Wednesday, November 21, 2018

अर्थ मन्त्रालयले १३ दिनमै उल्ट्यायो आफ्नो निर्णय

महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाइसेन्स प्रक्रिया :
मुना कुँवर
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको अर्थ मन्त्रालयले १३ दिनमा नै आफ्नो निर्णय परिवर्तन गरेको छ । प्रस्तावित बिमा विधेयक विचाराधिन अवस्थामा रहेको भन्दै मन्त्रालयले तत्काल महालक्ष्मी लाइफ इन्स्योरेन्सको दर्ता प्रक्रिया अगाडि नबढाउन बिमा समितिलाई निर्देशन दिएको हो । 
मन्त्रालयले गत भदौ २८ मा बिमा समितिलाई पत्राचार गरी सर्वोच्च अदालतको आदेशअनुसार लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । सो निर्देशन दिएको १३आँै दिन (असोज १०) मा मन्त्रालयले पुनः बिमा समितिलाई पत्राचार गरी असोज ९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार तत्काल महालक्ष्मीको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

Tuesday, November 13, 2018

शतप्रतिशत बढ्यो कृषि बिमाको अनुदान रकम


मुना कुँवर
चालू आवमा कृषि बिमाका लागि ७० करोड विनियोजन
सरकारको चालू आर्थिक वर्ष ०७५/७६ मा कृषि बिमा अनुदान रकम शतप्रतिशतले बढेको छ । चालू आवमा कृषि बिमाका लागि ७० करोड रुपैयाँ विनियोजन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजप्रसाद सुवेदीले बताए । उनका अनुसार पशुका लागि ४० करोड रुपैयाँ र बालीका लागि ३० करोड रुपैयाँ विनियोजन भएको छ ।
गत आवमा कृषि बिमातर्फ सरकारले ३५ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये कृषि विकासका लागि १० करोड ५० लाख र पशुपन्छी विकासका लागि २५ करोड रकम विनियोजन गरिएको थियो ।
कृषि बिमा कार्यक्रम सञ्चालन गरिएको पहिलो आव ०७०/७१ मा भने सरकारले १३ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, उक्त वर्ष कृषि बिमाको प्रचार हुन नसक्दा जम्मा १ करोड ७० लाख रुपैयाँ मात्रै खर्च भएको थियो । त्यसैले, दोस्रो वर्ष आव ०७१/७२ मा भने सरकारले जम्मा ६ करोड रकम विनियोजन गरेको थियो । तर, उक्त वर्ष भने कृषि बिमा व्यापक रूपले बढ्यो । विनियोजित रकम अपुग भएपछि सरकारले ५ करोड रुपैयाँ थप गरेको थियो । त्यस्तै, आव ०७२/७३ का लागि सरकारले १२ करोड विनियोजन गरेको थियो । उक्त वर्ष पनि रकम अपुग भएपछि सरकारले ६ करोड रुपैयाँ थप गरेको हो ।

Wednesday, November 7, 2018

अनलाइन सेयर कारोबार प्रणाली सुरु

काठमाडौं | कार्तिक २१, २०७५
पोर्टफोलियो व्यवस्थापनका लागि बजारमा लगानी गर्नुहोस्  : अर्थमन्त्री
नेपाल स्टक एक्सचेन्जले मंगलबारदेखि अनलाइन सेयर कारोबार प्रणालीको शुभारम्भ गरेको छ । काठमाडाैंमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री युवराज खतिवडाले नेप्से अनलाइन प्रणालीको सुरुवात गरेका छन् ।
अब लगानीकर्ताले इन्टरनेटको माध्यमबाट यथास्थानमा नै बसेर सेयर खरिद–बिक्री गर्न सक्ने भएका छन् । अनलाइन प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थागत लगानीकर्तालाई सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् । ‘बैंकको ब्याज भनेको मौसमी हुन्छ । आज छ भोलि छैन,’ उनले भने, ‘पोर्टफोलियो व्यवस्थापनका लागि पनि बजारमा लगानी गर्नुहोस्,’ । साथै, वित्तीय विश्लेषण गरेर बजारमा लगानी गर्न लगानीकर्तालाई उनले सुझाब दिएका छन् । कम्पनीको वासलात, नाफा–नोक्सान विवरण हेरेर मात्रै लगानी गर्नसमेत उनले आग्रह गरे ।

एउटै बिमालेखले सबैको बिमा


मुना कुँवर
काठमाडौ | कार्तिक २०, २०७५
अबदेखि एउटै बिमालेखले मानिस, चौपाया तथा घरको पनि बिमा गर्न सकिने भएको छ । बिमा समितिले निर्माण गर्न लागेको एकीकृत बिमालेखले सामूहिक बिमा गर्न सकिने भएको हो । समितिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी एकीकृत बिमालेख निर्माण गर्ने तयारी गरेको समितिका उपनिर्देशक कुन्दन सापकोटाले बताए ।
‘समितिले सामान्य नागरिकलाई लक्षित गरी एउटा बिमालेखले सबैको बिमा गर्न सकिने योजना बनाउँने सोच धेरैअघिदेखि बनाएको हो,’ उनले भने, ‘तर, अहिले सुरुवात हामीले बाढीप्रभावित क्षेत्रलाई लक्षित गरेका छौँ । यस्ता क्षेत्रमा रहने मानिस बढी जोखिममा रहने भएकाले यस्तो बिमालेख बनाउने योजना बनाएका हौँ ।’ बिमालेखको नाम अहिलेलाई एकीकृत बिमालेख राखिए पनि यसको निर्णय भने नभएको उनले बताए । साथै बिमांक रकमको अन्तिम निर्णय पनि हुन बाँकी छ । प्रारम्भिक चरणमा रहेको उक्त बिमालेखलाई समितिको सञ्चालक समितिको बैठकले पारित गर्नुपर्नेछ । साथै सरकारको स्वीकृतिपछि मात्रै बिमा कम्पनीहरूले जारी  गर्न पाउनेछन् ।

Saturday, November 3, 2018

बिमांकी अध्यापन गराउँदै टियू

काठमाडाैं | कार्तिक १७, २०७५
नेपालमा सबै क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । यो हामी सबैले भन्दै, सुन्दै र महसुस गर्दै आएको विषय हो । त्यसमा पनि बिमा क्षेत्रका लागि अति आवश्यक बिमांकी त झन् नेपालमा एकजना पनि छैनन् ।
बिमा कम्पनीहरूको वित्तीय विवरण तयार पार्नेदेखि लिएर नयाँ बिमा योजना बनाउन बिमांकीको आवश्यकता पर्छ । तर, नेपालमा बिमांकी अध्ययन गरेका एकजना पनि छैनन् । त्यसैले, नेपाली बिमा कम्पनीहरूले भारतीय बिमांकी प्रयोग गर्दै आएका छन् । बिमांकीको यो अभावलाई मध्यनजर गरेर त्रिभुवन विश्वविद्यालयले बिमांकी अध्यापन सुरु गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले विज्ञान संकायअन्र्तगत ०७३ साल असोजबाट बिमांकी विषय अध्यापन सुरु गरेको हो । स्कुल अफ म्याथम्याटिकल साइन्सअन्तर्गत यो विषयको अध्यापन गराइन्छ । चार वर्षे स्नातक तहमा आठ सेमेस्टर हुन्छ भने पाँचवटा विषय पढाइ हुन्छ । जसमा बिमांकीबाहेकका अन्य विषय पनि समावेश छन् ।