Friday, July 17, 2020

उद्धार उडानको टिकटमा कालोबजारी : उद्धारका लागि सरकारी सूचीमा परेका मजदुर उपेक्षित, एजेन्टले तोकेको भाडा तिर्न सक्नेलाई मात्र टिकट

 

बेखर्ची श्रमिकलाई नि:शुल्क उद्धार गर्ने कार्यविधि पारित

विदेशमा जोखिममा रहेका नेपाली नागरिकलाई नेपाल फर्काउन सरकारले परिचालन गरेको जहाजको टिकट खरिदमा समेत कोलाबजारी भइरहेको छ । यसै पनि महँगो भाडा तय गरेकोमा कालोबजारी भएकाले पीडित मजदुर नेपाल फर्कन पाएका छैनन् । 

मध्यपूर्व र मलेसियालगायत मुलुकमा रहेका नेपाली फर्काउन सरकारले नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, फ्लाई दुबई र एयर अरेबिया एयरलाइन्सलाई अनुमति दिएको छ । जसमध्ये नेपाल एयरलाइन्सको टिकटको मूल्य तीन सय ७२ डलर तोकिएको छ भने हिमालयन एयरलाइन्सको तीन सय ८५ डलर छ । तर, फ्लाई दुबई र एयर अरेबिया एयरलाइन्सले आफूखुसी मूल्य तोकेका छन् । 

सरकारले जोखिममा रहेका श्रमिकलाई उद्धार गर्ने भने पनि व्यावसायिकभन्दा उद्धार उडानको मूल्य धेरै छ । यद्यपि, अन्य एयरलाइन्सको तुलनामा नेपाल एयरलाइन्सको टिकट मूल्य सस्तो छ । तर, एजेन्टहरूले कालोबजारी गर्न नेपाल एयरलाइन्सको टिकट पाउन मुस्किल छ । 

खाडीमा नेपाल एयरलाइन्सको टिकट पाउन मुस्किल भएको युएईमा रहेका श्रमिक युवराज लामा मोक्तानले बताए । ‘युएईमा ट्राभल एजेन्टले श्रमिकलाई महँगो एयरलाइन्सको टिकट खरिद गर्न बाध्य पारेका छन् । मैले सम्पर्क गर्दा यहाँको दीपक ट्राभलले १७ सय दिराम भुक्तानी गर्ने हो भने तीन दिनभित्रमा नेपाल एयरलाइन्सको टिकट व्यवस्था गरिदिने बतायो,’ उनले भने । जब कि नेपाल एयरलाइन्सका लागि सरकारले तोकेको टिकट मूल्य तीन सय ७२ डलर (१३६५ दिराम) हो ।’

विदेशमा अलपत्र नेपाली नागरिक आफ्नै पैसामा घर फर्कन खोज्दा पनि ठगिन थालेका छन् । दूतावास र नेपाल एयरलाइन्सका कर्मचारी तथा ट्राभल एजेन्ट मिलेर श्रमिकलाई थप शोषण गरिरहेका छन् । 

विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्न सरकारले ३२ जेठबाट उडान सुरु गरेको हो । नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्ससहित विदेशी एयरलाइन्सले भाडा लिएर धमाधम उडान गरिरहेका छन् । हालसम्म २३ हजार नेपाली आएका छन्, जसमध्ये धेरैजसोले आफैँ भाडा तिरेका हुन् । 

अप्ठेरोमा परेको भनेर विदेशबाट नेपाल आउने सूचीमा परेका मजदुरलाई टिकट बेच्ने नाममा ट्राभल एजेन्टले नै कालोबजारी गर्ने गरेका छन् । निगमका कर्मचारीको मिलेमतोमा साउथ हल टुर एन्ड ट्राभल्सका सञ्चालक सुजन तिमिल्सिनाले सूचीका आधारमा होइन, बार्गेनिङको आधारमा टिकट बेच्ने गरेका छन् ।

नयाँ पत्रिकाले गरेको अनुसन्धानका क्रममा तिमिल्सनाले कीर्तिपुरमा आफ्नै निवासबाट पैसा लिएपछि टिकट जारी गर्ने गरेकोसमेत फेला परेको छ । थापाथलीस्थित ट्रेड टावरमा ट्राभल अफिस रहे पनि उनले घरबाटै र महँगो रकम लिएपछि मात्र टिकट बेच्ने गरेका छन् । 

निगमले युएईमा तीन सय ६० डलर (४३ हजार ६ सय रुपैयाँ) भाडा तोेकेको छ । तर, उनले ५४ हजार ६ सय रुपैयाँ लिने गरेका छन् । उनी पटक–पटक निगमका कर्मचारीलाई पनि ‘व्यवस्था नगरे’ टिकट निकाल्न नसकिने भएकाले महँगो लिनुको विकल्प नभएको बताउँछन् । 

एकातिर खाडी र मलेसियामा अलपत्र नेपाली आफ्नो पालो कहिले आउला भनेर बसेका छन्, यता निगमका एजेन्टले पैसा भए जति पनि टिकट दिने भनेर काठमाडौंमा ‘बार्गेनिङ’ गरिरहेका छन् । 

