Sunday, March 30, 2014

शेयर बजारमा विद्यार्थीको सामूहिक लगानी

२०७०-१२-१६ मा प्रकाशित     ४२५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया 
शेयर बजारमा विद्यार्थीको सामूहिक लगानी
सुरज महर्जन स्नातकोत्तर तहका विद्यार्थी हुन् । व्यवस्थापन विषयका विद्यार्थी भएकाले पनि भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गर्ने उनको इच्छा थियो । त्यसैले, बीबीएस अध्ययन गर्दा नै उनले स–सानो रकम बचत गर्न शुरू गरे । यसमा उनका सहपाठी प्रेम शाही, राजु महर्जन, दिनेश महर्जन र राजीव मर्हजन पनि सहभागी भए । पाँचजना साथी मिलेर एउटा बचत समूहको स्थापना गरे । उनीहरूले खाजा खर्चबाट पैसा जोगाएर महीनाको रू. ३/३ सय जम्मा गर्न थाले । यसरी बचत गरेको रकमलाई उनीहरूले शेयरबजारमा लगानी गर्ने योजना बनाए ।

अध्ययनकै क्रममा उनीहरूले पाठ्यक्रमका शेयरबजारसम्बन्धी पुस्तकबाट नै केही जानकारी लिएका गरेका थिए । ‘यसैबाट प्रेरित भई शेयर बजारमा लगानी गर्न थालेका हौं,’ सुरज भन्छन् । उनीहरूले पहिलोपटक रू. ५० हजार लगानी गरी ग्लोबल बैङ्कको शेयर खरीद गरे । यसबाट उनीहरूलाई राम्रो फाइदा नभए पनि घाटा भने भएन । त्यसपछि रू. १० हजार लगानी गरी प्राइम बैङ्कको शेयर खरीद गरे । यसबाट उनीहरूलाई राम्रो फाइदा भयो । यसरी प्राप्त मुनाफालाई उनीहरूले कोषमा नै जम्मा गर्न थाले । ‘अहिले हामीसँग विभिन्न कम्पनीमा गरेर रू. ५ लाखभन्दा बढी लगानी छ,’ शाहीले भने ।

Tuesday, March 25, 2014

१२ वाणिज्य बैङ्कद्वारा २ सय ६८ स्थानमा शाखारहित सेवा

चैत १०, काठमाडौं । सूचनाप्रविधिको विकास तथा विस्तारसँगै पछिल्लो समयमा बैङ्किङ प्रडक्टमा पनि विविधीकरण हुँदै गएको छ । यसैको उदाहरण हो– शाखारहित बैङ्किङ, जसको कारणले बैङ्कहरू भौतिक उपकरण, भवन तथा सवारीसाधनविना नै वित्तीय कारोबार गर्न र सर्वसाधारणलाई सेवा उपलब्ध गराउन सफल भएका छन् । अन्य सेवासुविधामा प्रतिस्पर्धी बन्दै गएका नेपाली बैङ्कहरूबीच शाखारहित बैङ्किङ सेवामा पनि प्रतिस्पर्धा बढ्दै गएको छ । फलस्वरूप अहिलेसम्म १२ वाणिज्य बैङ्कले २ सय ६८ स्थानबाट शाखारहित बैङ्किङ सेवा विस्तार गरेका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा शाखारहित बैङ्किङ सेवा प्रदान गर्ने वाणिज्य बैङ्कको सङ्ख्या त्यति पुगेको नेपाल राष्ट्र बैङ्कले बताएको छ । केन्द्रीय बैङ्कका अनुसार अहिलेसम्म शाखारहित बैङ्किङ सेवा प्रदान गर्ने वित्तीय संस्थामा सबै वाणिज्य बैङ्कमात्र छन् ।

