Thursday, March 24, 2016

‘ओटीसी मार्केट’मा कारोबार शुरू

मुना कुँवर

चैत १०, काठमाडौं । ओभर दि काउण्टर (ओटीसी)मा पहिलोपटक मारुती सिमेण्ट लिमिटेड कम्पनीको कारोबार भएको छ । गत सोमवार कम्पनीको ६ लाख ९३ हजार २ सय कित्ता शेयर उक्त बजारमार्फत किनबेच भएको ओटीसी बजारका वरिष्ठ अधिकृत नारायणप्रसाद तिमिल्सिनाले बताए । उनले भने, ‘अन्य थुप्रै कम्पनी पनि पाइप लाइनमा छन् ।’
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका कम्पनीमध्ये धितोपत्र बजारमा सूचीकरण नभएका कम्पनीहरूको शेयर नामसारी गर्ने कार्य कम्पनीका सञ्चालक समितिको निर्णयानुसार हालसम्म रजिष्ट्रार कार्यालयबाट सोझै हुँदै आएको थियो । तर, केही साताअघि कम्पनी रजिष्ट्रार कार्यालयले एक परिपत्र जारी गर्दै कम्पनीको शेयर नामसारी तथा किनबेच गर्ने कार्य अनिवार्य रूपमा ओटीसी बजारमार्पmत नै गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । निर्देशनसँगै ओटीसी बजारमा पहिलोपटक मारुती कम्पनीको शेयर कारोबार भएको तिमिल्सिनाले बताए । उनका अनुसार कारोबारका लागि हाथवे इन्भेष्टमेण्ट कम्पनी तथा ग्लोबल आईएमई बैङ्कले पनि बजारमा दर्ताको प्रक्रिया अगाडि बढाइसकेका छन् । त्यस्तै अन्य थुप्रै कम्पनीबाट सोधपुछ गर्ने क्रम बढेको उनले बताए ।

ओटीसी बजार सञ्चालन विनियमावली २०६५ अनुसार कम्पनीहरूको शेयर नामसारी तथा किनबेच कार्य बजारमार्फत नै गर्नुपर्ने व्यवस्था छ । त्यसमा पनि कम्पनी रजिष्ट्रार कार्यालयले गरेको निर्णयसँगै पब्लिक कम्पनीहरूलाई कारोबारका लागि ओटीसी बजार जान थप दबाब पुगेको हो । योसँगै सूचीकृत नभएका सयौंको सङ्ख्यामा रहेका पब्लिक कम्पनी ओटीसी बजारको दायरामा आउने भएका छन् । उक्त बजारमार्फत कारोबार हुँदा शेयरधनीले पूँजीगत लाभ कर भुक्तानी गर्नुपर्ने भएकाले सरकारी राजस्वमा समेत वृद्धि हुने वरिष्ठ अधिकृत तिमिल्सिनाले बताए । उनले भने, ‘बजारले कम्पनीहरूको कारोबारलाई समेत पारदर्शी बनाउनेछ ।’
ओटीसी बजारमार्फत कारोबार गराउँदा कम्पनीले कुनै पनि शुल्क तिर्नु पर्दैन । बजारमा कम्पनीहरू निःशुल्क दर्ता हुन पाउने प्रावधान छ । तर, पूँजीगत लाभ भएको खण्डमा सरकारलाई निश्चित रकम बुझाउनु पर्छ । ओटीसी बजारको विनियम ७ अनुसार पूँजीगत लाभ करका लागि विक्रेता प्राकृतिक व्यक्ति भए ५ प्रतिशत र विक्रेता अप्राकृतिक व्यक्ति भए १० प्रतिशत भुक्तानी गर्नुपर्नेछ । तर, हालसम्म ओटीसी बजारमार्फत पब्लिक कम्पनीको कारोबार नहुँदा सरकारले खर्बौंको राजस्व गुमाइरहेको तिमिल्सिनाले बताए ।

No comments:

Post a Comment