Tuesday, March 29, 2016

नेपालमा बीमा, पुनर्बीमा र पर्याप्त पूँजी

शैलेन्द्रकुमार श्रेष्ठ
नेपालको बीमाबजारमा १७ ओटा निर्जीवन, ९ ओटा जीवन तथा १ पुनर्बीमा कम्पनीको उपस्थिति छ । हालको बीमाबजारमा नियालेर हेर्दा निर्जीवन बीमाशुल्क करीब रू.११ अर्ब र जीवन बीमाशुल्क करीब रू.२४ अर्ब छ भने पुनर्बीमा शुल्कका रूपमा निर्जीवनतर्फ ५० प्रतिशतदेखि ६० प्रतिशत तथा जीवनतर्फ २ दशमलव ५० प्रतिशतदेखि ३ प्रतिशत विदेशिने भइरहेका छन् । हालै एक पुनर्बीमा कम्पनी सञ्चालनमा आएको छ । तर, नेपाली बीमकहरूबाट कतिको पुनर्बीमा प्रदान गरिन्छ सो हेर्न बाँकी छ ।
पदमराज अवस्थीले २४ माघ २०७२ को अभियानमा लेख्नुभएको ‘बीमा कम्पनीमा पूँजी वृद्धिको औचित्य’ पढेको थिएँ । त्यसै सन्दर्भमा पूँजी वृद्धिको औचित्यबारे केही लेख्न मन लाग्यो । पक्का पनि बीमा कम्पनीले आफ्नो दायित्व धारण गर्ने क्षमता चुक्तापूँजीमा निर्भर गर्छ । जोखीममा आधारित पूँजीको व्यवस्था हुनुपर्ने सर्वमान्य सिद्धान्त हो । सैद्धान्तिक हिसाबमा नेट वर्थ अर्थात् चुक्तापूँजी तथा जगेडा कोषहरूको समायोेजन रकमको ३ देखि ५ प्रतिशत प्रतिजोखीम अर्थात् प्रतिबीमालेखको दायित्व धारण गर्न सकिन्छ ।

