Thursday, December 31, 2020

सबै जिल्ला सदरमुकाममा इन्टरनेट पुर्‍याउने दुईवर्षे परियोजना चार वर्षमा पनि सुरु भएन

मुना कुँवर

२०७७ पौष १७

मुलुकका सबै जिल्ला सदरमुकामसम्म इन्टरनेट सेवा पुर्‍याउने लक्ष्यसहित सुरु गरिएको सूचना महामार्ग निर्माण कार्य अगाडि बढ्न सकेको छैन । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरण र सेवाप्रदायक कम्पनीबीच सम्झौता भएको चार वर्ष बित्दा पनि निर्माण कार्य सुस्त छ ।  

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्न सूचना महामार्ग निर्माण कार्य अगाडि बढाएको हो । यस परियोजनालाई प्राधिकरणले तीनवटा प्याकेजमा विभाजन गरेको छ । तीनवटा प्याकेजमध्ये दुईवटा प्याकेजको भौतिक निर्माण कार्य सुरु नै भएको छैन भने एउटा प्याकेजको एक चौथाई मात्र सकिएको छ ।    

Monday, December 28, 2020

नयाँ भाइरसले वैदेशिक रोजगार पुनः प्रभावित, खाडी मुलुकले रोक्न थाले अन्तर्राष्ट्रिय उडान

मुना कुँवर 

२०७७ पौष १४ 

कोरोना भाइरसको नयाँ स्वरूप देखिन थालेपछि खाडीलगायतका मुलुकहरूले अन्तर्राष्ट्रिय उडान रोक्न थालेका छन् । नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मानिएको साउदी अरब, ओमान र कुवेतले केही समयका लागि अन्तर्राष्ट्रिय उडान रोकिसकेका छन् । त्यस्तै, खाडीका अन्य मुलुकहरूले पनि उडान रोक्ने तयारी गरिरहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । संघका सचिव मेघनाथ भुर्तेलका अनुसार कतारबाहेक मलेसिया र खाडीका मुलुकहरूले उडान रोक्ने विषयमा छलफल गरिरहेका छन् । अन्तर्राष्ट्रिय उडान बन्द हुन थालेपछि वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू पुनः प्रभावित हुने उनको भनाइ छ । 

प्रतिबन्ध लम्बिए नेपाली श्रमिक प्रभावित हुने

नयाँ भाइरसका कारण खाडी मुलुकहरूले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थपिए नेपाली श्रमिकहरू प्रभावित हुने कुवेतका लागि नेपाली राजदूत डा. दुर्गाप्रसाद भण्डारीले बताए । ‘पहिलो चरणमा १० दिन उडान रोकिएको सूचना आएको छ । प्रतिबन्ध थपिन पनि सक्ने देखिएको छ । यदि यो प्रतिबन्ध लम्बियो भने नेपाली श्रमिक प्रभावित हुनेछन्,’ उनले भने । कुवेत सरकारले श्रमिकका लागि भिसा रोकेको भए पनि बिदामा रहेका श्रमिकहरूलाई कुवेत प्रवेशका लागि भने खुला गरेको छ । हाल कुवेतबाट जजिरा एयरलाइन्सले नेपालका लागि सातामा तीनवटा उडान भर्दै आएको छ । तर, नेपालबाट भने एयरलाइन्सले यात्रु लैजान रोक लगाएको छ । एयरलाइन्सले सातामा औसतमा ३ देखि ४ सय नेपाली श्रमिक कुवेतदेखि नेपालमा उडाउने गरेको राजदूत भण्डारीले बताए । तर, छुट्टीमा नेपाल आएका श्रमिकहरू भने युएई ट्रान्जिट हुँदै कुवेत पुग्ने गरेको उनले बताए ।  

Wednesday, December 16, 2020

कोरोनाकालमा मोबाइलमा ४० प्रतिशत र ल्यापटपमा दोब्बर बढे ग्राहक, माग धान्न अवैध आयातमा ३५ प्रतिशत वृद्धि

मुना कुँवर 

२०७७ पौष २

स्कुल, कलेजमा अनलाइन कक्षा, विभिन्न कार्यालयका भर्चुअल बैठक, वेबिनार र भर्चुअल मेला, महोत्सव । कोभिड–१९ महामारीका वेला सर्वाधिक प्रचलनमा रहेका अभ्यास हुन् यी । भौतिक दूरीमा बस्नुपर्ने बाध्यताले मानिसलाई प्रविधिमा अभ्यस्त मात्र बनाएन, ग्याजेटको माग पनि बढाइदियो । परिणाम– नेपालमा मोबाइलको माग ४० प्रतिशतसम्म बढ्यो । ल्यापटप खरिद गर्न चाहने ग्राहक दोब्बर पुगे ।

कोरोना प्रसार रोक्न देशव्यापी लकडाउन घोषणाअघि नै शैक्षिक संस्थाहरू बन्द भइसकेका थिए । लकडाउनअघि नै निजी क्षेत्रका अधिकांश कार्यालय ‘वर्क फ्रम होम’ अभ्यासमा गइसकेका थिए । त्यहीवेला स्मार्ट फोन र ल्यापटपको माग ह्वात्तै बढ्यो र बिक्री पनि ।

