Tuesday, March 15, 2016

बीमा विशिष्टीकरण : (सु) नौलो अवधारणा

पदमराज अवस्थी
बीमा विशिष्टीकरण भनेको क्षेत्रगत र संरचनात्मक व्यवस्थाको आधारमा बीमा व्यवसाय सञ्चालन गर्नु हो । बीमा वर्गीकरणभन्दा विशिष्टीकरण अझ परिष्कृत धारणा हो । नेपालमा बीमाको वर्गीकरणसम्म गरिएको छ तर उद्योग, भूगोल र अन्य संरचनाको आधारमा विशिष्टीकरण हुन नसक्दा सम्पूर्णजसो कम्पनीले एउटै प्रकारको व्यापार गरिरहेका छन् भने एकै क्षेत्रमा सीमित छन् । विशिष्टीकृत बीमा व्यवसायलाई दुई भागमा बाँड्न सकिन्छ  :
क्षेत्रगत विशिष्टीकरण
क्षेत्रगत विशिष्टीकरण भौगोलिक क्षेत्र, हावापानी, स्थानीय उद्योग र पेशा–व्यवसाय र सम्भाव्य बजारका आधारमा गरिन्छ । सम्पूर्ण क्षेत्रमा एकै किसिमको इन्स्योरेन्स प्रोडक्टको आवश्यकता नहुन सक्छ ।
अहिलेको हाम्रो समस्या पनि यही हो कि हामी सम्पूर्ण  ठाउँमा मोटर, कार्गो, अग्नि आदिको मात्र बीमा गर्न खोजिरहेका छौं । तर, अबका दिनमा बीमा कम्पनीहरूले आफूलाई पायक पर्ने र धान्न सक्ने प्रकारको व्यवसायमा बढी जोड दिनुपर्छ । सरकारले घोषणा गरेका विशेष आर्थिक क्षेत्र(सेज), औद्योगिक क्षेत्र र व्यापार व्यवसायको बाहुल्य क्षेत्रलाई दृष्टिगत गरी यिनै व्यापार व्यवसायलाई संरक्षण दिने किसिमको प्रोडक्टहरूमा बढी जोड दिनुपर्छ ।

