मुना कुँवर
कस्मेटिक सर्जरी, गर्भपतन, कृत्रिम गर्भाधान, अङ्ग प्रत्यारोपणलाई नसमेटिने
वैशाख १२, काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गत सामाजिक स्वास्थ्य सुरक्षा समितिले सञ्चालन गर्न लागेको स्वास्थ्यबीमा योजनामा सहभागी हुने व्यक्तिले १ सय २० ओटा रोगको उपचार गर्ने सुविधा पाउने भएका छन् । योजनाले सामान्य झाडापखालादेखि मुटुरोग, मिर्गौलाको उपचार र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोगको उपचारका लागि विशेष सुविधा उपलब्ध गराउनेछ । कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भनी समितिले जतिसक्दो धेरै रोगलाई योजनामा समेट्न खोजेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले बताए ।
योजनाले धेरै रोगलाई समेट्न खोजे पनि केही ठूला रोगलाई भने समेट्न सकेको छैन । योजनाले रू. ५ सयभन्दा बढी मूल्य पर्ने चश्माको सुविधा पनि उपलब्ध गराउँदैन । त्यस्तैगरी समितिले तयार पारेको ‘बेनिफिट प्याकेज’मा उल्लिखितबाहेक बीमितको शरीरमा जडान गर्नुपर्ने यन्त्र, दाँतको उपचार, कस्मेटिक सर्जरी, गर्भपतन, एलजाइमर, पार्किङ्सन, कृत्रिम गर्भाधान, अङ्ग प्रत्यारोपणजस्ता रोगलाई बीमा योजनाले समेटेको छैन ।