नयाँ पत्रिका काठमाडौं, १२ फागुन
नेपाल धितोपत्र बोर्डले डिम्याट नभएका सेयर बिक्री गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ । सेयर बजारमा डिम्याट कारोबार अनिवार्य गरे पनि सूचीकृत सबै सेयर डिम्याट नभएपछि बोर्डले यस्तो व्यवस्था गर्ने योजना बनाएको हो । साथमा भौतिक सेयर भए पनि धेरै लगानीकर्ताले हालसम्म डिम्याट गराएका छैनन् ।
यसरी डिम्याट नभएका सेयर बजारमा कारोबार नै नहुने भएपछि बोर्डले विकल्पको खोजी गरेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । ‘सेयर बिक्री हुँदा भौतिक रूपमा भए पनि खरिद गर्दा अभौतिक रूपमा रूपान्तरण हुने प्रणालीको हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने । तर, कति किस्तासम्म भौतिक सेयर बिक्री गर्न पाउने वा कुन प्रणालीमा बिक्री गर्न सकिने भने विषयमा बोर्डले प्रारम्भिक अध्ययन गरिरहेको उनले बताए । उनका अनुसार बोर्डले यस विषयलाई आफ्नो वार्षिक योजनामा समेत समावेश गरेको छ ।