Sunday, December 30, 2018

एकल बिमाशुल्क भुक्तानी जीवन बिमा

भविष्यको सुरक्षा र बचत दुवै प्रयोजनार्थ जीवन बिमा गर्ने गरिन्छ । बजारमा कम्पनीहरूले विभिन्न प्रकारका जीवन बिमा लेख बिक्री गरिरहेका छन् । त्यसैले कुनै पनि व्यक्तिले आफूलाई अनुकूल हुने बिमा लेख खरिद गर्न सक्छन् । बिमा कम्पनीहरूले बिक्री गरिरहेका विभिन्न बिमा लेखमध्ये निकै चलेको एकल बिमा शुल्क भुक्तानी पनि हो । 
सामान्यतया जीवन बिमा लेखको बिमाशुल्क भुक्तानी त्रैमासिक, अर्धवार्षिक र वार्षिक हुन्छ । केही बिमा लेखमा मासिक भुक्तानीको सुविधा पनि दिइएको हुन्छ । बिमाशुल्क कति–कति अवधिमा तिर्ने गरी बिमा लेख खरिद गरिएको छ, सोहीअनुसार प्रथम बिमाशुल्क भुक्तानीपछि बिमाशुल्क तिर्दै जानुपर्छ । कम्पनीहरूले बिक्री गरेका बिमा लेखहरू हेर्ने हो भने अधिकांश बिमितले वार्षिक वा अर्धवार्षिक रूपमा बिमाशुल्क भुक्तानी गर्ने विकल्प छनोट गरेका पाइन्छन् । यसो गर्नुको मुख्य कारणमा बिमाशुल्क भुक्तानी गर्ने मिति पटक–पटक सम्झनुपर्ने झन्झटबाट मुक्त हुन र बिमाशुल्कमा पाइने छुट रहेको पाइन्छ ।
एकल बिमाशुल्क भुक्तानीमा भने सम्पूर्ण बिमाशुल्क बिमालेख जारी भएको समयमै तिर्नुपर्छ । सामान्यतया यस्तो बिमाको अवधि ५ देखि ४० वर्षसम्म रहेको पाइन्छ भने बिमाशुल्क अवधिका आधारमा तय गरिएको हुन्छ । यो पनि अरूजस्तै बिमालेख हो । यसमा बिमाशुल्क भुक्तानी गर्ने तरिका मात्र फरक हुन्छ । यसमा बिमालेख व्यतीत हुने जोखिम रहँदैन भने बिमितलाई पनि पटक–पटक सम्झिएर बिमाशुल्क बुझाउनुपर्ने झन्झट पनि रहँदैन ।

Saturday, December 29, 2018

सिंहदरबारमा लखनउको सौडी विरयानी


भनिन्छ, यदि कसैको मन जित्नु छ भने मीठो खाना खुवाउनुहोस् । खानासँगै तपाईं कसैको मनभित्रै पस्न सक्नुहुन्छ । यही विषयलाई मनन गरेर नेपालगन्जका साफिक इराकीले काठमाडौंको सिंहदरबारभित्र ‘विरयानी घर’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । जहाँ लखउनको चर्चित परिकार सौडी विरयानीको स्वाद लिन सकिन्छ । विरयानी घरमा विरयानी मात्रै होइन, बरिस्ता कफी, कबाब, कोर्मा, रुमानी रोटी र अन्य परिकार पनि पाउन सकिन्छ । रेस्टुरेन्टका सञ्चालक नेपालगन्जका तल्हा राकी भए पनि विरयानी घरको अवधारणा भने इराकीको हो । ‘म धेरै पहिलेदेखि काठमाडौंमा लखनउको सौडी विरयानी भियाउन चाहन्थेँ । तर, संयोगवश आज यो सम्भव भएको छ,’ उनले भने ।

Tuesday, December 25, 2018

अब जनता आवासविहीन हुने अवस्था अन्त्य हुनेछ

Wednesday, November 21, 2018

अर्थ मन्त्रालयले १३ दिनमै उल्ट्यायो आफ्नो निर्णय

महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाइसेन्स प्रक्रिया :
मुना कुँवर
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको अर्थ मन्त्रालयले १३ दिनमा नै आफ्नो निर्णय परिवर्तन गरेको छ । प्रस्तावित बिमा विधेयक विचाराधिन अवस्थामा रहेको भन्दै मन्त्रालयले तत्काल महालक्ष्मी लाइफ इन्स्योरेन्सको दर्ता प्रक्रिया अगाडि नबढाउन बिमा समितिलाई निर्देशन दिएको हो । 
मन्त्रालयले गत भदौ २८ मा बिमा समितिलाई पत्राचार गरी सर्वोच्च अदालतको आदेशअनुसार लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । सो निर्देशन दिएको १३आँै दिन (असोज १०) मा मन्त्रालयले पुनः बिमा समितिलाई पत्राचार गरी असोज ९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार तत्काल महालक्ष्मीको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

Tuesday, November 13, 2018

शतप्रतिशत बढ्यो कृषि बिमाको अनुदान रकम


मुना कुँवर
चालू आवमा कृषि बिमाका लागि ७० करोड विनियोजन
सरकारको चालू आर्थिक वर्ष ०७५/७६ मा कृषि बिमा अनुदान रकम शतप्रतिशतले बढेको छ । चालू आवमा कृषि बिमाका लागि ७० करोड रुपैयाँ विनियोजन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजप्रसाद सुवेदीले बताए । उनका अनुसार पशुका लागि ४० करोड रुपैयाँ र बालीका लागि ३० करोड रुपैयाँ विनियोजन भएको छ ।
गत आवमा कृषि बिमातर्फ सरकारले ३५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये कृषि विकासका लागि १० करोड ५० लाख र पशुपन्छी विकासका लागि २५ करोड रकम विनियोजन गरिएको थियो ।
कृषि बिमा कार्यक्रम सञ्चालन गरिएको पहिलो आव ०७०/७१ मा भने सरकारले १३ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, उक्त वर्ष कृषि बिमाको प्रचार हुन नसक्दा जम्मा १ करोड ७० लाख रुपैयाँ मात्रै खर्च भएको थियो । त्यसैले, दोस्रो वर्ष आव ०७१/७२ मा भने सरकारले जम्मा ६ करोड रकम विनियोजन गरेको थियो । तर, उक्त वर्ष भने कृषि बिमा व्यापक रूपले बढ्यो । विनियोजित रकम अपुग भएपछि सरकारले ५ करोड रुपैयाँ थप गरेको थियो । त्यस्तै, आव ०७२/७३ का लागि सरकारले १२ करोड विनियोजन गरेको थियो । उक्त वर्ष पनि रकम अपुग भएपछि सरकारले ६ करोड रुपैयाँ थप गरेको हो ।

Wednesday, November 7, 2018

अनलाइन सेयर कारोबार प्रणाली सुरु

काठमाडौं | कार्तिक २१, २०७५
पोर्टफोलियो व्यवस्थापनका लागि बजारमा लगानी गर्नुहोस्  : अर्थमन्त्री
नेपाल स्टक एक्सचेन्जले मंगलबारदेखि अनलाइन सेयर कारोबार प्रणालीको शुभारम्भ गरेको छ । काठमाडाैंमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री युवराज खतिवडाले नेप्से अनलाइन प्रणालीको सुरुवात गरेका छन् ।
अब लगानीकर्ताले इन्टरनेटको माध्यमबाट यथास्थानमा नै बसेर सेयर खरिद–बिक्री गर्न सक्ने भएका छन् । अनलाइन प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थागत लगानीकर्तालाई सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् । ‘बैंकको ब्याज भनेको मौसमी हुन्छ । आज छ भोलि छैन,’ उनले भने, ‘पोर्टफोलियो व्यवस्थापनका लागि पनि बजारमा लगानी गर्नुहोस्,’ । साथै, वित्तीय विश्लेषण गरेर बजारमा लगानी गर्न लगानीकर्तालाई उनले सुझाब दिएका छन् । कम्पनीको वासलात, नाफा–नोक्सान विवरण हेरेर मात्रै लगानी गर्नसमेत उनले आग्रह गरे ।

एउटै बिमालेखले सबैको बिमा


मुना कुँवर
काठमाडौ | कार्तिक २०, २०७५
अबदेखि एउटै बिमालेखले मानिस, चौपाया तथा घरको पनि बिमा गर्न सकिने भएको छ । बिमा समितिले निर्माण गर्न लागेको एकीकृत बिमालेखले सामूहिक बिमा गर्न सकिने भएको हो । समितिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी एकीकृत बिमालेख निर्माण गर्ने तयारी गरेको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए ।
‘समितिले सामान्य नागरिकलाई लक्षित गरी एउटा बिमालेखले सबैको बिमा गर्न सकिने योजना बनाउँने सोच धेरैअघिदेखि बनाएको हो,’ उनले भने, ‘तर, अहिले सुरुवात हामीले बाढीप्रभावित क्षेत्रलाई लक्षित गरेका छौँ । यस्ता क्षेत्रमा रहने मानिस बढी जोखिममा रहने भएकाले यस्तो बिमालेख बनाउने योजना बनाएका हौँ ।’ बिमालेखको नाम अहिलेलाई एकीकृत बिमालेख राखिए पनि यसको निर्णय भने नभएको उनले बताए । साथै बिमांक रकमको अन्तिम निर्णय पनि हुन बाँकी छ । प्रारम्भिक चरणमा रहेको उक्त बिमालेखलाई समितिको सञ्चालक समितिको बैठकले पारित गर्नुपर्नेछ । साथै सरकारको स्वीकृतिपछि मात्रै बिमा कम्पनीहरूले जारी  गर्न पाउनेछन् ।

Saturday, November 3, 2018

बिमांकी अध्यापन गराउँदै टियू

काठमाडाैं | कार्तिक १७, २०७५
नेपालमा सबै क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । यो हामी सबैले भन्दै, सुन्दै र महसुस गर्दै आएको विषय हो । त्यसमा पनि बिमा क्षेत्रका लागि अति आवश्यक बिमांकी त झन् नेपालमा एकजना पनि छैनन् ।
बिमा कम्पनीहरूको वित्तीय विवरण तयार पार्नेदेखि लिएर नयाँ बिमा योजना बनाउन बिमांकीको आवश्यकता पर्छ । तर, नेपालमा बिमांकी अध्ययन गरेका एकजना पनि छैनन् । त्यसैले, नेपाली बिमा कम्पनीहरूले भारतीय बिमांकी प्रयोग गर्दै आएका छन् । बिमांकीको यो अभावलाई मध्यनजर गरेर त्रिभुवन विश्वविद्यालयले बिमांकी अध्यापन सुरु गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले विज्ञान संकायअन्र्तगत ०७३ साल असोजबाट बिमांकी विषय अध्यापन सुरु गरेको हो । स्कुल अफ म्याथम्याटिकल साइन्सअन्तर्गत यो विषयको अध्यापन गराइन्छ । चार वर्षे स्नातक तहमा आठ सेमेस्टर हुन्छ भने पाँचवटा विषय पढाइ हुन्छ । जसमा बिमांकीबाहेकका अन्य विषय पनि समावेश छन् ।

