Tuesday, October 30, 2018

जनता आवास कार्यक्रमको नौ वर्ष : तीन जिल्लामा मात्रै हजारभन्दा बढी आवास निर्माण


मुना कुँवर
सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम सप्तरी र सिरहामा मात्रै सफल भएको देखिएको छ । सहरी विकास तथा भवन निर्माण विभागको तथ्यांकअनुसार सप्तरीमा सबैभन्दा धेरै १ हजार ७ सय ५८ वटा आवास निर्माण सम्पन्न भएका छन् भने सिरहामा १ हजार ५ सय ८२ वटा आवास निर्माण भइसकेका छन् ।
गरिबीको रेखामुनि रहेका नागरिकलाई स्वस्थ्य तथा सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले सरकारले जनता आवास कार्यक्रम सुरु गरेको हो । आव ०६६/६७ देखि सुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत ९ वर्षमा १७ हजार ३९ वटा आवास निर्माण सम्पन्न भइसकेका छन् । यद्यपि गत आवको अन्त्यसम्म सरकारले ४७ हजार १ सय ९७ वटा जनता आवास निर्माण गरिसक्ने लक्ष्य
लिएको थियो ।
नौ वर्षको अवधिमा ३ वटा जिल्लामा मात्रै एक हजारभन्दा बढी आवास निर्माण सम्पन्न भएका छन् । सप्तरी र सिरहापछि कपिलवस्तुमा सबैभन्दा धेरै आवास निर्माण भएको हो । सप्तरीमा जनता आवास कार्यक्रम सुरु भएको पहिलो वर्ष नै १ हजार आवास निर्माण भइसकेको थियो । तर, आव ०७०÷७१ मा सबैभन्दा कम ३ वटा मात्रै आवास निर्माण भएको थियो । गत आवमा भने २ सय ३ वटा आवास बनेको तथ्यांक छ ।

Sunday, October 28, 2018

बिमकको शाखा स्थापनासम्बन्धी निर्देशिका निर्माण गर्दै समिति


मुना कुँवर
नेपाली बिमा कम्पनीले विदेशमा समेत शाखा खोल्न सक्ने
बिमा समितिले बिमकको शाखा स्थापनासम्बन्धी निर्देशिका २०७५ जारी गर्ने तयारी गरेको छ । प्रारम्भिक मस्यौदा तयारी गरी सञ्चालक समितिमा पठाइसकेको समितिले जानकारी दिएको छ ।
धेरैअघिदेखि चर्चामा रहेको नेपाली बिमा कम्पनीको शाखा विदेशमा समेत विस्तार गर्ने विषयलाई समितिले नीतिगत रूपमा नै व्यवस्था गर्न लागेको छ । निर्देशिकाअनुसार समितिले तोकेको चुक्ता पुँजी कायम गरेको कुनै पनि कम्पनीले विदेशमा शाखा कार्यालय स्थापना गर्न सक्नेछन् । यसका लागि कम्पनीले सम्बन्धित मुलुकको सम्भाव्यता अध्ययन गर्नुपर्नेछ । त्यसैगरी, सम्बन्धित मुलुकको नियामक निकायले तोकेको पुँजी पूरा गर्नुपर्नेछ र सो पुँजीको व्यवस्थापन गरिने स्रोतसमेत खुलाउनुपर्नेछ । स्वीकृति प्राप्त गरेको ६ महिनाभित्रमा शाखा कार्यलय खोलिसक्नुपर्नेछ । सो विषयमा सम्बन्धित मुलुकको ऐन तथा नीतिगत व्यवस्थाले नरोक्ने व्यहोरा पहिले नै प्रमाणित गर्नुपर्नेछ ।

Saturday, October 27, 2018

अन्योलमा जनता आवास कार्यक्रम


मुना कुँवर
सरकारले सञ्चालन गर्दै आएको जनता आवास कार्यक्रम अन्योलमा परेको छ । मुलुक संघीय संरचनामा गएपछि केन्द्रीय सरकारले जनता आवास कार्यक्रम प्रदेश सरकारमा हस्तान्तरण गरेको छ । कार्यक्रम प्रदेश सरकारमा हस्तान्तरण भएसँगै कार्यक्रमले निरन्तरता पाउनेमा शंका उब्जिएको हो ।
गरिबीको रेखामुनि रहेका नेपाली नागरिकहरूको आवासको भौतिक अवस्थामा सुधार गरी स्वस्थ तथा सुरक्षित आवासमा उनीहरूको पहुँच बढाउने उद्देश्यले सरकारले आव ०६६/०६७ देखि यो कार्यक्रम सुरुवात गरेको थियो । तराईका तीन जिल्ला सिरहा, सप्तरी र कपिलवस्तुबाट यो कार्यक्रम सुरु गरिएको थियो ।
चालू आवदेखि सरकारले विनियोजन गरेको बजेटसहित जनता आवास कार्यक्रम प्रदेश सरकारमा हस्तान्तरण गरिएको हो । तर, प्रदेश सरकार यस विषय अनभिज्ञ भएकाले कार्यक्रम सुचारु हुने/नहुने अन्योल देखिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

