunday, July 22, 2018

जीवन बिमा व्यवसाय २६ प्रतिशतले बढ्यो


मुना कुँवर
काठमाडौं, ६ साउन
वैदेशिक रोजगारी बिमा २६ प्रतिशत घट्यो
आर्थिक वर्ष ०७४/७५ मा पुराना जीवन बिमा कम्पनीहरूले १६ अर्ब ४४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गर्न सफल भएका छन् । अघिल्लो आव ०७३/७४ को तुलनामा यो रकम २६ दशमलव २१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरूले जम्मा १३ अर्ब ३ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए । बिमा कम्पनीहरूले कुल बिमाशुल्क भने ४७ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेका छन् ।
प्रथम बिमाशुल्क बढ्यो
समितिमा प्राप्त तथ्यांकअनुसार गत आवको अन्त्यसम्ममा कम्पनीहरूले प्रथम बिमाशुल्कबापत १३ अर्ब १९ करोड रुपैयाँ संकलन गरेका छन् । त्यस्तै कम्पनीहरूले नवीकरणीय बिमाशुल्कबापत भने ३१ अर्ब ३८ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । नवीकरणीय बिमाशुल्कमा भने २२ प्रतिशतले वृद्धि भएको छ ।
 वैदेशिक रोजगार घट्यो
अघिल्लो आवको तुलनामा गत आवमा वैदेशिक रोजगार म्यादी जीवन बिमाको बिमाशुल्क आम्दानी करिब २६ प्रतिशतले घटेको छ । गत आवमा वैदेशिक रोजगार बिमाबापत १ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेका छन् । अघिल्लो आवमा भने यस्तो बिमाबापत कम्पनीहरूले २ अर्ब ५७ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका थिए ।
नयाँ कम्पनीले आम्दानी गरे करिब ३ अर्ब
गत वर्षदेखि सञ्चालनमा आएका नयाँ जीवन बिमा कम्पनीहरूले ३ अर्ब ६ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । नवीकरणीय बिमाबापत भने तीनवटा बिमा कम्पनीले १८ लाख २५ रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् ।
नयाँ कम्पनीहरूले प्रथम बिमाशुल्कबापत मात्रै १ अर्ब ९१ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्  । त्यस्तै, एकल भुक्तानी बिमाबापत २६ करोड ५९ लाख र वैदेशिक रोजगार बिमाबापत ८८ करोड ८३ लाख रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् ।
 एसियनले बढायो ८१ प्रतिशत व्यवसाय
गत आवमा ठूला बिमा कम्पनीहरूलाई पछि पार्दै एसियन लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसाय ८१ प्रतिशतले बढाएको छ । गत आवमा कम्पनीले १ अर्ब बिमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले जम्मा बिमाशुल्क आर्जन ५५ करोड १६ लाख रुपैयाँ थियो । गत आवमा कम्पनीले एकल भुक्तानी बिमा भुक्तानी बिमा व्यवसाय करिब ५ गुणाले बढेपछि कुल बिमाशुल्क पनि बढेको हो । कम्पनीले प्रथम बिमाशुल्कबापत ७६ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५२ प्रतिशतले बढी हो । तुलनात्मक रूपमा प्रथम बिमाशुल्क आम्दानी पनि राम्रो रहेको छ । नवीकरणीय बिमाबापत कम्पनीले २ अर्ब रुपैयाँ संकलन गरेको छ ।
नेपाल लाइफ नै अगाडि
कम्पनीहरूले आम्दानी गरेको बिमाशुल्कका आधारमा हेर्ने हो भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै अग्रपंक्तिमा देखिएको छ । गत आवमा कम्पनीको कुल बिमाशुल्क आम्दानी ५ अर्ब ८४ करोड रहेको छ । त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले २ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ भने नेसनल लाइफ इन्स्योरेन्सले २ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
नयाँ कम्पनीमा युनियन अग्रता
नयाँ जीवन बिमा कम्पनीहरूले आम्दानी गरेको कुल बिमाशुल्कका आधारमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी अग्रपंक्तिमा देखिएको छ । गत आवमा युनियनले जम्मा ८४ करोड ९४ लाख रुपैयाँ बिमाशुल्क आम्दानी गरेको छ । त्यसैगरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जम्मा ५२ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ भने रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
एकल भुक्तानी बिमामा आकर्षण
पुराना जीवन बिमा कम्पनीहरूले एकल भुक्तानी बिमाबापत १ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेका छन् । यो रकम कम्पनीहरूले आर्जन गरेको जम्मा बिमाशुल्कको करिब ८ प्रतिशत हो । अघिल्लो आवको तुलनामा यो रकम ३० प्रतिशतले बढी हो । पछिल्लो समयमा कम्पनीहरू एकल भुक्तानी बिमामा आक्रामक देखिएका छन् । यस्तो खालको बिमा योजनामा एकैपटक ठूलो रकम बिमाशुल्क आम्दानी हुने भएपछि कम्पनीहरूले अभिकर्ताहरूलाई राम्रो कमिसन दिएर प्रेरित गरेका छन् । दीर्घकालीन रूपमा भने एकल भुक्तानी बिमा कम्पनीहरूका लागि जोखिमयुक्त हुने विज्ञहरू बताउँछन् ।
http://www.nayapatrikadaily.com/2018/07/22/74194/

