Sunday, March 6, 2016

सावधिक जीवन बीमा योजनामा आकर्षक बोनसदर

मुना कुँवर

काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाहरूले दिन प्रतिदिन निक्षेपमा ब्याज घटाइरहेका बेला जीवन बीमा कम्पनीहरूले भने बोनस दर बढाइरहेका छन् । नेपालमा सञ्चालित ९ जीवन बीमा कम्पनीले सावधिक तथा सामूहिक जीवन बीमा योजनामा कम्तीमा प्रतिहजार रू. ५८ हजारदेखि अधिकतम रू. ८२ हजारसम्म बोनसदर वितरण गरिरहेका छन् । त्यसैले जीवन बीमा योजना जोखीम हस्तारन्तरणका लागि मात्रै नभई लगानीका लागि पनि उपयुक्त भएको नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए ।
जीवन बीमाअन्तर्गत कम्पनीहरूले आजीवन जीवन बीमा, सावधिक जीवन बीमा तथा म्यादी जीवन बीमा गरी मुख्य तीन योजना सञ्चालनमा ल्याएका छन् । उक्त तीन मुख्य बीमा योजनाअन्तर्गत अन्य बीमा योजनाहरू पनि सञ्चालनमा ल्याइएको छ । विभिन्न खालका जीवन बीमा योजनामा कम्पनीहरूले दिने बोनसदर पनि भिन्नभिन्न छ । कम्पनीहरूले वितरण गर्ने उच्च बोनसदरमा पर्ने  योजनामध्ये सावधिक जीवन बीमा पनि एक हो ।

