Friday, March 18, 2016

सरकारी आयोजनामा बीमाको दायित्व ५ वर्ष थपिँदै

मुना कुँवर

चैत ४, काठमाडौं । सरकारी आयोजनामा बीमा कम्पनीहरूको दायित्व लम्ब्याएर ५ वर्ष पुर्‍याइने भएको छ । आयोजनाको निर्माणपछि मर्मत अवधि ५ वर्ष तोक्ने सरकारको तयारीसँगै बीमा कम्पनीहरूको दायित्व पनि थप हुने भएको हो । यस्तो व्यवस्थासहित सार्वजनिक खरीद ऐन २०६३ संशोधनका लागि संसद्मा प्रस्ताव गरिएको सार्वजनिक खरीद अनुगमन कार्यालयका निर्देशक शङ्करकृष्ण श्रेष्ठले बताए । उनले भने, ‘संशोधन भइसकेपछि गाइड लाइन बनाइनेछ । यसले योजनाको प्रकृतिअनुसार मर्मत अवधि तोक्नेछ ।’
अहिलेको सार्वजनिक खरीद ऐनमा यस्तो मर्मत अवधि स्पष्ट रूपमा किटान गरिएको छैन । ऐनको प्रावधानअनुसार सम्झौतापत्रमा यस्तो अवधि उल्लेख गरिएको हुन्छ । ठेक्काको बोलपत्र माग गर्दा नै स्ट्याण्डर्ड बिडिङ डकुमेण्टको विशेष प्रावधानमा यस्तो अवधि खुलाइने गरिएको श्रेष्ठले बताए । प्रायः यस्तो मर्मत अवधि १३ महीनादेखि २ वर्षसम्म हुने गरेको पाइन्छ ।

ऐन संशोधनमा राखिएको यस्तो व्यवस्था प्रति ठेकेदार व्यवसायी तथा बीमकहरूले भने असहज महसूस गरिरहेका छन् । यस्तो व्यवस्था जारी गर्नुअघि सम्बन्धित निकायसँग छलफल गर्नुपर्ने बीमक सङ्घका अध्यक्ष विजयबहादुर शाहले बताए । उनले भने, ‘अन्यथा उक्त लम्बिएको अवधिको जोखीम ठेकेदार स्वयम्ले नै बेहोर्नुपर्छ ।’ तर, बीमा समितिले भने बीमक कम्पनीहरूले जोखीमअनुसारको थप प्रिमियम लिनसक्ने बताएको छ । समितिका अनुसार बीमा कम्पनीले बीमालेख जारी गर्नुपूर्व जोखीमको अध्ययन गरेर प्रिमियम शुल्क तोक्न सक्नेछन् ।
त्यस्तै, मर्मत अवधि लम्ब्याउँदा ठेकेदार व्यवसायीलाई आर्थिक भार पर्ने ठेकेदार व्यवसायी चन्द्रशेखर मल्लले बताए । उनले भने, ‘हामी यसको विरोधमा छौं । यस्तो नियम हामीलाई मान्य हुँदैन ।’ ठेकेदारले सम्पूर्ण जोखीमको बीमा गरे पनि क्षति भएको अवस्थामा बीमा कम्पनीहरूसँग भुक्तानी लिन कठिन हुने गरेको उनले गुनासो गरे । उनले भने, ‘त्यसमा पनि यस्तो व्यवस्थाले त हामी झनै समस्यामा पर्छौं ।’
कुनै पनि आयोजना निर्माण गर्दा अधिकांश ठेकेदारले बीमा गराएका हुन्छन् । ठेक्का दिने कम्पनी र ठेकेदारबीच भएको सम्झौताअनुसार बीमा कम्पनीले बीमालेख जारी गर्छ । आयोजनाको बीमा गर्दा बीमा कम्पनीले योजनाको निर्माण अवधि र मर्मत अवधिको समेत जोखीम वहन गर्छ ।
उक्त अवधिमा कुनै पनि कारणले निर्माण गरिएका भौतिक संरचनाको क्षति भएमा बीमा कम्पनीले भुक्तानी गर्छ । बीमाले विशेष गरी प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई वहन गर्छ ।
सामान्यतः आयोजना निर्माण अवधिमा १३ महीना मर्मत अवधि भनेर थपिने गरेको ठेकेदार व्यवसायी मल्लले बताए । बीमा कम्पनीहरूले भने २४ महीनासम्म मर्मत अवधि स्वीकार गर्ने गरेको बीमक सङ्घका अध्यक्ष शाहले बताए । उनका अनुसार कहिलेकाहीँ आयोजनाको प्रकृति, ठेकेदार र कम्पनीबीचको आपसी सम्झौताअनुसार पनि अवधि तोकिने गरेको छ ।

No comments:

Post a Comment