Friday, July 20, 2018

सिद्धान्तविपरीत जाने सहकारी समस्याग्रस्त


केशवप्रसाद रेग्मी
रजिस्ट्रार, सहकारी विभाग
सरकारले गत साता मात्रै थप नौवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा गरिएका सहकारीहरूमा स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेष्टमेन्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहीनूर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी, कुबेर बचत तथा ऋण सहकारी, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी र स्ट्यान्डर्ड मल्टिप्रपोज को–अपरेटिभ रहेका छन् । यसअघि ओरिएन्टल सहकारी समस्याग्रस्त घोषणा भएको थियो । ती सहकारीको दायित्व सवा ८ अर्ब रुपैयाँ रहेको छ । सहकारीहरू समस्याग्रस्त हुँदै जाँदा सदस्यको बचत पनि धरापमा परेको छ । केही सहकारी सञ्चालकको नियत खराब हुनुका साथै नियमनकारी निकायको निरन्तर अनुगमन हुन नसक्दा सहकारी समस्याग्रस्त हुँदै गएका छन् । नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित र जिम्मेवार बनाउन के गर्नुपर्छ भन्नेबारे सहकारी विभागका रजिस्ट्रार केशवप्रसाद रेग्मीले यस्तो धारणा राखे :
सहकारी सिद्धान्त पालना नगर्दा समस्या
नेपालमा सहकारीको अवधारणा ज्यादै उपयोगी छ । तर, नेपालमा सञ्चालित कतिपय सहकारी सहकारी सिद्धान्तअनुसार चल्न नसक्दा समस्याग्रस्त भएका छन् । जुन सहकारी नियम र विधिअनुसार चल्दैनन्, सहकारीको भावना र मर्मलाई बुझ्न सक्दैनन्, त्यस्ता सहकारी समस्यामा पर्छन् । कतिपय व्यक्ति सहकारीलाई बैंक सोच्छन् । बैंक जसरी नै चलाउन खोज्छन् । त्यसैगरी कोही भने अरूको देखासिकीमा सहकारी सञ्चालन गर्छन् । यसरी अर्कोको लहलहैमा लागेर सञ्चालन गरिएका सहकारी विधिसम्मत चल्न सक्दैनन् र समस्याग्रस्त बन्न पुग्छन् ।
सहकारी शिक्षाको आवश्यकता
आममानिसमा सहकारी भन्नेबित्तिकै बैंक भन्ने बुझाइ छ । सदस्य बनाउने, रकम जम्मा गर्ने र ऋण दिने लिने काम मात्रै हो भन्ने सामान्य बुझाइ छ । तर, सहकारीको अर्थ यतिमा मात्रै सीमित छैन । सहकारीले गर्ने काम बृहत् छ । जसलाई सहकारी सञ्चालकले पनि पूर्ण रूपमा बुझेको पाइँदैन । त्यसैले नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने हो भने सहकारी शिक्षालाई व्यापक रूपमा जनमानसमा पु¥याउनुपर्ने आवश्यकता छ । सञ्चालकदेखि लिएर सदस्य र लाभग्राहीलाई पनि यसको उपयोगिताबारे सही जानकारी दिनुपर्छ । त्यसैले हामीले अहिले सहकारीलाई शैक्षिक पाठ्यक्रममा नै राख्ने योजना बनाएका छौँ । सहकारीको छुट्टै संकाय खडा गरी विश्वविद्यालयमा अध्यापन गराइने योजना बनाएका छौँ । त्यसैगरी विद्यालय स्तरमा पनि सहकारी शिक्षालाई समेट्ने योजना रहेको छ ।
सहकारी सदस्यबीच एकता
सहकारी भनेको सहकार्य हो । सहकारीमा आबद्ध रहेका सदस्यको मन र मुटु पनि एउटै हुनुपर्छ । जतिवेलासम्म सहकारीका सबै सदस्यबीच एकता कायम रहन्छ तबसम्म सहकारीले सबैको हितमा काम गर्न सक्छ । तर, सदस्यबीच वैमनश्यता सिर्जना हुन्छ भने सहकारीले उद्देश्यअनुरूप काम गर्न सक्दैन । तसर्थ सहकारीको लक्ष्य हासिल गर्नका लागि सदस्यबीच एकता हुनु आवश्यक छ । भनाइ नै छ, समूहमा शक्ति हुन्छ । सहकारी पनि सदस्यहरूको समूह हो । यदि सदस्यबीच तालमेल मिल्यो भने सहकारी बलियो हुन्छ । मिलेन भने सहकारी डुब्छ ।
त्यस्तै सहकारीका सञ्चालक र सदस्यबीच पनि राम्रो सम्बन्ध हुनुपर्छ । यदि सदस्यलाई सञ्चालकको मात्रै सहकारी हो भन्ने लाग्यो भने सदस्यको योगदान कम हुन जान्छ । सहकारी भनेको एक वा दुईजना व्यक्तिले मात्रै सञ्चालन हुने संस्था होइन । यो भनेको सबैको समान सहकार्यबाट सफल हुने संस्था हो । तसर्थ सञ्चालक र सदस्यबीच राम्रो सम्बन्ध हुनुपर्छ ।
