मुना कुँवर
बिमा प्राधिकरणका सञ्चालक तथा कर्मचारीका आफन्तले बिमा कम्पनीमा जागिर खान नपाउने व्यवस्था गर्न बिमा अभिकर्ताले माग गरेका छन् । अहिले बन्दै गरेको बिमा विधेयकमा यस्तो व्यवस्था राख्न उनीहरूले माग गरेका हुन् ।
नयाँ विधेयककोे दफा ५७ मा बिमकसँग वित्तीय स्वार्थ भएको व्यक्ति कर्मचारी नियुक्त गर्न नहुने व्यवस्था छ । तर, बिमा अभिकर्ताहरूले प्राधिकरणका सञ्चालक र कर्मचारीका आफन्तले समेत जागिर खान नपाउने व्यवस्था थप गर्नुपर्ने माग राखेका हुन् ।
अहिले अधिकांश बिमा कम्पनीमा बिमा समिति र सञ्चालकका आफन्तहरू कर्मचारीका रूपमा कार्यरत छन् । सोही कारण समितिले सम्बन्धित कम्पनीहरूलाई नियमन गर्न नसकेको उनीहरूको तर्क छ । अझ कम्पनीमा कार्यरत सञ्चालक र कर्मचारीका आफन्तको कार्य प्रस्तुति पनि अराजक हुने गरेको उनीहरूले आरोप लगाएका छन् ।