बीमा कम्पनीको खुद धारण नीति सोहीअनुसार पुनर्बीमा कार्यक्रम आयोजना गरिन्छ । त्यसको मतलब चुक्तापूँजी जति बढी भयो त्यति नै लाभप्रद हुन्छ भन्नु गलत कुरा होइन । तर, जगेडा कोष रकमको महत्वपूर्ण भूमिका रहन्छ । हाल प्रस्तावित बीमा ऐनको मस्यौदामा निर्जीवन बीमा कम्पनीका लागि रू.४ अर्ब तथा जीवन बीमा कम्पनीका लागि रू.५ अर्ब पुर्‍याउनु भनेको नेपालको परिप्रेक्ष्यमा घातक साबित हुन्छ । सामान्य सिद्धान्तमा पूँजीको कम्तीमा ५ दोब्बर बीमाशुल्क आर्जन भएन भने कम्पनीको व्यवसाय असन्तुलित भएको मानिन्छ ।
हाल नेपालको निर्जीवन बीमाको कुल बीमाशुल्क रू.११ / १२ अर्ब छ र १७ ओटा निर्जीवन बीमा कम्पनीबराबर बजार अंश प्राप्त अवस्थामा रू.७०/८० करोडको बीमाशुल्क आर्जन हुने अवस्था छ । रू. ७०/८० करोडको बीमाशुल्क आर्जनबाट करीब रू.६/७ करोड मात्र नाफा हुने अवस्थामा रू.४ अर्ब लगानी गर्नु कतिको बुद्धिमत्ता हुन सक्ला ? तर, रू.४ अर्बको पूँजीलाई कम्तीमा १० प्रतिशत लाभांश दिन कुल नाफा रू.१ अर्ब गरी करीब रू.३० करोडको कर व्यवस्था गरेर रू.४० करोड साधारण जगेडामा राख्न पाएमा मात्र बाँकी रू.४० करोड १० प्रतिशतका दरले लाभांश बाड्न सक्ने अवस्था हुन आउँछ ।
नेपालको कुल बीमाशुल्क रू.११/१२ अर्बको व्यवसाय गर्न १७ ओटा कम्पनीको रू.६८ अर्बको पूँजी लगानी गर्नु कतिको उचित हुन्छ र यस्तो लगानीकर्ता को होला ? यदि निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू.४ अर्ब भएको खण्डमा अर्को २० देखि ३० वर्षसम्ममा पनि लाभांश बाँड्न सक्ने अवस्था आउँदैन । यति रकमको चुक्तापूँजी निर्धारण गर्नु बीमा उद्योग नै धराशयी हुन सक्ने वा हालको सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरूको एउटा मात्र हुने गरी मर्जर भएमा मात्र सो चुक्तापूँजीको वैकल्पिक उपाय हुन आउँछ ।
छिमेकी राष्ट्र भारतजस्तो विशाल देशमा एउटा कम्पनीले भारू २० अर्बभन्दा बढी बीमाशुल्क आर्जन गर्छन् । तर, न्यूनतम चुक्तापूँजी रू.१ अर्ब र पुनर्बीमा कम्पनीको रू.२ अर्बको मात्र प्रावधान छ । भारतको पुनर्बीमा कम्पनी जीआईसी रिको हाल चुक्तापूँजी रू.४.३० अर्ब छ र तर साधारण जगेडा कोषमा रू. ११४ अर्ब छ । सन् २०१३/१४ को मुनाफाबाट ७७ प्रतिशत प्रतिशत लाभांश दिइयो । उक्त पुनर्बीमा कम्पनी क्षमताको हिसाबले हाल विश्वको १५औं स्थानभित्र पर्छ । त्यस्तै भारतका न्यू इण्डिया आस्योरेन्स कम्पनीले १२० प्रतिशतसम्म लाभांश बाँडेको थियो ।
दोस्रो कुरा कम्पनीको धारण क्षमता पुनर्बीमा कार्यक्रम निर्धारणले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । सैद्धान्तिक हिसाबले पुनर्बीमालाई नै पूँजीको अल्पकालीन पूँजी सापटी भनिन्छ । कम्पनीको व्यवसायको परिमाणको आधार तथा धारण क्षमताअनुसार पुनर्बीमा व्यवस्थापन गरिन्छ, चुक्तापूँजी मात्रको आधारमा होइन ।
नियमनकारी संस्था बीमा समितिले बीमित, बीमा कम्पनी तथा लगानीकर्ताहरूको सुरक्षित हिसाबले योजना तय गरिने, बीमितको सम्पत्तिको भौतिक जोखीमबाट हुन सक्ने आर्थिक नोक्सानको न्यायोचित सुरक्षाको अनुगमन गर्ने र सोअनुरूप बीमा कम्पनीका लागि आवश्यक नियम कानूनको व्यवस्था गर्ने कुरामा दुईमत छैन ।
समयसमयमा आवश्यक निर्देशन जारी गर्ने अनुगमन गर्ने जस्तो कार्र्य, जस्तै सल्भेन्सी मार्जिनद्वारा दायित्वको नियन्त्रणमा राख्ने इत्यादि । त्यसैगरी सबैभन्दा उचित योजना नै जगेडा कोषको वृद्धिमा देखिन्छ ।
संसारमा अहिलेसम्म कुनै पनि बीमा/पुनर्बीमा कम्पनीहरूसँग शतप्रतिशत आफै दायित्व वहन क्षमता भए तापनि पुनर्बीमा गरी दायित्व बाँड्ने गरिन्छ । सोही कारण विश्वको कुनै पनि पुनर्बीमा कम्पनीको जतिसुकै नेट वर्थ भए पनि धारण क्षमता कम वा बढी हुन सक्छ । तर, यदाकदा अति सानो जोखीमबाहेक अन्य जोखीमको पुनर्बीमा व्यवस्था गरिएको हुन्छ ।
त्यस कारण नेपालमा जतिसुकै बढी चुक्तापूँजी भएको बीमा कम्पनी वा पुनर्बीमा कम्पनीको पुनर्बीमा व्यवस्था गरेकै हुनुपर्छ । नेपालको हवाई बीमामा नेपाल वायुसेवा निगमको हवाईजहाजहरूको पुनर्बीमा लण्डनको ल्वायड्समा ३० देखि ५० ओटा अण्डरराइटर्स्लगायत अन्य पुनर्बीमकहरूद्वारा पुनर्बीमा सकारिएको छ । त्यसैगरी नेपालका बीमा कम्पनीहरूले ५/७ ओटा कम्पनीहरूसँग पुनर्बीमा सम्झौता गरेका हुन्छन् ।

लेखक पुनर्बीमा कम्पनीका सल्लाहकार तथा बीमा विशेषज्ञ हुन् ।
http://www.abhiyan.com.np/new/Articles/view/75976

No comments:

Post a Comment