Sunday, August 17, 2014

बीटीले धानेको दोस्रो बजार

२०७१-०५-१ मा प्रकाशित    
मुना कुँवर
 
७५ प्रतिशतभन्दा धेरै शेयर कारोबार बीटीमार्फत

नेपालको शेयर बजार खाली हस्तान्तरण (ब्ल्याङ्क ट्रान्सफर–बीटी)मा अडेको देखिएको छ । नेपाली शेयरको दोस्रो बजार (नेप्से)मा किनबेच हुने ७५ प्रतिशतभन्दा धेरै शेयर बीटीमार्फत हुने भएपछि विज्ञहरूले यस्तो बताएका हुन् । अन्य देशका दोस्रो बजारमा भने अटोमेशनका कारण चाडै शेयर नामसारी हुन्छ  र बीटी कारोबार धेरै हुँदैन । नेप्सेको कारोबार प्रणालीमार्फत शेयर खरीदविक्री गरेपछि स्थायी रूपमा नामसारी गरेर स्वामित्व हस्तान्तरण प्रक्रिया लामो र झन्झटिलो हुने भएपछि लगानीकर्ता तथा ब्रोकर कम्पनीहरू बीटीबाट व्यापार गर्न बढी रुचाउँछन् । त्यसैगरी, बजारको उतारचढावलाई उपयोग गरी छिटोछिटो शेयर खरीदविक्री गरेर नाफा कमाउन चाहने लगानीकर्ताका कारण पनि बीटीको कारोबार बढ्दै गएको हो ।

Thursday, July 31, 2014

विदेशी साझेदारीका बैङ्क : ‘डिभिडेण्ड पे आउट’ उच्च

२०७१-०४-१५ मा प्रकाशित    
मुना कुँवर
साउन १४, काठमाडौं । विगत ३ वर्षको अवधिमा विदेशी साझेदारीमा सञ्चालित वाणिज्य बैङ्कहरूले सबैभन्दा धेरै प्रतिफल वितरण (डिभिडेण्ड पे आउट) गरेका छन् । यस्ता बैङ्कहरूले सो अवधिमा चुक्तापूँजीको शतप्रतिशतभन्दा बढी प्रतिफल वितरण गरिसकेका छन् । विदेशी साझेदारीमा सञ्चालित बैङ्कहरू सबैभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएकाले उच्च प्रतिफल वितरण गर्दै आएको नेपाल ब्रोकर एशोसिएशनका अध्यक्ष नरेन्द्रराज सिजापतिले बताए । उनले भने, ‘प्रतिफल धेरै दिने भएकाले यस्ता बैङ्कहरूप्रति दोस्रो बजारमा लगानीकर्ताहरूको आकर्षण पनि बढी छ ।’

Sunday, June 29, 2014

विकास बैङ्कतर्फ लगानीकर्ता आकर्षित

२०७०-१०-१५ मा प्रकाशित     २३६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया
माघ १४, काठमाडौं । पछिल्लो समयमा शेयर बजारमा विकास बैङ्कतर्फ लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । अन्य कम्पनीको तुलनामा विकास बैङ्कको शेयरमूल्य केही कम हुनुका साथै प्रतिफल राम्रो भएका कारण लगानीकर्ताको आकर्षण बढ्न थालेको ब्रोकरहरू बताउँछन् । केही महीनाअघि बीमा र बैङ्किङ समूहको शेयरमा लगानी बढे पनि पछिल्लो समयमा त्यस्तो लगानी विकास बैङ्कको शेयरमा स्थानान्तरण भएको उनीहरूले बताए । ‘माग अत्यधिक भएकाले बीमा र बैङ्किङ समूहको शेयरमूल्य उच्च विन्दुमा पुगेपछि लगानीकर्ताले अन्य विकल्पका रूपमा विकास बैङ्क रोजेको देखिन्छ,’ एक ब्रोकर सञ्चालकले भने । बजारको प्रकृतिअनुसार पनि निश्चित अवधि पछाडि लगानीकर्ताले लगानीको क्षेत्र परिवर्तन गर्ने शेयर विश्लेषकहरू बताउँछन् ।

Monday, June 23, 2014

पुराना लगानीकर्ता र आफन्तबाटै ठगिन्छन् नयाँ लगानीकर्ता

२०७१-०३-९ मा प्रकाशित    

मुना कुँवर
असार ८, काठमाडौं । पाल्पाकी जानुका श्रेष्ठ स्टाफ नर्स हुन् । उनी अहिले काठमाडौंमै कार्यरत छिन् । दिन–रात गरी आम्दानी गरेको रकम उनी उचित क्षेत्रमा लगानी गर्न चाहन्थिन् । त्यसैले उनले शेयर बजारमा लगानी गर्ने योजना बनाइन् । तर, शेयर खरीद गर्ने विषयमा उनलाई जानकारी भने थिएन । यसैबीच, एकजना पुराना लगानीकर्तासँग उनको भेट भयो । आफूलाई केही जानकारी नभएकाले उनी तिनै लगानीकर्ताको पछि लागिन् । उनको सल्लाहअनुसार उनले एउटा विकास बैङ्कमा रू. १ लाख ५० हजार लगानी गरिन् । तर, उनले खरीद गरेको केही दिनमा नै सो बैङ्कको शेयरमूल्य आधा घट्यो । उनी छाँगाबाट खसेजस्तै भइन् । राम्रो मुनाफा कमाउने उनको सपना चकनाचुर भयो । त्यसैले उनले ती लगानीकर्तालाई पुनः सम्पर्क गर्न खोजिन् । तर, अहिलेसम्म सम्पर्क हुन नसकेको उनले बताइन् । आफूलाई लगानीबारे थाहा नहुँदा आफ्नो रकम फसेको उनले बताइन् । ‘पुराना लगानीकर्तालाई त राम्रो जानकारी होला भनेर विश्वास गरेँ,’ उनले भनिन् ‘तर, उनले मलाई फसाएका रहेछन् ।’ उनले भनिन्, ‘त्यो बैङ्कको शेयर घट्ने उनलाई पहिले नै अनुमान रहेछ, त्यसैले शेयर खरीद नगर्ने बेलासम्म उनले मेरो पीछा छोडेनन् ।’ उनले शेयरमूल्य घट्ने अवस्था देखेर आफनै शेयर मलाई भिडाएका रहेछन् । अहिले उनलाई ठूलो पछुतो लागेको छ ।

