Sunday, March 13, 2016

बढ्दै छ अग्रिम भुक्तानी जीवन बीमा योजनाको बोनसदर

मुना कुँवर

काठमाडौं । जीवन बीमा कम्पनीहरूले वितरण गर्दै आएको अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाको बोनसदर प्रतिवर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०६९÷७० तुलनामा आव २०७०/७१ मा कम्पनीहरूले यस्तो बोनसदर अधिकतम रू. ३ सम्म बढाएको बीमा समितिको तथ्याङ्कले देखाएको छ । प्रतिवर्ष कम्पनीहरूको नाफा बढ्दै गएकाले बोनसदर पनि बढ्दो अवस्थामा देखिएको समितिले बताएको छ । समितिका अनुसार चालू आवमा यो दरमा थप वृद्धि हुनेछ ।
आव २०७०/७१ मा बोनसदर वितरण गर्ने कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी वितरण गरेको छ । उक्त कम्पनीले १०, १५ र २० वर्षे अवधिका बीमा योजनामा वार्षिक प्रतिहजार रू. ६५ वितरण गरेको छ । त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १० वर्षे अवधिका लागि रू. ४० र १५ वर्षे अवधिका लागि रू. ४५ वितरण गरे पनि १८ र २० वर्षे अवधिका लागि क्रमश रू. ५५ र ६५ वितरण गरेको छ । नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशनले पनि रू. ६० भन्दा बढी नै बोनस वितरण गरेको तथ्याङ्कले देखाएको छ ।

जीवन बीमा कम्पनीहरूले बीमा समितिका बुझाएको बोनसदरका अनुसार आव २०६९/७० भन्दा २०७०/७१ मा अधिकांश कम्पनीले  त्यस्तो दर बढाएको देखिन्छ । अग्रिम भुक्तानी जीवन बीमा योजनाको बोनसदर सबैभन्दा धेरै बढाउनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । उक्त कम्पनीले आव २०६९÷७० को तुलनामा करीब रू. ३ बढाएर आव २०७०÷७१ मा बोनसदर रू. ६५ पुर्‍याएको हो । अन्य कम्पनीको वृद्धिदर भने करीब स्थिर नै देखिएको छ ।
के हो अग्रिम भुक्तानी सावधिक जीवन बीमा ?
अग्रिम भुक्तानी सावधिक जीवन बीमा अन्य सावधिक जीवन बीमाजस्तै हो । यस बीमा योजनामा सुरक्षा तथा लगानी दुवै समावेश भएको हुन्छ । यस योजनाअनुसार बीमा अवधिभित्र बीमितको मृत्यु भएमा उसले इच्छाएको व्यक्तिले बीमाङ्क रकम प्राप्त गर्छ । तर, बीमा परिपक्वता अवधिसम्म बीमित बाँचिरहेमा स्वयम्ले बीमाङ्क रकम प्राप्त गर्छ । साथै, अग्रिम भुक्तानी बीमा योजनामा बीमितले बीमा अवधि सकिनुभन्दा अगाडि नै बीमाङ्क रकम विभिन्न चरणमा निश्चित मात्रामा प्राप्त गर्छ ।
बाँकी बढ्दै छ जस्तै, १० वर्षे अवधिका लागि बीमा गरिएको हो भने १० वर्षभन्दा पहिला नै बीमितले रकम फिर्ता पाउन थाल्छ । कम्पनीसँग गरिएको सम्झौताअनुसार बीमा योजना शुरू भएकोे निश्चित अवधिपछि बीमितले निश्चित रकम प्राप्त गर्छ । विभिन्न चरणमा बीमाङ्क रकम फिर्ता गरेपछि बाँकी रहेको रकम बीमा अवधि समाप्ति मिति (परिपक्वता)मा प्राप्त गर्न सकिन्छ । त्यस्तै, यो योजनाअनुसार निश्चित अवधिहरूमा निश्चित रकम (बीमाङ्क) प्राप्त गरेपछि र बीमा अवधि सकिनुअघि बिमितको मृत्यु भएमा पुनः बीमाङ्क रकमको पूरै अंश निजले इच्छाएको व्यक्तिले प्राप्त गर्छ ।
व्यावसायिक दृष्टिकोणले यो योजना अत्यन्त लाभदायी देखिन्छ । बीमितले बीमा अवधिअगाडि नै विभिन्न चरणमा रकम फिर्ता पाउने भएकाले सो रकमबाट फाइदा लिन सकिन्छ । त्यस्तै, बीमाङ्क रकम लिन पूरै अवधि पर्खनु नपर्ने भएकाले यो योजना जोखीममुक्त पनि मान्न सकिन्छ ।
बढ्दै छ  अग्रिम भुक्तानी जीवन बीमा योजनाको बोनसदर

No comments:

Post a Comment