त्यस्तै पर्यटकीय आवागमन बढी हुने र पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूका लागि काम गर्न चाहने कम्पनीहरूले यसमै बढी अध्ययन अनुसन्धान गरेर बहुउपयोगी र समय सुहाउँदो पोलिसीहरूको प्रावधान गर्नुपर्छ । पर्यटकीय गतिविधिहरूलाई संरक्षण दिने पोलिसीहरू जस्तै : स्वास्थ्य बीमा, दुर्घटना बीमा, साहसिक खेलमा प्रयोग गरिने साधनहरूको बीमा आदि हुन् । वास्तविकता के हो भने आजका दिनसम्म न औद्योगिक क्षेत्र चल्न सकेको छ न त पर्यटन पेशा–व्यवसायले निश्चित गति लिन सकेको छ । यद्यपि यी क्षेत्रका निकट भविष्यका सम्भावनाहरूबाट लाभान्वित हुन बीमकहरूले गृहकार्य शुरू गर्नुुपर्छ ।
त्यस्तै कृषिमा पनि विशिष्टीकरणको अवधारणा ‘एक गाउँ एक उत्पादन’ अवलम्बन गरिएको छ । यसबाट लाभ लिन जुन गाउँ वा क्षेत्र जुन उत्पादनमा लागेको छ सोही उत्पादन सुहाउने बीमालेख तयार पार्नु जरुरी छ । कृषिबीमामा भविष्य देख्ने बीमकहरूले उत्पादन क्षेत्रको अवलोकन, कृषि व्यवसायीको पहिचान, पशु एवम् बाली उत्पादनको अवस्थाको आदिको अध्ययन गरी कृषि व्यवसायीको वर्गीय एवम् पेशागत रूपमा मेल खाने बीमालेख कार्यान्वयनमा ल्याउनुपर्छ ताकि सम्पूर्ण कृषि व्यवसायीले पनि संरक्षणको पूर्ण महसूस गर्न सकून् र बीमकको आम्दानी पनि बढ्न सकोस् ।
उद्योग, कृषि र पर्यटन त उदाहरणका लागि पस्केका हुन् । अन्य निर्माण, स्वास्थ्य, उड्डयन, सञ्चार आदिलगायत क्षेत्रमा पनि यो अवधारणा उतार्न सकिन्छ ।
संरचनात्मक विशिष्टीकरण
संरचनात्मक विशिष्टीकरणभित्र कम्पनीको पूँजी संरचना, व्यवस्थापकीय संरचना र एजेन्सी तथा मानव संसाधन संरचना पर्छन् । कम्पनीको पूँजीले धान्न सक्ने व्यावसायिक जोखीमको बीमा उत्तम मानिन्छ, चाहे पुनर्बीमाको सञ्जाल अत्यधिक नै किन नहोस् । त्यस्तै सञ्चालनमा ल्याएका बीमा व्यवसायको सफलता व्यवस्थापनको दक्षतामा निर्भर रहने कुरा हो । सम्बन्धित व्यवसायसँगको व्यवस्थापकको पृष्ठभूमि, अनुभव, क्षमता र योग्यताको कुशल संयोजनबाट मात्रै कम्पनीले आफ्नो दीर्घकालीन लक्ष्य प्राप्त गर्ने हो । अझ भन्ने हो भने कुशल व्यवस्थापन एक्लैको प्रयासबाट मात्रै सफलता हात पार्न गाह्रो हुन्छ । ग्राहक र कम्पनीबीच  सहजीकरण गर्ने र उत्कृष्ट सेवा प्रदान गर्ने कार्य कम्पनीमा कार्यरत कर्मचारी र अभिकर्ताहरूमा निर्भर रहन्छ । तसर्थ विशिष्टीकृत व्यवसाय सुहाउँदो मानव संसाधन संरचनाले मात्रै ग्राहक र कम्पनीबीच सम्बन्ध प्रगाढ बनाउन सक्छ । वस्तुतः व्यवस्थापकीय संरचना र एजेन्सी तथा मानव संसाधन संरचनालाई आधार मानी व्यवहारमा ल्याइएका व्यवसाय सफल हुने सम्भावना ज्यादा हुन्छ ।
विशिष्टीकरणको आवश्यकता
सम्पूर्ण व्यक्ति सम्पूर्ण क्षेत्रमा विज्ञ हुन सक्दैनन् । तसर्थ, व्यवस्थापन र मानव संसाधनको उपलब्ध ज्ञान शीपको आधारमा व्यवसाय सञ्चालन गर्दा हरेक गतिविधिहरू प्रभावकारी बन्न सक्छन् ।
