फागुन १०, काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको बोनसदर प्रतिवर्ष बढ्दो अवस्थामा देखिएको छ । आर्थिक वर्ष २०६९/७० को तुलनामा आव २०७०/७१ मा चार जीवन बीमा कम्पनीले बोनसदर बढाएका छन् । बीमा समितिको तथ्याङ्कअनुसार दुईओटा कम्पनीको बोनसदर भने स्थिर देखिएको छ । जीवन बीमा कम्पनीहरूको बोनसदर प्रतिवर्ष बढ्दो अवस्थामा नै देखिएको बीमा समितिका निर्देशक श्रीमान् कार्कीले बताए । उनले भने, ‘कम्पनीहरूको व्यवसाय बढ्दै जाँदा नाफा बढ्न गै बोनसदर पनि वृद्धि भएको हो ।’
जीवन बीमा कम्पनीहरूले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् । कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गरिन्छ । यस्तो बोनसदर कम्पनीहरूले आर्थिक वर्ष सकिएपछि वार्षिक रूपमा घोषणा गर्छन् । कम्पनीहरूले बोनसदर प्रतिहजारका दरले वितरण गर्छन् ।
बीमा समितिको तथ्याङ्क अनुसार आव २०७०/७१ मा नेशनल लाइफ इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बोनसदर बढाएका छन् । तर, नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले भने पहिलेकै बोनसदरलाई कायम राखेका छन् ।
आव २०६९/७० मा सबैभन्दा धेरै बोनस वितरण गरेको नेपाल लाइफ इन्स्योरेन्सले आव २०७०/७१ मा पनि सोही दर कायम राखी सबैभन्दा धेरै बोनस वितरण गर्ने कम्पनीमा परेको छ । बीमा समितिको तथ्याङ्कअनुसार सो कम्पनीले विभिन्न बीमा योजनामा प्रतिहजार न्यूनतम ६२ देखि ८२ रुपैयाँसम्म बोनस वितरण गर्दै आएको छ । नेपाल लाइफ इन्स्योरेन्सले दिँदै आएको बोनस भारतको तुलनामा पनि अधिक रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले बताए । उनले भने, ‘हामीले बोनसदरलाई मुख्य केन्द्रमा राखेर काम गरेका छौं ।’ कम्पनीको खर्च कटौती, सुरक्षित लगानी, संस्थागत सुशासन व्यवस्थापन, सञ्चालकको दूरदर्शिता र राम्रो व्यवस्थापनका कारण कम्पनीले नाफा आर्जन गर्न सकेको उनले बताए । तर, नेपालमा बीमा कम्पनीहरूका लागि दीर्घकालीन लगानी गर्ने उपकरण नभएको उनले गुनासो गरे ।
त्यस्तै, विभिन्न बीमा योजनामा प्रतिहजार न्यूनतम ६० देखि ८० रुपैयाँसम्म बोनस वितरण गरेर सबैभन्दा धेरै बोनस वितरण गर्ने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । यो कम्पनीले आव २०६९/७० भने न्यूनतम ६० देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस वितरण गरेको थियो । साथै यो वर्ष एशियन लाइफ इन्स्योरेन्स कम्पनीले समेत प्रतिहजार अधिकतम ८० रुपैयाँसम्म बोनस वितरण गरेको छ । उक्त कम्पनीले योजनाअनुसार न्यूनतम ३५ रुपैयाँसम्म बोनस वितरण गरेको छ ।
No comments:
Post a Comment