Tuesday, October 30, 2018

जनता आवास कार्यक्रमको नौ वर्ष : तीन जिल्लामा मात्रै हजारभन्दा बढी आवास निर्माण


मुना कुँवर
सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम सप्तरी र सिरहामा मात्रै सफल भएको देखिएको छ । सहरी विकास तथा भवन निर्माण विभागको तथ्यांकअनुसार सप्तरीमा सबैभन्दा धेरै १ हजार ७ सय ५८ वटा आवास निर्माण सम्पन्न भएका छन् भने सिरहामा १ हजार ५ सय ८२ वटा आवास निर्माण भइसकेका छन् ।
गरिबीको रेखामुनि रहेका नागरिकलाई स्वस्थ्य तथा सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले सरकारले जनता आवास कार्यक्रम सुरु गरेको हो । आव ०६६/६७ देखि सुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत ९ वर्षमा १७ हजार ३९ वटा आवास निर्माण सम्पन्न भइसकेका छन् । यद्यपि गत आवको अन्त्यसम्म सरकारले ४७ हजार १ सय ९७ वटा जनता आवास निर्माण गरिसक्ने लक्ष्य
लिएको थियो ।
नौ वर्षको अवधिमा ३ वटा जिल्लामा मात्रै एक हजारभन्दा बढी आवास निर्माण सम्पन्न भएका छन् । सप्तरी र सिरहापछि कपिलवस्तुमा सबैभन्दा धेरै आवास निर्माण भएको हो । सप्तरीमा जनता आवास कार्यक्रम सुरु भएको पहिलो वर्ष नै १ हजार आवास निर्माण भइसकेको थियो । तर, आव ०७०÷७१ मा सबैभन्दा कम ३ वटा मात्रै आवास निर्माण भएको थियो । गत आवमा भने २ सय ३ वटा आवास बनेको तथ्यांक छ ।

Sunday, October 28, 2018

बिमकको शाखा स्थापनासम्बन्धी निर्देशिका निर्माण गर्दै समिति


मुना कुँवर
नेपाली बिमा कम्पनीले विदेशमा समेत शाखा खोल्न सक्ने
बिमा समितिले बिमकको शाखा स्थापनासम्बन्धी निर्देशिका २०७५ जारी गर्ने तयारी गरेको छ । प्रारम्भिक मस्यौदा तयारी गरी सञ्चालक समितिमा पठाइसकेको समितिले जानकारी दिएको छ ।
धेरैअघिदेखि चर्चामा रहेको नेपाली बिमा कम्पनीको शाखा विदेशमा समेत विस्तार गर्ने विषयलाई समितिले नीतिगत रूपमा नै व्यवस्था गर्न लागेको छ । निर्देशिकाअनुसार समितिले तोकेको चुक्ता पुँजी कायम गरेको कुनै पनि कम्पनीले विदेशमा शाखा कार्यालय स्थापना गर्न सक्नेछन् । यसका लागि कम्पनीले सम्बन्धित मुलुकको सम्भाव्यता अध्ययन गर्नुपर्नेछ । त्यसैगरी, सम्बन्धित मुलुकको नियामक निकायले तोकेको पुँजी पूरा गर्नुपर्नेछ र सो पुँजीको व्यवस्थापन गरिने स्रोतसमेत खुलाउनुपर्नेछ । स्वीकृति प्राप्त गरेको ६ महिनाभित्रमा शाखा कार्यलय खोलिसक्नुपर्नेछ । सो विषयमा सम्बन्धित मुलुकको ऐन तथा नीतिगत व्यवस्थाले नरोक्ने व्यहोरा पहिले नै प्रमाणित गर्नुपर्नेछ ।

Saturday, October 27, 2018

अन्योलमा जनता आवास कार्यक्रम


मुना कुँवर
सरकारले सञ्चालन गर्दै आएको जनता आवास कार्यक्रम अन्योलमा परेको छ । मुलुक संघीय संरचनामा गएपछि केन्द्रीय सरकारले जनता आवास कार्यक्रम प्रदेश सरकारमा हस्तान्तरण गरेको छ । कार्यक्रम प्रदेश सरकारमा हस्तान्तरण भएसँगै कार्यक्रमले निरन्तरता पाउनेमा शंका उब्जिएको हो ।
गरिबीको रेखामुनि रहेका नेपाली नागरिकहरूको आवासको भौतिक अवस्थामा सुधार गरी स्वस्थ तथा सुरक्षित आवासमा उनीहरूको पहुँच बढाउने उद्देश्यले सरकारले आव ०६६/०६७ देखि यो कार्यक्रम सुरुवात गरेको थियो । तराईका तीन जिल्ला सिरहा, सप्तरी र कपिलवस्तुबाट यो कार्यक्रम सुरु गरिएको थियो ।
चालू आवदेखि सरकारले विनियोजन गरेको बजेटसहित जनता आवास कार्यक्रम प्रदेश सरकारमा हस्तान्तरण गरिएको हो । तर, प्रदेश सरकार यस विषय अनभिज्ञ भएकाले कार्यक्रम सुचारु हुने/नहुने अन्योल देखिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

Friday, October 26, 2018

पाँच हजार सिटको सभाहल बन्दै


मुना कुँवर
चालू आर्थिक वर्षभित्रै डिजाइन तयार गर्न भवन निर्माण विभागलाई निर्देशन
नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो पाँच हजार सिट क्षमताको अन्तर्राष्ट्रियस्तरको सभाहल बन्ने भएको छ । सरकारले भक्तपुरस्थित नागरिक उड्डयन प्रशिक्षण तालिम केन्द्रको १ सय ८९ रोपनी जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षभित्रै पाँच हजार सिट क्षमताको सभाहल डिजाइन निर्माण सम्पन्न गर्न सहरी विकास तथा भवन निर्माण विभागलाई मंगलबार निर्देशन दिएको छ ।
विभागले यसअघि उक्त तालिम केन्द्रकै ८९ रोपनी जग्गामा अस्थायी सम्मेलन केन्द्र निर्माण गर्ने प्रस्ताव गरेको थियो । नेपालमा हुने भनिएको भारतको प्रसिद्ध जी–सिनेमा अवार्ड कार्यक्रमलाई लक्षित गरी प्रिफेव भवन निर्माण गर्ने प्रस्ताव गरिएको थियो ।

Thursday, October 11, 2018

आफ्नै घरको सपना पूरा गर्दै बैंक


मुना कुँवर
काठमाडौं 
अधिकांश मानिसको पहिलो चाहना भनेकै एउटा सुन्दर घर हुने गर्दछ । त्यही चाहना पूरा गर्न मानिस दिनरात मिहिनेत गर्छ । कतिपय मानिस आफ्नो सपनाको घर बनाउन सफल हुन्छन् भने कोही जीवनभर त्यही इच्छा पूरा गर्नकै लागि दौडिरहन्छन् ।
तर, नियमित आम्दानीको स्रोत हुने हो भने अब घर बनाउन पूरै जीवन गुजार्नु पर्दैन । तपार्इंले नियमित मासिक रकम भुक्तानी गरेरसमेत आफ्नो सपना साकार पार्न सक्नुहुन्छ । यो सपना पूरा गर्न बैंक तथा वित्तीय संस्थाहरू तपाईंंको सहयोगी हुन सक्छन् । अधिकांश मानिसको इच्छा र चाहनालाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाले घर कर्जा योजना सञ्चालनमा ल्याएका छन् ।

६ महिनासम्म पनि कमोडिटी एक्सचेन्जले पाएनन् अनुमति


मुना कुँवर
काठमाडौं 
नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ महिना बितिसक्दा पनि कमोडिटी एक्सचेन्ज (वस्तु विनियम बजार)हरूले सञ्चालन अनुमति पाएका छैनन् । बोर्डको आह्वानमा गत वैशाखमा सञ्चालन अनुमतिका लागि निवेदन दिएका पाँच कम्पनीले अहिलेसम्म पनि लाइसेन्स पाउन सकेका छैनन ।
अघिल्लो वर्षको ११ भदौमा वस्तु विनियम बजारसम्बन्धी ऐन २०७४ कार्यान्वयनका आएको थियो । गत ९ मंसिरमा वस्तु विनियम बजारसम्बन्धी नियमावली २०७४ जारी गरी वस्तु विनियम (कमोडिटी डेरिभेटिभ) बजारलाई बोर्डको नियमको दायरामा ल्याइएको थियो । ऐन जारी भए लगत्तै बोर्डले सञ्चालन भइरहेका एक्सचेन्जलाई नयाँ करारका लागि रोक लगाएको थियो भने एक्सचेन्ज सञ्चालन गर्न चाहनेले बोर्डमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो ।

Wednesday, October 3, 2018

स्वास्थ्य बिमामा बजेट बढ्दै, आकर्षण घट्दै

मुना कुँवर
काठमाडौं | असोज १७, २०७५
चालू वर्षमा २५ प्रतिशत बिमितले स्वास्थ्य बिमा नवीकरण गरेनन्
नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति बिमितको आकर्षण घटिरहेका वेला कार्यक्रमको बजेट भने सरकारले बढाएको छ । चालू आर्थिक वर्ष ०७५/७६ का लागि सरकारले ६ अर्ब रुपैयाँ यो कार्यक्रममा विनियोजन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा करिब ४ गुणाले बढी हो ।
खर्च नै भएन बजेट
सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रत्येक वर्ष बजेट बढाउँदै लगेको छ । तर, योजनाअनुसार कार्यक्रम सञ्चालन हुन नसक्दा बोर्डले विनियोजन गरेको रकम खर्च हुन सकेको छैन । आव ०७१/७२ मा सरकारले ५० करोड रुपैयाँ रकम विनियोजन गरेको थियो । तर, उक्त वर्ष ७१ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको बोर्डको तथ्यांकमा छ । त्यस्तै आव ०७२/७३ मा सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेकोमा ३ करोड ३८ लाख रुपैयाँ खर्च भएको थियो । आव ०७३/७४ मा २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेकोमा बोर्डले करिब ४० करोड रुपैयाँ मात्र खर्च गर्न सकेको थियो ।

Thursday, September 27, 2018

नियमन शुल्क घटे बिमाशुल्क पनि घट्ने

बिमा समितिले नयाँ विधेयकमा बिमा कम्पनीहरूको नियमन शुल्क घटाउने प्रस्ताव गरेको छ । नियमन शुल्क घटेमा बिमा कम्पनीहरूले लिँदै आएको बिमा शुल्कको दर पनि घट्ने समितिको भनाइ छ ।
बिमा ऐन २०४९ को दफा ४० को उपदफा (२) बमोजिम प्रत्येक बिमकले समितिलाई सेवा शुल्कबापत आफ्नो व्यवसायबाट आम्दानी गरेका कुल बिमा शुल्कको एक प्रतिशत रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ । कम्पनीहरूले समितिलाई बुझाउनुपर्ने शुल्क बिमितबाट नै असुल्दै आएका छन् । समितिले नयाँ बिमा विधेयकमा यस्तो सेवा शुल्क आधाले घटाउने प्रस्ताव गरेको छ । विधेयकमा समितिले सेवा शुल्कलाई नियमन शुल्कमा परिभाषित गरेको छ ।

Wednesday, September 26, 2018

जीवन बिमा कम्पनीलाई बोनसको दबाब

नयाँ जीवन बिमा कम्पनी आएपछि बोनसको दर बढाउँदै पुराना कम्पनी
नेपालको जीवन बिमा व्यवसायमा नयाँ कम्पनीहरू थपिएसँगै पुराना कम्पनीलाई बोनसको दबाब पर्न थालेको छ । सोहीकारण गत वर्ष बोनसदर घोषणा गरेका ६ वटा जीवन बिमा कम्पनीले तुलनात्मक रूपमा बोनसदर बढाएका छन् ।

