मुना कुँवर
चैत ७, काठमाडौं । न्यून आयस्तर भएका मानिसलाई लक्षित गरी बीमा समितिले लघुबीमा योजना जारी गरेको छ । समितिले जीवन बीमाअन्तर्गत दुईओटा र निर्जीवन बीमाअन्तर्गत तीनओटा लघुबीमा योजना सञ्चालनमा ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको छ । समितिले निर्जीवन बीमा योजनाअन्तर्गतका बीमालेखहरूको ढाँचा तयार पारिसकेको छ । जीवन बीमाअन्तर्गतका योजनाको अन्तिम ढाँचा भने तयार पार्न बाँकी रहेकोे बीमा समितिका निर्देशक राजुरमण पौडेलले बताए ।
समितिले लघुबीमा निर्देशिका २०७१ अनुसार निर्जीवन बीमाअन्तर्गत गार्हस्थ्य लघुबीमा, स्वास्थ्य लघुबीमा र व्यक्तिगत लघुबीमा योजना सञ्चालनमा ल्याएको छ । यस्तै जीवन बीमाअन्तर्गत म्यादी लघु जीवन बीमा र सावधिक लघु जीवन बीमा सञ्चालनमा ल्याएको हो । निर्देशिकाअनुसार उक्त बीमा योजनाहरू बीमा कम्पनीहरूले न्यून आयस्तर भएका र ग्रामीण भेगमा मानिसमा मात्रै जारी गर्नुपर्ने छ ।
निर्देशिकाअनुसार गार्हस्थ्य लघुबीमाको अधिकतम बीमाङ्क रकम रू. २ लाखसम्म हुनेछ । यो योजनाअनुसार घर तथा सम्पत्तिको बीमा गर्न सकिनेछ । उक्त सम्पत्तिको बीमाबापत बीमितले बीमाङ्क रकमको शून्य दशमलव २५ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, स्वास्थ्य लघुबीमाको अधिकतम बीमाङ्क रकम प्रतिपरिवार रू. ३५ हजार हुनेछ । उक्त रकमले पाँच जना परिवारसम्मको जोखीम वहन गर्नेछ । त्यसका लागि बीमितले बीमाङ्क रकमकोे ४ प्रतिशत बीमाशुल्क बुझाउनु पर्नेछ ।
त्यस्तै दुर्घटना लघुबीमा (व्यक्तिगत लघुबीमा)को अधिकतम बीमाङ्क रकम रू. १ लाख ५० हजार रहेको छ । यो योजना खरीदबापत बीमितले बीमाङ्क रकमको शून्य १ प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । जीवन बीमाअन्तर्गत जारी गरिएको म्यादी लघु जीवन बीमाको अधिकतम बीमाङ्क रकम रू. १ लाख ५० हजार रहने व्यवस्था गरिएको छ भने सावधिक लघु जीवन बीमा योजनाको बीमाङ्क रकम अधिकतम रू. १ लाखसम्म हुनेछ । ती योजनाहरूको बीमाशुल्क कति लिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको समितिले बताएको छ ।
लघुबीमा योजनाको अवधारणा राम्रो भए पनि बीमालेख जारी गर्न विभिन्न चुनौती भएको बीमक सङ्घका अध्यक्ष विजयबहादुर शाहले बताए । शिक्षित र हुनेखाले वर्गलाई नै बीमाको महŒव बुझाउन कठिन भइरहेको समयमा न्यून आय र कम शिक्षित वर्गलाई बीमाको महŒव बुझाउन सहज नहुने उनको भनाइ छ । ‘त्यसैले लघुबीमा योजना कार्यान्वयनका लागि लक्षित वर्गमा व्यापक जनचेतना जगाउनु पहिलो आवश्यकता हो,’ उनले भने । समावेशी बीमा तथा आम जनतामा बीमाको पहुँच बढाउने उद्देश्यले लघुबीमा योजनाको अवधारणा आएको हो । बीमाङ्क रकम अति न्यून हुनु, बीमा प्रक्रिया सरल र सहज हुनु र आम व्यक्तिको सहज पहुँच हुनु यस योजनाका मुख्य विशेषता हुन् ।
No comments:
Post a Comment