मुना कुँवर
- समग्रमा आम्दानी १४.९५ प्रतिशतले बढ्य
- खर्च समग्रमा ४.३८ प्रतिशतले घट्यो
चैत १३, काठमाडौं । चालू आर्थिक वर्ष २०७२/७३ को पहिलो ६ महीनाको अवधिमा जीवन बीमा कम्पनीहरूको नाफा करीब ३१ प्रतिशतले बढेको छ । पुस महीनासम्ममा आठओटा कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार नाफाको दर यस्तो देखिएको हो । विवरणअनुसार सो अवधिसम्ममा कम्पनीहरूको नाफा रू. ३३ करोड ६३ लाख पुगेको छ । गत आवको सोही अवधिमा भने यस्तो नाफा रू. २५ करोड ५७ लाख रहेको थियो । क्रमिक रूपमा जीवन बीमातर्पm मानिस सचेत हुँदै गएकाले जीवन बीमा कम्पनीहरूको व्यवसाय पनि बढ्दै गएको बीमा समितिका निर्देशक श्रीमान् कार्कीले बताए ।
वित्तीय विवरण प्रकाशित गरेका कम्पनीमध्ये नेपाल लाइफ कर्पोरेशन (नेपाल)को नाफा सबैभन्दा धेरैले बढेको छ । समीक्षा अवधिमा उक्त कम्पनीको नाफा करीब ४९ प्रतिशतले बढेको छ । गत आवको पुस महीनासम्ममा रू. २ करोड १७ लाख मुनाफा आर्जन गरेको सो कम्पनीले चालू आवको सोही अवधिमा भने नाफा रू. ३ करोड २६ लाख पु¥याएको छ । त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाफा करीब ४६ प्रतिशतले बढेको छ । गत आवको ६ महीनाको अवधिमा रू. ४ करोड ६६ लाख मुनाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा भने यस्तो नाफा रू. ६ करोड ८२ लाख पुर्याएको छ ।
रकमको आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी नाफा आर्जन गरेको विवरणले देखाएको छ । चालू आवको ६ महीनाको अवधिमा उक्त कम्पनीले रू. १४ करोड ३९ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ४३ प्रतिशतले बढी हो । उक्त अवधिमा कम्पनीहरूले आम्दानीको दर बढाएका छन् भने व्यवस्थापन तथा खर्च घटाएका छन् । फलस्वरूप कम्पनीहरूको मुनाफा सकरात्मक बन्न पुगेको हो ।
वित्तीय विवरणअनुसार पुस महीनासम्ममा कम्पनीहरूको आम्दानी करीब १४ प्रतिशतले बढेको छ भने खर्च तथा व्यवस्थापन ४ दशमलव ३८ प्रतिशतले घटेको छ । अधिकांश कम्पनीले ‘लगानी कर्जा तथा अन्य’बाट उच्च दरले आम्दानी गरेका छन् भने कर्मचारी बोनसबाट हुने खर्चलाई घटाएको देखिन्छ । गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिसम्ममा नेपाल लाइफ कर्पोरेशन (नेपाल)ले आम्दानीको दर ३१ प्रतिशतले बढाएर नाफा रू. ५ करोड ४१ लाख पुर्याएको छ । अन्य कम्पनीको तुलनामा उक्त कम्पनीको आम्दानीको दर सबैभन्दा उच्च हो ।
त्यस्तै, गुराँस लाइफ र राष्ट्रिय बीमा संस्थानको आम्दानी करीब १०/१० प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खर्चलाई २१ प्रतिशतले घटाएको छ भने मेटलाइफ इन्स्योरेन्स कम्पनीको खर्च २६ प्रतिशतले र गुराँस लाइफ इन्स्योरेन्सको ३२ प्रतिशतले बढेको छ ।
No comments:
Post a Comment