Monday, April 14, 2014

धरानमा फस्टाउँदो शेयर बजार

२०७१-०१-१ मा प्रकाशित     

मुना कुँवर

चैत ३०, काठमाडौं । नेपाल धितोपत्र बोर्डले काठमाडौंबाहिरका शहरमा पनि शेयर बजार विस्तार गर्ने उद्देश्यले प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न थालेपछि धरानमा पनि शेयर व्यापार बढ्न थालेको छ । गत मङ्सिरदेखि औपचारिक रूपमा ब्रोकर कम्पनी सञ्चालनमा आएपछि धरानमा दैनिक औसत रू. ३५ लाखसम्मको व्यापार हुने गरेको एबीसी सेक्युरिटिजका धरान वर्क स्टेशन म्यानेजर योगेशकुमार अग्रवालले बताए । उनका अनुसार यसअघि धरानमा अनौपचारिक रूपमा शेयर खरीदविक्रीको काम हुँदै आएको थियो ।

धरानमा अहिले एबीसी सेक्युरिटिज काठमाडौंले मात्रै आफ्नो वर्क स्टेशन सञ्चालन गरिरहेको छ । यद्यपि २०५८ सालदेखि नै एबीसीले धरानमा स्थानीय एजेण्टमार्फत शेयर व्यापार गर्दै आइरहेको थियो । अहिले कम्पनीले धरानमा काउण्टर नै सञ्चालन गरेपछि लगानीकर्तालाई सहज भएको स्थानीय लगानीकर्ता टीकाराम बस्नेतले बताए । ‘पहिला यहाँबाट काठमाडौंको ब्रोकरलाई फोन गरेर शेयर खरीदविक्रीका लागि अर्डर दिन्थ्यौं,’ उनले भने, ‘अहिले भने आफ्नै आँखाअगाडि सबै काम गर्न पाएका छौं ।’ बस्नेतका अनुसार धरानमा स्थानीयस्तरमा नै काउण्टर सञ्चालनमा आएपछि ५० प्रतिशत लगानीकर्ताको वृद्धि भएको छ । धरानमा सबै विभिन्न समुदायको बसोवास रहेको छ । त्यसैले लगानीकर्ता पनि मिश्रित खालका नै भएको उनले बताए । ‘अधिकांश लगानीकर्ताको रोजाइमा वाणिज्य बैङ्क तथा जलविद्युत् कम्पनी पर्ने गरेका छन्,’ उनले भने, ‘तर जुन कम्पनी भए पनि लगानीकर्ताले अध्ययन र विश्लेषण गरेर मात्रै लगानी गर्छन् ।’

Sunday, April 13, 2014

मोफसलका शेयरधनीका समस्या

२०७०-१२-३० मा प्रकाशित     २७७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया
मोफसलका शेयरधनीका समस्या
प्रतिफल लिन दोब्बर खर्च गर्नुपर्ने बाध्यता
गत फागुनमा रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर खुला गरेको थियो । विराटनगरका मुरारीप्रसाद सुवेदीले बजार बढिरहेका बेलाको प्राथमिक शेयर छुटाउन चाहेनन् । सुवेदी शेयर बजारका सक्रिय लगानीकर्ता पनि हुन् । त्यसैले, आवेदनका लागि उनले समयमै रकमको जोहो गरे । कम्पनीले आवेदन  खुलाएको पहिलो दिन नै आवेदन दिन उनी विराटनगरको जनता बैङ्कको शाखा कार्यालय पुगे । तर, बैङ्कले उनको आवेदन लिएन । ‘आवेदनका लागि कम्पनीले तोकेका कार्यालयमध्ये जनता बैङ्क मात्रै विराटनगरमा उपलब्ध थियो,’ उनले भने, ‘तर, उक्त बैङ्कको पनि बिर्तामोड शाखाले मात्रै आवेदन लिने प्रावधान रहेछ, त्यसैले विराटनगर शाखाले आवेदन लिन मानेन ।’ विराटनगरबाटै आवेदन दिन धेरै प्रयास गरे पनि उनले बिर्तामोड जानुको विकल्प भेट्टाएनन् ।

मोफसलका शेयरधनीका समस्या

२०७०-१२-३० मा प्रकाशित     २८० पटक पढिएको

 मुना कुँवर
प्रतिफल लिन दोब्बर खर्च गर्नुपर्ने बाध्यता
गत फागुनमा रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर खुला गरेको थियो । विराटनगरका मुरारीप्रसाद सुवेदीले बजार बढिरहेका बेलाको प्राथमिक शेयर छुटाउन चाहेनन् । सुवेदी शेयर बजारका सक्रिय लगानीकर्ता पनि हुन् । त्यसैले, आवेदनका लागि उनले समयमै रकमको जोहो गरे । कम्पनीले आवेदन  खुलाएको पहिलो दिन नै आवेदन दिन उनी विराटनगरको जनता बैङ्कको शाखा कार्यालय पुगे । तर, बैङ्कले उनको आवेदन लिएन । ‘आवेदनका लागि कम्पनीले तोकेका कार्यालयमध्ये जनता बैङ्क मात्रै विराटनगरमा उपलब्ध थियो,’ उनले भने, ‘तर, उक्त बैङ्कको पनि बिर्तामोड शाखाले मात्रै आवेदन लिने प्रावधान रहेछ, त्यसैले विराटनगर शाखाले आवेदन लिन मानेन ।’ विराटनगरबाटै आवेदन दिन धेरै प्रयास गरे पनि उनले बिर्तामोड जानुको विकल्प भेट्टाएनन् ।

