मुना कुँवर
ईश्वर खरेल
अध्यक्ष, रेण्टल नेपाल डटकम
हामी समाजलाई पारदर्शी र सुरक्षित बनाउन चाहन्छौं
रेण्टल नेपाल डटकम के हो ? यसले के काम गर्छ ?
यो
कम्पनीको स्थापना २०६३ सालमा भएको हो । यसलाई शुरुआतमा ‘खरेल घरजग्गा
परामर्श’ र पछि ‘घरजम डटकम’ नामले चलायौं । सन् २०१० मा आएर यसलाई रेण्टल
नेपाल डटकममा परिवर्तन गर्यौं । हाम्रो कम्पनीले घर भाडामा लिन तथा दिन
चाहनेलाई सहयोग गर्ने काम गर्छ । तर, शुरूमा यो व्यवसाय गर्दा मानिसले
हामीलाई विश्वास गर्दैनथे । हेय र दलालका रूपमा हेर्थे । अहिले भने त्यो
अवस्थामा परिवर्तन आएको छ । यस व्यवसायप्रति मानिस सकारात्मक हुँदै गएका
छन् । अहिले हामीले रियल इस्टेट एण्ड रिसर्च सेण्टरको स्थापना गरी रिसर्चको
काम पनि गरिरहेका छौं । केही समय अघिसम्म व्यवसायीहरूले व्यक्तिगत रूपमा
काम गर्दै आएका थिए । तर, अहिले भने सबै व्यवसायी एउटै छातामा आबद्ध भएका
छन् । यसले यो व्यवसायलाई व्यवस्थित बनाउन सहयोग गरेको छ । अहिले नेपालमा
यो व्यवसायको अवस्था राम्रो छ । मानिस शहरमुखी हुँदै जाँदा यो व्यवसाय पनि
फस्टाउँदै गएको छ ।
घर भाडा लिने–दिने काम व्यवसायका रूपमा विकास भएको छ । यसलाई कसरी सञ्चालन गरिरहनुभएको छ ?
घर
भएको र नभएको दुवै खालका व्यक्तिलाई भाडाको घर आवश्यक पर्छ । घर नभएको
व्यक्तिले बासका लागि भाडाको घर प्रयोग गर्छ । यसैगरी, घर भएको व्यक्तिले
पनि व्यापार–व्यवसायका लागि भाडाको घर प्रयोग गर्छ । काठमाडौंमा ८० प्रतिशत
व्यक्ति भाडाको घरमै बस्छन् । यसले गर्दा पनि काठमाडौंमा घर भाडा
व्यवसायका रूपमा अगाडि बढिरहेको छ । मानिस शहरतर्फ आकर्षित हुँदै जाँदा
भाडाको घरको माग पनि बढ्दै गएको छ । तसर्थ, घर भएका व्यक्तिका लागि यो
आम्दानी गर्ने सजिलो बाटो बनेको छ । घर भाडामा लिनु वा दिनुपर्यो भने तुल,
ब्यानर तथा पोष्टर टाँस्ने चलन अझै पनि छ । यसैगरी, घरनजिकैको पसल वा
समाजका प्रतिष्ठित व्यक्तिको सहयोग लिने पनि चलन छ । भाडामा लिने–दिने
यस्तो प्रक्रियाले समाजमा दिनदिनै आपराधिक गतिविधि बढिरहेको छ । तसर्थ,
भाडा लिने–दिने कार्यलाई पारदर्शी तथा सुरक्षित बनाउन यो व्यवसायले मद्दत
गरेको छ ।
तपाईंको कम्पनीले केकस्ता सेवा प्रदान गर्छ ?
हामीसँग
घर भाडामा लिन तथा दिन चाहने दुवै पक्ष आउँछन् । हामीले दुवै पक्षलाई सेवा
प्रदान गर्छौं । यसैगरी, हामीले ‘अनलाइन’ तथा ‘अफलाइन’ दुवै माध्यमबाट
सेवा दिन्छौं । व्यस्त भएका कारण कतिपय मानिसले अनलाइनबाट नै सेवा लिन
खोज्छन् । त्यस्ता सेवाग्राहीलाई हामी अनलाइनबाट नै सबै खालका सेवा दिन्छौं
। अनलाइनको पहुँच नभएका व्यक्तिलाई अफलाइन सेवा प्रदान गर्छौं । हाम्रो
व्यवसायको मुख्य उद्देश्य भनेको घर भाडामा दिने र लिने दुवै पक्षलाई
सुरक्षित बनाउनु हो । त्यसैले, हामीसम्म आइपुग्ने सेवाग्राहीलाई हामी
अनिवार्य रूपमा फर्म भर्न लगाउँछौं । सोही फर्मका आधारमा समान अपेक्षा भएका
दुई पक्षलाई भेटाइदिने काम गर्छौं । दुवै पक्ष एकआपसमा सन्तुष्ट भएको
खण्डमा लिने–दिने प्रक्रिया अघि बढ्छ ।
घर भाडमा दिन चाहने र लिन चाहनेले रकमलाई महत्व दिन्छन् कि सम्बन्धलाई ?