जीवन बिमा कम्पनीले बिमितहरूलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ । बिमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष बोनसदर निर्धारण गरिन्छ । यस्तो बोनसदर कम्पनीले जारी गर्ने पोलिसीमा फरक–फरक हुन्छ ।
गत आवमा ६ कम्पनीले निर्धारण गरे बोनसदर
६ वटा जीवन बिमा कम्पनीले गत आवको बोनसदर निर्धारण गरेका छन् । सञ्चालनमा रहेको नौवटा जीवन बिमा कम्पनीमध्ये ६ वटाले मात्रै आर्थिक वर्ष २०७३/७४ को बोनसदर निर्धारण गरेका हुन् । नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेटलाइफ, एसियन लाइफ, सूर्या लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बोनसदर निर्धारण गरेका छन् ।

Tuesday, September 4, 2018

यातायात दुर्घटना बिमा बढाउन बिमा कम्पनीहरू अनिच्छुक


मुना, अर्जुन
यातायात दुर्घटनामा घाइते भएकाहरू अस्पतालमा बन्दी बन्न बाध्य
यातायात दुर्घटना बिमा बढाउन यातायात व्यवस्था विभागले गरेको आह्वानप्रति बिमा कम्पनीहरू अनिच्छुक देखिएका छन् । विभागले १५ दिनको अवधि दिएर बिमा रकम बढाउन आह्वान गरे पनि एक महिना पुग्न लाग्दासमेत कुनै पनि कम्पनीले आवेदन दिएक छैनन् ।
सरकारले सिन्डिकेट हटाएपछि दुर्घटनामा परेका घाइतेको उपचारमा देखिएको समस्या समाधान गर्न बिमा रकम बढाउन कम्पनीहरूसँग आवेदन मागेको थियो । तर, कुनै पनि कम्पनीले आवेदन नदिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताए । विभागले दुर्घटना बिमाशुल्क तथा मेरुदण्ड र टाउकोमा चोट लागेको जोखिमबापत लाग्ने बिमाशुल्कसहित बिमा कम्पनीसँग प्रस्ताव आह्वान गरेको थियो ।

Sunday, August 26, 2018

‘प्राधिकरणका सञ्चालक र कर्मचारीका आफन्तलाई बिमा कम्पनीमा जागिर नदेऊ’


मुना कुँवर
बिमा प्राधिकरणका सञ्चालक तथा कर्मचारीका आफन्तले बिमा कम्पनीमा जागिर खान नपाउने व्यवस्था गर्न बिमा अभिकर्ताले माग गरेका छन् । अहिले बन्दै गरेको बिमा विधेयकमा यस्तो व्यवस्था राख्न उनीहरूले माग गरेका हुन् ।
नयाँ विधेयककोे दफा ५७ मा बिमकसँग वित्तीय स्वार्थ भएको व्यक्ति कर्मचारी नियुक्त गर्न नहुने व्यवस्था छ । तर, बिमा अभिकर्ताहरूले प्राधिकरणका सञ्चालक र कर्मचारीका आफन्तले समेत जागिर खान नपाउने व्यवस्था थप गर्नुपर्ने माग राखेका हुन् ।
अहिले अधिकांश बिमा कम्पनीमा बिमा समिति र सञ्चालकका आफन्तहरू कर्मचारीका रूपमा कार्यरत छन् । सोही कारण समितिले सम्बन्धित कम्पनीहरूलाई नियमन गर्न नसकेको उनीहरूको तर्क छ । अझ कम्पनीमा कार्यरत सञ्चालक र कर्मचारीका आफन्तको कार्य प्रस्तुति पनि अराजक हुने गरेको उनीहरूले आरोप लगाएका छन् ।

Sunday, August 19, 2018

कर छलीमा अहिलेसम्मकै ठूलो मुद्दा

मुना कुँवर
काठमाडौं | 
राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो कर छलीको मुद्दा अदालतमा दर्ता गरेको छ । ५४ करोड ४२ लाख रुपैयाँ कर छली गरेका हिमालयन कार्गोका सञ्चालक विनोदकुमार गुप्ताविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो  । विभागको अनुसन्धानबाट गुप्ताले १० वर्षदेखि कर छली गर्दै आएको भेटिएपछि उनकी श्रीमती मधुकुमारी गुप्तासमेतलाई मुख्य अभियुक्त बनाई शुक्रबार नै अदालतमा मुद्दा दर्ता गरिएको हो । विभागका अनुसार यो हालसम्मकै ठूलो मुद्दा हो ।
गुप्ताले आर्थिक वर्ष ०६५/६६ देखि साना करदाताका रूपमा ५ हजार रुपैयाँ मात्र कर बुझाएको अनुसन्धानबाट भेटिएको छ । त्यसैगरी ०७२/७३ देखि कुनै पनि कर नबुझाएको भेटिएपछि दाबी र कैद सजायसहित मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

१६ प्रतिशत बिमितले गरे बिमालेख रद्द


मुना कुँवर
काठमाडौं
बिमालेख व्यतीत अनुपात १० प्रतिशतसम्म सामान्य, ३० प्रतिशतभन्दा बढी भए जोखिम
आर्थिक वर्ष ०७२/७३ को तथ्यांकअनुसार तीनवटा जीवन बिमा कम्पनीको बिमालेख व्यतीत अनुपात २० प्रतिशतभन्दा बढी देखिएको छ । त्यस्तै, दुई कम्पनीको व्यतीत अनुपात १० देखि २० प्रतिशत हेको छ भने बाँकी तीन कम्पनीको व्यतीत अनुपात १० प्रतिशतभन्दा कम छ । कम्पनीहरूको औसत व्यतीत अनुपात भने १६ प्रतिशत रहेको छ ।

कम्पनीहरूको बिमालेख व्यतीत अनुपात १० प्रतिशतसम्म रहेमा सामान्य मानिन्छ । १० प्रतिशतदेखि २० प्रतिशतसम्मको अवस्थालाई मध्यम मानिन्छ भने २० प्रतिशतदेखि ३० प्रतिशतसम्मलाई जोखिमयुक्त मानिन्छ । त्यस्तै, ३० प्रतिशतभन्दामाथि भएमा उच्च जोखिम मानिने जोखिम तथा बिमाविज्ञ उदयराज अधिकारीले बताए ।
समितिको तथ्यांकअनुसार सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको व्यतीतदर एकदमै उच्च देखिएको छ । उक्त कम्पनीको बिमालेख व्यतीतदर ३० प्रतिशत छ । त्यस्तै, सबैभन्दा कम नेसनल लाइफको छ । जसको बिमालेख व्यतीत अनुपात १ दशमलव ४९ प्रतिशत छ ।

Thursday, August 16, 2018

सरकारले भूमिहीनलाई आवासको व्यवस्था गर्ने

मुना कुँवर
काठमाडाैँ | भदौ ०१, २०७५
देशको कुनै पनि भूभागमा आफ्नो घरजग्गा नभएको स्वघोषणा गर्नुपर्ने
अबदेखि कोही पनि नेपाली नागरिकले आवासविहीन भएर बस्नुनपर्ने भएको छ । नेपालको संविधानमा गरिएको नागरिकको आवास अधिकारसम्बन्धी हकलाई कार्यान्वयन गर्न सहरी विकास मन्त्रालयले संसद्मा दर्ता गरेको आवासको अधिकारसम्बन्धी विधेयक २०७५ अनुसार प्रत्येक नागरिकले आवासको अधिकार पाउने भएका छन् ।
विधेयकमा गरिएको व्यवस्थाअनुसार नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको समन्वयमा आवासविहीन व्यक्ति तथा परिवारलाई प्राथमिकिताका आधारमा आवास सुविधा उपलब्ध गराइनेछ । साथै आवश्यकताअनुसार सहुलियतपूर्ण वित्तीय सुविधा उपलब्ध गराइनेछ ।

Monday, August 13, 2018

स्थानीयको अवरोधले रोकियो २ नयाँ सहर निर्माणको काम

मुना कुँवर
काठमाडौ | साउन २९, २०७५
मध्यपहाडी लोकमार्गमा निर्माण हुन लागेको १० वटा नयाँ सहरमध्ये दुईवटाको काम रोकिएको छ । बैतडीको पाटन र बाग्लुङको बुर्तिबाङमा स्थानीयवासीको अवरोध भएपछि काम रोकिएको हो । तर, ६ वटा सहरको निर्माणकार्य भने अध्ययन सम्पन्न भई दोस्रो चरणमा पुगिसकेको छ । बाँकी चारवटा सहरहरू तेह्रथुुमको वसन्तुपर, अछामको साँफेबगर, दैलेखको राकुम कर्णाली र रुकुमका चौरझहारीको निर्माणकार्य भने सरकारी निर्णयको पर्खाइमा छ ।
आर्थिक वर्ष ०६५/६६ मा आयोजना कार्यालय स्थापना गरी सरकारले मध्यपहाडी लोकमार्गअन्र्तगत १० वटा नयाँ सहर निर्माण सुरु गरेको हो । सरकारले जग्गा एकीकरण गरी निर्माण गर्न लागेको नयाँ सहर निर्माणमा पाटन र बुर्तिबाङका स्थानीय नै बाधक बनेका छन् । जग्गा एकीकरण गर्ने क्षेत्रका ५१ प्रतिशत जग्गाधनीको सहमति हुनुपर्ने प्रावधानले निर्माण प्रक्रिया अगाडि बढाउन नसकिएको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत नयाँ सहर आयोजना समन्वय कार्यालय आयोजनाका निर्देशक पराग कायस्थले बताए । ‘स्थानीयवासीले हामीलाई विश्वास नगरेको पनि हुन सक्छ । सायद अब स्थानीय जनप्रतिनिधिले यो कार्य अगाडि बढाए जनताले विश्वास गर्न सक्छन्,’ उनले भने ।

Monday, August 6, 2018

तीनवटा स्मार्ट सिटीको सूचकांक अध्ययन गरिँदै


मुना कुँवर
भौगोलिक र सांस्कृतिक अवस्थाअनुसार सूचकांक फरक–फरक हुन सक्ने
सहरी विकास तथा भवन निर्माण विभागले तीनवटा स्मार्ट सिटीको सूचकांक अध्ययन सुरु गरेको छ । विभागले निर्माण गर्न लागेको तीनवटा स्मार्ट सिटीको प्रारम्भिक अध्ययन सकिएपछि सूचकांकको अध्ययन सुरु गरेको हो । विभागका अनुसार आगामी कात्तिक महिनासम्ममा सूचाकांक निर्धारण गरिने भएको छ ।
सरकारले आर्थिक वर्ष ०७२/७३ को बजेटमार्फत पालुङटार, निजगढ र लुम्बिनीलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने घोषणा गरेको थियो । सोहीबमोजिम सहरको प्रारम्भिक अध्ययन कार्य सकिएको आयोजना निर्देशक पराग कायस्थले बताए । ‘अहिले सूचकांक अध्ययनको काम भइरहेको छ । यसका लागि परामर्शदाताले आर्थिक, सामाजिक अध्ययन गर्दै छन्,’ उनले भने ।
सूचकांक अध्ययन गर्न प्रत्येक सहरमा आयोजना परामशर्तदाता नियुक्त भइसकेका छन् । त्यस्तै, दुई–दुईजना विदेशीविज्ञ पनि छनोट भएका छन् । निजगढको अध्ययन गर्न करिब ३ करोड रुपैयाँ, लुम्बिनीमा ३ करोड ५० लाख र पालुङटारका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Sunday, August 5, 2018

स्वास्थ्य बीमा प्रति बिमितको विश्वास घट्दो, पहिलो वर्ष नै १६ प्रतिशतले घट्यो नविकरण दर