Thursday, December 10, 2020

सरकारकै कम्पनीले ११ हजार सरकारी कर्मचारीको कोरोना बिमाको दाबी भुक्तानी गरेन

मुना कुँवर 

२०७७ मङ्सिर २६ 

सरकारले ४ लाख ५४ हजार कर्मचारीको कोरोना बिमा आफ्नै लगानीको राष्ट्रिय बिमा कम्पनीमा गरिदिएको छ, त्यसमध्ये ११ हजारले बिमा दाबी गरेका छन्, तर कम्पनीले अहिलेसम्म १ सय २३ को मात्रै भुक्तानी गरेको छ 

अर्थ मन्त्रालयले बारम्बार कोरोना बिमाको दाबी भुक्तानी तत्काल गर्न निर्देशन दिइरहे पनि सरकारकै लगानीको राष्ट्रिय बिमा कम्पनीले नै दाबी भुक्तानी ठप्प पारेको देखिएको छ । सरकारले अधिकांश सरकारी कर्मचारीको कोरोना बिमा राष्ट्रिय बिमा कम्पनीमा गरिदिएको थियो ।

तर, सरकारी कर्मचारीहरूमध्ये ४ लाख ५४ हजार अर्थात् ९४ प्रतिशतको बिमा राष्ट्रिय बिमा कम्पनीमा भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले जानकारी दिए । तीमध्ये कम्पनीमा हालसम्म ११ हजार कोरोना संक्रमितहरूले भुक्तानीका लागि दाबी गरेका छन् । तर, हालसम्म कम्पनीले १ सय २३ जनाको मात्रै भुक्तानी गरेको छ ।

Tuesday, December 8, 2020

कोरोना बिमाका नाममा जनतामाथि ज्यादती : कम्पनीले महिनौँसम्म भुक्तानी नदिँदा बिमा समिति मूकदर्शक

 

मुना कुँवर

२०७७ मङ्सिर २४

२ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि भक्तपुर ठिमीका सुजन श्रेष्ठले होम आइसोलेसनमा नै बसेर उपचार गरे । दोस्रोपटक १८ कात्तिकमा स्वास्थ्य परीक्षण गर्दा पनि उनलाई पोजेटिभ नै देखियो । तेस्रोपटक २५ कात्तिकमा गरिएको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आयो ।

श्रेष्ठलाई पोजेटिभ देखिनेबित्तिकै उनका आफन्तले अनलाइनमार्फत कोरोना बिमा दाबीका लागि प्रक्रिया सुरु गरेका थिए । शिखर इन्स्योरेन्समा १ लाख रुपैयाँको कोरोना बिमा गरेका उनको परिवारले ५ कात्तिकमा नै अनलाइनमार्फत बिमा दाबी गरिदिएका थिए । कोरोनामुक्त भएर सबै कागजपत्र कम्पनीमा बुझाएको महिना दिन पुग्दा पनि अहिलेसम्म भुक्तानी भएको छैन । उनले भने, ‘न त कम्पनीले कागजपत्र पुगेन भनेर सम्पर्क गरेको छ, न त दाबी भुक्तानी नै गरेको छ ।’  

Tuesday, December 1, 2020

अर्थमन्त्रीको निर्देशनसमेत मानेनन् बिमा कम्पनीले : कोरोना बिमामा ३३ हजारको दाबी, ५ हजारको मात्र भुक्तानी

मुना कुँवर 

२०७७ मङ्सिर १७

१९ असोजमा अर्थमन्त्री विष्णु पौडेलले बिमा समिति र कम्पनीका प्रतिनिधिसमेतलाई बोलाएर कोरोना बिमाको दाबी  एक साताभित्र भुक्तानी गर्न निर्देशन दिए, तर कम्पनीहरूले त्यसलाई समेत अटेर गरिरहेका छन्, हालसम्म ३२ हजार ७ सय ८४ बिमितले ३ अर्ब १८ करोड भुक्तानीका लागि दाबी गरेकोमा १५ प्रतिशत अर्थात् ४ हजार ९ सय २९ को ४७ लाख ७७ हजार मात्रै भुक्तानी

कोरोना बिमा दाबी भुक्तानी एक साताभित्र गर्न अर्थमन्त्री विष्णु पौडेलले १९ असोजमा दिएको निर्देशनलाई समेत बिमा कम्पनीहरूले लत्याइदिएका छन् । मन्त्रीले नै निर्देशन दिएपछि निर्जीवन बिमा कम्पनीहरूले भुक्तानी गर्न थप आलटाल नगर्ने आशा संक्रमितका परिवारले गरेका थिए । तर, कम्पनीहरूले अर्थमन्त्री पौडेलको निर्देशनलाई पनि बेवास्ता गरेको पीडित गौशालाकी राधिका दंगालले बताइन् ।