Monday, March 17, 2014

म्यूचुअल फण्डप्रति लगानीकर्ताको आकर्षण कम

चैत ३, काठमाडौं । नेपालमा शेयर बजारको संस्थागत लगानीकर्ता सामूहिक लगानीकोष (म्यूचुअल फण्ड)प्रति सर्वसाधारणको आकर्षण बढ्न सकेको छैन । कोषका एकाइहरू दोस्रो बजारमा खुद सम्पत्ति मूल्यभन्दा कममा किनबेच हुनुले यस्तो सङ्केत गरेको हो । प्रतिएकाइ अङ्कित मूल्य रू. १० कायम रहेको सामूहिक लगानीकोषका एकाइ हाल दोस्रो बजारमा रू. ९ देखि रू. १३ सम्ममा कारोबार भएका छन् । तर, ती एकाइको खुद सम्पत्ति मूल्य प्रतिएकाइ रू. १४ देखि रू. १७ सम्म पुगेको छ ।

नयाँ तथा विश्लेषणमा समय दिन नसक्ने लगानीकर्ताका लागि सामूहिक लगानीकोष सबैभन्दा उत्तम विकल्प हो । तर, नेपालको पूँजी बजार सानो छ, त्यसैले पनि सामूहिक लगानीकोषका योजना सफल हुन नसकेको नेपाल इन्भेष्टर्स फोरमका कार्यवाहक अध्यक्ष राजकुमार तिमिल्सिनाले बताए । उनका अनुसार कोषको लगानी पनि शेयरबजारमा नै आधारित छ । यस्तो अवस्थामा बजार घट्ने बाटोमा हिँडेमा लगानीकर्ता डुब्न सक्ने भएकाले पनि कोषप्रति लगानीकर्ताको विश्वास कम भएको उनको भनाइ छ ।

Thursday, March 13, 2014

ठहर बिगोको ४० प्रतिशत मात्र असुली

फागुन २८, काठमाडौं । ऋण असुली न्यायाधिकरणले तोकेको बिगोको ६० प्रतिशत ऋण अझै असुली हुन सकेको छैन । न्यायाधिकरणको स्थापनाको १ दशक बित्दासम्म बिगोको ४० प्रतिशत ऋण मात्रै उठेको छ । ऋणी र बैङ्कबीचको आन्तरिक मिलेमतोका कारण ऋण असुली हुन नसकेको न्यायाधिकरणका पूर्वबैङ्किङ सदस्य ज्योतिप्रसाद कँडेलले आरोप लगाए ।

न्यायाधिकरणमा चालू आर्थिक वर्ष २०७०/७१ को पहिलो ६ महीनाको अन्त्यसम्म २ हजार ७ सय ८० मुद्दा दर्ता भएका छन्, जसमध्ये २ हजार ६ सय १६ मुद्दा फछ्र्योट भएका छन् । फछ्र्योट भएका मुद्दाबाट न्यायाधिकरणले रू.४२ अर्ब २९ करोड ६९ लाखबराबरको रकम बिगो दाबी गरेको छ । न्यायाधिकरणले हालसम्म तीन प्रकार (न्यायाधिकरणबाट निर्णय भएको, न्यायाधिकरणको मध्यस्थतामा बैङ्क र ऋणीबीच सम्झौता भएको, ऋणी र बैङ्कबीच आपसी समझदारीमा सम्झौता भएको)बाट मुद्दाको निर्णय गरी कुल रू. १७ अर्ब ११ करोड ७ लाख ऋण असुली गरेको छ ।

