Sunday, March 6, 2016

निर्जीवन बीमा कम्पनी : नाफा १९% ले वृद्धि

मुना कुँवर

फागुन २२, काठमाडौं । चालू आर्थिक वर्ष  २०७२/७३ को दोस्रो त्रैमासिकमा निर्जीवन बीमा कम्पनीहरूको नाफा करीब १९ प्रतिशतले बढेको छ । १३ ओटा निर्जीवन कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पुस मसान्तसम्ममा ती कम्पनीले रू. ६५ करोड ४१ लाख नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा भने यस्तो नाफा रू. ५४ करोड ६१ लाख रहेको थियो । समयअनुसार कम्पनीहरूको व्यवसाय बढ्दै जाँदा नाफा पनि बढ्दै गएको बीमा समितिका निर्देशक श्रीमान् कार्कीले बताए । उनले भने, ‘मुलुकको वातावरण सकारात्मक रहे प्रतिवर्ष बीमा व्यवसाय बढ्दै जानेछ ।’
कम्पनीहरूको वित्तीय विवरणअनुसार दोस्रो त्रैमास अवधिमा प्रिमियर इन्स्योरेन्स कम्पनीको नाफा सबैभन्दा धेरै ७८ प्रतिशतले बढेको छ । गत आव २०७१÷७२ को पुस महीनासम्ममा रू. २ करोड २५ लाख आम्दानी गरेको उक्त कम्पनीले चालू आवको सोही अवधिमा भने रू. ४ करोड २ लाख नाफा आर्जन गरेको छ । उक्त अवधिमा कम्पनीको खुद बीमाशुल्क, पुनर्बीमा कमिशन आयलगायत अन्य आम्दानीसमेत बढेको छ ।

त्यस्तै, गत आव २०७१÷७२ को पुस मसान्तसम्ममा रू. २ करोड १० लाख नाफा गरेको नेको इन्स्योरेन्स कम्पनी चालू आवको सोही अवधिमा रू. ३ करोड ३४ लाख आम्दानी गर्न सफल भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो । त्यस्तै, गत आव ऋणात्मक रहेको एनबी इन्स्योरेन्स कम्पनीको खुद नाफा चालू आवमा भने सकारात्मक देखिएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आवको दोस्रो त्रैमास अवधिमा उक्त कम्पनीको नाफा रू. ११ लाख २९ हजार ऋणात्मक रहेको थियो । चालू आवको सोही अवधिमा भने नाफा रू. १ करोड ३१ रहेको छ ।
हिमालयन जनरल तथा युनाइटेड इन्स्योरेन्स कम्पनीको नाफा भने घटेको छ । गत आवको पुससम्ममा रू. १ करोड ४४ लाख नाफा आर्जन गरेको सो कम्पनीको नाफा चालू आवकोे सोही अवधिमा रू. ९३ हजार २५ मा सीमित भएको छ । यो रकम गत आवको तुलनामा ३५ प्रतिशत कम हो ।
कम्पनीको पुनर्बीमा कमिशन आय घट्नुका साथै कर्जा लगानीबाट हुने आय पनि घटेको देखिएको छ । तर, कम्पनीको दाबी भुक्तानी तथा व्यवस्थापन खर्च भने बढेको छ । त्यस्तै, सो अवधिमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको नाफा ६ प्रतिशतले घटेको छ ।
चालू आवको पुस मसान्तसम्ममा कम्पनीहरूको आम्दानी करीब २ प्रतिशतले बढेको देखिएको छ । सो अवधिमा एनबी इन्स्योरेन्स, प्रिमियर इन्स्यारेन्स, नेको इन्स्योरेन्सको आम्दानी अत्यधिक बढेको छ । तर, युनाइटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको नाफा भने घटेको छ ।

No comments:

Post a Comment