Wednesday, March 30, 2016

स्वास्थ्य बीमा कार्यक्रम कैलालीबाट शुरू

मुना कुँवर

चैत २५ देखि दर्ता प्रक्रिया, जेठदेखि स्वास्थ्य सेवा


चैत १६, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम कैलाली जिल्लाबाट शुरू हुने भएको छ । सो कार्यक्रम स्वास्थ्य मन्त्रालयले शुरू गर्न लागेको हो । पहिलो चरणका लागि छानिएका तीन जिल्लामध्ये कैलाली जिल्लाबाट कार्यक्रम सञ्चालन गर्न लागिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले बताए । उक्त कार्यक्रम सञ्चालनका लागि पहिलो चरणमा सरकारले इलाम, बाग्लुङ र कैलालीलाई छनोट गरेको थियो । कैलालीमा कार्यक्रम चैत महीनामै शुरू हुने र त्यसका लागि चैत २५ गतेदेखि दर्ता प्रक्रिया थालिने पनि लोहनीले जानकारी दिए । उनले भने, ‘जेठदेखि भने स्वास्थ्य सेवा नै शुरू गरिनेछ ।’
बीमितको स्वास्थ्य उपचारका लागि मन्त्रालयले स्थानीय स्वास्थ्य संस्था तथा अस्पतालहरूसँग सम्झौता गरिसकेको छ । कोहलपुर हस्पिटल, मेलकुना हस्पिटल, धनगढी हस्पिटल, टीकापुर हस्पिटल तथा चार प्राथमिक स्वास्थ्य केन्द्रसँग सम्झौता गरिएको समितिले बताएको छ । त्यस्तै, कार्यक्रमका लागि कैलाली जिल्लामा १ सय २४ जना स्वयंसेवकसमेत परिचालन गरिएको छ । समितिका अनुसार स्वयंसेवकहरूलाई आवश्यक तालीमसमेत दिइसकिएको छ ।

कार्यक्रमअनुसार प्रत्येक परिवारका पाँच जनासम्मले स्वास्थ्य बीमा गराउन सक्नेछन् । पाँच जना सदस्यबराबर रू. २ हजार ५ सय बीमाशुल्क भुक्तानी गरेपछि सो परिवारले रू. ५० हजारसम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । तर, अति गरीब वर्गमा परेका नागरिकलाई भने उक्त बीमाशुल्क शतप्रतिशत छूट हुनेछ । त्यस्तै, मध्यम गरीब र गरीब वर्गका नागरिकले क्रमशः ७५ र ५० प्रतिशतसम्म छूट पाउनेछन् । सरकारले गरीबी निवारण मन्त्रालयले जारी गरेको परिचयपत्रका आधारमा गरीबीको पहिचान गरी छूट प्रदान गर्नेछ ।
सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्‍याउने उद्देश्यले सरकारले चालू आर्थिक बर्ष २०७२/७३ को बजेटमा स्वास्थ्य बीमा कार्यक्रम सार्वजनिक गरेको थियो । २०७१ सालमा सरकारले स्वास्थ्य बीमा नीतिअन्तर्गत सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन गरी स्वास्थ्य बीमालाई अगाडि बढाएको हो । कुनै पनि नागरिक स्वास्थ्योपचार सुविधाबाट वञ्चित हुन नपरोस् भनी यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको स्वास्थ्य मन्त्रालयले बताएको छ । कार्यक्रम सञ्चालनका लागि सरकारले नमूना जिल्लाका रूपमा कैलाली, बाग्लुङ र इलामसहित झापा, रौतहट, चितवन, भक्तपुर, म्याग्दी, कास्की, पाल्पा, जाजरकोट, जुम्ला र बैतडीलाई छानेको हो । नमूना जिल्लाहरूमा कार्यक्रम सञ्चालन गरेपछि अन्य जिल्लामा पनि विस्तार गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

No comments:

Post a Comment