अर्जुन अधिकारी
सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावहीन भएको छ । स्वास्थ्य बिमामा आबद्ध भएको एक वर्षमै बिमाप्रति बिमितहरूको विश्वास घटेको हो ।
जनतालाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले सरकारले ०७२ चैतदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको हो । आठ जिल्लाबाट पाइलट प्रोजेक्टका रूपमा सुरु भएको कार्यक्रम हाल ३२ जिल्लामा पुगेको छ । तर, बिमा कार्यक्रमप्रति जनताको विश्वास भने घट्दो क्रममा छ । पहिलो वर्ष नवीकरण गराउनेदरमा १६ प्रतिशतले कमी आएको छ । सरकारले भनेअनुसार सेवासुविधा नपाएको गुनासो गर्दै विमितहरूले नवीकरण नगराएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले अपेक्षित रूपमा नवीकरण नगरेको बताए ।

वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेख : दाबी विवाद र विद्यमान व्यवस्था


मञ्जु थापा

नेपाली श्रम बजारमा बर्सेनि मागभन्दा बढी श्रमशक्ति आपूर्ति हुने गरेको छ । जसका कारण वैदेशिक रोजगार नेपाली युवाका लागि बाध्यता बन्दै गएको छ । यद्यपि, कमाइका हिसाबले कतिपय वैदेशिक रोजगारी आकर्षकसमेत रहेको छ । नेपाली युवाको वैदेशिक रोजगार बजार विश्वका विभिन्न १ सय १० देशमा फैलिएको छ । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष ०७३/७४ को अद्यावधिक डाटाबेसअनुसार वैदेशिक रोजगार ऐन, २०६४ लागू भएपछिको ९ वर्षमा ३५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।

अधिकांश नेपाली जनशक्ति अदक्ष हुने गरेकाले उनीहरू जोखिमपूर्ण काम गर्न बाध्य छन् । त्यस्तै तापक्रमको अन्तर, खानपानमा असावधानीजस्ता कारणले पनि केही कामदारले विदेशमै ज्यान गुमाउने गरेका छन् । वैदेशिक रोजगारीमा गएका युवाको उतै ज्यान जाँदा स्वदेशमा रहेका आश्रित परिवारको मानसिक तथा आर्थिक बिचल्ली हुने गरेको छ । सोही तथ्यलाई मध्यनजर गर्दै नेपाल सरकारले वैदेशिक रोजगार ऐन, २०६४ जारी गरेर वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु वा अंगभंग भएमा क्षतिपूर्ति पाउने गरी कम्तीमा ५ लाख रुपैयाँको बिमा गराउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

Friday, August 3, 2018

जीवन बिमा कोषको डेढ खर्ब प्रयोगविहीन


मुना कुँवर 
काठमाडौं | साउन १८, 
गत आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्ममा जीवन बिमा कम्पनीहरूको जीवन बिमा कोष १ खर्ब ५३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । प्रतिवर्ष यो कोषको रकम बढ्ने क्रम जारी छ । जीवनबिमाको प्रिमियमबापत उठेको रकम रहने यो दीर्घकालीन कोष हो । लामो समय लाग्ने पूर्वाधार परियोजनामा यस्तो कोषको रकम संसारभरि नै प्रयोग हुने गर्छ । तर, नेपालमा भने एकातिर पूर्वाधार क्षेत्रमा पैसाको अभाव छ, अर्कातिर लगानीको उचित क्षेत्र नभेटिँदा कोषको रकम वित्तीय संस्थाको मुद्दती निक्षेपमा जम्मा हुने गरेको छ ।
१ खर्ब ५३ अर्ब रकम लगानी गरियो भने पूर्व–पश्चिम विद्युतीय रेलगार्गको ३ सय ६ किलोमिटर निर्माण गर्न सकिन्छ । ७ सय ६६ मेगावाटभन्दा ठूलो विद्युत् परियोजना यही रकमबाट बनाउन सकिन्छ । तर, उत्पादनशील वा राष्ट्रिय महत्वका जलविद्युत्, स्वास्थ्य, शिक्षा, पर्यटन र कृषिमा भने कोषको बढीमा ५ प्रतिशत मात्रै लगानी गर्न सकिने नियम छ ।

Thursday, August 2, 2018

बिमा विधेयकका महत्वपूर्ण मुद्दाहरू

डा. रवीन्द्र घिमिरे
काठमाडाैं | साउन १८, २०७५

अर्थमन्त्रालयले बिमा विधेयक संघीय संसद्मा प्रस्तुत गरेको छ । तर, विधेयकमा रहेको कतिपय प्रावधानमा सरोकारवालाहरूले आपत्ति जनाएका छन् । सर्भेयर संघ, अभिकर्ता तथा बिमा समिति कर्मचारी पनि विधेयकमा सन्तुष्ट छैनन् । बिमाको क्षेत्र बढ्दै जाँदा समितिको स्वायत्तताको कुरा उठ्दै आए पनि विधेयकमा समितिलाई अर्थमन्त्रालयअन्तर्गतकै एक सामान्य निकायका रूपमा मात्र स्थापित गराउने प्रयास गरिएको छ । करिब एक दशकपछि संसदमा पुगेको बिमा विधेयक र यसमा समेटिएका प्रावधानबारे बिमाविज्ञ डा. रवीन्द्र घिमिरेले यसरी बताए
सञ्चालक समितिमा पुनर्संरचना आवश्यक
बिमा क्षेत्रलाई नियमन गर्न स्वायत्त निकायका रूपमा २०२५ सालमा बिमा समिति स्थापना गरिएको हो । बिमा क्षेत्र फराकिलो हुँदै आएको वर्तमान अवस्थामा नियमनलाई प्रभावकारी बनाउन समितिको संरचनामा परिवर्तन जरुरी भइसकेको छ । मौजुदा ऐनअनुसार बिमा समितिको सञ्चालक समितिमा ५ जना रहने व्यवस्था छ । अब यसमा संशोधन गरेर ७ देखि ९ सदस्यीय बनाउने तथा समितिका सबै सदस्य बिमा क्षेत्रका विज्ञहरू नै हुनुपर्ने तथा नेपाल सरकारले सोझै नियुक्त गर्ने व्यवस्था गरिनुपर्छ । निजामती कर्मचारीलाई पदेन सदस्यका रूपमा बोर्डमा लैजाँदा कार्यक्षमतामा वृद्धि हुन्छ, समिति र अर्थमन्त्रालयबीच सम्बन्ध सुमधुर हुन्छ भन्ने तर्कको पुष्टि विगतले गर्दैन ।

Wednesday, August 1, 2018

उपत्यकामा चार नयाँ सहरको अध्ययन अन्तिम चरणमा


मुना कुँवर
काठमाडाैं, १६ साउन | 
काठमाडौं, भक्तपुर, ललितपुर समेटेर ल्यान्ड पुलिङ प्रणालीमा नयाँ सहर निर्माण
काठमाडाैँ उपत्यका विकास प्राधिकरणले चारवटा नयाँ सहर निर्माण गर्न अध्ययनलाई तीव्र बनाएको छ । ती चार सहरमध्ये दुईवटाको नक्सा अध्ययनको काम अन्तिम चरणमा छ भने दुईवटा सहरको स्थलगत अध्ययन भइरहेको छ । काठमाडाैँ, भक्तपुर, ललितपुरलाई समेट्ने गरी ल्यान्ड पुलिङ प्रणालीमा प्राधिकरणले नयाँ सहर निर्माणको कार्य अगाडि बढाएको हो ।

प्राधिकरणले काठमाडाैँ र भक्तपुर जिल्लालाई समेटर काठमाडौं इशान (पूर्व–उत्तर), भक्तपुर जिल्लामा काठमाडौं आग्नेय (पूर्व–दक्षिण), ललितपुर जिल्लामा काठमाडाैँ नैऋत्य (दक्षिण–पश्चिम) र काठमाडौं जिल्लामा काठमाडाैँ उत्तर नयाँ सहर विस्तार गर्न लागेको हो । उक्त सहरमध्ये भक्तपुर जिल्लाको काठमाडाैँ आग्नेय (पूर्व–दक्षिण) सहरको अध्ययन सकेर नापीको पनि ८० प्रतिशत काम सकिएको प्राधिकरणका सहरी योजनाकार भागवतभक्त खोकालीले बताए ।

Friday, July 27, 2018

बिमा समितिको क्षेत्राधिकार नखुम्च्याउन कर्मचारीको माग


मुना कुँवर
काठमाडौं, ९ साउन
छलफल गर्न गएका बिमा समितिका कर्मचारीलाई अर्थमन्त्रीले समय दिएनन्
अर्थ मन्त्रालयले संघीय संसद्मा दर्ता गरेको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा गरिएको व्यवस्थाप्रति सरोकारवालाहरूले आपत्ति जनाएका छन् । विधेयक यथास्थितिमा नै पारित भएमा बिमा क्षेत्रमा नकरात्मक असर पर्ने उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
समितिका कर्मचारीलगायत कर्मचारी युनियनले विधेयकमा राखिएका केही बुँदाप्रति असहमति जनाउँदै मन्त्रालयको ध्यानाकर्षण गराएको बिमा समिति स्रोतको भनाइ छ । सो विषयमा जानकारी दिन धेरैपटक प्रयास गरे पनि अर्थमन्त्री डा.युवराज खतिवडाले भेट्ने समय नदिएको समितिका एक कर्मचारीले बताए ।

गलत मूल्यांकन गर्ने सर्भेयरलाई बिगो वा ५ वर्षसम्मको कैद


नयाँ पत्रिका
काठमाडाै‍‌, ११ साउन
बिमा विधेयकमा भएको दण्ड–सजाय घटाउन सर्भेयर संघको माग
अर्थ मन्त्रालयमा दर्ता भएको बिमा विधेयकमा गरिएको दण्ड सजाय व्यवस्थाप्रति नेपाल बिमा सर्भेयर संघले आपति जनाएको छ । संसद्मा प्रस्ताव गरिएको बिमा विधेयकको दफा १४२ मा बिमा सर्भेयरले बदनियतपूर्ण तरिकाले क्षतिको गलत मूल्यांकन गरी बिमक वा बिमितलाई हानि–नोक्सानी पु-याउने काम गरेमा बिगो जफत गर्ने उल्लेख छ । त्यस्तै अधिकतम १ करोड रुपैयाँसम्म बिगो भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरिएको छ । तर, सर्भेयर संघले भने जरिवानाको व्यवस्था गरे पनि कैदको व्यवस्था हटाउन माग गरेको छ ।
सबै बिमाको सर्भे गर्न पाउनुपर्ने
एउटा विषय अध्ययन गरेका सर्भेयरले अन्य विषयमा सर्भे गर्दा उचित मूल्यांकन हुन नसक्ने विज्ञहरूले बताउँदै आएका छन् । तर, नेपालमा भने एउटा विषयमा इन्जिनियरिङ गरेर सर्भेयरको इजाजत पाएका सर्भेयरले सबै खालको बिमाको सर्भे गर्दै आएका छन् । सोही कारण नयाँ बिमा विधेयकमा एउटा सर्भेयरले आफ्नो योग्यताअनुसार एक प्रकारको बिमाको मात्रै सर्भे गर्न पाउने व्यवस्था गरिएको छ । तर, सर्भेयर संघले पुरानै व्यवस्था कायम हुनुपर्ने माग गरेको छ ।