दुबईबाट आउने मजदुरका लागि टिकट काट्न खोज्दा तिमिल्सिनाले महँगो पैसा लिन खोजेको संवाद नयाँ पत्रिकासँग सुरक्षित छ । संवादमा उनले भनेका छन्, ‘भाडामा तलमाथि हुँदैन, ५६ हजार एक सय भए युएईको टिकट पाइन्छ, त्यो भनेको ११ हजारजति बढी हो ।’

यसै पनि महँगो दर तोकिएकोमा एजेन्टले झन् बार्गेनिङ गर्दा मजदुर मर्कामा परेको भन्दै गुनासो गर्दा उनले भनेका छन्, ‘अहिले त पैसाभन्दा टिकट पाउनु ठूलो कुरो हो नि, के गर्ने सबैतिर मिलाउनै पर्‍यो ।’

तर, निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरे भने अहिलेकै अवस्थामा कसैले ठग्न नसक्ने, तर ठगेको जानकारी आए कडा कारबाही गर्ने बताउँछन् । ‘यस्ता उजुरी अहिलेसम्म निगम व्यवस्थापनमा आएको छैन, भएको तथ्य फेला परेमा जो भए पनि तुरुन्तै कारबाही गर्छौँ,’ अध्यक्ष घिमिरेले भने । 

तर, मजदुर भने ठगिएकै छन् । युएईको सेक्युरिटी कम्पनीमा काम गर्ने उदय राज चार महिनादेखि बेरोजगार छन् । कोठामा नै दिन बिताइरहेका उनी केही दिनअघि देरा दुबईमा रहेको नेपाल एयरलाइन्सको कार्यालय गएका थिए । तर, कर्मचारीले पासपोर्ट डब्बामा राखिदिनुहोस् भन्दै झर्को गरेको उनले बताए । ‘पालो आयो भने दूतावासले बोलाउँछ भन्दै कर्मचारी झर्किए, तर कर्मचारीले कार्यालयमा संकलन भएका पासपोर्टभन्दा पनि उनको मोबाइलमा आएका पासपोर्ट हेर्दै टिकट काटिरहेका थिए । यसको अर्थ उनले कार्यालय धाउने श्रमिकलाई भन्दा पनि सर्टकर्ट बाटोबाट आएका पासपोर्टका आधारमा टिकट दिइरहेका थिए,’ उनले भने । 

नेपाल एयरलाइन्स कार्यालयबाट टिकट नहुने भएपछि उनले साथीमार्फत एजेन्टलाई फोन गरे । ‘एजेन्टले १७ सयदेखि दुई हजार दिरामसम्ममा टिकट उपलब्ध गराइदिने बताए,’ उनले भने । नयाँ पत्रिकासँग मेसेन्जरमार्फत कुरा गर्दै उदय राज (उनकै अनुरोधमा नाम परिवर्तन)ले भने, ‘हामीसँग पैसा छैन, पैसा भए पनि टिकट छैन, मेरो नाम नराखिदिनुहोला, नत्र कालोबजारीमा पनि टिकट नदिन सक्छन् ।’

दुबईमा लाइफ गार्डको काम गरिरहेका कुमार श्रेष्ठ पनि धेरै दिन भयो टिकटको पछि लागेको । उनकै एक साथी भने भाइमार्फत नेपाल एयरलाइन्सको काठमाडौंस्थित कार्यालयबाट टिकट काटेर नेपाल आइपुगे । उनले सोही तरिका अपनाएर, तर टिकट नपाएको श्रेष्ठले गुनासो गरे । ‘जागिर छुटेको पनि चार महिना भयो । एक त सरकारले महँगो मूल्य तोकेको छ । त्यही पनि पाइँदैन,’ उनले भने । 

गत साता मात्रै दुबईबाट फर्केका शिशिर स्याङबोचेले पनि टिकट पाउन मुस्किल हुने गरेको बताए । उनको भिसा रद्द भएको चार महिना भइसकेको थियो । त्यसैले उनले टिकटका लागि धेरै ठाउँ धाए । अन्ततः दुई हजार दिराम तिरेर फ्लाई दुबई एयरलाइन्सबाट फर्केको उनले बताए । उनी भन्छन् ‘धेरै पीडित त फर्किनै पाएका छैनन् । खान र बस्न नसक्नेले महँगो टिकट खरिद गर्न पनि सक्दैनन् । दोस्रो आफ्नो पहुँच नहुनेले सहजै टिकट पाउनै सक्दैन,’ उनले गुनासो गरे । 

कमर्सियल फ्लाइटको पर्खाइमा श्रमिक

विदेशमा रहेका पीडित श्रमिक नियमित कमर्सियल उडानको पर्खाइमा छन् । दूतावासको सूचीमा नाम निस्के पनि सरकारले तोकेको दरमा सहजै जहाजको टिकट पाउन नसकेपछि श्रमिकहरू कमर्सियल उडानको पर्खाइमा छन् । १३ सय ६५ दिरामको टिकटलाई दुई हजार तिरेर नेपाल फर्कन सकिँदैन । त्यसैले कमर्सियल उडानको पर्खाइमा रहेको पीडित श्रमिक कुमार श्रेष्ठले बताए । ‘कि त सरकारले उद्धार गरेर लैजानुपर्‍यो । होइन भने व्यावसायिक नियमित उडान गरिदिनुपर्छ,’ उनी भन्छन् ।