Wednesday, March 12, 2014

स्वरोजगारीको नयाँ क्षेत्र बन्दै शेयर लगानी व्यवसाय

काठमाडौं सिनामङ्गलकी सुशीला थपलिया एक कुशल गृहिणी हुन् । विवाहपछि थपलियाको जीवन घरपरिवारकै जिम्मेवारीमा रुमलिएको थियो । त्यसो त उनमा आत्मनिर्भर बन्ने चाहना नभएको भने होइन । तर, घरपरिवारको जिम्मेवारीसँगै सन्तान हुर्काउने दायित्व पनि उनकै काँधमा थियो । यति हुँदाहुँदै पनि उनी आफ्नै पहिचान बनाउन चाहन्थिन् । तर, घरको सबै काम गरिसक्दा उनीसँग थोरै समयमात्र बाँकी रहन्थ्यो । यो छोटो समयमा न त उनी जागीर खान सक्थिन्, न कुनै व्यवसाय नै शुरू गर्न । अन्नतः २ वर्षअघि उनलाई शेयर व्यवसायमा लगानी गर्ने अवसर जुट्यो । उनलाई यो अवसरबारे उनकै साथीले जानकारी गराएकी थिइन् । त्यतिबेला उनलाई ‘ढुङ्गा खोज्दा देवता मिले’जस्तै भयो । दोस्रो शेयर बजार अर्थात् सेकेण्डरी मार्केटबाट उनले लगानी गर्न शुरू गरिन् । शुरुआतमा उनले दैनिक खर्चबाट बचेको सानो रकमबाटै लगानीको थालनी गरेकी थिइन् । अहिले उनीसँग दर्जनौं बैङ्कका शेयर छन् । प्रत्येक दिन ब्रोकर कम्पनीमा जाने तथा साथीहरूसँग बसेर बजार विश्लेषण गर्ने उनको दिनचर्या नै बनेको छ । यो व्यवसायमा थोरै रकम तथा समयको लगानी गरेर पनि उनले राम्रो आम्दानी गरिरहेकी छिन् । आफ्ना आवश्यकता पूरा गर्न अहिले उनलाई कसैको भर पर्नुपर्दैन । त्यसका लागि उनी आफै सक्षम बनेकी छिन् ।

Thursday, March 6, 2014

ऋण नतिर्नेलाई पक्राउ पुर्जी जारी गर्छौं : न्यायाधिकरण

मुना कुँवर

फागुन २१, काठमाडौं । ऋण असुली न्यायाधिकरणले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता नगर्नेहरूलाई पक्राउ पुर्जी जारी गर्ने भएको छ । लामो समयदेखि ताकेता गर्दा पनि ऋण तिर्न अटेर गरेकाले अबका दिनमा ऋण असुलीका लागि न्यायाधिकरण कडाइसाथ प्रस्तुत हुन लागेको हो । बारम्बार सूचना जारी गर्दा पनि ऋण तिर्न नआउने ऋणीहरूलाई न्यायाधिकरणले पक्राउ पुर्जी नै जारी गर्ने तयारी गरेको न्यायाधिकरणका अधिकृत सुमन दाहालले अभियानलाई बताए । न्यायाधिकरणले पहिलोपटक यस्तो कदम चाल्न लागेको हो ।

आर्थिक वर्ष २०६९/७० सम्ममा ऋण असुलीका लागि न्यायाधिकरणमा २ हजार ७ सय २७ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये २ हजार ५ सय ९९ थान मुद्दा फछ्र्योट भइसकेको न्यायाधिकरणले जानकारी दिएको छ । त्यसैगरी चालू आवको माघ महीनासम्ममा १ सय ८१ मुद्दा (पुराना र नयाँ गरी) दर्ता भएकोमा १ सय ६४ ओटाको फैसला भइसकेको छ । न्यायाधिकरणबाट मुद्दा फछ्र्योट भए तापनि असुलीको दर भने न्यून रहेको अधिकृत दाहालले बताए । उनका अनुसार अहिलेसम्म बैङ्क तथा वित्तीय संस्थाको २५ अर्ब रुपैयाँ ऋण असुली हुन बाँकी छ । ऋणीहरूलाई ठहर विगो चुक्ता गर्न धेरै आग्रह गर्दा पनि अटेर गर्दै आएकाले अन्तिम विकल्पका रूपमा पक्राउ पुर्जी नै जारी गर्न बाध्य भएको उनले बताए ।