Thursday, April 10, 2014

बैङ्किङ समूहको परिसूचक घट्दो क्रममा

२०७०-११-२७ मा प्रकाशित     २२५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया
फागुन २६, काठमाडौं । विगत ७० कारोबार दिनको प्राविधिक विश्लेषणले बैङ्किङ समूहको परिसूचक घट्ने क्रममा रहेको देखाएको छ । दोस्रो संविधानसभा चुनाव सम्पन्न भएपछि बढेको यस समूहको परिसूचक पछिल्लो समयमा घट्ने क्रममा रहेको रेखाचित्रले देखाएको हो । वाणिज्य बैङ्कको शेयरमूल्य धेरै बढेपछि राम्रो प्रतिफल दिँदै आएका थोरै मूल्यका लघुवित्त कम्पनीका शेयरतर्फ लगानीकर्ता आकर्षित भएको नेपाल इन्भेष्टर्स फोरमका कार्यवाहक अध्यक्ष राजकुमार तिमिल्सिनाले बताए ।

Friday, April 4, 2014

न्यायाधिकरणमा सरकारी स्वामित्वको बैङ्कका मुद्दा धेरै

 मुना कुँवर

चैत २०, काठमाडौं । ऋण असुली न्यायाधिकरणमा सरकारी स्वामित्व भएका बैङ्कहरूको मुद्दा धेरै दर्ता हुने गरेको पाइएको छ । सरकारी बैङ्कमा राजनीतिक दबाब तथा संस्थागत सुशासनको अभावले खराब कर्जा धेरै बढेको र त्यसैले मुद्दा सङ्ख्या पनि अधिक हुने गरेकोे न्यायाधिकरणका पूर्वअध्यक्ष गोकुलप्रसाद बुर्लाकोटीले बताए । न्यायाधिकरणका अनुसार नेपाल बैङ्क लिमिटेडको विषयमा सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् । न्यायाधिकरणले ठहर गरेको बिगो रकमका आधारमा भने राष्ट्रिय वाणिज्य बैङ्क अगाडि छ । 

सरकारी बैङ्कहरूमा खराब कर्जाको अवस्था अधिक भएपछि वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत ऋण असुली न्यायाधिकरणको स्थापना भएको हो । नेपाल बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्क मुलुकको सबैभन्दा पुराना बैङ्क हुन् । त्यसैले पनि यी बैङ्कहरूमा धेरै समस्या देखिएको न्यायाधिकरणका पूर्वअध्यक्ष बुर्लाकोटीको भनाइ छ । उनले यस्ता बैङ्कहरूमा राजनीतिक दबाब तथा सरकारी हस्तक्षेप धेरै हुने बताए । दबाबकै कारण कतिपय कर्जा विनाधितो नै प्रवाह गरिएकोे देखिएको उनले बताए ।

Thursday, April 3, 2014

बासुलिङमा ५ वित्तीय संस्थाकोे साढे ३ अर्ब फस्यो

मुना कुँवर

चैत २९, काठमाडौं । बासुलिङ सुगर एण्ड जनरल इण्डष्ट्रिजमा विभिन्न बैङ्क तथा वित्तीय संस्थाको रू. ३ अर्ब ४६ करोडभन्दा बढी रकम फसेको छ । कम्पनी बन्द भएका कारण ठहर बिगो असुलीमा पनि समस्या आएको ऋण असुली न्यायाधिकरणका ऋण असुली अधिकृत सुमन दाहालले बताए । उनले भने, ‘धितो लीलामी गरेर बिगो असुली गर्ने प्रक्रियामा छौं ।’

२०५१ वैशाखमा कम्पनी रजिष्ट्रार कार्यालयमा ६१/०५०५१ नम्बरको प्राइभेट लिमिटेडका रूपमा दर्ता भएको सो कम्पनी माओवादी द्वन्द्वका कारण बन्द गर्नु परेको कम्पनी स्रोतले बताएको छ । यद्यपि कम्पनीको व्यवस्थापनकै समस्याका कारण कम्पनी बन्द हुन पुगेको बैङ्क स्रोतले बताएको छ ।

Sunday, March 30, 2014

शेयर बजारमा विद्यार्थीको सामूहिक लगानी

२०७०-१२-१६ मा प्रकाशित     ४२५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया 
शेयर बजारमा विद्यार्थीको सामूहिक लगानी
सुरज महर्जन स्नातकोत्तर तहका विद्यार्थी हुन् । व्यवस्थापन विषयका विद्यार्थी भएकाले पनि भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गर्ने उनको इच्छा थियो । त्यसैले, बीबीएस अध्ययन गर्दा नै उनले स–सानो रकम बचत गर्न शुरू गरे । यसमा उनका सहपाठी प्रेम शाही, राजु महर्जन, दिनेश महर्जन र राजीव मर्हजन पनि सहभागी भए । पाँचजना साथी मिलेर एउटा बचत समूहको स्थापना गरे । उनीहरूले खाजा खर्चबाट पैसा जोगाएर महीनाको रू. ३/३ सय जम्मा गर्न थाले । यसरी बचत गरेको रकमलाई उनीहरूले शेयरबजारमा लगानी गर्ने योजना बनाए ।

अध्ययनकै क्रममा उनीहरूले पाठ्यक्रमका शेयरबजारसम्बन्धी पुस्तकबाट नै केही जानकारी लिएका गरेका थिए । ‘यसैबाट प्रेरित भई शेयर बजारमा लगानी गर्न थालेका हौं,’ सुरज भन्छन् । उनीहरूले पहिलोपटक रू. ५० हजार लगानी गरी ग्लोबल बैङ्कको शेयर खरीद गरे । यसबाट उनीहरूलाई राम्रो फाइदा नभए पनि घाटा भने भएन । त्यसपछि रू. १० हजार लगानी गरी प्राइम बैङ्कको शेयर खरीद गरे । यसबाट उनीहरूलाई राम्रो फाइदा भयो । यसरी प्राप्त मुनाफालाई उनीहरूले कोषमा नै जम्मा गर्न थाले । ‘अहिले हामीसँग विभिन्न कम्पनीमा गरेर रू. ५ लाखभन्दा बढी लगानी छ,’ शाहीले भने ।