सदस्यको सहभागिता र स्वनियम
सहकारीको हरेक निर्णयमा सदस्यको सहभागिता हुनु आवश्यक छ । सहकारीमा सबै सदस्यको उत्तिकै भूमिका हुने हुँदा हरेक निर्णय लिँदा सबै सदस्यलाई जानकारी गराउनुपर्छ । दुई÷चारजना सञ्चालकबीच मात्रै निर्णय गरेर कुनै पनि काम गर्नुहुँदैन । यसो गरेको खण्डमा सदस्यमा सहकारीप्रतिको आफ्नोपन हुँदैन । सहकारीका प्रत्येक सदस्यमा सहकारीप्रतिको आफ्नोपन अनुभव गराउनुपर्छ । यसका लागि सबै खालका निर्णयमा सहकारीका प्रत्येक सदस्यको विचार लिने र निर्णयमा सहभागी गराउनुपर्छ ।
सहकारी स्थानीयबीचको सहकार्यबाट सञ्चालित हुने संस्था हो । त्यसैले सहकारी स्वनियममा रहनुपर्छ । सहकारीको विकास लागि के गर्दा राम्रो हुन्छ वा कस्ताखालका नियम बनाउनु आवश्यक छ भन्ने कुरा आपसी सहमति र समझदारीमा तय गर्नुपर्छ । प्रत्येक सदस्य तथा सञ्चालकहरू स्वनियमभित्र बस्नुपर्छ । सहकारी स्वनियमभित्र बस्न नसकेको अवस्थामा मात्रै नियमनकारी निकायले हस्तक्षेप गर्छ । सकेसम्म सहकारीले नियमनकारी निकायले हस्तक्षेप गर्न वातावरणको विकास गर्नुहुँदैन ।
प्रभावकारी अनुगमन
सहकारीलाई व्यवस्थित बनाउन नियमनकारी निकायले प्रभावकारी अनुगमन गर्नुपर्छ । अहिले सहकारी विभागले सहकारीहरूको दैनिक र विशेष दुईखालका अनुगमन गर्दै आएको छ । यसरी अनुगमन गर्दा सहकारीमा देखिएका समस्या हटाउन सम्बन्धित सञ्चालकलाई सचेत गराउँदै आएका छौँ । उहाँहरूलाई सच्चिन समय पनि तोक्छौँ । कतिपय सहकारी काम गर्न नजान्दा समस्यामा पर्ने गरेका छन् । त्यस्ता सहकारी अनुगमन गरेर सचेत गराएपछि तत्काल सच्चिने गरेका पनि छन् । हाल विभागले कोपोमिसको प्रयोग गर्न थालेको छ ।
अहिले कोपोमिसमा तथ्यांक भर्ने काम भइरहेको छ । करिब ३२ हजार सहकारीले यसको प्रयोग गर्न थालेका छन् । यसमा सबैको तथ्यांक आएपछि हामीले सहकारीको अफ साइड र अन साइड अनुगमन गर्न सक्छौँ । अर्थात् कार्यालयमा नै बसेर पनि हामीले सहकारीको वित्तीय अवस्था अनुगमन गर्न सक्छौँ । यसले सहकारी क्षेत्रमा पारदर्शिता ल्याउँछ । हामीले सहकारीको कमजोर सूचक पत्ता लगाएर सच्चाउन सक्छौँ । आवश्यक नीति नियम निर्माण गर्न सक्छौँ । त्यसैले हामी जतिसक्दो छिटो यसको पूर्ण प्रयोगको तयारीमा छौँ ।
सहकारी क्षेत्रलाई सबल बनाउन सम्बन्धित सबै पक्षको सहकार्य हुनु आवश्यक छ । सहकारी, सहकारी संघ, महासंघ, मन्त्रालय, विभागलगायतका पक्षहरूबीच समन्वय र सहकार्य भएको खण्डमा सहकारीका समस्यामा छलफल गर्न सकिन्छ र वास्तविक समस्याको पहिचान गरी समस्याको समाधान खोज्न सकिन्छ ।
सहकारीको सुरुवात
नेपालमा २०१३ मा चितवनमा बखान ऋण सहकारी समितिको स्थापना भएपछि सहकारी अभियान अगाडि बढेको हो । हाल विभिन्न प्रकृतिका ३४ हजार ५ सय १२ सहकारी संस्था दर्ता भएका छन् । ६९ वटा जिल्ला सहकारी संघ, २ सय ५६ वटा विषयगत जिल्लास्तरीय सहकारी संघ, २० वटा विषयगत केन्द्रीय सहकारी संघ, १ राष्ट्रिय सहकारी बैंक र शीर्षस्थ निकायका रूपमा १ राष्ट्रिय सहकारी महासंघ गठन भएका छन् । ५१ प्रतिशतभन्दा बढी महिलाको सहभागितासहित ६३ लाख ५ हजार ५ सय ८१ व्यक्तिको संलग्नता रहेको सहकारी क्षेत्रले पुँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता, उद्यमशीलताको विकासका साथै गरिबी न्यूनीकरणमा उल्लेख्य योगदान पु¥याउँदै आएको छ ।
http://www.nayapatrikadaily.com/2018/07/20/73405/