Friday, October 26, 2018

पाँच हजार सिटको सभाहल बन्दै


मुना कुँवर
चालू आर्थिक वर्षभित्रै डिजाइन तयार गर्न भवन निर्माण विभागलाई निर्देशन
नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो पाँच हजार सिट क्षमताको अन्तर्राष्ट्रियस्तरको सभाहल बन्ने भएको छ । सरकारले भक्तपुरस्थित नागरिक उड्डयन प्रशिक्षण तालिम केन्द्रको १ सय ८९ रोपनी जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षभित्रै पाँच हजार सिट क्षमताको सभाहल डिजाइन निर्माण सम्पन्न गर्न सहरी विकास तथा भवन निर्माण विभागलाई मंगलबार निर्देशन दिएको छ ।
विभागले यसअघि उक्त तालिम केन्द्रकै ८९ रोपनी जग्गामा अस्थायी सम्मेलन केन्द्र निर्माण गर्ने प्रस्ताव गरेको थियो । नेपालमा हुने भनिएको भारतको प्रसिद्ध जी–सिनेमा अवार्ड कार्यक्रमलाई लक्षित गरी प्रिफेव भवन निर्माण गर्ने प्रस्ताव गरिएको थियो ।

Thursday, October 11, 2018

आफ्नै घरको सपना पूरा गर्दै बैंक


मुना कुँवर
काठमाडौं 
अधिकांश मानिसको पहिलो चाहना भनेकै एउटा सुन्दर घर हुने गर्दछ । त्यही चाहना पूरा गर्न मानिस दिनरात मिहिनेत गर्छ । कतिपय मानिस आफ्नो सपनाको घर बनाउन सफल हुन्छन् भने कोही जीवनभर त्यही इच्छा पूरा गर्नकै लागि दौडिरहन्छन् ।
तर, नियमित आम्दानीको स्रोत हुने हो भने अब घर बनाउन पूरै जीवन गुजार्नु पर्दैन । तपार्इंले नियमित मासिक रकम भुक्तानी गरेरसमेत आफ्नो सपना साकार पार्न सक्नुहुन्छ । यो सपना पूरा गर्न बैंक तथा वित्तीय संस्थाहरू तपाईंंको सहयोगी हुन सक्छन् । अधिकांश मानिसको इच्छा र चाहनालाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाले घर कर्जा योजना सञ्चालनमा ल्याएका छन् ।

६ महिनासम्म पनि कमोडिटी एक्सचेन्जले पाएनन् अनुमति


मुना कुँवर
काठमाडौं 
नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ महिना बितिसक्दा पनि कमोडिटी एक्सचेन्ज (वस्तु विनियम बजार)हरूले सञ्चालन अनुमति पाएका छैनन् । बोर्डको आह्वानमा गत वैशाखमा सञ्चालन अनुमतिका लागि निवेदन दिएका पाँच कम्पनीले अहिलेसम्म पनि लाइसेन्स पाउन सकेका छैनन ।
अघिल्लो वर्षको ११ भदौमा वस्तु विनियम बजारसम्बन्धी ऐन २०७४ कार्यान्वयनका आएको थियो । गत ९ मंसिरमा वस्तु विनियम बजारसम्बन्धी नियमावली २०७४ जारी गरी वस्तु विनियम (कमोडिटी डेरिभेटिभ) बजारलाई बोर्डको नियमको दायरामा ल्याइएको थियो । ऐन जारी भए लगत्तै बोर्डले सञ्चालन भइरहेका एक्सचेन्जलाई नयाँ करारका लागि रोक लगाएको थियो भने एक्सचेन्ज सञ्चालन गर्न चाहनेले बोर्डमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो ।

Wednesday, October 3, 2018

स्वास्थ्य बिमामा बजेट बढ्दै, आकर्षण घट्दै

मुना कुँवर
काठमाडौं | असोज १७, २०७५
चालू वर्षमा २५ प्रतिशत बिमितले स्वास्थ्य बिमा नवीकरण गरेनन्
नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमप्रति बिमितको आकर्षण घटिरहेका वेला कार्यक्रमको बजेट भने सरकारले बढाएको छ । चालू आर्थिक वर्ष ०७५/७६ का लागि सरकारले ६ अर्ब रुपैयाँ यो कार्यक्रममा विनियोजन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा करिब ४ गुणाले बढी हो ।
खर्च नै भएन बजेट
सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रत्येक वर्ष बजेट बढाउँदै लगेको छ । तर, योजनाअनुसार कार्यक्रम सञ्चालन हुन नसक्दा बोर्डले विनियोजन गरेको रकम खर्च हुन सकेको छैन । आव ०७१/७२ मा सरकारले ५० करोड रुपैयाँ रकम विनियोजन गरेको थियो । तर, उक्त वर्ष ७१ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको बोर्डको तथ्यांकमा छ । त्यस्तै आव ०७२/७३ मा सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेकोमा ३ करोड ३८ लाख रुपैयाँ खर्च भएको थियो । आव ०७३/७४ मा २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेकोमा बोर्डले करिब ४० करोड रुपैयाँ मात्र खर्च गर्न सकेको थियो ।