Tuesday, March 25, 2014

१२ वाणिज्य बैङ्कद्वारा २ सय ६८ स्थानमा शाखारहित सेवा

चैत १०, काठमाडौं । सूचनाप्रविधिको विकास तथा विस्तारसँगै पछिल्लो समयमा बैङ्किङ प्रडक्टमा पनि विविधीकरण हुँदै गएको छ । यसैको उदाहरण हो– शाखारहित बैङ्किङ, जसको कारणले बैङ्कहरू भौतिक उपकरण, भवन तथा सवारीसाधनविना नै वित्तीय कारोबार गर्न र सर्वसाधारणलाई सेवा उपलब्ध गराउन सफल भएका छन् । अन्य सेवासुविधामा प्रतिस्पर्धी बन्दै गएका नेपाली बैङ्कहरूबीच शाखारहित बैङ्किङ सेवामा पनि प्रतिस्पर्धा बढ्दै गएको छ । फलस्वरूप अहिलेसम्म १२ वाणिज्य बैङ्कले २ सय ६८ स्थानबाट शाखारहित बैङ्किङ सेवा विस्तार गरेका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा शाखारहित बैङ्किङ सेवा प्रदान गर्ने वाणिज्य बैङ्कको सङ्ख्या त्यति पुगेको नेपाल राष्ट्र बैङ्कले बताएको छ । केन्द्रीय बैङ्कका अनुसार अहिलेसम्म शाखारहित बैङ्किङ सेवा प्रदान गर्ने वित्तीय संस्थामा सबै वाणिज्य बैङ्कमात्र छन् ।

Monday, March 17, 2014

म्यूचुअल फण्डप्रति लगानीकर्ताको आकर्षण कम

चैत ३, काठमाडौं । नेपालमा शेयर बजारको संस्थागत लगानीकर्ता सामूहिक लगानीकोष (म्यूचुअल फण्ड)प्रति सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन । कोषका एकाइहरू दोस्रो बजारमा खुद सम्पत्ति मूल्यभन्दा कममा किनबेच हुनुले यस्तो सङ्केत गरेको हो । प्रतिएकाइ अङ्कित मूल्य रू. १० कायम रहेको सामूहिक लगानीकोषका एकाइ हाल दोस्रो बजारमा रू. ९ देखि रू. १३ सम्ममा कारोबार भएका छन् । तर, ती एकाइको खुद सम्पत्ति मूल्य प्रतिएकाइ रू. १४ देखि रू. १७ सम्म पुगेको छ ।

नयाँ तथा विश्लेषणमा समय दिन नसक्ने लगानीकर्ताका लागि सामूहिक लगानीकोष सबैभन्दा उत्तम विकल्प हो । तर, नेपालको पूँजी बजार सानो छ, त्यसैले पनि सामूहिक लगानीकोषका योजना सफल हुन नसकेको नेपाल इन्भेष्टर्स फोरमका कार्यवाहक अध्यक्ष राजकुमार तिमिल्सिनाले बताए । उनका अनुसार कोषको लगानी पनि शेयरबजारमा नै आधारित छ । यस्तो अवस्थामा बजार घट्ने बाटोमा हिँडेमा लगानीकर्ता डुब्न सक्ने भएकाले पनि कोषप्रति लगानीकर्ताको विश्वास कम भएको उनको भनाइ छ ।

Thursday, March 13, 2014

ठहर बिगोको ४० प्रतिशत मात्र असुली

फागुन २८, काठमाडौं । ऋण असुली न्यायाधिकरणले तोकेको बिगोको ६० प्रतिशत ऋण अझै असुली हुन सकेको छैन । न्यायाधिकरणको स्थापनाको १ दशक बित्दासम्म बिगोको ४० प्रतिशत ऋण मात्रै उठेको छ । ऋणी र बैङ्कबीचको आन्तरिक मिलेमतोका कारण ऋण असुली हुन नसकेको न्यायाधिकरणका पूर्वबैङ्किङ सदस्य ज्योतिप्रसाद कँडेलले आरोप लगाए ।

न्यायाधिकरणमा चालू आर्थिक वर्ष २०७०/७१ को पहिलो ६ महीनाको अन्त्यसम्म २ हजार ७ सय ८० मुद्दा दर्ता भएका छन्, जसमध्ये २ हजार ६ सय १६ मुद्दा फछ्र्योट भएका छन् । फछ्र्योट भएका मुद्दाबाट न्यायाधिकरणले रू.४२ अर्ब २९ करोड ६९ लाखबराबरको रकम बिगो दाबी गरेको छ । न्यायाधिकरणले हालसम्म तीन प्रकार (न्यायाधिकरणबाट निर्णय भएको, न्यायाधिकरणको मध्यस्थतामा बैङ्क र ऋणीबीच सम्झौता भएको, ऋणी र बैङ्कबीच आपसी समझदारीमा सम्झौता भएको)बाट मुद्दाको निर्णय गरी कुल रू. १७ अर्ब ११ करोड ७ लाख ऋण असुली गरेको छ ।