Thursday, July 19, 2018

बिमा समिति प्राधिकरणमा रूपान्तरण हुने, तर स्वायत्त नहुने


मुना कुँवर
काठमाडौं, ३ साउन
नेपालमा बिमा क्षेत्रको विस्तारका लागि बिमा समितिलाई स्वायत्तता प्रदान गर्नुपर्ने आवाज उठिरहेका वेला अर्थमन्त्रालयले भने समितिलाई फेरि पनि नियन्त्रणमा राख्ने तयारी गरेको छ । अर्थमन्त्रालयले संसद्मा प्रस्तुत गरेको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समितिमा मन्त्रालयकै नियन्त्रण रहने देखिएको हो ।
संसद्मा प्रस्तुत गरिएको विधेयकमा समितिले प्रयोग गर्न पाउने अधिकार कटौती गरिएका छन् । समितिलाई पुनः सरकारको सल्लाहकारका रूपमा राखिएको छ । विधेयकमा राखिएका व्यवस्थाले समितिको हरेक निर्णयमा अर्थमन्त्रालयको हस्तक्षेप हुने देखिएको बिमाविज्ञहरू बताउँछन् । अर्थमन्त्रालयले मस्यौदामा समितिलाई प्राधिकरणमा रूपान्तरण गर्ने व्यवस्था गरेको छ । तर, समितिले भने बोर्डमा रूपान्तरण गर्ने प्रस्ताव गरेको थियो ।
खोसिँदै समितिको स्वायत्तता
नेपालमा बिमा कम्पनीहरूको संख्या थपिँदै गएको छ । तर, हरेक निर्णयका लागि समितिले मन्त्रालयको मुख ताक्नुपर्ने अवस्था हुँदा समितिको नियमन फितलो हुने बिमाविज्ञ रवीन्द्र घिमिरेले बताए ।
उदाहरणका लागि मन्त्रालयले मस्यौदाको दफा ६ राखिएको उपदफा २ र ३ हटाएको छ । समितिले प्रस्ताव गरेको मस्यौदाको उक्त उपदफामा प्राधिकरणलाई नेपालको बिमा नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने र गराउने पूर्ण अधिकार हुने र प्राधिकरणले प्राप्त गरेको अधिकारको अतिक्रमण कसैबाट नहुने व्यवस्था थियो । त्यसैगरी मस्यौदाको दफा १३ को उपदफा २ र ३ पनि हटाएको छ । मस्यौदाको उपदफा २ मा अन्तर्राष्ट्रिय मान्यताअनुरूप बोर्डका अध्यक्षले प्रयोग गर्नुपर्ने अधिकार अध्यक्ष अन्तर्निहित हुने व्यवस्था थियो ।
योग्यतामा थपियो अनुभव
अर्थमन्त्रालयले प्राधिकरणको अध्यक्ष वा सदस्यको योग्यतामा कम्तीमा पनि पाँच वर्षको अनुभव हुनपर्ने व्यवस्था गरेको छ । कम्तीमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । अर्थात् सहसचिव स्तरको व्यक्ति मात्रै सञ्चालक हुन पाउनेछ ।
त्यस्तै, दफा ११ प्राधिकरणको अध्यक्षले अर्थमन्त्रीसमक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ । समितिले प्रस्ताव गरेको मस्यौदामा भने अध्यक्षले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
मन्त्रालयले थप गरेका व्यवस्थाहरू
अर्थमन्त्रालयले प्राधिकरणले गुनासो सुनुवाइ गर्न सक्ने व्यवस्था गरेको छ । समितिले राखेको दफा ५७ हटाइएको छ । जसमा सञ्चालकको जवाफदेहिता र उत्तरदायित्व व्यवस्था गरिएको थियो । त्यस्तै, सञ्चालकको विवरण लिनुपर्ने (दफा ५८), सञ्चालकको जानकारी तथा अभिलेख (दफा ५९), अनुगमन तथा सुपरिवेक्षण गर्नुपर्ने (दफा ६१), बिमा दर निर्धारण (दफा ११२ ), प्राधिकरणको उद्देश्य (दफा ५) जस्ता महत्वपूर्ण व्यवस्थाहरू अर्थमन्त्रालयले हटाएको छ ।
प्राधिकरणमा नयाँ सञ्चालक
अर्थ मन्त्रालयले प्राधिकरण गठनपछि नयाँ सञ्चालक गठन हुने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले प्रस्ताव गरेको मस्यौदामा समितिका कर्मचारी तथा अन्य व्यवस्थाहरू प्राधिकरणमा स्वत परिर्वतन हुने व्यवस्था गरे पनि सञ्चालक भने नयाँ गठन गरिने व्यवस्था गरेको छ । त्यस्तै, राष्ट्रिय बिमा संस्थामा एक वर्षभित्रमा पब्लिक कम्पनीमा परिणत हुने व्यवस्था गरेको छ । समितिले भने ६ महिनाभित्रमा परिणत हुनुपर्ने व्यवस्था गरेको छ ।
अनुभव नभए पनि बिमकको प्रमुख हुन सकिने
अर्थमन्त्रालयले गरेको व्यवस्थाअनुसार बिमकको प्रमुख कार्यकारी अधिकृतका लागि अनुभव नचाहिने भएको छ । मन्त्रालयले मस्यौदामा गरेको व्यवस्थाअनुसार बिमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको व्यक्ति कम्पनीको प्रमुख कार्यकारी हुन सक्नेछ । तर, स्नातक तह उत्तीर्ण गरेको अवस्थामा मात्रै अनुभव हासिल गरको हुनुपर्ने व्यवस्था गरिएको छ ।
समितिले प्रस्ताव गरेको मस्यौदामा भने स्नातकोत्तर गरेको अवस्थामा अधिकतम सात वर्षको अनुभव गरेको र स्नातक तह उत्तीर्ण गरेको अवस्थामा अधिकतम १५ वर्ष अनुभव हुनुपर्ने व्यवस्था गरेको थियो ।
http://www.nayapatrikadaily.com/2018/07/19/73049/

Monday, July 16, 2018

‘निजी स्टक एक्सचेन्ज आउँदा सरकारी सकिँदैन’