बीमाको बजारीकरणमा समस्या हुनुको एउटा कारण अभिकर्ता/बजार प्रतिनिधिले भन्नैपर्ने कुराहरू ग्राहकलाई बुझाउन नसक्नु हो । यदि सम्बन्धित क्षेत्रको दक्ष व्यक्तिलाई सो जिम्मेवारी दिएमा उसले सम्पूर्ण कुरा बुझाउन सक्छ । विशिष्टीकरणको अर्को महत्वपूर्ण फाइदा प्रविधिसँगको पहुँचमा सजिलो हुनु हो । हरेक प्रकारको व्यवसाय एकैसाथ सञ्चालन गर्दा थुप्रै प्रविधि भित्र्याउनु पर्ने हुन्छ जुन आर्थिक हिसाबले अत्यधिक खर्चिलो कार्य हो । प्रायः असम्भव कार्य पनि हो । तर, विशिष्ट व्यवसायका लागि मात्रै आवश्यक पर्ने प्रविधि भने कम्पनीले भित्र्याउन सक्ने हुँदा नवीनतम प्रविधिसँगको पहुँचलाई यसले सम्भव बनाउँछ ।
व्यावसायिक रूपले मूलधारमा आएका विषयवस्तुको मात्र बीमा गरिँदा दशौं क्षेत्रका फरक धारका बीमासम्बन्धी मागहरू गौण बनेका छन् । सम्पूर्ण कम्पनीहरूले विशिष्टीकरणको अवधारणा कार्यान्वयनमा ल्याउने हो भने हरेक क्षेत्रका मागहरू सम्बोधन त हुन्छन् नै यसले गर्दा बजारमा रहेको केन्द्रीकृत प्रतिस्पर्धाको समेत अन्त्य हुन जान्छ । हरेक बीमकले व्यवस्थापकीय विज्ञता र संस्थागत दक्षताको आधारमा व्यवसाय चलाउने हुँदा सेवामा नयाँनयाँ आविष्कारको सम्भावना रहन्छ । नियामक निकायलाई बजार नियमन र सुुपरिवेक्षण गर्न सजिलो हुन गई सम्पूर्ण व्यवस्थालाई चुस्तदुरुस्त राख्न मद्दत पुग्छ र कारोबारको स्वरूपमा हुने एक रूपताले हरहिसाब बढीभन्दा बढी पारदर्शी बनाउन सकिन्छ ।
संस्थागत दक्षताको अभावमा बीमकहरूले कतिपय मुद्दाहरूमा झुटो दाबीको पनि भुक्तानी दिँदा अनावश्यक भार त थपिन्छ नै । यही कारण नैतिक बेइमानीले पनि प्रश्रय पाएको हुन्छ । यसको तीतो उदाहरणका रूपमा सामूहिक दुर्घटना/स्वास्थ्य बीमालाई लिन सकिन्छ । धेरै कम्पनीहरूले चिकित्सकको अनुपस्थितिमा दाबी फछ्र्याैट गर्दा उपचारमा लाग्दै नलागेको औषधोपचार खर्चसमेत भुक्तानी दिने गरेको भेटिन्छ ।
स्वास्थ्य क्षेत्रमा दखल भएकाहरूको अनुपस्थितिमा स्वास्थ्यबीमा सञ्चालनमा ल्याउनु केवल देखावटी प्रतिस्पर्धामा उत्रनु मात्रै हो । बजारमा आफ्नो उपस्थिति जनाउन मात्रै प्रतिस्पर्धा गर्नुले अरू व्यवसायबाट भएको फाइदालाई समेत घटाएको पाइन्छ ।
विशिष्टीकृत व्यवसाय गर्नुभन्दा पहिले व्यवस्थापकीय विज्ञता र संस्थागत दक्षताको उचित पहिचान हुनु जरुरी छ । त्यसपछि आपूmले जुन क्षेत्रमा काम गर्ने हो सोही क्षेत्रका सम्भावना, सामना गर्नुपर्ने चुनौती र आर्जन हुने नाफा÷घाटासहित समावेश भएको मार्गचित्र तयार गरेसँगै दीर्घकालीन लक्ष्य प्राप्तिका लागि आवश्यक भौतिक पूर्वाधार र मानव संसाधनको उचित व्यवस्था गर्नुपर्ने हुन्छ भने छिटोछरितो कार्य सम्पादनका लागि वैज्ञानिक प्रणाली र प्रविधिको आवश्यकता पूर्ति हुनुपर्छ ।
समयको गतिसँगै ग्राहकको आवश्यकतामा आउने उतारचढावले आवधिक रूपमा जनु विषम परिस्थिति सृजना हुन आउँछ त्यससँग समायोजित हुन सक्ने आँट गर्न सक्नुपर्छ । यो अवधारणा कार्यान्वयनमा ल्याउन जति कठिन छ, कार्यान्वयन पछिका फाइदाहरू पनि उति नै धेरै छन् । विभिन्न अनुसन्धानका अनुसार विशिष्टीकृत व्यवसाय गर्ने बीमकहरूको नाफा गैरविशिष्टीकृत व्यवसाय गर्ने बीमकहरूको भन्दा उल्लेख्य रूपमा बढी पाइएको छ । मुख्यमुख्य शहरका घर, गाडी र मालवस्तुको बीमा गर्नमा अभ्यस्त हाम्रा लागि विशिष्टीकरण एउटा (सु)नौलो कुरा हो । तर, असजिलाहरूको कोष्ठकभित्रको ‘सु’ बाहिर निकाल्न सके यो सुनौलो अवधारणा हो ।

लेखक बीमासम्बन्धी अध्येता हुन् ।

No comments:

Post a Comment