Wednesday, March 12, 2014

स्वरोजगारीको नयाँ क्षेत्र बन्दै शेयर लगानी व्यवसाय

काठमाडौं सिनामङ्गलकी सुशीला थपलिया एक कुशल गृहिणी हुन् । विवाहपछि थपलियाको जीवन घरपरिवारकै जिम्मेवारीमा रुमलिएको थियो । त्यसो त उनमा आत्मनिर्भर बन्ने चाहना नभएको भने होइन । तर, घरपरिवारको जिम्मेवारीसँगै सन्तान हुर्काउने दायित्व पनि उनकै काँधमा थियो । यति हुँदाहुँदै पनि उनी आफ्नै पहिचान बनाउन चाहन्थिन् । तर, घरको सबै काम गरिसक्दा उनीसँग थोरै समयमात्र बाँकी रहन्थ्यो । यो छोटो समयमा न त उनी जागीर खान सक्थिन्, न कुनै व्यवसाय नै शुरू गर्न । अन्नतः २ वर्षअघि उनलाई शेयर व्यवसायमा लगानी गर्ने अवसर जुट्यो । उनलाई यो अवसरबारे उनकै साथीले जानकारी गराएकी थिइन् । त्यतिबेला उनलाई ‘ढुङ्गा खोज्दा देवता मिले’जस्तै भयो । दोस्रो शेयर बजार अर्थात् सेकेण्डरी मार्केटबाट उनले लगानी गर्न शुरू गरिन् । शुरुआतमा उनले दैनिक खर्चबाट बचेको सानो रकमबाटै लगानीको थालनी गरेकी थिइन् । अहिले उनीसँग दर्जनौं बैङ्कका शेयर छन् । प्रत्येक दिन ब्रोकर कम्पनीमा जाने तथा साथीहरूसँग बसेर बजार विश्लेषण गर्ने उनको दिनचर्या नै बनेको छ । यो व्यवसायमा थोरै रकम तथा समयको लगानी गरेर पनि उनले राम्रो आम्दानी गरिरहेकी छिन् । आफ्ना आवश्यकता पूरा गर्न अहिले उनलाई कसैको भर पर्नुपर्दैन । त्यसका लागि उनी आफै सक्षम बनेकी छिन् ।

Thursday, March 6, 2014

ऋण नतिर्नेलाई पक्राउ पुर्जी जारी गर्छौं : न्यायाधिकरण

मुना कुँवर

फागुन २१, काठमाडौं । ऋण असुली न्यायाधिकरणले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता नगर्नेहरूलाई पक्राउ पुर्जी जारी गर्ने भएको छ । लामो समयदेखि ताकेता गर्दा पनि ऋण तिर्न अटेर गरेकाले अबका दिनमा ऋण असुलीका लागि न्यायाधिकरण कडाइसाथ प्रस्तुत हुन लागेको हो । बारम्बार सूचना जारी गर्दा पनि ऋण तिर्न नआउने ऋणीहरूलाई न्यायाधिकरणले पक्राउ पुर्जी नै जारी गर्ने तयारी गरेको न्यायाधिकरणका अधिकृत सुमन दाहालले अभियानलाई बताए । न्यायाधिकरणले पहिलोपटक यस्तो कदम चाल्न लागेको हो ।

आर्थिक वर्ष २०६९/७० सम्ममा ऋण असुलीका लागि न्यायाधिकरणमा २ हजार ७ सय २७ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये २ हजार ५ सय ९९ थान मुद्दा फछ्र्योट भइसकेको न्यायाधिकरणले जानकारी दिएको छ । त्यसैगरी चालू आवको माघ महीनासम्ममा १ सय ८१ मुद्दा (पुराना र नयाँ गरी) दर्ता भएकोमा १ सय ६४ ओटाको फैसला भइसकेको छ । न्यायाधिकरणबाट मुद्दा फछ्र्योट भए तापनि असुलीको दर भने न्यून रहेको अधिकृत दाहालले बताए । उनका अनुसार अहिलेसम्म बैङ्क तथा वित्तीय संस्थाको २५ अर्ब रुपैयाँ ऋण असुली हुन बाँकी छ । ऋणीहरूलाई ठहर विगो चुक्ता गर्न धेरै आग्रह गर्दा पनि अटेर गर्दै आएकाले अन्तिम विकल्पका रूपमा पक्राउ पुर्जी नै जारी गर्न बाध्य भएको उनले बताए ।

Wednesday, March 5, 2014

एचआरको सही अभ्यास गराउन धेरै मेहनत गर्नुपर्नेछ

मोहन ओझा
प्रबन्ध निर्देशक, ग्रोथ सेलर्स प्रालि
तपाईंहरू विगत ७ वर्षदेखि एचआर सम्मेलनको आयोजना गर्दै आउनुभएको छ । यसबाट विगतमा हासिल भएका उपलब्धि र यो वर्षको अपेक्षाबारे बताइदिनुहोस् न ?
हामी सन् २००८ देखि एचआर मीट अर्थात् सम्मेलनको आयोजना गर्र्दै आएका छौं । त्यसैगरी विगत ४ वर्षदेखि हामी ‘एचआर म्यानेजर अफ दि इयर’को अवार्डसमेत वितरण गर्दै आएका छौं । जुन बेला हामीले यस्तो गोष्ठीको आयोजना शुरू गरेका थियौं, त्यतिबेला नेपालमा मुश्किलले ४०/५० ओटा कम्पनीमा मात्रै एचआर विभाग थियो । अधिकांश कम्पनीमा एचआरको काम प्रशासनले गर्दै आएको अवस्था थियो । तर, ५ वर्षको अवधिमा नेपालका करीब ४ सय कम्पनीमा एचआर विभाग स्थापना भइसकेको छ । यस अवधिमा कतिपय कलेजले समेत एचआर विषयलाई भिन्न विषयको रूपमा अध्यापन गराउन थालेका छन् । कतिपय विद्यार्थीले त एचआर विषयमा नै आफ्नो डिग्री लिनसमेत थालेका छन् । त्यसैगरी विदेश अध्ययन गर्न जाने विद्यार्थी पनि एचआरमै विज्ञता हासिल गरेर फर्किन थालेका छन् । यो हामीले विगतका वर्षका गरेका कार्यको प्रतिफल हो । नेपालको कर्पोरेट क्षेत्रमा एचआरको अवधारणा स्थापित गर्नु नै हाम्रो पहिलो लक्ष्य हो, जसमा हामी करीब सफल पनि भएका छौं । अबको हाम्रो लक्ष्य कुनै पनि संस्थाले एचआरलाई आफ्नो नीतिमा पनि समावेश गराओस् भन्ने हो । त्यसैले, अहिले हामी एचआरलाई संस्थाको स्ट्राटेजी अर्थात् रणनीतिभित्रै राख्ने संस्कृतिको अभ्यास गराउन लागिपरेका छौं ।

