Thursday, January 28, 2021

ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने नाममा राज्यको पौने ६ अर्ब हिनामिना

मुना कुँवर

२०७७ माघ १६ 

मुलुकभर नि:शुल्क ब्रोन्डब्यान्ड इन्टरनेट सेवा परियोजना सञ्चालन गर्न १८ वटा प्याकेज बनाएर ६ वटा सेवाप्रदायकसँग ५ अर्ब ६७ करोड रुपैयाँमा सम्झौता गरिएको छ, २ अर्ब ७४ करोड भुक्तानी भइसक्यो, तर अधिकांश निकायमा इन्टरनेट नआउने तार झुन्ड्याएर जनताले तिरेको कर हिनामिना गरिएको छ

सिराहाको नवराजपुर गाउँपलिकामा गत साउनमा सुबिसु केबलनेटले निःशुल्क इन्टरनेट जडान गरिदिएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषको रकममा ठेक्का पाएर सुबिसुले जोडिदिएको इन्टरनेट सुरुका दुई–चार दिन त चल्यो, तर अहिले पूरै बन्द भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले बताए । ‘इन्टरनेटले काम गरेन भनेर सुबिसुमा सम्पर्क गरेको उल्टो धम्क्याउँछन् । अब गुनासो लिएर कहाँ जाऔँ हामी,’ उनले भने । 

Saturday, January 23, 2021

मलेसियामा मृत्यु भएका १८ जनाको शव एकसाथ काठमाडौंमा

मुना कुँवर 

२०७७ माघ ११ 

कतै शव, कतै अस्तुको पर्खाइ, शव बुझ्न आएका आफन्तको रुवाइले शोकमा डुब्यो विमानस्थल   

कोरोना भाइरसको महामारीले अन्तर्राष्ट्रिय उडान नरोकिएको भए बाराको निजगढका ३८ वर्षीय वीरबहादुर तामाङ यतिवेला परिवारसँगै घरमै हुन्थे । तर, दुर्भाग्य, उनी त छैनन् नै, परिवारजनले घरमा फोटो राखेर फूलमाला चढाउँदै उनको सम्झनामा दियो जलाइरहेका छन् । आफन्तजन वीरबहादुरको सिंगो शरीरको होइन, अस्तुको पर्खाइमा छन् । 

Friday, January 22, 2021

कूटनीतिक पहल नहुँदा ज्यालामा ठगिँदै महिला आप्रवासी श्रमिक

मुना कुँवर

 २०७७ माघ १०

दोलखा घर भएकी ३४ वर्षीया सुशीला खड्का तीन वर्षअगाडि काठमाडौंस्थित ब्लू स्काई म्यानपावरबाट रोजगारीका लागि कतार पुगेकी थिइन् । म्यानपावर कम्पनीलाई १ लाख ३० हजार बुझाएर गएकी उनी कतारस्थित ददमोर कम्पनीमा काम गर्थिन् । कोरोना संक्रमणअघिसम्म राम्रै काम भइरहेको उनको कम्पनी कोरोनाको महामारीपछि बन्द हुने अवस्थामा पुग्यो । कम्पनी बन्द हुने अवस्थामा पुगेपछि उनको रोजगारी गुम्यो, लामो समय कतारमै बेरोजगार बस्न बाध्य भइन् । सात महिना काम गरेको पारिश्रमिक पनि पाइनन् । कतारमा काम नपाएपछि साथीहरूसँग सहयोग मागेर उनी अहिले नेपाल फर्किएकी छिन् ।  

सिन्धुपाल्चोकी ३५ वर्षीया मनमाया तमाङ पनि कुवेतमा राम्रो कमाइ हुने सुनेर साथीहरूको सल्लाहअनुसार स्थानीय एक दलालको सम्पर्कमा पुगिन् । दलालमार्फत कुवेत जान म्यानपावर गएकी उनी कम्पनीले इजिप्ट राम्रो भएको भनेपछि त्यतै जाने निधो गरिन् । सोहीअनुसार म्यानपावर कम्पनीलाई उनले १ लाख ५० हजार र पासपोर्ट बुझाइन् । पासपोर्ट बुझाएको तीन महिनामा कम्पनीले उनलाई इजिप्टको भिसा पनि दियो ।

Monday, January 4, 2021

सामाजिक सुरक्षा करका नाममा श्रमिकबाट उठाइएको साढे ६१ अर्ब मनलाग्दी खर्चंदै सरकार

मुना कुँवर 

२०७७ पौष २१

करको सर्वमान्य सिद्धान्तविपरीत सरकारले कर नै तिर्नुनपर्ने न्यून आय भएका श्रमिक तथा कर्मचारीको पारिश्रमिकबाट समेत सामाजिक सुरक्षा करका नाममा १ प्रतिशत उठाउँछ, त्यो रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने कानुन छ, तर अर्थ मन्त्रालयले राजस्वमा मिसाएर मनलाग्दी खर्च गरिरहेको छ

श्रमिकको सामाजिक सुरक्षाका नाममा सरकारले संकलन गरेको साढे ६१ अर्ब रुपैयाँ सरकारले कानुनविपरीत मनलाग्दी खर्च गरिरहेको छ । श्रमिकको हितका लागि भन्दै कर्मचारी र श्रमिकबाट सरकारले सामाजिक सुरक्षा करबापत ३५ अर्ब ५७ करोड रुपैयाँ संकलन गरेको छ ।