Wednesday, July 25, 2018

७ अर्ब दाबी भुक्तानी गरेनन् निर्जीवन बिमा कम्पनीले


मुना कुँवर
काठमाडौं, ११ साउन
भुक्तानी गर्न अझै उदासीन छन् कम्पनीहरू
निर्जीवन बिमा कम्पनीहरूको व्यवसायको दायरा बढ्दै गए पनि दाबी भुक्तानीको प्रक्रियामा भने अझै अनुदार देखिएका छन् । आर्थिक वर्ष ०७४/७५ मा कम्पनीहरूले दाबी भुक्तानीबापत छुट्याएको रकम करिब ७ अर्ब रुपैयाँ पुगेको छ । यो सोही अवधिको अघिल्लो आवभन्दा करिब २२ प्रतिशतले बढी हो । तर, समितिको तथ्यांकभन्दा पनि धेरै रकम व्यवस्था गरिएको हुन सक्ने नेको इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले बताए ।
‘धेरै दाबी देखाउँदा धेरै प्रोभिजनिङ (व्यवस्था) गर्नुपर्छ । त्यसैले अधिकांश कम्पनीले कम देखाउने अभ्यास छ,’ उनले भने । समितिको प्रावधानअनुसार कम्पनीहरूमा परेको दाबी भुक्तानी नभएमा १ सय १५ प्रतिशत रकम व्यवस्था गर्नुपर्छ । अर्थात्, १ करोड दाबी भुक्तानी गर्न बाँकी रहेमा कम्पनीले १ करोड १५ लाख रुपैयाँ व्यवस्था गर्नुपर्छ ।
के छ ऐनमा ?
बिमा विनियमावली २०४९ को दफा ३२ अनुसार कुनै दुर्घटना भएको जानकारी पाउनेबित्तिकै बिमकले सर्भेयर खटाउनुपर्नेछ । सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बिमकको दायित्व निर्धारण गरी बिमकसमक्ष पेस गर्नुपर्छ । सर्भेयरले बिमकसमझ प्रतिवेदन पेस गरेको ३५ दिनभित्र बिमितलाई दाबी  भुक्तानी गर्नुपर्छ ।
युनाइटेड र सगरमाथाले घटाए भुक्तानी रकम
बिमा समितिको तथ्यांकअनुसार गत आवको अन्त्यसम्म लुम्बिनी जनरल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीको भुक्तानी हुन बाँकी रकम धेरै छ । नेसनल इन्स्योरेन्स कम्पनीको ७५ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ ।
युनाइटेड इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्न बाँकी रकम घटाएका छन् । अघिल्लो आवको तुलनामा गत आवमा युनाइटेड इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी रकम करिब ५२ प्रतिशतले घटेको छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्सले भने करिब ४६ प्रतिशतले घटाएको छ ।
प्रभुको सबैभन्दा कम
प्रभु इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी रकम सबैभन्दा कम छ । कम्पनीमा गत आवको अन्त्यसम्म भुक्तानी गर्न बाँकी रकम ५ करोड १८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट इन्स्योरेन्सको ९ करोड ३३ लाख रुपैयाँ बाँकी छ । यो रकम अघिल्लो आवको तुलनामा करिब ८ प्रतिशतले बढी हो । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सको गत आवसम्म भुक्तानी हुन बाँकी रकम ९ करोड ५९ लाख रुपैयाँ छ ।
१६ प्रतिशत बढ्यो निर्जीवन व्यवसाय
गत आवमा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय १६ प्रतिशतले बढेको छ । समितिको तथ्यांकअनुसार समीक्षा अवधिमा १७ निर्जीवन बिमा कम्पनीले २२ अर्ब १३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १९ अर्ब रुपैयाँले बढी हो । कम्पनीहरूको औसत वृद्धि भने २० प्रतिशत रहेको छ ।
http://www.nayapatrikadaily.com/2018/07/27/76070/

Sunday, July 22, 2018

जीवन बिमा व्यवसाय २६ प्रतिशतले बढ्यो


मुना कुँवर
काठमाडौं, ६ साउन
वैदेशिक रोजगारी बिमा २६ प्रतिशत घट्यो
आर्थिक वर्ष ०७४/७५ मा पुराना जीवन बिमा कम्पनीहरूले १६ अर्ब ४४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गर्न सफल भएका छन् । अघिल्लो आव ०७३/७४ को तुलनामा यो रकम २६ दशमलव २१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरूले जम्मा १३ अर्ब ३ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए । बिमा कम्पनीहरूले कुल बिमाशुल्क भने ४७ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेका छन् ।
प्रथम बिमाशुल्क बढ्यो
समितिमा प्राप्त तथ्यांकअनुसार गत आवको अन्त्यसम्ममा कम्पनीहरूले प्रथम बिमाशुल्कबापत १३ अर्ब १९ करोड रुपैयाँ संकलन गरेका छन् । त्यस्तै कम्पनीहरूले नवीकरणीय बिमाशुल्कबापत भने ३१ अर्ब ३८ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । नवीकरणीय बिमाशुल्कमा भने २२ प्रतिशतले वृद्धि भएको छ ।
 वैदेशिक रोजगार घट्यो
अघिल्लो आवको तुलनामा गत आवमा वैदेशिक रोजगार म्यादी जीवन बिमाको बिमाशुल्क आम्दानी करिब २६ प्रतिशतले घटेको छ । गत आवमा वैदेशिक रोजगार बिमाबापत १ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेका छन् । अघिल्लो आवमा भने यस्तो बिमाबापत कम्पनीहरूले २ अर्ब ५७ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका थिए ।
नयाँ कम्पनीले आम्दानी गरे करिब ३ अर्ब
गत वर्षदेखि सञ्चालनमा आएका नयाँ जीवन बिमा कम्पनीहरूले ३ अर्ब ६ करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । नवीकरणीय बिमाबापत भने तीनवटा बिमा कम्पनीले १८ लाख २५ रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् ।
नयाँ कम्पनीहरूले प्रथम बिमाशुल्कबापत मात्रै १ अर्ब ९१ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्  । त्यस्तै, एकल भुक्तानी बिमाबापत २६ करोड ५९ लाख र वैदेशिक रोजगार बिमाबापत ८८ करोड ८३ लाख रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् ।
 एसियनले बढायो ८१ प्रतिशत व्यवसाय
गत आवमा ठूला बिमा कम्पनीहरूलाई पछि पार्दै एसियन लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसाय ८१ प्रतिशतले बढाएको छ । गत आवमा कम्पनीले १ अर्ब बिमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले जम्मा बिमाशुल्क आर्जन ५५ करोड १६ लाख रुपैयाँ थियो । गत आवमा कम्पनीले एकल भुक्तानी बिमा भुक्तानी बिमा व्यवसाय करिब ५ गुणाले बढेपछि कुल बिमाशुल्क पनि बढेको हो । कम्पनीले प्रथम बिमाशुल्कबापत ७६ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५२ प्रतिशतले बढी हो । तुलनात्मक रूपमा प्रथम बिमाशुल्क आम्दानी पनि राम्रो रहेको छ । नवीकरणीय बिमाबापत कम्पनीले २ अर्ब रुपैयाँ संकलन गरेको छ ।
नेपाल लाइफ नै अगाडि
कम्पनीहरूले आम्दानी गरेको बिमाशुल्कका आधारमा हेर्ने हो भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै अग्रपंक्तिमा देखिएको छ । गत आवमा कम्पनीको कुल बिमाशुल्क आम्दानी ५ अर्ब ८४ करोड रहेको छ । त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले २ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ भने नेसनल लाइफ इन्स्योरेन्सले २ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
नयाँ कम्पनीमा युनियन अग्रता
नयाँ जीवन बिमा कम्पनीहरूले आम्दानी गरेको कुल बिमाशुल्कका आधारमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी अग्रपंक्तिमा देखिएको छ । गत आवमा युनियनले जम्मा ८४ करोड ९४ लाख रुपैयाँ बिमाशुल्क आम्दानी गरेको छ । त्यसैगरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जम्मा ५२ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ भने रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
एकल भुक्तानी बिमामा आकर्षण
पुराना जीवन बिमा कम्पनीहरूले एकल भुक्तानी बिमाबापत १ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेका छन् । यो रकम कम्पनीहरूले आर्जन गरेको जम्मा बिमाशुल्कको करिब ८ प्रतिशत हो । अघिल्लो आवको तुलनामा यो रकम ३० प्रतिशतले बढी हो । पछिल्लो समयमा कम्पनीहरू एकल भुक्तानी बिमामा आक्रामक देखिएका छन् । यस्तो खालको बिमा योजनामा एकैपटक ठूलो रकम बिमाशुल्क आम्दानी हुने भएपछि कम्पनीहरूले अभिकर्ताहरूलाई राम्रो कमिसन दिएर प्रेरित गरेका छन् । दीर्घकालीन रूपमा भने एकल भुक्तानी बिमा कम्पनीहरूका लागि जोखिमयुक्त हुने विज्ञहरू बताउँछन् ।
http://www.nayapatrikadaily.com/2018/07/22/74194/