मानव संसाधनका सम्बन्धमा जनचेतना फैलाउनुबाहेक यस सम्मेलनका अन्य उद्देश्य केके छन् ?
नेपालमा एचआरको इतिहास धेरै पुरानो छैन । त्यसैले, यहाँ एचआरको सही अभ्यास गराउन धेरै मेहनत गर्नुपर्नेछ । यसै परिप्रेक्ष्यमा हामी एचआर मीटको आयोजना गर्दै आएका छौं । एचआर मीटको प्रमुख उद्देश्य नेपालको कर्पोरेट स्तरमा एचआरको व्यापकता र महत्व सबैलाई बुझाउनु हो । ताकि, हरेक संस्थाले एचआरको आवश्यकता महसूस गर्न सकोस् । यसले कुनै पनि संस्थालाई बलियो बनाउन सहयोग गर्नेछ ।

Monday, March 3, 2014

रियल इस्टेट कर्जा घटाउँदै वाणिज्य बैङ्कहरू

फागुन १८, काठमाडौं । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा रियल इस्टेट क्षेत्रमा वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ५ प्रतिशतले घटेको छ । वाणिज्य बैङ्कहरूले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा यस्तो देखिएको हो । पछिल्लो समयमा राष्ट्र बैङ्कले रियल इस्टेट क्षेत्रको कर्जा घटाउन निर्देशन दिँदै आएको र अपेक्षित रूपमा उक्त क्षेत्र विस्तार हुन नसकेकाले पनि बैङ्कहरूको यस्तो लगानी घट्दै गएको सरोकारवालाहरू बताउँछन् । ‘अहिले वाणिज्य बैङ्कहरूले रियल इस्टेट क्षेत्रको कर्जालाई कम प्राथमिकतामा राखेका छन्,’ एक वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतले भने ।

Friday, February 28, 2014

कसरी आकर्षक बनाउने बगैंचा ?

घर सुन्दर बनाउन बगैंचाको भूमिका महत्वपूर्ण हुन्छ । वनस्पति तथा रङ्गीविरङ्गी फूलले ढकमक्क बगैंचाले घरको सुन्दरतामात्र नभई मानिसको मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पारिरहेको हुन्छ । तसर्थ, घर बनाउँदा बगैंचा निर्माणमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ । बगैंचाका मौसमी तथा सदावहार बोटबिरुवाले घरको सौन्दर्यमा वृद्धि गर्ने हुनाले बगैंचालाई ठूला रूख, फूल तथा हेजले विभाजित गरेर आकर्षक बनाउन सकिन्छ । त्यस्तै, क्याक्टस, मौसमी फूल, ग्रीन प्लाण्टदेखि बाह्रमासे फूल आदि लगाएर पनि बगैंचामा आकर्षण थप्न सकिन्छ । सूर्यको किरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिई आवश्यक जानकारी लिएरमात्र बिरुवा रोप्नु उचित हुन्छ ।

विशेषगरी बगैंचा निर्माणका लागि पहिले नै उत्कृष्ट योजना बनाउनुपर्छ । योजना बनाउनुपूर्व बगैंचा निर्माण गर्ने खाली स्थान कति छ भन्ने थाहा पाउनुपर्छ । सोहीअनुसार बगैंचामा ठूला रूखदेखि हेजसम्म बनाउन सकिन्छ । हरियालीमय बगैंचाले मनमा शान्तिको अनुभूति गराउँछ । साथै, दिनभरि कामकाजमा व्यस्त शरीर तथा मस्तिष्कमा ऊर्जा पैदा गराउँछ । त्यसैले पनि पहिलेको तुलनामा हिजोआज घरमा बगैंचा बनाउने चलन बढिरहेको छ ।

Thursday, February 27, 2014

पोखरामा शेयर कारोबार बढ्दो

दैनिक डेढ करोडको शेयर व्यापार
फागुन १४, काठमाडौं । पछिल्लो समय शेयर बजारले गति लिएसँगै उपत्यकाबाहिर पोखरामा पनि शेयर कारोबार बढ्न थालेको छ । पोखरामा औसतमा दैनिक रू. १ करोड ५० लाखसम्मको कारोबार हुने गरेको कुमारी सेक्युरिटिज पोखराका वर्क स्टेशन म्यानेजर दीपक सिग्देलले बताए । पहिले दैनिक औसत रू. ४० देखि ५० लाखको हाराहारीमा मात्रै शेयर व्यापार हुने गरेको थियो । उनका अनुसार पोखराका अधिकांश लगानीकर्ताहरू बैङ्किङ क्षेत्रका कम्पनीतर्फ आकर्षित छन् ।

पोखरामा अहिलेसम्म ४ ब्रोकर कम्पनीको शाखा सञ्चालनमा रहेको छ । कुमारी सेक्युरिटिज–१, थ्राइभ ब्रोकरेज हाउस–१३, नेपाल स्टक हाउस–१४, प्रिमियर सेक्युरिटिज–३२ ब्रोकर कम्पनीले २०६६ सालदेखि पोखरामा पनि शाखा सञ्चालन गरिरहेका छन् । यतिबेला पोखरामा राम्रो कारोबार भइरहेको स्थानीय ब्रोकर कम्पनीका प्रतिनिधिहरू बताउँछन् । पोखरामा सञ्चालित ४ ब्रोकर कम्पनीहरूबाट दैनिक कम्तीमा रू. १ करोडदेखि बढीमा १ करोड ५० लाखसम्मको कारोबार हुने गरेको छ ।

Sunday, February 23, 2014

विराटनगरमा दैनिक १ करोडसम्म शेयर किनबेच

काठमाडौं । पछिल्लो समय नेपालको शेयर बजार काठमाडौंबाहिरका लगानीकर्ताका माझमा पनि विस्तारै लोकप्रिय बन्दै गएको छ । काठमाडौंबाहिरका शहरमा स्थापित ‘रिमोट वर्किङ स्टेशन– आरडब्ल्यूएस’मा बढ्दै गएको शेयर व्यापार र त्यहाँको सर्वसाधारणको शेयर किनबेचमा बढ्दै गएको सहभागिताले यस्तो देखाएको हो ।