जनार्दन बराल/मुना कुँवर
काठमाडाैं, ३२ असार |
मौद्रिक नीति जारी भएपछि पनि सेयर बजार घट्नेक्रम रोकिएको छैन । मौद्रिक नीतिले बजारका लागि उपयोगी नीति नल्याएपछि मनोबल खस्केको लगानीकर्ता नै बताउँछन् । यद्यपि, सेयर बजारको दीर्घकालीन विकासका लागि मौद्रिक नीति व्यावहारिक भएको केही लगानीकर्ताको तर्क छ । उच्च अंकले बजार घटिरहँदा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की भने आगामी आवदेखि सेयर बजार उत्साहप्रद हुने बताउँछन् । आगामी दिनमा सेयरबजारको दिशा, बजार सुधारका लागि बोर्डका गतिविधिलगायत विषयमा बोर्डका अध्यक्ष डा. कार्कीसँग नयाँ पत्रिकाका जनार्दन बराल र मुना कुँवरले गरेको संवादको सार :
पछिल्लो समयमा सेयरबजार बियरिस प्रवृत्ति देखिएको छ । यसको खास कारण के हो ?
नेपालमा दोस्रो बजार सुरु भएको पनि २५ वर्ष भयो । यस अर्थमा बजार परिपक्व हुँदै गएको छ । तर, कतिपय लगानीकर्ताले अझै पनि बजारका विषयमा नबुझीकन नै लगानी गर्छन् । अहिले बजारका लागि सकारात्मक वातावरण बनेको छ । किनभने मुलुकमा अहिले स्थायी सरकार छ । सरकारले दीर्घकालीन स्थायी विकासको हिसाबले बजेट ल्याएको छ । त्यसैले पनि मुलुकको आर्थिक र राजनीति अवस्थामा बजारका लागि सकारात्मक नै छन् ।
तर, नेपालको पुँजी बजारमा बैंक वित्तीय संस्था हाबी छन् । यी वित्तीय संस्थाको चुक्ता पुँजी तीन गुणाले वृद्धि हुँदा अघिल्लो वर्ष बजारमा धेरै सेयरको आपूर्ति भयो । तर, अघिल्ला वर्षमा जसरी बजारमा सेयरको आपूर्ति बढ्यो, त्यसअनुरूप माग भने बढ्न सकेन । सेयर बजार र वित्तीय संस्थाको ब्याजदरको सम्बन्ध ठीक विपरीत हुन्छ । यतिवेला वित्तीय संस्थाको ब्याजदर उच्च छ । यसले पनि बजारमा घटाउनमा सहयोग पुगेको हो । हामीले बजार सुधारका लागि धेरै राम्रा काम गरेका छौँ । बिस्तारै बजारमा लगानीकर्ताको संख्या पनि बढ्दै गएको छ । त्यसैले आगामी आवमा बजारको अवस्था उत्साहप्रद हुनेछ ।
तर, बजार घट्दा लगानीकर्ता नेपाल धितोपत्र बोर्डलगायत नियामकप्रति पनि आक्रोशित छन् नि ?
त्यो मानिसको नियतमा भर पर्ने कुरा हो । किनभने यतिवेला हामीले बजार सुधारका लागि धेरै राम्रा काम गरेका छौँ । आस्बा, सी आस्बादेखि लिएर क्लियरिङ अटोमसेन र नामसारी अटोमेसनको काम पनि सुरु ग¥यौँ । हामीले जति पनि काम गरेका छौँ, लगानीकर्ताको हितमै गरेका छौँ । उदाहरणका लागि केही समयअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ हजार ९०० रुपैयाँमा एफपिओ जारी गर्न निवेदन दिएको थियो । त्यतिवेला हामीसँग एफपिओ मूल्य निर्धारण गर्ने मोडल थिएन ।
हुन त कम्पनीहरूले जारी गर्ने एफपिओ र आइपिओ सन्दर्भमा बोर्डले केवल मध्यस्तकर्ताको काम गर्ने हो । तर, नेपाल लाइफले तोकेको मूल्य लगानीकर्ताको दृष्टिकोणबाट सोच्दा हामीलाई उचित लागेन । त्यसैले हामीले त्यो प्रोजेक्ट केही समय रोक्यौँ । पछि अन्तर्राष्ट्रिय विज्ञसँगको छलफल गरेर हामीले कम्पनीको तीन वर्षको खुद नाफा, १८० दिनको एभरेज प्राइस, नेटवर्थ र क्यास फलोको आधारमा कम्पनीको एफपिओ मूल्य १ हजार ४ सय तोक्यौँ ।
जसका कारण लगानीकर्ताको ६ अर्ब रुपैयाँ बच्यो । जुन चानचुने कुरा होइन । त्यसैगरी अर्को एउटा कम्पनीले एकैवर्ष पहिलोपटक ६ सयमा एफपिओ जारी ग-यो । फेरि १ हजार २ सयमा एफपिओ जारी गर्न निवेदन दियो । तर, लगानीकर्ताको दृष्टिकोणले हामीलाई ठीक लागेन । कम्पनीका लागि त यो व्यापार थियो । त्यसैले हामीले त्यसलाई रोक्यौँ । पाँच वर्ष नभईकन अर्कोपटक एफपिओ जारी गर्न नपाइने व्यवस्था ग-यौँ । कति कम्पनी हामीसँग रिसाए । तर, लगानीकर्ताका लागि हामीले त्यसलाई समस्या सोचेनाैँ ।
हो, हामीले गरेको व्यवस्थाबाट केही व्यक्तिलाई घाटा भएको छ । जस्तै, बोरे लगानीकर्तालाई घाटा भएको छ । सेयर भर्ने अवधि सकिएपछि पनि सेयर भराउने मर्चेन्ट बैंकरलाई बेफाइदा भएको छ । यस्ता खालका व्यक्ति हामीसँग रुष्ट छन् । तर, यसले हामीलाई खासै ठूलो फरक पार्दैन । किनभने हामी समग्र पुँजी बजार र लगानीकर्ताको हितका लागि काम गरिरहेका छौँ ।
तपाईंको लगानीकर्ताको हितलाई ध्यानमा राखी वैज्ञानिक तरिकाले एफपिओको मूल्य निर्धारण गरेको भन्नुहुन्छ । तर, अहिले बोर्डले एफपिओको मूल्य निर्धारण गर्ने प्रक्रिया अव्यावहारिक रहेको गुनासो छ नि ?
आलोचना गर्न सजिलो छ । हामीले अन्तर्राष्ट्रिय अभ्यासअनुसार एफपिओको मूल्य निर्धारण गर्दै आएका छौँ । अन्तर्राष्ट्रियस्तरमा सही भएको कुरालाई हामी कसरी गलत भन्न सक्छौँ । वास्तवमा हामी बजार विकासको कुरा गर्छौं, तर सेयर मूल्य १ सय रुपैयाँ नै होस भन्ने चाहन्छौँ । हामी हरेक कुरा सस्तो खोज्छौँ । त्यसैको परिणाम हो यो । पछि बुक विल्डिङ र ओपन प्राइस सिस्टम गएपछि यस्ता खालका गुनासो आउनेछैन ।
