Wednesday, March 2, 2016

बीमा संस्थान र प्राइम लाइफ : बुझाउँदैनन् वित्तीय विवरण

मुना कुँवर

फागुन १८, काठमाडौं । राष्ट्रिय बीमा संस्थान तथा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लामो समयदेखि बीमा समितिमा वित्तीय विवरण बुझाएका छैनन् । बीमा संस्थानले ८ वर्षदेखि समितिमा वित्तीय विवरण बुझाएको छैन भने प्राइम लाइफले ३ वर्षदेखि वित्तीय विवरण नबुझाएको बीमा समितिकी उपनिर्देशक एवम् सूचना अधिकारी पूजना ढुङ्गेल अधिकारीले बताइन् । उनले भनिन्, ‘बीमा संस्थानले २०६४ सालमा विवरण बुझाए पनि आवश्यक तथ्याङ्क नराखिएकाले अर्को विवरण मागिएको थियो । तर, संस्थानले त्यसपछि कुनै पनि विवरण बुझाएन ।’

बीमा ऐनको दफा २० को उपदफा (२)मा बीमकहरूले विवरण पेश गर्नुपर्ने विषय स्पष्ट रूपमा उल्लेख गरिएको छ । उक्त दफाअनुसार एकभन्दा बढी बीमा व्यवसाय गर्ने बीमकले प्रत्येक बीमा व्यवसायको हिसाबकिताब स्पष्ट रूपमा छुट्टाछुट्टै राखी त्यसको विवरण प्रत्येक आर्थिक वर्ष सकिएको ६ महीनाभित्र समितिको कार्यालयमा पेश गर्नुपर्छ ।
त्यस्तै, संस्थान र प्राइम लाइफ दुवैले सोही अवधिदेखि धितोपत्र बोर्ड (सेबोन)मा समेत वित्तीय विवरण बुझाएका छैनन् । बीमा संस्थानले व्यवस्थापन समितिले प्रमाणित गरेको वित्तीय विवरण पेश गर्ने गरे तापनि लेखापरीक्षणले प्रमाणित गरेको वित्तीय विवरण भने प्रस्तुत नगरेको सेबोनका कार्यकारी निर्देशक नीरज गिरीले बताए । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०६५ को अनुसूची १३ को नियम २२ (१) अनुसार नेपाल धितोपत्र बोर्डमा धितोपत्र दर्ता गरेका सङ्गठित संस्थाले आर्थिक वर्ष सकिएको
५ महीनाभित्र वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्छ ।

त्यस्तै, अनुसूची १४ नियम २२ (२) अनुसार त्रैमासिक अवधि सकिएको ३ दिनभित्र त्रैमासिक प्रतिवेदन राष्ट्रियस्तरको पत्रिकामा प्रकाशनसमेत गरी सोको जानकारी बोर्डलाई दिनुपर्छ । त्यस्तो विवरण पेश नगरेको अवस्थामा कम्पनीलाई आर्थिक जरीवाना र काम कारबाहीमा रोक लगाउने समेत सेबोनसँग अधिकार छ ।
लामो समयदेखि वित्तीय विवरण नबुझाए पनि ती कम्पनीलाई अहिलेसम्म कुनै पनि कारबाही गरिएको छैन । वित्तीय विवरण नबुझाएकोमा संस्थानलाई बारम्बार सचेत गराइएको बोर्डका कार्यकारी निर्देशक गिरीले बताए । उनले भने, ‘सरकारी स्वामित्वमा रहेको संस्थानलाई हामीले धेरै भनिरहनु पर्ने होइन, तर सरकारी निकायको काम कारबाही नै यस्तो छ ।’ तर, प्राइम लाइफलाई भने बोर्डले अहिलेसम्म कुनै कारबाही गरेको छैन । यद्यपि नेप्सेमा उक्त कम्पनीको शेयर रू. १ हजार ६ सयको रेञ्जमा कारोबार भइरहेको छ ।
जीवन तथा निर्जीवन दुवैको एकीकृत कारोबार गर्दै आएको राष्ट्रिय बीमा संस्थानबाट २०७१ साउन महीनादेखि राष्ट्रिय बीमा कम्पनी अलग भएको हो । समितिले एउटै कम्पनीले जीवन तथा निर्जीवन व्यवसाय गर्न नपाउने निर्देशन दिएपछि निर्जीवन व्यवसायका लागि छुट्टै कम्पनीको स्थापना गरिएको हो । संस्थानले भने जीवन बीमा व्यवसाय हेर्दै आएको छ । संस्थानमा नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क र नेपाल बैङ्कको स्वामित्व रहेको छ । लामो समयदेखि एकीकृत कारोबार हुँदै आएकाले अलग्गै विवरण बनाउन समय लागेको संस्थानले बताएको छ । त्यस्तै, कर्मचारी र आधुनिक प्रविधिको अभाव, समयमा नै प्रशासनिक नीतिगत निर्णय नहुनुलगायत कारणले पनि संस्थानको काम ढिलो भएको हो ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी भने सन् २००७ देखि सञ्चालनमा आएको हो । कम्पनीमा संस्थापकको शेयर स्वामित्व ७० प्रतिशत छ भने ३० प्रतिशत शेयर सर्वसाधारणको रहेको छ । उक्त कम्पनीमा लक्ष्मी बैङ्कको १५ प्रतिशत संस्थापन शेयर स्वामित्व रहेको छ । बोर्ड तथा समितिले कम्पनीले ३ वर्षदेखि वित्तीय विवरण नबुझाएको बताए तापनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले कम्पनीले अहिलेसम्म नियमित रूपमा वित्तीय विवरण बुझाउँदै आएको दाबी गरेका छन् ।

No comments:

Post a Comment