डिजिटल प्रबिधिबाट सबै काम आधा घन्टामा सकिने, भ्रष्टाचार नियन्त्रण हुने सरकारको विश्वास
मुना कुँवर
२०७५ चैत ५ मंगलबार
2.8kShares
अब घरजग्गा खरिद–बिक्री गर्दा लेखनदास नचाहिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयलाई डिजिटल बनाएसँगै सेवाग्राही आफैँले आवश्यक प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गर्न लागेको हो ।
मालपोत कार्यालयमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले आइतबारबाट डिजिटल मालपोतको अभियान काठमाडौंको कलंकी मालपोतबाट सुरु गरेको छ । कलंकी मापलपोतलाई नमुना डिजिटल मालपोत कार्यालयका रूपमा स्थापित गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालयको भनाइ छ । सेवाग्राहीले मालपोत कार्यालय, भूमि व्यवस्थापन तथा अभिलेख विभागको वेबसाइटबाट फाराम डाउनलोड गर्न सक्नेछन् । सरल भाषामा रहेको उक्त फाराम सेवाग्राही आफैँले भरेर जग्गा खरिद–बिक्री गर्न सक्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताए ।
मन्त्रालयले पब्लिक एक्सेस मोडुल नामक प्रणालीको विकास गरिरहेको छ । जसको माध्यमबाट घरमा नै बसेर देशभरका आफ्ना घरजग्गा विवरण हेर्न सकिनेछ । यसका लागि सेवाग्राहीले मालपोत कार्यलयबाट युजरनेम र पासवर्ड लिनुपर्नेछ ।