Friday, July 20, 2018

सिद्धान्तविपरीत जाने सहकारी समस्याग्रस्त


केशवप्रसाद रेग्मी
रजिस्ट्रार, सहकारी विभाग
सरकारले गत साता मात्रै थप नौवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा गरिएका सहकारीहरूमा स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेष्टमेन्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहीनूर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी, कुबेर बचत तथा ऋण सहकारी, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी र स्ट्यान्डर्ड मल्टिप्रपोज को–अपरेटिभ रहेका छन् । यसअघि ओरिएन्टल सहकारी समस्याग्रस्त घोषणा भएको थियो । ती सहकारीको दायित्व सवा ८ अर्ब रुपैयाँ रहेको छ । सहकारीहरू समस्याग्रस्त हुँदै जाँदा सदस्यको बचत पनि धरापमा परेको छ । केही सहकारी सञ्चालकको नियत खराब हुनुका साथै नियमनकारी निकायको निरन्तर अनुगमन हुन नसक्दा सहकारी समस्याग्रस्त हुँदै गएका छन् । नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित र जिम्मेवार बनाउन के गर्नुपर्छ भन्नेबारे सहकारी विभागका रजिस्ट्रार केशवप्रसाद रेग्मीले यस्तो धारणा राखे :
सहकारी सिद्धान्त पालना नगर्दा समस्या
नेपालमा सहकारीको अवधारणा ज्यादै उपयोगी छ । तर, नेपालमा सञ्चालित कतिपय सहकारी सहकारी सिद्धान्तअनुसार चल्न नसक्दा समस्याग्रस्त भएका छन् । जुन सहकारी नियम र विधिअनुसार चल्दैनन्, सहकारीको भावना र मर्मलाई बुझ्न सक्दैनन्, त्यस्ता सहकारी समस्यामा पर्छन् । कतिपय व्यक्ति सहकारीलाई बैंक सोच्छन् । बैंक जसरी नै चलाउन खोज्छन् । त्यसैगरी कोही भने अरूको देखासिकीमा सहकारी सञ्चालन गर्छन् । यसरी अर्कोको लहलहैमा लागेर सञ्चालन गरिएका सहकारी विधिसम्मत चल्न सक्दैनन् र समस्याग्रस्त बन्न पुग्छन् ।
सहकारी शिक्षाको आवश्यकता
आममानिसमा सहकारी भन्नेबित्तिकै बैंक भन्ने बुझाइ छ । सदस्य बनाउने, रकम जम्मा गर्ने र ऋण दिने लिने काम मात्रै हो भन्ने सामान्य बुझाइ छ । तर, सहकारीको अर्थ यतिमा मात्रै सीमित छैन । सहकारीले गर्ने काम बृहत् छ । जसलाई सहकारी सञ्चालकले पनि पूर्ण रूपमा बुझेको पाइँदैन । त्यसैले नेपालको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने हो भने सहकारी शिक्षालाई व्यापक रूपमा जनमानसमा पु¥याउनुपर्ने आवश्यकता छ । सञ्चालकदेखि लिएर सदस्य र लाभग्राहीलाई पनि यसको उपयोगिताबारे सही जानकारी दिनुपर्छ । त्यसैले हामीले अहिले सहकारीलाई शैक्षिक पाठ्यक्रममा नै राख्ने योजना बनाएका छौँ । सहकारीको छुट्टै संकाय खडा गरी विश्वविद्यालयमा अध्यापन गराइने योजना बनाएका छौँ । त्यसैगरी विद्यालय स्तरमा पनि सहकारी शिक्षालाई समेट्ने योजना रहेको छ ।
सहकारी सदस्यबीच एकता
सहकारी भनेको सहकार्य हो । सहकारीमा आबद्ध रहेका सदस्यको मन र मुटु पनि एउटै हुनुपर्छ । जतिवेलासम्म सहकारीका सबै सदस्यबीच एकता कायम रहन्छ तबसम्म सहकारीले सबैको हितमा काम गर्न सक्छ । तर, सदस्यबीच वैमनश्यता सिर्जना हुन्छ भने सहकारीले उद्देश्यअनुरूप काम गर्न सक्दैन । तसर्थ सहकारीको लक्ष्य हासिल गर्नका लागि सदस्यबीच एकता हुनु आवश्यक छ । भनाइ नै छ, समूहमा शक्ति हुन्छ । सहकारी पनि सदस्यहरूको समूह हो । यदि सदस्यबीच तालमेल मिल्यो भने सहकारी बलियो हुन्छ । मिलेन भने सहकारी डुब्छ ।
त्यस्तै सहकारीका सञ्चालक र सदस्यबीच पनि राम्रो सम्बन्ध हुनुपर्छ । यदि सदस्यलाई सञ्चालकको मात्रै सहकारी हो भन्ने लाग्यो भने सदस्यको योगदान कम हुन जान्छ । सहकारी भनेको एक वा दुईजना व्यक्तिले मात्रै सञ्चालन हुने संस्था होइन । यो भनेको सबैको समान सहकार्यबाट सफल हुने संस्था हो । तसर्थ सञ्चालक र सदस्यबीच राम्रो सम्बन्ध हुनुपर्छ ।
सदस्यको सहभागिता र स्वनियम
सहकारीको हरेक निर्णयमा सदस्यको सहभागिता हुनु आवश्यक छ । सहकारीमा सबै सदस्यको उत्तिकै भूमिका हुने हुँदा हरेक निर्णय लिँदा सबै सदस्यलाई जानकारी गराउनुपर्छ । दुई÷चारजना सञ्चालकबीच मात्रै निर्णय गरेर कुनै पनि काम गर्नुहुँदैन । यसो गरेको खण्डमा सदस्यमा सहकारीप्रतिको आफ्नोपन हुँदैन । सहकारीका प्रत्येक सदस्यमा सहकारीप्रतिको आफ्नोपन अनुभव गराउनुपर्छ । यसका लागि सबै खालका निर्णयमा सहकारीका प्रत्येक सदस्यको विचार लिने र निर्णयमा सहभागी गराउनुपर्छ ।
सहकारी स्थानीयबीचको सहकार्यबाट सञ्चालित हुने संस्था हो । त्यसैले सहकारी स्वनियममा रहनुपर्छ । सहकारीको विकास लागि के गर्दा राम्रो हुन्छ वा कस्ताखालका नियम बनाउनु आवश्यक छ भन्ने कुरा आपसी सहमति र समझदारीमा तय गर्नुपर्छ । प्रत्येक सदस्य तथा सञ्चालकहरू स्वनियमभित्र बस्नुपर्छ । सहकारी स्वनियमभित्र बस्न नसकेको अवस्थामा मात्रै नियमनकारी निकायले हस्तक्षेप गर्छ । सकेसम्म सहकारीले नियमनकारी निकायले हस्तक्षेप गर्न वातावरणको विकास गर्नुहुँदैन ।
प्रभावकारी अनुगमन
सहकारीलाई व्यवस्थित बनाउन नियमनकारी निकायले प्रभावकारी अनुगमन गर्नुपर्छ । अहिले सहकारी विभागले सहकारीहरूको दैनिक र विशेष दुईखालका अनुगमन गर्दै आएको छ । यसरी अनुगमन गर्दा सहकारीमा देखिएका समस्या हटाउन सम्बन्धित सञ्चालकलाई सचेत गराउँदै आएका छौँ । उहाँहरूलाई सच्चिन समय पनि तोक्छौँ । कतिपय सहकारी काम गर्न नजान्दा समस्यामा पर्ने गरेका छन् । त्यस्ता सहकारी अनुगमन गरेर सचेत गराएपछि तत्काल सच्चिने गरेका पनि छन् । हाल विभागले कोपोमिसको प्रयोग गर्न थालेको छ ।
अहिले कोपोमिसमा तथ्यांक भर्ने काम भइरहेको छ । करिब ३२ हजार सहकारीले यसको प्रयोग गर्न थालेका छन् । यसमा सबैको तथ्यांक आएपछि हामीले सहकारीको अफ साइड र अन साइड अनुगमन गर्न सक्छौँ । अर्थात् कार्यालयमा नै बसेर पनि हामीले सहकारीको वित्तीय अवस्था अनुगमन गर्न सक्छौँ । यसले सहकारी क्षेत्रमा पारदर्शिता ल्याउँछ । हामीले सहकारीको कमजोर सूचक पत्ता लगाएर सच्चाउन सक्छौँ । आवश्यक नीति नियम निर्माण गर्न सक्छौँ । त्यसैले हामी जतिसक्दो छिटो यसको पूर्ण प्रयोगको तयारीमा छौँ ।
सहकारी क्षेत्रलाई सबल बनाउन सम्बन्धित सबै पक्षको सहकार्य हुनु आवश्यक छ । सहकारी, सहकारी संघ, महासंघ, मन्त्रालय, विभागलगायतका पक्षहरूबीच समन्वय र सहकार्य भएको खण्डमा सहकारीका समस्यामा छलफल गर्न सकिन्छ र वास्तविक समस्याको पहिचान गरी समस्याको समाधान खोज्न सकिन्छ ।
सहकारीको सुरुवात
नेपालमा २०१३ मा चितवनमा बखान ऋण सहकारी समितिको स्थापना भएपछि सहकारी अभियान अगाडि बढेको हो । हाल विभिन्न प्रकृतिका ३४ हजार ५ सय १२ सहकारी संस्था दर्ता भएका छन् । ६९ वटा जिल्ला सहकारी संघ, २ सय ५६ वटा विषयगत जिल्लास्तरीय सहकारी संघ, २० वटा विषयगत केन्द्रीय सहकारी संघ, १ राष्ट्रिय सहकारी बैंक र शीर्षस्थ निकायका रूपमा १ राष्ट्रिय सहकारी महासंघ गठन भएका छन् । ५१ प्रतिशतभन्दा बढी महिलाको सहभागितासहित ६३ लाख ५ हजार ५ सय ८१ व्यक्तिको संलग्नता रहेको सहकारी क्षेत्रले पुँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता, उद्यमशीलताको विकासका साथै गरिबी न्यूनीकरणमा उल्लेख्य योगदान पु¥याउँदै आएको छ ।
http://www.nayapatrikadaily.com/2018/07/20/73405/

Thursday, July 19, 2018

बिमा समिति प्राधिकरणमा रूपान्तरण हुने, तर स्वायत्त नहुने


मुना कुँवर
काठमाडौं, ३ साउन
नेपालमा बिमा क्षेत्रको विस्तारका लागि बिमा समितिलाई स्वायत्तता प्रदान गर्नुपर्ने आवाज उठिरहेका वेला अर्थमन्त्रालयले भने समितिलाई फेरि पनि नियन्त्रणमा राख्ने तयारी गरेको छ । अर्थमन्त्रालयले संसद्मा प्रस्तुत गरेको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समितिमा मन्त्रालयकै नियन्त्रण रहने देखिएको हो ।
संसद्मा प्रस्तुत गरिएको विधेयकमा समितिले प्रयोग गर्न पाउने अधिकार कटौती गरिएका छन् । समितिलाई पुनः सरकारको सल्लाहकारका रूपमा राखिएको छ । विधेयकमा राखिएका व्यवस्थाले समितिको हरेक निर्णयमा अर्थमन्त्रालयको हस्तक्षेप हुने देखिएको बिमाविज्ञहरू बताउँछन् । अर्थमन्त्रालयले मस्यौदामा समितिलाई प्राधिकरणमा रूपान्तरण गर्ने व्यवस्था गरेको छ । तर, समितिले भने बोर्डमा रूपान्तरण गर्ने प्रस्ताव गरेको थियो ।
खोसिँदै समितिको स्वायत्तता
नेपालमा बिमा कम्पनीहरूको संख्या थपिँदै गएको छ । तर, हरेक निर्णयका लागि समितिले मन्त्रालयको मुख ताक्नुपर्ने अवस्था हुँदा समितिको नियमन फितलो हुने बिमाविज्ञ रवीन्द्र घिमिरेले बताए ।
उदाहरणका लागि मन्त्रालयले मस्यौदाको दफा ६ राखिएको उपदफा २ र ३ हटाएको छ । समितिले प्रस्ताव गरेको मस्यौदाको उक्त उपदफामा प्राधिकरणलाई नेपालको बिमा नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने र गराउने पूर्ण अधिकार हुने र प्राधिकरणले प्राप्त गरेको अधिकारको अतिक्रमण कसैबाट नहुने व्यवस्था थियो । त्यसैगरी मस्यौदाको दफा १३ को उपदफा २ र ३ पनि हटाएको छ । मस्यौदाको उपदफा २ मा अन्तर्राष्ट्रिय मान्यताअनुरूप बोर्डका अध्यक्षले प्रयोग गर्नुपर्ने अधिकार अध्यक्ष अन्तर्निहित हुने व्यवस्था थियो ।
योग्यतामा थपियो अनुभव
अर्थमन्त्रालयले प्राधिकरणको अध्यक्ष वा सदस्यको योग्यतामा कम्तीमा पनि पाँच वर्षको अनुभव हुनपर्ने व्यवस्था गरेको छ । कम्तीमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । अर्थात् सहसचिव स्तरको व्यक्ति मात्रै सञ्चालक हुन पाउनेछ ।
त्यस्तै, दफा ११ प्राधिकरणको अध्यक्षले अर्थमन्त्रीसमक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ । समितिले प्रस्ताव गरेको मस्यौदामा भने अध्यक्षले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
मन्त्रालयले थप गरेका व्यवस्थाहरू
अर्थमन्त्रालयले प्राधिकरणले गुनासो सुनुवाइ गर्न सक्ने व्यवस्था गरेको छ । समितिले राखेको दफा ५७ हटाइएको छ । जसमा सञ्चालकको जवाफदेहिता र उत्तरदायित्व व्यवस्था गरिएको थियो । त्यस्तै, सञ्चालकको विवरण लिनुपर्ने (दफा ५८), सञ्चालकको जानकारी तथा अभिलेख (दफा ५९), अनुगमन तथा सुपरिवेक्षण गर्नुपर्ने (दफा ६१), बिमा दर निर्धारण (दफा ११२ ), प्राधिकरणको उद्देश्य (दफा ५) जस्ता महत्वपूर्ण व्यवस्थाहरू अर्थमन्त्रालयले हटाएको छ ।
प्राधिकरणमा नयाँ सञ्चालक
अर्थ मन्त्रालयले प्राधिकरण गठनपछि नयाँ सञ्चालक गठन हुने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले प्रस्ताव गरेको मस्यौदामा समितिका कर्मचारी तथा अन्य व्यवस्थाहरू प्राधिकरणमा स्वत परिर्वतन हुने व्यवस्था गरे पनि सञ्चालक भने नयाँ गठन गरिने व्यवस्था गरेको छ । त्यस्तै, राष्ट्रिय बिमा संस्थामा एक वर्षभित्रमा पब्लिक कम्पनीमा परिणत हुने व्यवस्था गरेको छ । समितिले भने ६ महिनाभित्रमा परिणत हुनुपर्ने व्यवस्था गरेको छ ।
अनुभव नभए पनि बिमकको प्रमुख हुन सकिने
अर्थमन्त्रालयले गरेको व्यवस्थाअनुसार बिमकको प्रमुख कार्यकारी अधिकृतका लागि अनुभव नचाहिने भएको छ । मन्त्रालयले मस्यौदामा गरेको व्यवस्थाअनुसार बिमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको व्यक्ति कम्पनीको प्रमुख कार्यकारी हुन सक्नेछ । तर, स्नातक तह उत्तीर्ण गरेको अवस्थामा मात्रै अनुभव हासिल गरको हुनुपर्ने व्यवस्था गरिएको छ ।
समितिले प्रस्ताव गरेको मस्यौदामा भने स्नातकोत्तर गरेको अवस्थामा अधिकतम सात वर्षको अनुभव गरेको र स्नातक तह उत्तीर्ण गरेको अवस्थामा अधिकतम १५ वर्ष अनुभव हुनुपर्ने व्यवस्था गरेको थियो ।
http://www.nayapatrikadaily.com/2018/07/19/73049/