नौ महिनासम्म भारतको मणिपुरमा अलपत्र २१ महिलाको उद्धार

मानव तस्करको जालमा परी भारत मणिपुरको विभिन्न स्थानमा रोकिएका २१ महिलालाई सरकारले नौ महिनापछि उद्धार गरेको छ । भारत हुँदै खाडी लग्ने भनेर मणिपुर पु¥याइएका ती महिलालाई भारतीय प्रहरीले नियन्त्रण लिएको हो । 

उद्धार गरिएको २१ महिलामध्ये आठजनालाई माइती नेपालको झापास्थित कार्यालयमा राखिएको महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण प्रमुख गोमा ढकालले बताइन् । ‘झापानजिक घर भएका महिलालाई उतै छोडिएको हो,’ उनले भनिन् । बाँकी १३ महिलालाई बुधबार रातिसम्ममा काठमाडौं ल्याइपु¥याइनेछ,’ उनले भनिन् । उनका अनुसार सबै महिलालाई माइती नेपालमा नै राखिनेछ ।

क्वारेन्टाइन गरेपछि महिलालाई आफन्तको जिम्मा लगाइनेछ । अन्यथा केही समय माइती नेपालमा नै राखिने ढकालले बताइन् । त्यस्तै, स्थानीय क्वारेन्टाइन बस्न सक्ने महिलालाई वडाको सिफारिसमा घर पठाइनेसमेत उनले बताइन् । 

सरकारले घरेलु कामदारका रूपमा खाडी मुलुक जान नेपाली महिलालाई बन्देज गरेको छ । त्रिभुवन विमानस्थलमा महिला कामदारलाई कडाइ गरेपछि एजेन्टले भारतको दिल्लीबाट महिलालाई खाडी उडाउन थालेका हुन् । सरकारको अनुरोधमा दिल्ली विमानस्थलले खाडी जानका लागि नेपाली महिलालाई नो अब्जेक्सन लेटरलाई अनिवार्य गरेपछि दलालहरूले बंगलादेशको रुट प्रयोग गर्न थाले । बंगलादेशमा पनि कडाइ भएपछि अहिले भारतको मणिपुर, मिजोरमबाट म्यानमार हुँदै श्रीलंकाबाट महिलालाई खाडी पु¥याउन थालिएको छ । 

नेपाली महिलालाई घरेलु कामदारका लागि कुवेत, युएई, कतार, ओमान, बहराइन, लेबनान, साउदी, इराक, किर्दिस्तान, सिरिया र माल्दिम्स पु¥याइन्छ । नेपालबाट भारत पुर्‍याउन दलालहरूले सबैभन्दा बढी महेन्द्रनगरको गड्डाचौकी, धनगढीको मोहाना, नेपालगन्जको जामुनाहा, भैरहवाको बेलहिया, पर्साको वीरगन्ज, मोरङको रानी भन्सार र झापाको काँकडभिट्टा नाका बढी प्रयोग गर्छन् । दिल्ली, बनारस, चेन्नई, जयपुर, मुम्बई, कोलकाता, लखनउ र बैंग्लोरको विमानस्थलबाट खाडीका लागि उडाउने गरिन्छ ।

बेखर्ची श्रमिकलाई निःशुल्क उद्धार गर्ने कार्यविधि पारित

सरकारले अब बेखर्ची श्रमिकलाई निःशुल्क उद्धार गर्ने कार्यविधि पारित गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको ‘कोभिड–१९ विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार र फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७’ मन्त्रीपरिषद् बैठकले पारित गरेसँगै मन्त्रालयलाई श्रमिक उद्धार गर्ने बाटो खुलेको हो । गत २९ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशिका पारित गरेको हो । 

गत १ असारमा सर्वोच्च अदालतले बेखर्ची श्रमिकलाई निःशुल्क उद्धार गर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो । अदालतले आदेश दिएको एक महिनापछि कार्यविधि निर्माण भएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । कार्यविधि राजपत्रमा प्रकाशित गरिने उनले बताए । 

असारमा आफ्नै खर्चमा आएका कामदारले शोधभर्ना पाउने

सरकारले निर्माण गरेको श्रमिक उद्धार कार्यविधिअनुसार असार १ गतेपछि आफ्नै खर्चमा नेपाल आएका कामदारले रकम शोधभर्ना पाउनेछन् । एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएका कामदारलाई लाग्ने खर्चको शतप्रतिशत र १ वर्ष वा सोभन्दा बढी र करार अवधिभित्र रोजगारी गुमाएका कामदारलाई लाग्ने खर्चको ५० प्रतिशत कल्याणकारी कोषबाट शोधभर्ना गरिनेछ ।

नियोगले यस्ता कामदारको विवरण पठाएपछि बोर्डले रकम निकासा गर्नेछ । त्यस्तै, कोरोना संक्रमणका कारण अलपत्र परेका श्रमिकको टिकट खर्च नव्यहोर्ने विदेशी रोजगारदाता कम्पनीलाई पाँच वर्षका लागि प्रतिबन्ध गरिएको छ । 

