काठमाडौंः चालू आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा कमोडिटी बजारमार्फत २ खर्ब २६ अर्ब ८३ करोड रुपैयाँबराबरको कारोबार भएको छ । अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षण ०७३/७४ अनुसार प्रतिवर्ष बजारको कारोबार रकम बढ्दै गएको छ ।
सर्वेक्षणका अनुसार गत आव ०७२/७३ को अन्त्यसम्ममा २ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो ।
नेपालमा सन् २००६ देखि कमोडिटी बजारको सुरुवात भएको हो । सुरुमा बजारमा एक्सचेञ्ज र ब्रोकर कम्पनी दर्ता हुने क्रम उच्च थियो । तर, बजार अपारदर्शी भएको महसुस गरी लगानीकर्ताको लगानी डुब्न सक्ने भन्दैै सरकारले नयाँ कम्पनी दर्ता गर्न रोक लगाएको थियो ।
योसँगै बजारमा हुने कारोबार रकम पनि घटेको हो । सर्वेक्षणअनुसार आव ०७०/७१ मा ४ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । आव ०७१/७२ मा आउँदा यो रकम घटेर २ खर्ब ५५ करोडमा सिमित भएको छ । तर, पछिल्ला तीन वर्षमा भने कारोबार रकम बढ्दै गएको छ ।