मुना कुँवर/नयाँ पत्रिका काठमाडौ १०जेठ
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ओभर दी काउन्टर (ओटिसी) बजारमा ६४ करोड ६७ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांकअनुसार सो अवधिमा २६ वटा कम्पनीको ६६ लाख ७२ हजार ९ सय ५६ कित्ता सेयर खरिदबिक्री भएको हो ।
पछिल्लो समय ओटिसी बजारमा सेयर खरिद बिक्रीको क्रम बढेको नेप्सेको ओटिसी शाखा अधिकृत भेषराज खनालले बताए । ‘यो वर्षदेखि रजिस्ट्रार कम्पनीले कडाइ गर्न थालेको छ । त्यसैले ओटिसी बजारमा कारोबार बढेको हुन सक्छ,’ उनले भने ।
माउन्टेन इनर्जीको १६ लाख कित्ता कारोबार
चालू आवमा नेप्सेको ओटिसी बजारमा सूचीकृत भएका कम्पनीमध्ये माउन्टेन इनर्जीको सबैभन्दा धेरै सेयर खरिदबिक्री भएको छ । नेप्सेको तथ्यांकअनुसार गत वैशाख ६ गते माउन्टेन इनर्जीको प्रतिकित्ता १ सय ३ रुपैयाँमा १६ लाख ३२ हजार ५४० वटा सेयर खरिदबिक्री भएको छ ।