नेपाल स्टक एक्सचेन्ज पनि सरकारी निकाय हो । यो हिसाबले कहिलेकाहीँ नेप्से र बोर्डबीच हुने विवाद बाहिरसम्म नै आउँछ । यसले नियमनकारी निकायको हैसियतले नेप्सेसँग काम गर्न बोर्डलाई कत्तिको सहज छ ?
नेप्से पनि अर्थ मन्त्रालयअन्तर्गत नै निकाय हो । मन्त्रालयसँगै उसको सीधा सम्पर्क हुन्छ । जसका कारण हाम्रो सबै कुरा मान्नुपर्छ भन्ने पनि छैन । तर, हामीले समग्र बजारको विकास र लगानीकर्ताको हितका लागि काम गर्ने हो । नियमनकारी निकाय भएपछि हामीले नेप्सेलाई पनि कतिपय कुराको निर्देशन दिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा हामीलाई व्यावहारिक कठिनाइ हुने गरेको छ । त्यसैले निजी क्षेत्रबाट अर्को स्टक एक्सचेन्ज सञ्चालनमा आउनुपर्छ ।
बोर्डले अर्को एक्सचेन्जको स्थापनाको कुरा गरिरहेको छ । बजारका लागि अर्को एक्सचेन्ज आवश्यक भएर हो वा निजी क्षेत्रबाट आउँदा बोर्डलाई काम गर्न सहज हुने भएर हो ?
मैले नेप्सेमा पनि बसेर काम गरेको छु । नेप्सेमा २ वटा ब्रोकर सञ्चालकको प्रतिनिधित्व हुने व्यवस्था थियो । तर, त्यसलाई परिवर्तन गरी दुईजना विज्ञको प्रतिनिधित्व हुने व्यवस्था ग¥यौँ । तर, अझै पनि नेप्सेमा ब्रोकरको डोमिनेसन छ । विश्वमा एक्सचेन्जको सुरुवात हुँदा गैरसरकारी संस्थाको मोडलबाट भएको हो । ब्रोकरहरू मिलेर स्टक एक्सचेन्ज सञ्चालनमा ल्याएका थिए । तर, अहिले धेरै मुलुकका एक्सचेन्जमा ब्रोकरको प्रभुत्व हटिसकेको छ । तर, श्रीलंकामा भने यो अवस्था अझै यथावत् नै छ ।
०६६ मा नै बोर्डले गरेको एउटा अध्ययनले आवश्यकताअनुसार एउटा एक्सचेन्जको स्थापना गरिने भनेको थियो । तर, करिब १० वर्ष हुन लागिसक्यो तर, प्रक्रिया भने अझै अगाडि बढेको छैन । नयाँ एक्सचेन्ज स्थापना गर्नु भनेको भइरहेको एक्सचेन्जलाई सिध्याउने भन्ने होइन । नेपालजस्तो मुलुकमा दुईवटाभन्दा बढी एक्सचेन्ज स्थापना गर्न दिनु पनि हानिकारक हुन्छ । तर, थप एउटा स्थापना गर्नु हाम्रोजस्तो विकासशील मुलुकका लागि उपयुक्त हुन्छ ।
अहिले बजारमा सेयरको मात्रै कारोबार हुने गरेको छ । बन्डको कारोबार भएकै छैन । केही समयअगाडि मात्रै अन्तर्राष्ट्रिय वित्त निगम र एडिबीले ५०–५० अर्बको स्थानीय मुद्रामा बन्ड जारी गर्ने भनी सरकारसँग स्वीकृति लिएका छन् । त्यसरी जारी हुने बन्डलाई नेप्सेले थेग्न सक्दैन । नेप्सेको प्राविधिक संरचनादेखि लिएर अन्य कुराहरु कमजोर छन् । अर्को एक्सचेन्ज आउनेबित्तिकै अहिलेको एक्सचेन्जलाई पनि स्तरीय सेवा प्रदान गर्न दबाब पर्नेछ ।
सरकारले अहिले उत्पादनशील क्षेत्रलाई पुँजीबजारमा ल्याउन प्रोत्साहित गरेको छ । तर, पारदर्शिता नभएका यस्ता कम्पनीलाई बजारमा प्रवेश गराउँदा जोखिम हुँदैन ?
पुँजी बजारको आधार भनेको उत्पादनशील क्षेत्र हो । तर, अहिले नेपालको सेयर बजारमा वित्तीय क्षेत्र हाबी छ । त्यसैले उत्पादनशील क्षेत्रलाई बजारमा प्रवेश गराउनु आवश्यक छ । तर, चुनौती पनि छन् । यस कार्यमा बोर्ड मात्र इमानदार भएर हुँदैन । सबै निकाय र पक्ष इमानदार हुनुपर्छ । त्यसैले हामीले बिस्तारै–बिस्तारै उत्पादनशील कम्पनीलाई पुँजीबजारमा प्रवेशलाई प्रोत्साहित गर्दै छौँ । कतिपय सन्दर्भमा अनिवार्य पनि गर्दै छौँ । अहिले सरकारले १ अर्ब पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा पब्लिक कम्पनीमा परिवर्तन गर्न निर्देशन दिएको छ । साथमा यस्ता कम्पनीलाई करमा छुटको पनि व्यवस्था गरिएको छ ।
केही समयअगाडिसम्म उत्पादनशील कम्पनीहरू पब्लिकमा जान हिचकिचाउँथे । यसकोे मुख्य कारण भनेको सेयर मूल्य हो । पहिले नै बजारमा आफ्नो ब्रान्ड बनाएका कम्पनी १ सय रुपैयाँमा आइपिओ जारी गर्न चाहँदैनन् । तर, लगानीकर्ताहरू जतिसक्दो सस्तो होस् भन्ने चाहन्छन् । तसर्थ हामीले बीचको बाटो निकाल्न यस्ता कम्पनीको प्रिमियम मूल्य तीन गुणासम्म बढी राख्न पाउने व्यवस्था ग¥यौँ । करमा छुट र १० प्रतिशत मात्रै पनि जारी गर्न सकिनेलगायतका प्योकज दियौँ । अहिले केही कम्पनी आकर्षित भएका छन् ।
प्रत्यक्ष रूपमा नियमनकारी निकाय नभएका जलविद्युत् कम्पनीहरूमा लगानी गर्दा लगानीकर्ताको सुरक्षालाई सेबोनले कसरी लिएको छ ?