Monday, July 16, 2018

‘निजी स्टक एक्सचेन्ज आउँदा सरकारी सकिँदैन’


जनार्दन बराल/मुना कुँवर
काठमाडाैं, ३२ असार |
मौद्रिक नीति जारी भएपछि पनि सेयर बजार घट्नेक्रम रोकिएको छैन । मौद्रिक नीतिले बजारका लागि उपयोगी नीति नल्याएपछि मनोबल खस्केको लगानीकर्ता नै बताउँछन् । यद्यपि, सेयर बजारको दीर्घकालीन विकासका लागि मौद्रिक नीति व्यावहारिक भएको केही लगानीकर्ताको तर्क छ । उच्च अंकले बजार घटिरहँदा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की भने आगामी आवदेखि सेयर बजार उत्साहप्रद हुने बताउँछन् । आगामी दिनमा सेयरबजारको दिशा, बजार सुधारका लागि बोर्डका गतिविधिलगायत विषयमा बोर्डका अध्यक्ष डा. कार्कीसँग नयाँ पत्रिकाका जनार्दन बराल र मुना कुँवरले गरेको संवादको सार :
पछिल्लो समयमा सेयरबजार बियरिस प्रवृत्ति देखिएको छ । यसको खास कारण के हो ?
नेपालमा दोस्रो बजार सुरु भएको पनि २५ वर्ष भयो । यस अर्थमा बजार परिपक्व हुँदै गएको छ । तर, कतिपय लगानीकर्ताले अझै पनि बजारका विषयमा नबुझीकन नै लगानी गर्छन् । अहिले बजारका लागि सकारात्मक वातावरण बनेको छ । किनभने मुलुकमा अहिले स्थायी सरकार छ । सरकारले दीर्घकालीन स्थायी विकासको हिसाबले बजेट ल्याएको छ । त्यसैले पनि मुलुकको आर्थिक र राजनीति अवस्थामा बजारका लागि सकारात्मक नै छन् ।
तर, नेपालको पुँजी बजारमा बैंक वित्तीय संस्था हाबी छन् । यी वित्तीय संस्थाको चुक्ता पुँजी तीन गुणाले वृद्धि हुँदा अघिल्लो वर्ष बजारमा धेरै सेयरको आपूर्ति भयो । तर, अघिल्ला वर्षमा जसरी बजारमा सेयरको आपूर्ति बढ्यो, त्यसअनुरूप माग भने बढ्न सकेन । सेयर बजार र वित्तीय संस्थाको ब्याजदरको सम्बन्ध ठीक विपरीत हुन्छ । यतिवेला वित्तीय संस्थाको ब्याजदर उच्च छ । यसले पनि बजारमा घटाउनमा सहयोग पुगेको हो । हामीले बजार सुधारका लागि धेरै राम्रा काम गरेका छौँ । बिस्तारै बजारमा लगानीकर्ताको संख्या पनि बढ्दै गएको छ । त्यसैले आगामी आवमा बजारको अवस्था उत्साहप्रद हुनेछ ।
तर, बजार घट्दा लगानीकर्ता नेपाल धितोपत्र बोर्डलगायत नियामकप्रति पनि आक्रोशित छन् नि ?
त्यो मानिसको नियतमा भर पर्ने कुरा हो । किनभने यतिवेला हामीले बजार सुधारका लागि धेरै राम्रा काम गरेका छौँ । आस्बा, सी आस्बादेखि लिएर क्लियरिङ अटोमसेन र नामसारी अटोमेसनको काम पनि सुरु ग¥यौँ । हामीले जति पनि काम गरेका छौँ, लगानीकर्ताको हितमै गरेका छौँ । उदाहरणका लागि केही समयअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ हजार ९०० रुपैयाँमा एफपिओ जारी गर्न निवेदन दिएको थियो । त्यतिवेला हामीसँग एफपिओ मूल्य निर्धारण गर्ने मोडल थिएन ।
हुन त कम्पनीहरूले जारी गर्ने एफपिओ र आइपिओ सन्दर्भमा बोर्डले केवल मध्यस्तकर्ताको काम गर्ने हो । तर, नेपाल लाइफले तोकेको मूल्य लगानीकर्ताको दृष्टिकोणबाट सोच्दा हामीलाई उचित लागेन । त्यसैले हामीले त्यो प्रोजेक्ट केही समय रोक्यौँ । पछि अन्तर्राष्ट्रिय विज्ञसँगको छलफल गरेर हामीले कम्पनीको तीन वर्षको खुद नाफा, १८० दिनको एभरेज प्राइस, नेटवर्थ र क्यास फलोको आधारमा कम्पनीको एफपिओ मूल्य १ हजार ४ सय तोक्यौँ ।
जसका कारण लगानीकर्ताको ६ अर्ब रुपैयाँ बच्यो । जुन चानचुने कुरा होइन । त्यसैगरी अर्को एउटा कम्पनीले एकैवर्ष पहिलोपटक ६ सयमा एफपिओ जारी ग-यो । फेरि १ हजार २ सयमा एफपिओ जारी गर्न निवेदन दियो । तर, लगानीकर्ताको दृष्टिकोणले हामीलाई ठीक लागेन । कम्पनीका लागि त यो व्यापार थियो । त्यसैले हामीले त्यसलाई रोक्यौँ । पाँच वर्ष नभईकन अर्कोपटक एफपिओ जारी गर्न नपाइने व्यवस्था ग-यौँ । कति कम्पनी हामीसँग रिसाए । तर, लगानीकर्ताका लागि हामीले त्यसलाई समस्या सोचेनाैँ ।
हो, हामीले गरेको व्यवस्थाबाट केही व्यक्तिलाई घाटा भएको छ । जस्तै, बोरे लगानीकर्तालाई घाटा भएको छ । सेयर भर्ने अवधि सकिएपछि पनि सेयर भराउने मर्चेन्ट बैंकरलाई बेफाइदा भएको छ । यस्ता खालका व्यक्ति हामीसँग रुष्ट छन् । तर, यसले हामीलाई खासै ठूलो फरक पार्दैन । किनभने हामी समग्र पुँजी बजार र लगानीकर्ताको हितका लागि काम गरिरहेका छौँ ।
तपाईंको लगानीकर्ताको हितलाई ध्यानमा राखी वैज्ञानिक तरिकाले एफपिओको मूल्य निर्धारण गरेको भन्नुहुन्छ । तर, अहिले बोर्डले एफपिओको मूल्य निर्धारण गर्ने प्रक्रिया अव्यावहारिक रहेको गुनासो छ नि ?
आलोचना गर्न सजिलो छ । हामीले अन्तर्राष्ट्रिय अभ्यासअनुसार एफपिओको मूल्य निर्धारण गर्दै आएका छौँ । अन्तर्राष्ट्रियस्तरमा सही भएको कुरालाई हामी कसरी गलत भन्न सक्छौँ । वास्तवमा हामी बजार विकासको कुरा गर्छौं, तर सेयर मूल्य १ सय रुपैयाँ नै होस भन्ने चाहन्छौँ । हामी हरेक कुरा सस्तो खोज्छौँ । त्यसैको परिणाम हो यो । पछि बुक विल्डिङ र ओपन प्राइस सिस्टम गएपछि यस्ता खालका गुनासो आउनेछैन ।
नेपाल स्टक एक्सचेन्ज पनि सरकारी निकाय हो । यो हिसाबले कहिलेकाहीँ नेप्से र बोर्डबीच हुने विवाद बाहिरसम्म नै आउँछ । यसले नियमनकारी निकायको हैसियतले नेप्सेसँग काम गर्न बोर्डलाई कत्तिको सहज छ ?
नेप्से पनि अर्थ मन्त्रालयअन्तर्गत नै निकाय हो । मन्त्रालयसँगै उसको सीधा सम्पर्क हुन्छ । जसका कारण हाम्रो सबै कुरा मान्नुपर्छ भन्ने पनि छैन । तर, हामीले समग्र बजारको विकास र लगानीकर्ताको हितका लागि काम गर्ने हो । नियमनकारी निकाय भएपछि हामीले नेप्सेलाई पनि कतिपय कुराको निर्देशन दिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा हामीलाई व्यावहारिक कठिनाइ हुने गरेको छ । त्यसैले निजी क्षेत्रबाट अर्को स्टक एक्सचेन्ज सञ्चालनमा आउनुपर्छ ।
बोर्डले अर्को एक्सचेन्जको स्थापनाको कुरा गरिरहेको छ । बजारका लागि अर्को एक्सचेन्ज आवश्यक भएर हो वा निजी क्षेत्रबाट आउँदा बोर्डलाई काम गर्न सहज हुने भएर हो ?
मैले नेप्सेमा पनि बसेर काम गरेको छु । नेप्सेमा २ वटा ब्रोकर सञ्चालकको प्रतिनिधित्व हुने व्यवस्था थियो । तर, त्यसलाई परिवर्तन गरी दुईजना विज्ञको प्रतिनिधित्व हुने व्यवस्था ग¥यौँ । तर, अझै पनि नेप्सेमा ब्रोकरको डोमिनेसन छ । विश्वमा एक्सचेन्जको सुरुवात हुँदा गैरसरकारी संस्थाको मोडलबाट भएको हो । ब्रोकरहरू मिलेर स्टक एक्सचेन्ज सञ्चालनमा ल्याएका थिए । तर, अहिले धेरै मुलुकका एक्सचेन्जमा ब्रोकरको प्रभुत्व हटिसकेको छ । तर, श्रीलंकामा भने यो अवस्था अझै यथावत् नै छ ।
०६६ मा नै बोर्डले गरेको एउटा अध्ययनले आवश्यकताअनुसार एउटा एक्सचेन्जको स्थापना गरिने भनेको थियो । तर, करिब १० वर्ष हुन लागिसक्यो तर, प्रक्रिया भने अझै अगाडि बढेको छैन । नयाँ एक्सचेन्ज स्थापना गर्नु भनेको भइरहेको एक्सचेन्जलाई सिध्याउने भन्ने होइन । नेपालजस्तो मुलुकमा दुईवटाभन्दा बढी एक्सचेन्ज स्थापना गर्न दिनु पनि हानिकारक हुन्छ । तर, थप एउटा स्थापना गर्नु हाम्रोजस्तो विकासशील मुलुकका लागि उपयुक्त हुन्छ ।