श्रम स्वीकृतिको अवधिभित्र फौजदारी अभियोगमा जेल परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारलाई पनि कोषको रकमबाट निःशुल्क उद्धार गरिने व्यवस्था गरिएको छ । त्यस्तै, जहाज टिकट उपलब्ध नगराउने रोजगारदातालाई कालोसूचीमा राखिने भएको छ । 

वैदेशिक रोजगार व्यवसायी नवीकरणका लागि छुट

वैदेशिक रोजगार व्यवसायीहरूलाई नवीकरणका लागि सरकारले एक वर्ष छुट दिएको छ । वैदेशिक रोजगार ऐनमा गरिएको व्यवस्थाअनुसार गत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाधा अडकाउ फुकाउका लागि छुटको आदेश दिएको हो । 

छुटअनुसार आगामी आव ०७८/७९ का लागि व्यवसायीले नवीकरण गर्दा आव ०७६/७७ देखि आगामी आवको अन्त्यसम्ममा कुल २ सयजना श्रमिक रोजगारीका लागि पठाएको हुनुपर्नेछ । यसअघिको व्यवस्थाअनुसार प्रत्येक वर्ष १ सयजना श्रमिक पठाएको हुनुपर्ने व्यवस्था थियो । कोभिड–१९ का कारण वैदेशिक रोजगार व्यवसाय ठप्प भएका कारण ऐनमा गरिएको मापदण्ड ५ सय ३१ व्यवसायीले पूरा गर्न सकेका थिएनन् । सरकारले बाधा अडकाउ फुकाएर व्यवसाय नै बन्द हुनबाट बचाएको व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए । 

https://www.nayapatrikadaily.com/news-details/47401/2020-07-17


Monday, July 13, 2020

२५ देशबाट २७ हजार ८ सयको हवाई उद्धार, तर बेखर्ची श्रमिक विदेशमै अलपत्र

 ३२ जेठदेखि सुरु पहिलो चरणको उद्धार सकिँदासम्म पनि बेखर्ची श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी निशुल्क उद्धार गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना भएन


विदेशमा अलपत्र परेका नेपालीलाई हवाइमार्गबाट नेपाल ल्याउन ३२ जेठबाट शुरु पहिलो चरणको उद्धारमार्फत २५ देशबाट २७ हजार ७ सय ८० जनाको उद्धार गरिएको छ । तर, विदेशमा रोजगारी गुमाएर बेखर्ची बनेका ठूलो संख्याका नेपाली श्रमिकलाई भने सरकारले उद्धार गरेन । बेखर्ची श्रमिकलाई विदेशबाट निःशुल्क उद्धार गर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश सरकारले हालसम्म पनि पालना नगर्दा रोजगारी र आम्दानी गुमाएर अलपत्र परेका कामदार विदेशमै अलपत्र परेका हुन् । सामान्यभन्दा दोब्बरभन्दा महँगो भाडाका चार्टर फ्लाइटको टिकट खरिद गर्ने नेपालीलाई मात्रै सरकारले नेपाल फर्काइरहेको छ ।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर गएका तर भिसा अवधि बाँकी रहँदै बेरोजगार भएका बेखर्ची श्रमिकलाई उद्धार गर्न सर्वोच्चले १ असारमा आदेश दिएको थियो । सर्वोच्चको आदेशअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका २०७७’ को मस्यौदा बनाए पनि मन्त्रिपरिषद्ले पारित गरेको छैन । श्रम मन्त्रालयले कार्यविधिको मस्यौदा मन्त्रीपरिषद्मा पेश गरेको एक साता भए पनि हालसम्म पारित नभएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । 

संयुक्त अरब इमिरेट्स (युएई)को भलट्रान्स ट्रान्सपोर्ट कम्पनीमा काम गर्ने ५ सय नेपाली श्रमिकलाई रोजगारदाताले चार महिनादेखि जबर्जस्ती बेतलबी बिदामा राखेको छ । युएईका विभिन्न क्याम्पमा राहतको खाद्यान्नले पेट भरिरहेका उनीहरू महँगो टिकट किन्न नसक्दा नेपाल फर्कन पाएनन् । ती श्रमिकले नेपाल फर्कन नाम लेखाए, दूतावासले निकालेको उद्धार गर्नुपर्ने सूची उनीहरूको नाम पनि छ । तर, दूतावासले आफ्नै खर्चमा जाने भए जाऊ, सरकारले खर्च बेहोर्न सक्दैन भनेपछि आफूहरू फर्कन नपाएको पीडित युवराज लामा मोक्तानले बताए । ‘रोजगारदाता कम्पनीले फर्कने टिकट दिने भनेको छ, तर उसले सामान्य अवस्थाको टिकट दिने हो, चार्टर उडानको भाडा महँगो छ,’ उनले भने, ‘हामीसँग खानलाई समेत पैसा छैन, कसरी महँगो टिकट काटेर मुलुक फर्कनू ।’ 

