मुना कुँवर
नेपालको शेयर बजार खाली हस्तान्तरण (ब्ल्याङ्क ट्रान्सफर–बीटी)मा अडेको देखिएको छ । नेपाली शेयरको दोस्रो बजार (नेप्से)मा किनबेच हुने ७५ प्रतिशतभन्दा धेरै शेयर बीटीमार्फत हुने भएपछि विज्ञहरूले यस्तो बताएका हुन् । अन्य देशका दोस्रो बजारमा भने अटोमेशनका कारण चाडै शेयर नामसारी हुन्छ र बीटी कारोबार धेरै हुँदैन । नेप्सेको कारोबार प्रणालीमार्फत शेयर खरीदविक्री गरेपछि स्थायी रूपमा नामसारी गरेर स्वामित्व हस्तान्तरण प्रक्रिया लामो र झन्झटिलो हुने भएपछि लगानीकर्ता तथा ब्रोकर कम्पनीहरू बीटीबाट व्यापार गर्न बढी रुचाउँछन् । त्यसैगरी, बजारको उतारचढावलाई उपयोग गरी छिटोछिटो शेयर खरीदविक्री गरेर नाफा कमाउन चाहने लगानीकर्ताका कारण पनि बीटीको कारोबार बढ्दै गएको हो ।