हामी पुँजी बजारको नियमकारी निकाय हौँ । तर, जलविद्युत् कम्पनीको नियमनकारी निकाय जसरी काम गर्नु परेको छ । जलविद्युत् क्षेत्र मुलुकको अर्थतन्त्रको ब्याकबोन हो । त्यसैले यसको नियमन आवश्यक छ । हामीले यस्ता कम्पनीले आइपिओ जारी गर्ने क्रममा धेरै अध्ययन गरेर मात्रै सहमति दिने गरेका छौँ । साथै लगानीकर्ता आफैँले पनि अध्ययन गरेर मात्रै लगानी गर्नुपर्छ । कम्पनीको वित्तीय विवरण र व्यवस्थापनको पनि अध्ययन गरेर लगानीको निर्णय गर्नुपर्छ । यसका अतिरिक्त हामीले सूचीकृत कम्पनीहरूको नियमनका लागि सुशासन निर्देशिका पनि जारी गरेका छौँ । जहाँ हामीले कम्पनीमा परिपालनाको पनि व्यवस्था गरेका छाँै । जसले कम्पनीले नियमनकारी निकायले दिएका निर्देशन पालना भए–नभएको रिपोर्ट गर्छ । यसरी हामीले कम्पनीलाई बिस्तारै–बिस्तारै सुशासित गराउँदै छौँ ।
पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरा धेरै पहिलादेखि उठेको हो । यसको प्रक्रिया कहाँ पुग्यो ? 
यो यस विषयमा धेरै बहस भएको छ । तर, गैरआवासीय नेपाली बजारमा लगानी गर्न आउने हुन् समाज सेवा गर्न आउने हैनन् । त्यसैले उनीहरूले लगानी गर्ने र लगानी फिर्ता लैजाने सजिलो व्यवस्था हुन आवश्यक छ । ०७२ माघदेखि हामीले बजारमा अटोमेसन कारोबार सुरु ग-यौँ । त्यतिवेलादेखि नै गैरआवासीय नेपालीको लगानी बाटो खुलेको हो । तर, यस विषयमा गहन अध्ययनको कार्य भइरहेको छ । गैरआवासीय नेपालीलाई लगानी गर्न दिने विषयमा अध्ययन गर्न बोर्डको कार्यकारी निर्देशकको अध्यक्षतामा एउटा कमिटी नै बनाएका छौँ, जसमा नेप्से, मन्त्रालय, राष्ट्र बैंक र गैरअवासीयको पनि सहभागिता छ । गैरआवासीय नेपालीलाई लगानी गर्न दिने अधिकतम र न्यूनतम सीमा त्यसले निर्धारण गर्नेछ । त्यस्तै कति समयपछि उनीहरूले लगानी वा नाफा फिर्ता लैजान सक्ने भन्ने विषय मुख्य हुन् । त्यसैले यसमा हामी अध्ययन गर्दै छौँ । गैरआवासीय ल्याएर हाम्रो बजार सिध्याउन पनि त भएन । यसलाई पनि प्रोत्साहन गर्नुप¥यो । यस विषयमा पनि हामी सचेत छौँ । संवेदनशील पनि छौँ ।
कतिपय कम्पनीले घोषणा गरेका हकप्रद र बोनस सेयर समयमा नै वितरण नगर्ने र गरे पनि सूचीकृत नगर्दा लगानीकर्ता मारमा परेका छन् । यो समस्यालाई समाधान गर्न के गर्दै हुनुहुन्छ ?
यो समस्याको विषयमा हामी जानकार छौँ । कतिपय कम्पनीले नियतवश र कतिपय विभिन्न परिस्थितिका कारण सुचीकृतमा ढिलाइ हुने गरेको छ । जस्तै सेयर बजारसँग सम्बन्धित विभिन्न नियमनकारी निकायहरूबीच समन्वय नहुँदा यस्ता खालका समस्या हुने गर्छ । तैपनि यसपालि हामीले यो समस्या सामाधान गर्न हाम्रो नीति तथा कार्यक्रममा नै योजना राखेका छौँ । यस विषयमा अध्ययन गरेर केही समाधान निकाल्नेछौँ ।
कमोडिटिज एक्सचेन्जका सञ्चालनका लागि बोर्डमा पाँचवटा कम्पनीले निवेदन दिएका छन् । तर, कम्पनीलाई सञ्चालन अनुमति दिने प्रक्रिया अगाडि बढ्न सकेको छैन । किन ?
कमोडिटी बजार लगानीको अर्को क्षेत्र हो । नेपालमा १० वर्ष अगाडिदेखि नै कमोडिटी एक्सचेन्ज सञ्चालनमा थिए । यस्ता एक्सचेन्जले पूर्वाधार तयार गरी केहीलाई रोजगारीसमेत दिइरहेका छन् । तर, नियमनविना कारोबार गर्दा जोखिम बढ्ने भएकाले हामीले कमोडिटी बजार सञ्चालनमा लागी ऐन बनायौँ । ऐनलाई कार्यान्वयन गर्न नियमावली पनि बनायौँ । र, हामीले एक्सचेन्ज सञ्चालनका लागि आवेदन खुला ग-यौँ । पाँचवटा आवेदन पनि आयो ।
त्योभन्दा पनि बढी आउने सम्भावना देखिएपछि हामीले आवेदन बन्द ग-यौँ । नेपालमा अर्थतन्त्र र लगानीको अवस्थालाई हेरेर हामीले आवेदन बन्द गरेका हौँ । र, अब हामीकहाँ आएका पाँचवटै कम्पनीलाई सञ्चालन अनुमति दिने वा नदिने विषयमा हामी छलफल गर्दै छौँ । किनभने पाँचवटैलाई सञ्चालन अनुमति दिने हो भने भोलि बजारमा थेग्न सकेन भने हामी नालायक साबित हुनेछौँ । र, यदि पाँचवटालाई नदिने हो भने अहिलेको खुला अर्थतन्त्रमा कम्पनीहरूले खोलिने र बन्द हुने स्वतन्त्रता पाउनुपर्छ भन्ने कुरा पनि आउला । तसर्थ के गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा हामी ‘सुप्रिम रेगुलेटर’सँग सल्लाह गर्दै छौँ । तर, यो कुरा हामी भन्न सक्छौँ कि हामी कमोडिटी एक्सचेन्जलाई प्रतिस्पर्धी र गुणस्तीय बनाउँछौँ । यो प्रक्रिया यो साउनभित्र नै टुगिंछ ।
कमोटिडी बजारमा अहिले विदेशी उत्पादनको खरिदबिक्री हुन्छ । अब आउने एक्सचेन्जमा नेपाली उत्पादनले स्थान पाउँछ कि पाउँदैन ? बोर्डको योजना के छ ?
हो, आगामी दिनमा हामीले कमोडिटी बजारमा विदेशी उत्पादनको सँगसँगै नेपाली स्थानीय उत्पादनलाई पनि जोड्नेछौँ । कमोडिटीका एउटा गोदाम छुट्टै चाहिन्छ । कमोटिडी एक्सचेन्जे भनेको डेरिभेटिभ एक्सचेन्ज हो । हामीले अमेरिका गएर यस विषयमा अध्ययन पनि ग¥यौँ । वास्तवमा कमोडिटी एक्सचेन्जमा हुने सामानको डेलिभरी भनेको ३ प्रतिशत मात्रै हुने रहेछ । यद्यपि हामी नेपालको स्थानीय उत्पादनलाई बिस्तारै बजारमा समेट्नेछौँ । पछि स्थानीयले उत्पादनको मात्रै कारोबार गर्ने वातावरण बनाउनेछौँ ।
http://www.nayapatrikadaily.com/2018/07/16/72132/