सावधिक जीवन बीमा :
सावधिक जीवन बीमा योजनाले बीमितलाई बीमाङ्क रकम भुक्तान गर्छ । योजनाअनुसार बीमितले तोकिएकै अवधिसम्म बीमा शुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बीमित जीवित रहेको खण्डमा उसले रकम प्राप्त गर्छ । यदि जीवित छैन भने उसले इच्छाएको व्यक्तिले बीमाङ्क रकम (बोनससहित) प्राप्त गर्छ । यस्तो बीमा योजना  सामान्यतया ५ वर्षदेखि ५० बर्षको अवधिको हुन्छ । यस्तो खालको योजना विकासोन्मुख मुलुकहरूमा बढी प्रचलनमा रहेको पाइन्छ । सावधिक जीवन बीमा पनि विभिन्न प्रकारका छन् । जस्तै : विशुद्ध सावधिक जीबन बीमा, साधारण सावधिक जीवन बीमा, दोहोरो सावधिक जीबन बीमा, संयुक्त सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा ।
विशुद्ध सावधिक जीवन बीमा :
यस जीवन बीमाअन्तर्गत बीमितले मात्र बीमाङ्क रकम प्राप्त गर्छ । बीमा अवधिभित्र बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बीमाङ्क रकम प्राप्त गर्दैन । त्यसैले यस्तो खालको बीमा योजनाले वृद्ध अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्छ । यस योजनामा कतिपय जीवन बीमा कम्पनीले बीमा अवधिभित्र बीमितको मृत्यु भएको खण्डमा निजको इच्छाएको व्यक्तिलाई सो अवधिसम्म तिरेको बीमा शुल्क प्रदान गर्छन् । त्यस्तै, यस जीवन बीमा योजनामा समर्पण र बीमालेख धरौटीमा ऋण सुविधा लिनसक्ने प्रावधान छ ।
साधारण सावद्यिक जीवन बीमा :
यो जीवन बीमा म्यादी जीवन बीमा र विशुद्ध सावधिक जीवन बीमाको मिश्रण हो । योजनाअनुसार बीमा अवधिभित्र बीमितको मृत्यु भएको खण्डमा निजले इच्छाएको व्यक्तिले बीमाङ्क रकम प्राप्त गर्छ । यदि बीमा परिपक्वता अवधिसम्म बीमित बाँचिरहे स्वयम् बीमितले नै  बीमाङ्क रकम प्राप्त गर्छ । यस जीवन बीमामा पनि समर्पण तथा ऋण सुविधा समावेश भएको हुन्छ ।
दोहोरो सवाधिक जीवन बीमा :
यो जीवन बीमा साधारण सावधिक जीवन बीमा तथा विशुद्ध सावधिक जीवन बीमाको मिश्रण हो । बीमित बीमा अवधि परिपक्कवतासम्म बाँचिरहेको अवस्थामा निजले बीमाङ्क रकमको दुई गुणा रकम प्राप्त गर्छ । तर, बीमा अवधिभित्र निजको मृत्यु भएका बीमितले इच्छाएको व्यक्तिले मूल बीमाङ्क मात्र प्राप्त गर्छ । यस जीवन बीमाअन्तर्गत योजनाको  अवधि १० वर्षदेखि ४० वर्षसम्म मात्र राख्न पाइन्छ । तर, अधिकतम उमेर परिपक्वता ६५ वर्षभन्दा बढी हुनु हुँदैन ।
संयुक्त सावधिक जीवन बीमा :
यस्तो खालको योजनामा श्रीमान् तथा श्रीमतीको संयुक्त जीवन बीमा गर्न सकिन्छ । श्रीमान् वा श्रीमती जसको आम्दानी कम हुन्छ त्यसलाई आधार मानेर बीमाङ्क रकम सुनिश्चित गरिन्छ । यस जीवन बीमालेखअन्तर्गत श्रीमान्श्रीमती दुवैजना स्वास्थ्य भए मात्र बीमायोग्य हुन्छन् । श्रीमान्श्रीमती दुवै जनाको उमेरको आधारमा बीमा शुल्क निर्धारण गरिन्छ । बीमा अवधिसम्म बीमा शुल्क तिर्दै जानुपर्छ र बीमालेख परिपक्क भएपछि निजले बीमाङ्क रकम प्राप्त गर्छ । कुनै कारणवश दुई जनामध्ये एक जनाको मृत्यु भएमा अर्को एक  जनाले बीमाङ्क रकम प्राप्त गर्छ र बीमा शुल्क तिर्नु पर्दैन र पुनः बीमालेख परिपक्क भएपछि जीवित बीमितले बीमाङ्क रकम पुनः प्राप्त गर्छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा :
यस योजनाअन्तर्गत बीमितले अग्रिम रूपमा रकम प्राप्त गर्नसक्छ । बीमा अवधि सकिनुभन्दा निश्चित समयअगावै बीमितले निश्चित रकम प्राप्त गर्नसक्छ भने बाँकी रकम बीमा अवधि समाप्त भएपछि मात्र पाउन सक्छ । एउटा निश्चित अवधिभित्र एउटा निश्चित रकम प्राप्त गरेपछि यदि बीमितको मृत्यु भएमा पुनः बीमाङ्क रकमको पूरै अंश निजले इच्छाएको व्यक्तिले प्राप्त गर्छ ।
आव २०६९/७० को तुलनामा २०७०/७१ मा कम्पनीहरूले सञ्चालन गर्दै आएको सावधिक (२१ देखि २६ वर्षभन्दा माथिको अवधि) बीमा योजनाको बोनसदर अधिकांश कम्पनीले बढाएका छन् । उक्त योजनामा आव २०६९/७० मा प्रतिहजार रू. ५५ वितरण गरेको मेट लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७०/७१ मा भने प्रतिहजार रू.६० पुर्‍याएको छ । त्यस्तै, आव २०६९/७० मा प्रतिहजार रू. ५४ वितरण गर्दै आएको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७०/७१ भने प्रतिहजार रू.५८ वितरण गरेको छ । त्यस्तै, आव २०७०/७१ मा गुराँस लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले बोनसदर रू. ५/५ ले बढाएका छन् । वृद्धि भएपछि उक्त कम्पनीहरूको बोनसदर क्रमशः रू.७५ र रू. ८० पुगेको छ । त्यस्तै, उक्त योजनामा वितरण गरिँदै आएको बोनसदरमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा उच्च रहेको छ । आव २०६९/७० मा प्रतिहजार रू. ८२ वितरण गरेको उक्त कम्पनीले आव २०७०/७१ मा पनि सोही दर कायम राखेको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स प्रतिहजार रू.८० वितरण गरेको छ ।
कम्पनीहरूले वितरण गरेको बोनसदर

No comments:

Post a Comment