Wednesday, March 5, 2014

एचआरको सही अभ्यास गराउन धेरै मेहनत गर्नुपर्नेछ

मोहन ओझा
प्रबन्ध निर्देशक, ग्रोथ सेलर्स प्रालि
तपाईंहरू विगत ७ वर्षदेखि एचआर सम्मेलनको आयोजना गर्दै आउनुभएको छ । यसबाट विगतमा हासिल भएका उपलब्धि र यो वर्षको अपेक्षाबारे बताइदिनुहोस् न ?
हामी सन् २००८ देखि एचआर मीट अर्थात् सम्मेलनको आयोजना गर्र्दै आएका छौं । त्यसैगरी विगत ४ वर्षदेखि हामी ‘एचआर म्यानेजर अफ दि इयर’को अवार्डसमेत वितरण गर्दै आएका छौं । जुन बेला हामीले यस्तो गोष्ठीको आयोजना शुरू गरेका थियौं, त्यतिबेला नेपालमा मुश्किलले ४०/५० ओटा कम्पनीमा मात्रै एचआर विभाग थियो । अधिकांश कम्पनीमा एचआरको काम प्रशासनले गर्दै आएको अवस्था थियो । तर, ५ वर्षको अवधिमा नेपालका करीब ४ सय कम्पनीमा एचआर विभाग स्थापना भइसकेको छ । यस अवधिमा कतिपय कलेजले समेत एचआर विषयलाई भिन्न विषयको रूपमा अध्यापन गराउन थालेका छन् । कतिपय विद्यार्थीले त एचआर विषयमा नै आफ्नो डिग्री लिनसमेत थालेका छन् । त्यसैगरी विदेश अध्ययन गर्न जाने विद्यार्थी पनि एचआरमै विज्ञता हासिल गरेर फर्किन थालेका छन् । यो हामीले विगतका वर्षका गरेका कार्यको प्रतिफल हो । नेपालको कर्पोरेट क्षेत्रमा एचआरको अवधारणा स्थापित गर्नु नै हाम्रो पहिलो लक्ष्य हो, जसमा हामी करीब सफल पनि भएका छौं । अबको हाम्रो लक्ष्य कुनै पनि संस्थाले एचआरलाई आफ्नो नीतिमा पनि समावेश गराओस् भन्ने हो । त्यसैले, अहिले हामी एचआरलाई संस्थाको स्ट्राटेजी अर्थात् रणनीतिभित्रै राख्ने संस्कृतिको अभ्यास गराउन लागिपरेका छौं ।

मानव संसाधनका सम्बन्धमा जनचेतना फैलाउनुबाहेक यस सम्मेलनका अन्य उद्देश्य केके छन् ?
नेपालमा एचआरको इतिहास धेरै पुरानो छैन । त्यसैले, यहाँ एचआरको सही अभ्यास गराउन धेरै मेहनत गर्नुपर्नेछ । यसै परिप्रेक्ष्यमा हामी एचआर मीटको आयोजना गर्दै आएका छौं । एचआर मीटको प्रमुख उद्देश्य नेपालको कर्पोरेट स्तरमा एचआरको व्यापकता र महत्व सबैलाई बुझाउनु हो । ताकि, हरेक संस्थाले एचआरको आवश्यकता महसूस गर्न सकोस् । यसले कुनै पनि संस्थालाई बलियो बनाउन सहयोग गर्नेछ ।

Monday, March 3, 2014

रियल इस्टेट कर्जा घटाउँदै वाणिज्य बैङ्कहरू

फागुन १८, काठमाडौं । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा रियल इस्टेट क्षेत्रमा वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ५ प्रतिशतले घटेको छ । वाणिज्य बैङ्कहरूले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणका आधारमा यस्तो देखिएको हो । पछिल्लो समयमा राष्ट्र बैङ्कले रियल इस्टेट क्षेत्रको कर्जा घटाउन निर्देशन दिँदै आएको र अपेक्षित रूपमा उक्त क्षेत्र विस्तार हुन नसकेकाले पनि बैङ्कहरूको यस्तो लगानी घट्दै गएको सरोकारवालाहरू बताउँछन् । ‘अहिले वाणिज्य बैङ्कहरूले रियल इस्टेट क्षेत्रको कर्जालाई कम प्राथमिकतामा राखेका छन्,’ एक वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतले भने ।