पूर्वाञ्चलको आर्थिक केन्द्र विराटनगरमा शेयर कारोबार बढ्न थालेको छ । विराटनगरमा औसत दैनिक रू. ७० लाखभन्दा बढीको व्यापार हुने गरेको ब्रोकर कम्पनीका स्थानीय वर्क स्टेशन म्यानेजरहरूले बताएका छन् । पहिले दैनिक औसत रू. १० देखि २० लाखको हाराहारीमा मात्रै शेयर व्यापार हुने गरेको थियो । उनीहरूका अनुसार विराटनगरका अधिकांश लगानीकर्ता बीमा तथा जलविद्युत् कम्पनीतर्फ आकर्षित हुने गरेका छन् ।

सात वाणिज्य बैङ्कको चुक्ता पूँजी अपुग

फागुन ६, काठमाडौं । सात वाणिज्य बैङ्कको चुक्ता पूँजी नेपाल राष्ट्र बैङ्कको मापदण्डअनुसार अपुग रहेको छ । नेप्सेमा सूचीकृत ३१ वाणिज्य बैङ्कमध्ये सातओटाको चुक्ता पूँजी रू. २ अर्बभन्दा कम रहेको हो । नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूलाई रू. २ अर्ब चुक्ता पूँजी पुर्‍याउन निर्देशन दिए तापनि सात वाणिज्य बैङ्कले अहिलेसम्म पुर्‍याउन सकेका छैनन् । चुक्ता पूँजी बढाउन राष्ट्र बैङ्कले असार मसान्तसम्मको समय दिएको छ ।

चुक्ता पूँजी नपुर्‍याएका बैङ्कहरूमा एभरेष्ट, बैङ्क अफ काठमाण्डू, सिद्धार्थ, एनसीसी, कुमारी, लक्ष्मी र लुम्बिनी बैङ्क रहेका छन् । यीमध्ये एनसीसी र कुमारीले लाभांशसमेत घोषणा गरेका छैनन् । बाँकी अन्य बैङ्कले भने लाभांश घोषणा गरिसकेका छन् । चुक्ता पूँजी पुर्‍याउन राष्ट्र बैङ्कले बैङ्कहरूलाई मर्जरमा जान पनि सुझाव दिएको छ । यसमा अतिरिक्त बैङ्कले बोनस शेयर तथा हकप्रद शेयर वितरण गरेर पनि चुक्ता पूँजी बढाउन सक्ने विकल्प रहेको छ । चुक्ता पूँजी नपुर्‍याएका बैङ्कमध्ये एनसीसी सबैभन्दा धेरै चुक्ता पूँजी अपुग भएको बैङ्क हो । सो बैङ्कको वित्तीय विवरणअनुसार रू. १ अर्ब ४७ करोड चुक्ती पूँजी छ । राष्ट्र बैङ्कको निर्देशनअनुसारको चुक्ता पूँजी पुग्न अझै रू. ५३ करोड अपुग भएको छ । बैङ्कले अहिलेसम्म लाभांश पनि घोषणा गरेको छैन । त्यसैले, चुक्ता पूँजी पुर्‍याउन बैङ्कले अधिक बोनस शेयर वितरण गर्न सक्ने सम्भावना छ ।

Sunday, February 2, 2014

निर्धारित चुक्ता पूँजी नपुगेका बैङ्कको शेयरमा आकर्षण


मुना कुँवर
पछिल्लो समयमा नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार चुक्ता पूँजी पुगेका बैङ्क तथा वित्तीय संस्थाका शेयरमा सर्वसाधारण लगानीकर्ताको आकर्षण बढ्दा त्यस्ता संस्थाको शेयरमूल्य उकालो लागेको छ । बैङ्क तथा वित्तीय संस्थालाई चुक्ता पूँजी बढाउन राष्ट्र बैङ्कले दिएको अन्तिम समयावधि नजिकिँदै गर्दा यस्ता कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढ्न थालेको नेपाल इन्भेष्टर्स फोरमका कार्यवाहक अध्यक्ष राजकुमार तिमिल्सेनाले बताए । यस्ता बैङ्क तथा वित्तीय संस्थाले तोकिएको चुक्ता पूँजी पुर्‍याउन बोनस शेयर वितरण गर्ने अधिक सम्भावना भएकाले शेयरको माग र मूल्य बढ्ने गरेको उनले बताए ।
नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूलाई आव २०७०/७१ को असार मसान्तसम्ममा चुक्ता पूँजी रू. २ अर्ब पुर्‍याउन निर्देशन दिएको छ । त्यसअनुसार अहिले सञ्चालनमा रहेका ३१ वाणिज्य बैङ्कमध्ये २४ ओटाले चुक्ता पूँजी बढाइसकेका छन् । तर, एभरेष्ट, बैङ्क अफ काठमाडौं, सिद्धार्थ, कुमारी, लक्ष्मी, एनसीसी र लुम्बिनी गरी सातओटा बैङ्कले चुक्ता पूँजी पुर्‍याएका छैनन् । सेञ्चुरी बैङ्कले भने सर्वसाधारणलाई शेयर जारी गरिसकेकाले चुक्ता पूँजी रू. २ अर्ब पुग्ने भएको छ । बाँकी बैङ्कले भने बोनस वा हकप्रद शेयरमार्फत चुक्ता पूँजी बढाउने अनुमान गरिएको छ । त्यसैले, यस्ता बैङ्कको शेयर खरीद गर्दा थप शेयर पाइने भएकाले लगानीकर्ताको आकर्षण बढ्ने गरेको धितोपत्र लगानीकर्ता सङ्घका उपाध्यक्ष रमेश निरौलाले बताए ।
राष्ट्र बैङ्कले चुक्ता पूँजी बढाउन दिएको निर्देशनले बैङ्करूलाई लाभांश वितरण गर्न तथा मर्जरमा जान नैतिक दबाब परेको छ । बैङ्कहरूले अग्राधिकार शेयर, हकप्रद शेयर, बोनस शेयर तथा मर्जरमा गएर चुक्ता पूँजी बढाउन सक्ने भए तापनि अधिकांश कम्पनीले बोनस शेयर वितरण तथा मर्जरको प्रक्रिया अपनाएका छन् । अहिलेसम्म पाँचओटा वाणिज्य बैङ्कले मर्जरको विकल्प अपनाइसकेका छन्, जसमध्ये माछपुच्छ्रे बैङ्क तथा स्ट्याण्डर्ड फाइनान्स बीच मर्जर भएको थियो । त्यस्तै, एनआईसी बैङ्क तथा बैङ्क अफ एशियाका साथै ग्लोबल आईएमई बैङ्क, सोसियल डेभलपमेण्ट बैङ्क तथा गुल्मी विकास बैङ्कबीच मर्जर भइसकेको छ । साथै, अन्य आधा दर्जनभन्दा बढी वाणिज्य बैङ्क मर्जरको प्रक्रियामा छन् ।