अहिले बजारमा सेयरको मात्रै कारोबार हुने गरेको छ । बन्डको कारोबार भएकै छैन । केही समयअगाडि मात्रै अन्तर्राष्ट्रिय वित्त निगम र एडिबीले ५०–५० अर्बको स्थानीय मुद्रामा बन्ड जारी गर्ने भनी सरकारसँग स्वीकृति लिएका छन् । त्यसरी जारी हुने बन्डलाई नेप्सेले थेग्न सक्दैन । नेप्सेको प्राविधिक संरचनादेखि लिएर अन्य कुराहरु कमजोर छन् । अर्को एक्सचेन्ज आउनेबित्तिकै अहिलेको एक्सचेन्जलाई पनि स्तरीय सेवा प्रदान गर्न दबाब पर्नेछ ।
सरकारले अहिले उत्पादनशील क्षेत्रलाई पुँजीबजारमा ल्याउन प्रोत्साहित गरेको छ । तर, पारदर्शिता नभएका यस्ता कम्पनीलाई बजारमा प्रवेश गराउँदा जोखिम हुँदैन ?
पुँजी बजारको आधार भनेको उत्पादनशील क्षेत्र हो । तर, अहिले नेपालको सेयर बजारमा वित्तीय क्षेत्र हाबी छ । त्यसैले उत्पादनशील क्षेत्रलाई बजारमा प्रवेश गराउनु आवश्यक छ । तर, चुनौती पनि छन् । यस कार्यमा बोर्ड मात्र इमानदार भएर हुँदैन । सबै निकाय र पक्ष इमानदार हुनुपर्छ । त्यसैले हामीले बिस्तारै–बिस्तारै उत्पादनशील कम्पनीलाई पुँजीबजारमा प्रवेशलाई प्रोत्साहित गर्दै छौँ । कतिपय सन्दर्भमा अनिवार्य पनि गर्दै छौँ । अहिले सरकारले १ अर्ब पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा पब्लिक कम्पनीमा परिवर्तन गर्न निर्देशन दिएको छ । साथमा यस्ता कम्पनीलाई करमा छुटको पनि व्यवस्था गरिएको छ ।
केही समयअगाडिसम्म उत्पादनशील कम्पनीहरू पब्लिकमा जान हिचकिचाउँथे । यसकोे मुख्य कारण भनेको सेयर मूल्य हो । पहिले नै बजारमा आफ्नो ब्रान्ड बनाएका कम्पनी १ सय रुपैयाँमा आइपिओ जारी गर्न चाहँदैनन् । तर, लगानीकर्ताहरू जतिसक्दो सस्तो होस् भन्ने चाहन्छन् । तसर्थ हामीले बीचको बाटो निकाल्न यस्ता कम्पनीको प्रिमियम मूल्य तीन गुणासम्म बढी राख्न पाउने व्यवस्था ग¥यौँ । करमा छुट र १० प्रतिशत मात्रै पनि जारी गर्न सकिनेलगायतका प्योकज दियौँ । अहिले केही कम्पनी आकर्षित भएका छन् ।
प्रत्यक्ष रूपमा नियमनकारी निकाय नभएका जलविद्युत् कम्पनीहरूमा लगानी गर्दा लगानीकर्ताको सुरक्षालाई सेबोनले कसरी लिएको छ ?
हामी पुँजी बजारको नियमकारी निकाय हौँ । तर, जलविद्युत् कम्पनीको नियमनकारी निकाय जसरी काम गर्नु परेको छ । जलविद्युत् क्षेत्र मुलुकको अर्थतन्त्रको ब्याकबोन हो । त्यसैले यसको नियमन आवश्यक छ । हामीले यस्ता कम्पनीले आइपिओ जारी गर्ने क्रममा धेरै अध्ययन गरेर मात्रै सहमति दिने गरेका छौँ । साथै लगानीकर्ता आफैँले पनि अध्ययन गरेर मात्रै लगानी गर्नुपर्छ । कम्पनीको वित्तीय विवरण र व्यवस्थापनको पनि अध्ययन गरेर लगानीको निर्णय गर्नुपर्छ । यसका अतिरिक्त हामीले सूचीकृत कम्पनीहरूको नियमनका लागि सुशासन निर्देशिका पनि जारी गरेका छौँ । जहाँ हामीले कम्पनीमा परिपालनाको पनि व्यवस्था गरेका छाँै । जसले कम्पनीले नियमनकारी निकायले दिएका निर्देशन पालना भए–नभएको रिपोर्ट गर्छ । यसरी हामीले कम्पनीलाई बिस्तारै–बिस्तारै सुशासित गराउँदै छौँ ।
पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी भित्र्याउने कुरा धेरै पहिलादेखि उठेको हो । यसको प्रक्रिया कहाँ पुग्यो ? 
यो यस विषयमा धेरै बहस भएको छ । तर, गैरआवासीय नेपाली बजारमा लगानी गर्न आउने हुन् समाज सेवा गर्न आउने हैनन् । त्यसैले उनीहरूले लगानी गर्ने र लगानी फिर्ता लैजाने सजिलो व्यवस्था हुन आवश्यक छ । ०७२ माघदेखि हामीले बजारमा अटोमेसन कारोबार सुरु ग-यौँ । त्यतिवेलादेखि नै गैरआवासीय नेपालीको लगानी बाटो खुलेको हो । तर, यस विषयमा गहन अध्ययनको कार्य भइरहेको छ । गैरआवासीय नेपालीलाई लगानी गर्न दिने विषयमा अध्ययन गर्न बोर्डको कार्यकारी निर्देशकको अध्यक्षतामा एउटा कमिटी नै बनाएका छौँ, जसमा नेप्से, मन्त्रालय, राष्ट्र बैंक र गैरअवासीयको पनि सहभागिता छ । गैरआवासीय नेपालीलाई लगानी गर्न दिने अधिकतम र न्यूनतम सीमा त्यसले निर्धारण गर्नेछ । त्यस्तै कति समयपछि उनीहरूले लगानी वा नाफा फिर्ता लैजान सक्ने भन्ने विषय मुख्य हुन् । त्यसैले यसमा हामी अध्ययन गर्दै छौँ । गैरआवासीय ल्याएर हाम्रो बजार सिध्याउन पनि त भएन । यसलाई पनि प्रोत्साहन गर्नुप¥यो । यस विषयमा पनि हामी सचेत छौँ । संवेदनशील पनि छौँ ।
कतिपय कम्पनीले घोषणा गरेका हकप्रद र बोनस सेयर समयमा नै वितरण नगर्ने र गरे पनि सूचीकृत नगर्दा लगानीकर्ता मारमा परेका छन् । यो समस्यालाई समाधान गर्न के गर्दै हुनुहुन्छ ?
यो समस्याको विषयमा हामी जानकार छौँ । कतिपय कम्पनीले नियतवश र कतिपय विभिन्न परिस्थितिका कारण सुचीकृतमा ढिलाइ हुने गरेको छ । जस्तै सेयर बजारसँग सम्बन्धित विभिन्न नियमनकारी निकायहरूबीच समन्वय नहुँदा यस्ता खालका समस्या हुने गर्छ । तैपनि यसपालि हामीले यो समस्या सामाधान गर्न हाम्रो नीति तथा कार्यक्रममा नै योजना राखेका छौँ । यस विषयमा अध्ययन गरेर केही समाधान निकाल्नेछौँ ।
कमोडिटिज एक्सचेन्जका सञ्चालनका लागि बोर्डमा पाँचवटा कम्पनीले निवेदन दिएका छन् । तर, कम्पनीलाई सञ्चालन अनुमति दिने प्रक्रिया अगाडि बढ्न सकेको छैन । किन ?
कमोडिटी बजार लगानीको अर्को क्षेत्र हो । नेपालमा १० वर्ष अगाडिदेखि नै कमोडिटी एक्सचेन्ज सञ्चालनमा थिए । यस्ता एक्सचेन्जले पूर्वाधार तयार गरी केहीलाई रोजगारीसमेत दिइरहेका छन् । तर, नियमनविना कारोबार गर्दा जोखिम बढ्ने भएकाले हामीले कमोडिटी बजार सञ्चालनमा लागी ऐन बनायौँ । ऐनलाई कार्यान्वयन गर्न नियमावली पनि बनायौँ । र, हामीले एक्सचेन्ज सञ्चालनका लागि आवेदन खुला ग-यौँ । पाँचवटा आवेदन पनि आयो ।
त्योभन्दा पनि बढी आउने सम्भावना देखिएपछि हामीले आवेदन बन्द ग-यौँ । नेपालमा अर्थतन्त्र र लगानीको अवस्थालाई हेरेर हामीले आवेदन बन्द गरेका हौँ । र, अब हामीकहाँ आएका पाँचवटै कम्पनीलाई सञ्चालन अनुमति दिने वा नदिने विषयमा हामी छलफल गर्दै छौँ । किनभने पाँचवटैलाई सञ्चालन अनुमति दिने हो भने भोलि बजारमा थेग्न सकेन भने हामी नालायक साबित हुनेछौँ । र, यदि पाँचवटालाई नदिने हो भने अहिलेको खुला अर्थतन्त्रमा कम्पनीहरूले खोलिने र बन्द हुने स्वतन्त्रता पाउनुपर्छ भन्ने कुरा पनि आउला । तसर्थ के गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा हामी ‘सुप्रिम रेगुलेटर’सँग सल्लाह गर्दै छौँ । तर, यो कुरा हामी भन्न सक्छौँ कि हामी कमोडिटी एक्सचेन्जलाई प्रतिस्पर्धी र गुणस्तीय बनाउँछौँ । यो प्रक्रिया यो साउनभित्र नै टुगिंछ ।
कमोटिडी बजारमा अहिले विदेशी उत्पादनको खरिदबिक्री हुन्छ । अब आउने एक्सचेन्जमा नेपाली उत्पादनले स्थान पाउँछ कि पाउँदैन ? बोर्डको योजना के छ ?
हो, आगामी दिनमा हामीले कमोडिटी बजारमा विदेशी उत्पादनको सँगसँगै नेपाली स्थानीय उत्पादनलाई पनि जोड्नेछौँ । कमोडिटीका एउटा गोदाम छुट्टै चाहिन्छ । कमोटिडी एक्सचेन्जे भनेको डेरिभेटिभ एक्सचेन्ज हो । हामीले अमेरिका गएर यस विषयमा अध्ययन पनि ग¥यौँ । वास्तवमा कमोडिटी एक्सचेन्जमा हुने सामानको डेलिभरी भनेको ३ प्रतिशत मात्रै हुने रहेछ । यद्यपि हामी नेपालको स्थानीय उत्पादनलाई बिस्तारै बजारमा समेट्नेछौँ । पछि स्थानीयले उत्पादनको मात्रै कारोबार गर्ने वातावरण बनाउनेछौँ ।
http://www.nayapatrikadaily.com/2018/07/16/72132/