सरकारको उदासीनताकै कारण युएईकै सारजाहमा थप ३० नेपाली श्रमिक पनि यसैगरी अलपत्र परेका छन् । युएई पुगेको पहिलो महिनादेखि बेरोजगार भएका श्रमिक विगत पाँच महिनादेखि अलपत्र परेका हुन् । सडकको वास भएका नेपाली श्रमिकलाई न त युएई दूतावासले सहयोग गरेको छ, न त नेपाल सरकारले उद्धार गरेको छ । ‘हामी विगत पाँच महिनादेखि बेरोजगार छौँ । साथमा न त पैसा छ, न त जागिर नै । हामीले दूतावासमा नाम लेखाएका थियाँै । तर, पैसा नहुँदा फर्कन सकेनौँ,’ पीडित कमल अधिकारीले भने । कम्पनीले न त जागिर दिएको छ, न त पासपोर्ट नै । यस विषयमा नेपालस्थित म्यानपावर र दूतावासमा सहयोग मागे पनि कसैले सहयोग नगरेको उनले गुनासो गरे । 

दुबईमा विगत चार वर्षदेखि काम गर्दै आएका केपी निरौला चार महिनादेखि बेरोजगार छन् । बेरोजगारीका कारण नेपाल फर्कनका लागि टिकट काट्ने पैसा जुटाउन मुस्किल छ । यद्यपि, नेपाल फर्कने हो भने कम्पनीले टिकटसम्म उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले बताए । उनले दूतावासमा बिरामीको कोटामा आवेदन दिएका पनि थिए । तर, अहिलेसम्म नेपाल फर्कन पाएका छैनन् । सरकारले हुनेखाने र कमिसन दिन सक्नेलाई मात्र नेपाल फर्काएको उनले गुनासो गरे । ‘सरकारले जोखिममा भएकालाई पहिला उद्धार गर्ने भने पनि काम भने विपरीत भएको छ,’ उनले भने । 

के छ प्रस्तावित कार्यविधिमा? 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको कार्यविधिमा असार १ गतेपछि आफ्नै खर्चमा नेपाल आएका कामदारले रकम शोधभर्ना पाउने व्यवस्था गरिएको छ । निर्देशिकाले तोकेको मापदण्ड पुगेका कामदारले आफ्नै खर्चमा नेपाल फर्किएपछि शोधभर्ना पाउनेछन् । कार्यविधिअनुसार १ वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएका कामदारको खर्चको शतप्रतिशत र १ वर्ष वा सोभन्दा बढी र करार अवधिभित्र रोजगारी गुमाएका कामदारलाई खर्चको ५० प्रतिशत कल्याणकारी कोषबाट रकम फिर्ता गरिनेछ । त्यस्तै, कोरोना संक्रमणका कारण अलपत्र परेका श्रमिकको टिकट खर्च पनि नव्यहोर्ने कम्पनीलाई पाँच वर्षका लागि प्रतिबन्ध गरिने व्यवस्था गरिएको छ । श्रम स्वीकृतिको अवधिभित्र फौजदारी अभियोगमा जेल परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारलाई पनि कल्याणकारी कोषको रकम प्रयोग गरी निःशुल्क उद्धार गरिने व्यवस्था छ । 

खाडी र मलेसियाबाट नेपाल फर्कन चाहने ५० हजार  

सरकारको निर्णयअनुसार परराष्ट्र मन्त्रालयले मध्यपूर्वलगायत मलेसियामा जोखिममा रहेका नागरिकको तथ्यांक संकलन गरेको थियो । नियोगहरूका अनुसार युएईमा नेपाल फर्कनका लागि १८ हजारले आवेदन दिएका छन् । त्यस्तै, साउदी अरबमा १० हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार ८ सय, बहराइनमा १ हजार र ओमानमा ७ सयले आवेदन दिएका छन् । 

गैरआवासीय नेपाली संघ मलेसियाले कोरोना संक्रमणका कारण विदेशमा समस्यामा परेका नेपालीहरूको निःशुल्क उद्धार गर्न सरकारसँग माग गरेको छ । संघका अध्यक्ष हरि भट्टराई नेतृत्वको टोलीले क्वालालाम्पुरमा रहेको नेपाली दूतावासमा पुगेर राजदूत उदयराज पाण्डेलाई अप्ठ्यारोमा परेका नेपालीको तुरुन्त निःशुल्क उद्धारको मागसहित ८ बुँदे ज्ञापनपत्र बुझाएका छन् । त्यस्तै, जेलमा रहेका नेपालीको उद्धार गरी स्वदेश पठाउन, कोरोनाको समयअगावै कम्पनीद्वारा प्रदान गरिएका र श्रमिकहरूले आफैँ खरिद गरेका विभिन्न एयरलाइन्सको टिकट भएका श्रमिकहरूलाई नेपाल फर्काउन विशेष पहल गर्न संघले माग गरेको छ ।

दोस्रो चरणको उद्धार ३१ असारबाट 

कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका २७ हजार ७ सय ८० नेपाली नागरिकलाई नेपाल सरकारले उद्धार गरेको छ । विश्वभर फैलिएको कोभिड–१९ का कारण रोजगारी गुमाउने तथा बिरामीहरूलाई गत ३२ जेठबाट स्वदेशी र विदेशी एयरलाइन्समार्फत उद्धार गरिएको हो । पहिलो चरणमा नेपाल वायुसेवा निगमले ५८ उडानमार्फत १० हजार ९ सय १२ नेपालीलाई स्वदेश फिर्ता ल्याएको छ । त्यस्तै, हिमालय एयरलाइन्स र अन्य विदेशी एयरलाइन्सहरूले पनि उद्धार उडान गरेर स्वदेश ल्याएका हुन् । उद्धारका क्रममा विभिन्न देशमा मृत्यु भएका १ सय ६१ शवसमेत ल्याइएको छ । 