Wednesday, January 29, 2014

संस्थाको सफलतामा कर्मचारीको ठूलो भूमिका हुन्छ

संस्थाको सफलतामा कर्मचारीको ठूलो भूमिका हुन्छविनोदप्रसाद मिश्र
प्रमुख, मानव संसाधन विभाग, जीफोरएस सेक्युरिटिज सर्भिस नेपाल
जीफोरएस सेक्युरिटिज सर्भिस नेपाल सुरक्षा सेवा प्रदान गर्ने नेपालकै पहिलो कम्पनी हो । यो कम्पनी ‘जीफोरएस लण्डन’को सब्सिडियरी कम्पनी हो । लण्डनमा १ सय वर्षअगाडि स्थापित यस कम्पनीको स्थापना नेपालमा भने २०५३ सालमा भएको हो । कम्पनीको मुख्य कार्यालय काठमाडौंको लाजिम्पाटमा छ । नेपालमा कम्पनीको चारओटा शाखा र सातओटा उपशाखा सञ्चालनमा छन् । यसैगरी कम्पनीले धनगढीमा क्षेत्रीय तालीम केन्द्र सञ्चालन गर्दै आएको छ । सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नु आफ्नो उद्देश्य रहेको कम्पनीले बताएको छ । हाल यस कम्पनीमा ५ हजार कर्मचारी कार्यरत छन् । व्यवस्थापनको रणनीति, कर्मचारीको परिचालन, छनोटलगायत विषयमा अभियान संवाददाता मुना कुँवरले कम्पनीका मानव संसाधन विभाग प्रमुख विनोदप्रसाद मिश्रसँग गरेको कुराकानीको सार :

नेपालको मानव संसाधन व्यवस्थापनको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
नेपालमा भर्खरैमात्र उद्योगको स्थापना हुन थालेको छ । त्यसैले पनि नेपाली बजार त्यति व्यावसायिक हुन सकेको छैन । पछिल्लो समयमा भने नेपालमा पनि केही अन्तरराष्ट्रिय कम्पनी सञ्चालनमा आउन थालेका छन् । त्यस्ता कम्पनीसँगै अन्तरराष्ट्रिय संस्कृतिको अभ्यासको समेत सिको गर्न थालिएको छ, जसको फलस्वरूप नेपालमा मानव संसाधनको अवधारणा शुरू भएको छ । नेपालमा उद्योगधन्दाको स्थापना हुन थालेसँगै कर्पोरेट कल्चरमा आधारित मानव संसाधनको पनि अभ्यास हुन थालेको छ । यो सकारात्मक पक्ष हो । एक दृष्टिकोणले हेर्दा मानव संसाधन विभाग कुनै पनि कम्पनीका लागि अतिरिक्त खर्चसमेत हो । त्यसैले, कतिपय कम्पनीले चाहेर पनि यसलाई कार्यान्वयन गर्न सकिरहेका छैनन् । तसर्थ, कम्पनीको आर्थिक अवस्था र बजारको अवस्थाअनुसार यसको अभ्यास गर्नुपर्छ ।

Sunday, January 19, 2014

निर्वाचनको खर्च शेयर बजारमा

काठमाडौं । दोस्रो संविधानसभाको निर्वाचनमा सरकार तथा राजनीतिक दलहरूले खर्च गरेको रकमको ठूलो हिस्सा विभिन्न माध्यमबाट शेयर बजारमा लगानी भएको अनुमान गरिएको छ । त्यसले गर्दा निर्वाचन सम्पन्न भएलगत्तै शेयर बजारमा अस्वाभाविक वृद्धि देखिएको सरोकारवालाहरूले बताएका छन् । ‘संविधानसभा चुनावमा सरकार तथा राजनीतिक दलहरूले प्रचारप्रसारका साथै मतदातालाई प्रभावित गर्नका लागि खर्च गरेको अर्बौँ रुपैयाँ बैङ्किङ प्रणालीमा फिर्ता नआएपछि सहकारी संस्था वा नगदै वा अन्य विभिन्न माध्यम हुँदै शेयर बजारमा प्रवेश गरेको बुझिन्छ,’ एक शेयर लगानीकर्ताले अभियानसँग भने ।
निर्वाचनमा भएको कुल खर्चको केही हिस्सा (करीब रू. २० अर्ब) बैङ्किङ प्रणालीमा निक्षेपका रूपमा थपिएको, केही हिस्सा अनौपचारिक क्षेत्रमै थन्किएको वा विदेश पलायन भएको हुनाले कम्तीमा एक चौथाइ शेयर बजारमा आएको अर्थविद्हरूको भनाइ छ । ‘कुल खर्चको १५ देखि २० प्रतिशत रकम शेयर बजारमा लगानी भएको हुन सक्छ,’ अर्थविद् चन्द्रमणि अधिकारीले बताए । उनका अनुसार केही रकम बैङ्किङ प्रणालीमा आए पनि तराई क्षेत्रमा खर्च भएको रकम भारततर्फ पलायन भएको अनुमान छ । बाँकी रकम भने उपभोग्य वस्तुमा नै खर्च भएको छ । नेपालको जस्तो सानो शेयर बजारमा कुल खर्चको १५–२० प्रतिशत पनि ठूलो रकम भएकाले शेयर बजारमा उच्च वृद्धि भएको उनको विशलेषण छ ।