मुना कुँवर÷नयाँ पत्रिका
काठमाडौ, १७ वैशाख
धितोपत्र दलाल व्यवसायीहरू शाखा विस्तारमा जुटेका छन् । १२ वटा धितोपत्र दलाल व्यवसायीले नेपाल धितोपत्र बोर्डमा २६ वटा नयाँ शाखा सञ्चालनको अनुमति माग्दै निवेदन दिएका छन् । व्यवसायीहरूले दाङ, जनकपुर, दमक, वीरेन्द्रनगर, भक्तपुर, भैरहवा, पोखरा, टाँडी, कावासोती, विराटनगर, वीरगन्ज, बुटवल, जनकुपर र बिर्तामोडमा शाखा सञ्चालनका लागि निवेदन दिएका छन् । सो निवेदनउपर अहिले अध्ययन भइरहेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए ।
हाल नेपालमा ५० वटा दलाल व्यवसायी छन् । जसमध्ये ४१ वटा दलालले व्यवसायीले ४१ वटा शाखा सञ्चालन गरेका छन् । तर, ९ व्यवसायीले भने हालसम्म एउटा पनि शाखा विस्तार गरेका छैनन् ।
नीतिगत व्यवस्था गर्दै बोर्ड
पछिल्लो समयमा दलाल व्यवसायीहरू उपत्यकाबाहिर शाखा विस्तार गर्न उत्साही देखिएका छन् । आवश्यकताअनुसार नयाँ स्थानमा शाखा विस्तार गर्न अनुमति दिन सक्ने प्रावधान भए पनि कस्तो क्षेत्रमा अनुमति दिने भन्ने विषयमा कुनै मापदण्ड नभएको बोर्डका सहप्रवक्ता घिमिरेले बताए । त्यसैले यस विषयमा नीतिगत व्यवस्था गर्ने तयारी भएको उनले बताए ।
प्रदेश १ र ५ मा आकर्षित छन् ब्रोकर
धितोपत्र बोर्डका अनुसार प्रदेश नम्बर १ र ५ मा शाखा विस्तार गर्न व्यवसायीहरूले बढी चासो देखाएका छन् । सो प्रदेशमा सात÷सातवटा दलाल व्यवसायीले शाखा सञ्चालनका लागि निवेदन दिएका छन् । प्रदेश नम्बर १ दमक, विराटनगर, धरान, बिर्तामोडमा शाखा सञ्चालनका लागि निवेदन परेको छ भने ५ नम्बर प्रदेशमा दाङ, भैरहवा, बुटवल र कावासोतीमा समेत दलाल व्यवसायी इच्छुक देखिएका छन् ।
पोखरामा धेरैको आकर्षण
अधिकांश दलाल व्यवसायी व्यापारिक केन्द्र र सुगम स्थानमा बढी केन्द्रित देखिएका छन् । यसअघि नै सातवटा दलाल व्यवसायीले शाखा सञ्चालन गरिसकेको पोखरामा थप तीनवटा दलालले शाखा सञ्चालनका लागि निवेदन दिएका छन् । त्यस्तै, यसअघि नै पर्याप्त शाखा सञ्चालन भएको बुटवल र विराटनगरमा पनि शाखा सञ्चालनका लागि अनुमति मागिएको छ ।
दमकमा चारवटा शाखाको प्रस्ताव
दमकमा मात्र चारवटा कम्पनीले नयाँ शाखा सञ्चालन गर्न निवदेन दिएका छन् । सुमेरु सेक्युरिटिज, नासा सेक्युरिटिज, सनी सेक्युरिटिज र श्रीहरि सेक्युरिटिजले शाखा सञ्चालनका लागि निवेदन दिएका छन् । दमकमा यसअघि शाखा सञ्चालन गरिएको छैन ।
जनकपुरमा पनि आकर्षित छन् दलाल
धितोपत्र दलाल व्यवसायी जनकपुर क्षेत्रमा पनि आकर्षित देखिएका छन् । सो स्थानमा तीनवटा दलाल व्यवसायी सुमेरु सेक्युरिटिज, नासा सेक्युरिटिज र अग्रवाल सेक्युरिटिजले चासो देखाएका छन् । जनकपुरमा अहिलेसम्म कुनै पनि दलाल व्यवसायी पुगेका छैनन् । वीरेन्द्रनगरमा पनि खोलिने शाखा वीरेन्द्रनगरमा इम्पेरियल सेक्युरिटिजले सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा शाखा सञ्चालनका लागि बोर्डमा निवेदन दिएको छ ।
४१ वटा शाखा सञ्चालन
हाल ५० वटा दलाल व्यवसायीले बाँके, कास्की, पर्सा, मोरङ, सुनसरी, रुपन्देही, झापा, काभ्रेलगायतका जिल्लामा ४१ वटा शाखा सञ्चालन गरेका छन् । जसमध्ये सबैभन्दा धेरै शाखा पोखरामा खोलिएका छन् । पोखरामा हाल ७ वटा दलाल व्यवसायीले शाखा सञ्चालन गरेका छन् । यस्तै, विराटनगर र बुटवलमा ५÷५ वटा दलाल व्यवसायीका शाखा सञ्चालित छन् । नारायणघाट र धरानमा ३÷३ वटा शाखा सञ्चालित छ । नेपालगन्ज, हेटौँडा, इटहरी र वीरगन्जमा २÷२ वटा शाखा सञ्चालनमा छन् । त्यस्तै, बिर्तामोड ४, बनेपा ३, लमजुङ र धनगढीमा एक÷एक वटा शाखा सञ्चालित छन् ।
के छ प्रक्रिया
शाखा सञ्चालनका लागि दलाल व्यवसायीले निवेदन दिएका स्थानमा उपयुक्त लागेमा बोर्डले सहमति दिन सक्नेछ । शाखा सञ्चालन गर्नका लागि बोर्डको प्रावधानअनुसार दलाल व्यसायीले पाँचजना कर्मचारी, पाँचवटा कम्प्युटर, ३ सय स्क्वायर फिटको स्पेस भएको कार्यालयसहितको पूर्वाधार खडा गर्नुपर्नेछ । पूर्वाधार निर्माणपछि बोर्डले अध्ययन गरेर वा आवश्यक परे कार्यालयको निरीक्षण गरेर शाखा सञ्चालनको अनुमति दिन सक्नेछ ।
http://www.enayapatrika.com/2018/05/01/45322/
No comments:
Post a Comment