हामीले
विभिन्न खालका व्यक्तिको सामना गरिरहेका छौं । हामीकहाँ धेरै मुलुकका
विभिन्न प्रकारका व्यक्ति आइपुग्छन् । तर, पछिल्लो समय घर भाडामा दिन चाहने
दुई प्रकारका मानिस देखिएका छन् । कोही पैसालाई बढी प्राथमिकता दिन्छन्
भने कोही भाडामा बस्ने व्यक्तिको पेशा र व्यवहारलाई दिन्छन् । पैसालाई
प्राथमिकता दिने व्यक्तिले घर भाडामा बस्ने व्यक्तिबारे केही बुझन चाहँदैन ।
तर, केही भने मानिसको पृष्ठभूमि, पेशा, व्यवसायबारे बुझेर मात्रै घर
भाडामा दिन्छन् । राम्रो व्यक्ति छ भने उनीहरू केही रकम घटाउन पनि तयार
हुन्छन् । यसैगरी, भाडामा घर खोज्ने व्यक्ति पनि पहिला शेयरिङ गरेर बस्न
रुचाउँथे । तर, अहिले भने भाडा बढी तिरेर भए पनि छुट्टै बस्न रुचाउ“छन् ।
पहिला घर भाडामा दिने र लिने दुवै पक्षले एकआपसमा पारिवारिक सम्बन्ध खोज्थे
। अहिले भने दुवै पक्षले व्यावसायिक सम्बन्ध खोज्छन् । मानिस आआफ्नै
जीवनमा व्यस्त हुने भएकाले पनि यो प्रवृत्तिको विकास भएको हो । भविष्यमा
दुवै पक्षबीच मनमुटाव नहोस् भनेर सबै विषय पहिला नै स्पष्ट गर्न चाहन्छन् ।
व्यवसायका समस्या के हुन् ?
धेरै समस्या छन् ।
यस व्यवसायप्रति सरकार गम्भीर नहुँदा आमनागरिक ठगिएका छन् । नियमकानूनको
अभावका कारण जोकोही पनि यो व्यवसायमा आबद्ध भएका छन्, जसका कारण जथाभावी
भाडा असुली बढ्दो छ । यसैगरी, घर भाडामा बस्ने मानिसको अभिलेख नहुँदा
समाजमा विभिन्न खालका आपराधिक घटना बढिरहेका छन् । साउन र पुस महीना भने यो
व्यवसयाका लागि ‘अफसिजन’ मानिन्छ । साउनमा पानी पर्ने भएकाले मानिस त्यति
घर तथा कार्यालय सर्न चाहँदैनन् । यसैगरी, पुसमा पनि छोटो दिन हुने भएकाले
त्यति मानिस सर्न खोज्दैनन् । त्यसैले, यी २ महीनामा अलि मन्दी लाग्छ ।
व्यवसाय व्यवस्थित बनाउन के गर्नुपर्छ ?
सबैभन्दा
पहिला सरकारले व्यवसायीलाई लाइसेन्सको व्यवस्था गर्नुपर्छ । यसका लागि
हामीले बारम्बार सरकारलाई अनुरोध पनि गरिरहेका छौं । हामीलाई कानूनी
दायराभित्र ल्याइयोस् भनी आग्रह गरेका छौं । हामी समाजलाई पारदर्शी र
सुरक्षित बनाउन चाहन्छौं । यसका लागि सरकारले सबैभन्दा पहिला यो व्यवसायलाई
कानूनी दायरभित्र ल्याउनुपर्छ । निश्चित मापदण्ड तोकिदिनुपर्छ । भाडा
लिने–दिने प्रक्रिया व्यावहारिक, वैज्ञानिक एवम् पारदर्शी बनाउन छुट्टै
संयन्त्र निर्माण गर्नुपर्छ ।
http://www.abhiyan.com.np/new/Articles/view/31184