सरकारले पहिलो चरणको उद्धार सम्पन्न भएसँगै दोस्रो चरणको उद्धार आगामी असार ३१ देखि गर्ने घोषणासमेत गरेको छ । दोस्रो चरणको उद्धार एक साता चल्ने र ४२ उडान गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सेड्युल सार्वजनिक गरेको छ । दोस्रो चरणमा युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली नागरिकलाई उद्धार गर्ने गरी उडान तालिका तय गरेको छ । 

सिसिएमसीले ६ वटा मुलुकमा हुने उद्धार उडानमा नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलाइन्सले १६ गरी ३२ उडान गर्ने अनुमति दिने निर्णयसमेत गरेको छ । त्यस्तै, विदेशी वायुसेवा कम्पनी एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडानको अनुमति पाएका छन् । असार ३१ देखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म हुनेसमेत सिसिएमसीले जनाएको छ । 

कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रका संयोजक महेन्द्रप्रसाद गुरागाईं भन्छन्– ४२ उडानमा जति आउन सक्छन्, त्यति नै फर्काइन्छ

पर्यटन मन्त्रालयले विदेशमा रहेका नागरिकलाई फर्काउन ४२ वटा उडानको तालिका सार्वजनिक गरेको छ । तर, कति नागरिक फर्काउने तथ्यांक दिएको छैन । ४२ वटा उडानमा जति अट्छन्, त्यति नै आउनेछन् । उडान भइसकेपछि मात्रै हामी तथ्यांक भन्न सक्छौँ । किनभने, एयरलाइन्स कम्पनीले फरक–फरक खालका जहाज उडाउँछन् । वाइडबडीमा २ सय ७० र न्यारोबडीमा १ सय ५८ जना फर्कन सक्छन् । त्यसमा पनि कतिपय यात्रुले त टिकट काट्छन्, तर विमानस्थलमा परीक्षण गर्दा शंकास्पद भेटिन्छन् र फर्काइन्छ । त्यसैले कति फर्किन्छन् भनेर अहिले भन्न कठिन छ । ४२ उडानपछि बाँकी रहेकालाई फेरि अर्को उडानतालिका सार्वजनिक गरिनेछ । शव ल्याउनुपरेमा यात्रु संख्या घट्छन् ।

पहिलो चरणमा कुन देशबाट कति फर्किए ? 

पहिलो चरणको उद्धारअन्तर्गत सबैभन्दा धेरै युएईबाट नेपाली स्वदेश फर्किएका छन् । युएईबाट ५ हजार ६ सय ६८ नेपाली स्वदेश फर्किएका छन् । दोस्रोमा कुवेतबाट ५ हजार २ सय ४३ जना नेपाली स्वदेश फर्किएका छन् । त्यस्तै, सबैभन्दा कम श्रीलंकाबाट ५ जनाको उद्धार गरिएको छ । 

https://www.nayapatrikadaily.com/news-details/47134/2020-07-13


Tuesday, July 7, 2020

कामदारबाट २ अर्ब ठगीमा फरार सूचीका आरोपी वैदेशिक रोजगार बोर्डको सदस्यमा नियुक्त

 

१ अर्ब ९७ करोड रुपैयाँ ठगी गर्नेसँग श्रममन्त्री रामेश्वर राय यादवकै साँठगाँठ

माइग्राम्स र बायोमेट्रिकका नाममा सिन्डिकेट खडा गरी मलेसिया जाने गरिब कामदारसँग १ अर्ब ९७ करोड रुपैयाँ ठगी गर्नेसँग श्रममन्त्री रामेश्वर राय यादवकै साँठगाँठ, भन्छन्– प्रहरीको फरारसूचीमा रहेका खड्का योग्य र दक्ष श्रमविज्ञ हुन्

मलेसिया जाने कामदार स्वास्थ्य परीक्षणको नाममा करिब २ अर्ब ठगी गरेको आरोप लागेका स्वास्थ्य व्यवसायी कैलाश खड्कालाई सरकारले वैदेशिक रोजगार बोर्डको बोर्ड सदस्यमा नियुक्त गरेको छ । गत साल मलेसिया जाने कामदारबाट ५ अर्ब ठगी गर्नेहरूविरुद्ध सरकारले कारबाही चलाउँदा फरार भएका खड्कालाई श्रमिकको हित रक्षा गर्ने निकाय वैदेशिक रोजगार बोर्डमा नियुक्त गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आफू अध्यक्ष हुने बोर्डमा ठगी आरोपी खड्कालाई २ वर्षका लागि मनोनीत गरेका हुन् । 

खड्का नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्षसमेत हुन् । महासंघले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी २ अर्ब रुपैयाँ ठगी गरेको गत साल सरकारले नै गरेको अनुसन्धानबाट खुलेको थियो । खड्कासँगै मन्त्रालयले बोर्ड सदस्यमा वैदेशिक रोजगार व्यवसायी हेम गुरुङलाई समेत नियुक्त गरेको छ । गुरुङ एसओएस म्यानपावर सर्भिस तथा कतार भिसा सेन्टरका सञ्चालक हुन् । 