Wednesday, July 11, 2018

युनाइटेडले पुनः सुरु गर्‍यो अग्नि बिमा व्यवसाय


नयाँ पत्रिका
काठमाडाैं, २७ असार
युनाइटेड इन्स्योरेन्स कम्पनीको अग्नि बिमा मंगलबारबाट पुनः सुरु भएको छ । गत शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै युनाइटेड इन्स्योरेन्सको अग्नि बिमा फुकुवा गरेपछि कम्पनीलाई व्यवसाय सुरु गर्ने बाटो खुलेको हो । त्यसैलाई आधार मान्दै कम्पनीले मंगलबारदेखि व्यवसाय सुरु गर्न सबै शाखा कार्यलयहरूलाई पत्राचार गरेको नायब प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।
युनाइटेडले ०७४ चैत्र १७ गते सर्वोच्च अदालतमा पाटन उच्च अदालतको फैसला दोहो¥याई पाऊँ भनी निवेदन दिएको थियो । उक्त निवेदनउपर सर्वोच्च अदालतले ०७५ असार १ मा मुद्दा दोहो¥याउन पाउने निस्सा दिएको कम्पनीका अधिवक्ता मेघराज थापाले बताए । निस्सा पाएपछि मुद्दा पुनरावेदनका रूपमा दर्ता हुन सक्नेछ ।
सोअनुसार कम्पनीले पाटन उच्च अदालतले गरेको अन्य निर्णय तत्कालका लागि रोकी कम्पनीको अग्नि बिमा व्यवसाय फुकवा गर्न अन्तरिमकालीन आदेश जारी गरी पाऊँ भनी निवेदन दिएको थियो । शुक्रबार न्यायाधीशद्वय सपना मल्ल प्रधान तथा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले अग्नि बिमा व्यवसाय फुकुवा गर्ने अन्तरिमकालीन आदेश दिएको हो ।
http://www.nayapatrikadaily.com/2018/07/11/70600/

Monday, July 9, 2018

चुक्ता पुँजी नपुर्‍याउने बिमा कम्पनीलाई बाध्यकारी मर्जर


मुना कुँवर
तोकिएको चुक्ता पुँजी पु-याउन नसक्ने बिमा कम्पनीहरूलाई बाध्यकारी मर्जरमा लैजाने भएको छ । चालू आर्थिक वर्षभित्र समितिले तोकेको चुक्ता पुँजी नपु-याउने कम्पनीहरूलाई अनिवार्य मर्जरमा जान निर्देशन दिने समितिको तयारी छ । ०७३ चैतमा बिमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै समितिले कम्पनीहरूको चुक्ता पुँजी तोकेको थियो ।

सोअनुसार जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पु-याउनुपर्ने हुन्छ । निर्देशिकाअनुसार चालू आवको असार मसान्तसम्ममा सो पुँजी कायम गरिसक्नुपर्छ । तर, हालसम्ममा चारवटा कम्पनीले मात्रै पुँजी कायम गर्न सकेपछि मर्जरको नीति अगाडि सारेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘आगामी साउनदेखि हामी यो नीति कार्यान्वयन गर्नेछौँ । पहिला कम्पनीहरूलाई मर्जरमा जान प्रोत्साहित गर्नेछौँ । यदि स्वैच्छिक रूपमा मर्जरमा नगए बाध्यकारी निर्देशन दिनेछौँ,’ उनले भने ।

Friday, July 6, 2018

समस्याग्रस्त सहकारीको संख्या १० पुग्यो

मुना कुँवर
काठमाडाै‌,२२ असार | असार २२, २०७५
बचतकर्ताको सवा ८ अर्ब रकम जोखिममा
सरकारले थप ९ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । यससँगै समस्याग्रस्त सहकारीको संख्या १० पुगेको हो । सरकारले घोषणा गरेको समस्याग्रस्त सहकारीमा बचतकर्ताको करिब सवा ८ अर्ब रुपैयाँ फसेको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कोहिनुर हिल, स्ट्यान्डर्ड, प्यासिफिक, कन्जुमर, प्रभु, भेगास, कुवेर र चार्टर्ड बचत तथा ऋण सहकारी संस्थाका साथै स्ट्यान्डर्ड मल्टिप्रपोज को–अपरेटिभलाई पनि समस्याग्रस्त घोषणा गरेको हो । सहकारीले बचतकर्ताको बचत रकम फिर्ता गर्न नसकेपछि सरकारले समस्याग्रस्त घोषणा गरेको हो । उक्त सहकारी संस्थाको दायित्व १ अर्ब ३९ करोड रहेको सहकारी विभागका प्रवक्ता नारायण अर्यालले बताए । यसअघि सरकारले ६ अर्ब ८६ करोड दायित्व रहेको ओरियन्टल सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।

Monday, July 2, 2018

विनिमय दरले पुनर्बिमालाई अप्ठ्यारो

राजेन्द्र महर्जन

काठमाडौं, १८ असार
बिमा कम्पनीहरूले आफ्नो क्षमताभन्दा बढीको जोखिम भएमा पुनर्बिमा कम्पनीलाई जोखिम हस्तान्तरण गर्छन् । नेपालमा भर्खरै र त्यो पनि एक मात्र पुनर्बिमा कम्पनी खोलिएको छ । जसका कारण नेपालका बिमा कम्पनीहरूले आफ्नो जोखिम हस्तान्तरणका लागि विदेशी पुनर्बिमा कम्पनीलाई नै रोज्नुको विकल्प छैन ।
तर, यसरी विदेशका कम्पनीमा पुनर्बिमा गराउँदा विनिमय दरमा आउने उतारचढावले कम्पनीहरूको नाफा–घाटामा ठूलो असर पार्दै आएको छ । यसलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे बिमा समितिको पुनर्बिमा शाखालाई हेर्दै आएका सहायक निर्देशक राजेन्द्र महर्जनले यसरी बताए :
विदेशी विनिमय दरको जोखिम
पुनर्बिमा बिमा व्यवसायको एक अभिन्न अंग हो । युरोपियन देशहरू इस्टोनिया, स्लोभानियालगायतमा पुनर्बिमा अनिवार्य नभए पनि अधिकांश देशमा पुनर्बिमा अनिवार्य छ । व्यक्ति वा संस्थाले सम्भावित जोखिम बिमा कम्पनीलाई हस्तान्तरण गर्छन् । त्यसैगरी बिमा कम्पनीले पनि आफ्नो क्षमताभन्दा बढीको जोखिम भएमा अर्को कम्पनीलाई हस्तान्तरण गर्छन् । जसलाई पुनर्बिमा भनिन्छ ।