Thursday, December 31, 2020

सबै जिल्ला सदरमुकाममा इन्टरनेट पुर्‍याउने दुईवर्षे परियोजना चार वर्षमा पनि सुरु भएन

मुना कुँवर

२०७७ पौष १७

मुलुकका सबै जिल्ला सदरमुकामसम्म इन्टरनेट सेवा पुर्‍याउने लक्ष्यसहित सुरु गरिएको सूचना महामार्ग निर्माण कार्य अगाडि बढ्न सकेको छैन । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरण र सेवाप्रदायक कम्पनीबीच सम्झौता भएको चार वर्ष बित्दा पनि निर्माण कार्य सुस्त छ ।  

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्न सूचना महामार्ग निर्माण कार्य अगाडि बढाएको हो । यस परियोजनालाई प्राधिकरणले तीनवटा प्याकेजमा विभाजन गरेको छ । तीनवटा प्याकेजमध्ये दुईवटा प्याकेजको भौतिक निर्माण कार्य सुरु नै भएको छैन भने एउटा प्याकेजको एक चौथाई मात्र सकिएको छ ।    

सूचना महामार्ग निर्माणका लागि प्राधिकरण र सेवाप्रदायक कम्पनीबीच ९ अर्ब ८९ करोड १७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । जसमध्ये प्याकेज १ लाई ६१ करोड ५५ लाख अग्रिम भुक्तानी दिइसकेको प्राधिकरणले जनाएको छ । त्यस्तै, भन्सार महसुलबापत १२ करोड ८० लाख भुक्तानी भएको छ । प्याकेज २ को ४० करोड २० लाख अग्रिम भुक्तानी भएको छ । 

 चार वर्षमा एक चौथाई  निर्माण सम्पन्न
नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम कम्पनीबीच सम्झौता भएको प्याकेज नम्बर १ परियोजनाको काम २२ प्रतिशत मात्रै सम्पन्न भएको छ । प्याकेज १ अन्तर्गत प्रदेश नम्बर १, २ र बागमती छन् । १ नम्बर प्याकेजका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल दूरसञ्चार कम्पनीसँग ०७३ असोज १२ मा ४ अर्ब ८७ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

 सम्झौताअनुसार कम्पनी र प्राधिकरणबीच २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्नेछ । तर, हालसम्म जम्मा ४ सय ९१ किलोमिटर मात्रै काम सम्पन्न भएको छ । त्यस्तै, कम्पनीले २५ वटा डिडब्लुडिएम सिस्टम र ४५ वटा कोर राउटर इक्विप्मेन्ट जडान गरेको छ । 

प्राधिकरण र टेलिकमबीच भएको सम्झौताअनुसार टेलिकमले अन्य सेवाप्रदायक कम्पनीसँग गरेको ठेक्का मितिलाई निर्माण अवधि तोकिनुपर्ने व्यवस्था रहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । सो व्यवस्थाअनुसार दुई वर्ष पूरा नभएको उनले बताए । ‘टेलिकमले अन्य कम्पनीसँग सम्झौता गरेको अवधिको दुई वर्षभित्रमा काम सक्ने प्रतिबद्धता गरेको छ,’ उनले भने । 

 सम्झौता भएको तीन वर्ष पुग्दा पनि परियोजना सुरु भएन
सूचना महामार्ग निर्माणका लागि प्याकेज नम्बर २ अन्तर्गतको परियोजना सम्झौता भएको तीन वर्ष भइसकेको छ । तर, निर्माण कार्य सुरु भएको छैन । प्याकेज नम्बर २ अन्तर्गत गण्डकी प्रदेश र लुम्बिनी प्रदेश छन् । यो प्याकेजका लागि दूरसञ्चार प्राधिकरण र युनाइटेड टेलिकमबीच ०७४ वैशाख २५ मा २ अर्ब १ करोडमा सम्झौता भएको थियो । दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको हो ।

कम्पनीले दुई वर्षभित्रमा परियोजना सम्पन्न गर्न नसक्ने देखिएपछि प्राधिकरणले समय थप नगर्ने निर्णय गरेको थियो । तर, सो विषयमा कम्पनीले सर्वोच्चमा रिट दायर गर्‍यो ।

सर्वोच्च अदालतले उक्त रिट निवेदनको टुंगो नलागेसम्म अवधि थप नगर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । अदालतको निर्देशनबमोजिम कम्पनीलाई समय थप नगर्ने निर्णय कार्यान्वयन हुन नसकेको र कम्पनीले काम पनि अगाडि बढाउन नसकेको उनले बताए । सो प्याकेजका लागि कम्पनी र प्राधिकरणबीच २ हजार १ सय ६० किलोमिटर अप्टिकल फाइबर बिछ्याउने सम्झौता भएको थियो । साथै, २१ वटा डिडब्लुडिएम, ७३ वटा कोर राउटर इक्विप्मेन्ट जडानको सम्झौता भएको थियो । 

 स्मार्टले नसकेपछि टेलिकमकै जिम्मा 
सूचना महामार्ग निर्माणअन्तर्गतको प्याकेज नम्बर ३ परियोजना स्मार्ट टेलिकमले पूरा गर्न नसकेपछि प्राधिकरणले नेपाल टेलिकम कम्पनीलाई जिम्मा दिएको छ । प्याकेज नम्बर ३ अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश परेका थिए । उक्त प्याकेजका लागि प्राधिकरण र स्मार्ट टेलिकमबीच ०७४ साउन ३ गते ३ अर्ब रुपैयाँमा निर्माण सम्झौता भएको थियो । तर, तोकिएको समयसम्म पनि स्मार्ट टेलिकमले काम अगाडि नबढाएपछि मन्त्रिपरिषद्को निर्णयबमोजिम टेलिकमलाई जिम्मा दिइएको थियो । प्याकेज ३ का लागि १ हजार ९ सय ९२ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने सम्झौता भएको छ । त्यस्तै, २८ वटा डिडब्लुडिएम सिस्टम र ५६ कोर राउटर इक्विप्मेन्ट जडानको समेत सम्झौता भएको छ । 

 निर्माण कार्यमा कोरोनाको प्रभाव
विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाका कारण सूचना महामार्ग निर्माणका परियोजनाको कार्य प्रभावित बनेको नेपाल टेलिकम कम्पनीका प्रवक्ता राजेश जोशीले बताए । उनका अनुसार कोरोनाले धेरै काम रोकिएको छ । कम्पनीले अप्टिकल फाइबर बिछ्याउन आवश्यक प्रविधि तयार पारेको छ । तर, कोरोना संक्रमण फैलिएपछि काम रोकिएको उनले दाबी गरे । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल पनि कोरोना संक्रमणका कारण सूचना महामार्ग परियोजनाका कामहरू रोकिएको दाबी गर्छन् ।

https://www.nayapatrikadaily.com/news-details/57713/2021-01-01

No comments:

Post a Comment