दुई अर्ब ठगी गरी फरारसूचीमा रहेका खड्कालाई प्रवर्द्धन बोर्डमा भित्र्यायो सरकारले
प्रहरीको फरारसूचीमा रहेका स्वास्थ्य व्यवसायी कैलाश खड्कालाई सरकारले प्रवर्द्धन बोर्डमा भित्र्याएको छ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा माइग्राम्स र बायोमेट्रिक नामका सिन्डिकेट खडा गरी १ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी ठगीका मास्टरमाइन्ड कैलाश खड्का हुन् । स्वास्थ्य परीक्षण गर्न मेडिकल दर्ता गर्ने माइग्राम्स नामक सिन्डिकेट र बायोमेट्रिक (स्वास्थ्य परीक्षण)का नाममा १ अर्ब ९७ करोड रुपैयाँ ठगी भएको थियो । यी दुवै ठगीका योजनाकार स्वास्थ्य व्यवसायी महासंघ नामको संस्थाका अध्यक्ष कैलाश खड्का नै हुन् ।

नयाँ पत्रिकाले जेठ २०७५ मा यससम्बन्धी समाचार प्रकाशन गरेपछि तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारबाट अनधिकृत रूपमा रकम असुल्ने संघसंस्था खारेज गर्ने घोषणा गरेका थिए । ६ जेठ ०७५ मा कामदार ठगीमा संलग्न विभिन्न कम्पनीहरूमा प्रहरीले छापा मारी ४८ जनालाई पक्राउ गरेको थियो । सरकारले माइग्राम्स, बायोमेट्रिक, भिएलएन, ओएससीलगायत नामका संस्था खडा गरी ५ अर्बभन्दा बढी रकम ठगी गर्ने खड्का, प्रवीण तिवारी, रामप्रसाद श्रेष्ठलगायतलाई प्रहरीले कारबाही सुरु गरेको थियो । त्यसरी ठगीमा संलग्न प्रहरीले भिसा संकलन तथा प्रोसेसिङको काम गर्दै आएको भिएलएनका सञ्चालक रामप्रसाद श्रेष्ठ तथा माइग्राम्सका स्वास्थ्य संस्थाका सञ्चालकलाई प्रक्राउ गरेको थियो । ४२ जनाविरुद्ध सरकारले ठगीमा मुद्दासमेत चलाएको थियो । तर, खड्का भने लामो समय प्रहरीको फरारसूचीमा थिए । पछि श्रेष्ठले अदालतबाट सफाइ पाएपछि खड्काले समेत अदालतमा गएर सरेन्डर गरेका थिए । खड्कालगायतका व्यवसायीलाई पनि जिल्ला अदालतले उन्मुक्ति दियो ।

खड्कालगायत व्यवसायीको मुद्दा चलाउने क्रममा सरकारी वकिल कार्यालयले नै दाबी कमजोर बनाएको थियो । खड्काको नेतृत्वमा करिब २ अर्ब रुपैयाँ ठगी भएको प्रतिवेदन प्रहरीले दिए पनि सरकारी वकिल कार्यालयले उनीहरूसँग १ अर्ब ७१ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो । त्यस्तै, भिएलएन र ओएससीसहित साढे ५ अर्ब ठगी भएको भए पनि सरकारी वकिल कार्यालयले माइग्राम्स र बायोमेट्रिक सञ्चालन गरी ठगी गर्नेहरूलाई १ अर्ब ७१ करोड मात्रै बिगो दाबी गरिएको थियो । त्यसमध्ये खड्काकै लगानीका वेलकेयर अस्पताल र डायनास्टिक मेडिकल सेन्टरलाई ४ करोड ४९ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो । 

त्यसरी ठगीमा संलग्नलाई उत्मुक्ति दिने जिल्ला अदालतका न्यायाधीशलाई न्यायपरिषद्ले कारबाही प्रक्रिया अघि बढाएको थियो । तर, सोही वेला तत्कालीन कानुनमन्त्री तथा परिषद् अध्यक्ष शेरबहादुर तामाङले राजीनामा दिएपछि सो प्रक्रिया रोकियो । तामाङले बंगलादेशमा पढ्ने नेपाली विद्यार्थीलाई दुर्व्यवहार हुने गरेको भन्ने विषयमा दिएको अभिव्यक्तिको विरोध भएपछि उनको राजीनामा आएको थियो । तर, मलेसिया जाने कामदारसँग ५ अर्ब ठगी गर्ने व्यवसायीको दबाबमा प्रधानमन्त्रीले उनलाई राजीनामा गर्न लगाएको उच्च सरकारी स्रोतहरू बताउँछन् । त्यसको केहीपछि ठगीमा संलग्नलाई कारबाहीको नेतृत्व गर्ने तत्कालीन श्रममन्त्री गोकर्ण विष्टलाई पनि प्रधानमन्त्रीले पदमुक्त गरेका थिए । विष्टले जसमाथि कारबाही चलाएका थिए, उसैलाई वैदेशिक रोजगार बोर्डमा नियुक्त गरिएपछि उनलाई ठगहरूकै दबाबमा पदमुक्त गरिएको पुष्टि भएको पनि सरकारी स्रोत बताउँछ । 

