Tuesday, March 22, 2016

भूकम्पपछिको दाबीको ५३% भुक्तानी

मुना कुँवर

चैत ८, काठमाडौं । विनाशकारी भूकम्पका कारण निर्जीवन बीमा कम्पनीहरूमा परेको दाबी रकममध्ये आधा प्रतिशत रकम भुक्तानी भएको छ । बीमा समितिको तथ्याङ्कअनुसार भूकम्पपछिको करीब ११ महीनाको अवधिमा ती कम्पनीले ५३ दशमलव शून्य ८ प्रतिशत रकम भुक्तानी गरेको देखिएको छ । हालसम्मको अवस्थालाई हेर्दा दाबी भुक्तानीको अवस्था सन्तोषजनक रहेको बीमा समितिका निर्देशक राजुरमण पौडेलले बताए । उनले भने, ‘दाबी नलाग्नेको सङ्ख्यालाई हेर्ने हो भने बीमा कम्पनीहरूले गरेको भुक्तानी हामीले आशा गरेअनुसार नै रहेको छ ।’
समितिका अनुसार भूकम्पपछि कम्पनीहरूमा रू. १८ अर्बबराबरको दाबी परेको थियो । त्यसमध्ये चैतको पहिलो सातासम्ममा कम्पनीहरूले रू. ९ अर्ब ८७ लाख भुक्तानी गरिसकेका छन् । त्यस्तै, बीमालेखको सङ्ख्याको आधारमा हेर्ने हो भने कम्पनीहरूमा १७ हजार ६ सय ५९ ओटा बीमा दाबी परेकोमा त्यसमध्ये बीमा कम्पनीहरूले ११ हजार १ सय १३ ओटाको भुक्तानी गरिसकेका छन् । यो सङ्ख्या कुल दाबीको ६३ दशमलव ९३ प्रतिशत हो । कम्पनीहरूमा परेको कुल दाबीमध्ये ४ हजार ५ सय ९० ओटा बीमा दाबी नलाग्ने पाइएको छ । यो सङ्ख्या कुल दाबीको करीब २६ प्रतिशत हो ।

गत वैशाखको भूकम्पपछि कम्पनीहरूमा परेको बीमा दाबीको भुक्तानी प्रक्रिया सरल बनाउन समितिले कम्पनीहरूलाई निर्देशन दिएको थियो । भूकम्पका कारण आहत बनेका जनतालाई जतिसक्दो बीमा दाबी रकम भुक्तान गरी राहत प्रदान गर्न समितिले आग्रह गरेको थियो । समितिको निर्देशनअनुसार कम्पनीहरूले दैनिक दिँदै आएको सेवासुविधालाई बढाएर भुक्तानी प्रक्रियालाई सरल बनाएका थिए । कतिपय कम्पनीले दाबी पर्नेबित्तिकै तत्काल सर्वे गरी भुक्तानीसमेत प्रदान गरेका थिए । कम्पनीहरूले ससाना बीमा दाबीलाई छोटो प्रक्रियाबाट नै भुक्तानी गरेको दाबी गरेका छन् । तर, ठूलाठूला आयोजनाहरूको सर्वे प्रक्रिया लामो हुने भएकाले भुक्तानी हुन बाँकी रहेको बीमकहरूले स्पष्ट पारेका छन् ।
कम्पनीको आधारमा हेर्ने हो भने भूकम्पपछि ६ ओटा कम्पनीमा रू. १ अर्बभन्दा बढीको बीमा दाबी परेको थियो । त्यसमध्ये हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा सबैभन्दा बढी रू. ५ अर्ब ७२ करोडबराबरको बीमा दाबी परेको थियो । त्यस्तै, नेपाल इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीको भुक्तानीको अवस्था सबैभन्दा धेरै देखिएको छ । भूकम्पपछि नेपाल इन्स्योरेन्स कम्पनीमा १ हजार ७ सय २३ ओटा बीमा दाबी परेकोमा हालसम्म कम्पनीले १ हजार ९६ ओटा दाबीको भुक्तानी गरिसकेको छ भने ३ सय १६ ओटा दाबी नलाग्ने भएका छन् । त्यस्तै, १ हजार ५ सय ९२ ओटा बीमा दाबी परेको शिखर इन्स्योरेन्सले हालसम्म १ हजार १५ ओटा दाबी भुक्तानी गरिसकेको छ भने ४ सय ७७ ओटा बीमा दाबी नलाग्ने भएका छन् ।

No comments:

Post a Comment