तर, खड्काले अदालतबाट सफाइ पाइसकेका कारण उनी विवादमुक्त भएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले उनको बचाउ गरेका छन् । ‘तत्कालीन समयमा आरोपित भए पनि उनले सफाइ पाइसकेका छन् । त्यसैले उनलाई विवादित व्यक्ति भन्न मिल्दैन,’ मन्त्री यादवले भने । खड्काले पनि आफूले अदालतबाट सफाइ पाएकाले बोर्डको सदस्य बन्न योग्य रहेको बताए । ‘म स्वास्थ्य र श्रम मन्त्रालयले गठन गरेको विशेषज्ञ समितिको विज्ञ सदस्य भएको सात वर्ष भयो र नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष भएको नै ६ वर्ष भयो,’ उनले भने । 

मन्त्रीले यस्तो दाबी गरे पनि कामदार ठगी गर्न बायोमेट्रिक प्रणाली नेपालमा भित्र्याउने मुख्य योजनाकार खड्का र प्रवीण तिवारी हुन् । तिवारी स्वास्थ्य व्यवसायी महासंघ नामको सिन्डिकेटका पूर्वअध्यक्ष हुन् । खड्का र तिवारीले नै मलेसियन कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गरी नेपालमा माइग्राम्स र बायोमेट्रिकको सिन्डिकेट खडा गरेका थिए । बायोमेट्रिक प्रकरणमा ३९ वटा स्वास्थ्य संस्थाका सञ्चालकलाई ठगीको आरोपमा पक्राउ गरी छानबिन गरेको सरकारले खड्का र तिवारीलाई भने पक्राउ गरेन । माइग्राम्समार्फत अढाई वर्षमा २ लाख ९३ हजार ६ सय ८० कामदारबाट रकम ठगी गरिएको थियो ।

२५ असार ०७२ बाट स्वास्थ्य परीक्षणका नाममा ३७ वटा स्वास्थ्य व्यवसायीहरूले सिन्डिकेट बायोमेट्रिक दर्ताबापत ३ हजार ४ सय २२ रुपैयाँ र स्वास्थ्य परीक्षणका नाममा थप ४ हजार ५ सय रुपैयाँ गरी कुल ७ हजार ९ सय २२ रुपैयाँ असुल्न थालेका थिए । जबकि सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणबापत पुरुष कामदारका लागि अधिकतम २ हजार ९ सय ४० रुपैयाँ र महिला कामदारका लागि अधिकतम ३ हजार १ सय रुपैयाँ (गर्भवती जाँचसमेत) शुल्क तोकेको थियो । त्यस्तै, फागुन ०७३ बाट इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी)का नाममा जिएसजी नामक संस्थाले प्रतिकामदार २ हजार २ सय रुपैयाँ असुल्दै आएको थियो ।

तत्कालीन मन्त्री गोकर्ण विष्टले महासंघको सिन्डिकेट तोडी वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न २ सय ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेका थिए । त्यसपछि मात्रै मेडिकलमा सिन्डिकेट अन्त्य भएको थियो । 

नियुक्ति नै कानुनविपरीत
वैदेशिक रोजगार ऐनको दफा ३८ मा वैदेशिक रोजगार बोर्डमा श्रमविज्ञबाट एक महिलासहित दुईजना र वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा उनले सिफारिस गरेका एक महिलासहित दुईजना सदस्य हुने व्यवस्था गरेको छ । संघका तर्फबाट अध्यक्ष विष्णु गैरे र कोषाध्यक्ष इन्दिरा गुरुङ बोर्डका सदस्य छन् । तर, अहिले मन्त्री यादवले कैलाश खड्का र एसओएस म्यानपावरका सञ्चालक हेम गुरुङलाई श्रमविज्ञका रूपमा नियुक्त गरेका छन् । एकातिर यी दुवै व्यक्ति श्रमविज्ञ होइनन्, बोर्डसँग स्वार्थ बाझिने व्यवसायी हुन् । अर्कातिर, ऐनअनुसार श्रमविज्ञमध्ये एक महिला हुनैपर्नेमा दुवैजना पुरुषलाई नियुक्त गरिएको छ । त्यसो हुँदा यो नियुक्ति नै कानुनविपरीत छ । 

खड्का बोर्ड सदस्यका लागि दक्ष व्यक्ति हुन् : रामेश्वर राय यादव 
मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा

कैलाश खड्का यसअघि नै मन्त्रालयको विज्ञ समूहमा छन् । वैदेशिक रोजगार बोर्डको बोर्ड सदस्यमा पनि विज्ञ व्यक्ति हुनुपर्ने भएकाले उहाँ दक्ष देखिनुभयो । त्यसैले उहाँलाई नियुक्त गरिएको हो । मैले अदालतको फाइल हेरेँ, अदालतले पनि उहाँलाई सफाइ दिइसकेको छ । त्यसैले उहाँ सक्षम हुनुहुन्छ भनेर नियुक्त गरिएको हो ।

https://www.nayapatrikadaily.com/news-details/46782/2020-07-07