मुना कुँवर नयाँ पत्रिका
काठमाडौं, २० वैशाख
निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय काठमाडौं सेरोफेरोमै मात्र सीमित रहेको तथ्यांकले देखाएको छ । बिमा समितिको तथ्यांकअनुसार कम्पनीहरूले गर्ने कुल व्यवसायको ६० प्रतिशतभन्दा बढी हिस्सा प्रदेश नम्बर ३ मा रहेको छ ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रदेश नम्बर ३ बाट निर्जीवन बिमा कम्पनीहरूले ७ अर्ब ८२ करोड रुपैयाँबराबरको बिमाशुल्क संकलन गरेका छन् । यो कुल बिमाशुल्कको ६३ दशमलव ६७ प्रतिशत हो । सो अवधिमा कम्पनीहरूले १२ अर्ब २८ करोड रुपैयाँबराबरको बिमाशुल्क संकलन गरेका छन् । उक्त क्षेत्रमा कम्पनीहरूले ५ लाख ६९ हजार २ सय ५१ वटा बिमालेख जारी गरेका छन् । यो जारी भएको कुल बिमालेखको ४८ प्रतिशत हो ।
प्रदेश नम्बर १ को हिस्सा करिब १० प्रतिशत
निर्जीवन बिमा कम्पनीहरूले चालू आवको फागुन मसान्तसम्ममा प्रदेश नम्बर १ बाट १ अर्ब २१ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । यो कुल बिमाशुल्कको करिब १० प्रतिशत हो । यद्यपि, प्रदेश नम्बर ३ पछि धेरै बिमाशुल्क संकलन भएको क्षेत्रमा यो प्रदेशमा दोस्रोमा परेको छ । उक्त क्षेत्रमा कम्पनीहरूले १ लाख ५३ हजार ४ सय १६ वटा बिमालेख जारी गरेका छन् ।
प्रदेश ५ बाट सवा अर्ब बिमाशुल्क संकलन
निर्जीवन बिमा कम्पनीहरूले प्रदेश नम्बर ५ बाट १ अर्ब १९ करोड ३० लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । यो पनि कुल बिमाशुल्कको करिब १० प्रतिशत हो । जारी भएको बिमालेखका आधारमा यो प्रदेश दोस्रोमा परेको छ । कम्पनीहरूले यो प्रदेशमा १ लाख ७७ हजार ६ सय ६५ वटा बिमालेख जारी गरेका छन् ।
प्रदेश नम्बर २ मा ८९ शाखा
निर्जीवन बिमा कम्पनीहरूको प्रदेश नम्बर २ मा ८९ वटा शाखा रहेका छन् । शाखा संख्याका आधारमा प्रदेश नम्बर २ दोस्रोमा परेको छ । कम्पनीहरूले १ लाख २२ हजार १ सय ९ बिमालेख जारी गरेर ८९ करोड ८१ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । यो कुल बिमाशुल्कको करिब ७ प्रतिशत हो ।
प्रदेश नम्बर ६ को हिस्सा १ प्रतिशतभन्दा कम
प्रदेश नम्बर ६ मा निर्जीवन बिमा कम्पनीहरूको उपस्थिति अत्यन्तै न्यून देखिएको छ । व्यवसायमा पनि उक्त क्षेत्रको हिस्सा १ प्रतिशतभन्दा कम देखिएको छ । प्रदेश नम्बर ६ बाट कम्पनीहरूले ८ करोड १७ लाख रुपैयाँ मात्र बिमाशुल्क संकलन गरेका छन् । जारी भएको बिमालेखको संख्या १२ हजार ३ सय २८ रहेको छ ।
दुर्गममा बिमाको माग नै छैन
एनपी प्रधान
प्रमुख कार्यकारी अधिकृत
लुम्बिनी जनरल इन्स्योरेन्स
कम्पनीहरू काठमाडौं क्षेत्रमै केन्द्रित हुनु स्वाभाविकै हो । यो देशको मुख्य व्यापारिक केन्द्र हो । त्यसैले कम्पनीहरू यही क्षेत्रमा खनिएका हुन् । जहाँ विकास र व्यापार हुन्छ, निर्जीवन बिमाको माग पनि त्यहीँ हुन्छ । हुम्ला, जुम्लामा एक त बिमाको माग नै कम छ । त्यहाँका मानिसहरूमा बिमा गर्न सक्ने आर्थिक अवस्था पनि छैन । दोस्रो त्यहाँ बिमा गर्ने पूर्वाधारको विकास पनि भएको छैन । मानिसले आफ्नो आधारभूत आवश्यकता पूरा भएपछि नै बिमा गर्ने हो । दुर्गमका नागरिक आफ्नो न्यूनतम आवश्यकता पूरा गर्दैमा व्यस्त छन् । यद्यपि, बिस्तारै कम्पनीहरू ग्रामीण भेगमा जाने तयारीमा छन् । समितिले तोकेका क्षेत्रमा कम्पनी पुगेका छन्, तर व्यवसाय बढ्न सकेको छैन ।
बाध्यकारी व्यवस्था आवश्यक
डा. रवीन्द्र घिमिरे
नेपालको निर्जीवन बिमा व्यवसायमा मोटर बिमाको हिस्सा अधिक छ । सरकारले तेस्रो पक्ष बिमालाई अनिवार्य गरेकै कारण मोटर बिमाको हिस्सा बढी भएको हो । मोटरको बिमा हुने सहरी क्षेत्रमै हो । उपत्यकाबाहिर निर्जीवन बिमा व्यवसाय नै हुँदैन भन्ने होइन । कृषि तथा लघु बिमाको क्षेत्र दुर्गम नै हो । तर, त्यस्ता बिमाप्रति कम्पनीको आकर्षण कम छ । यस्तो बिमामा नाफाको तुलनामा जोखिम तथा सञ्चालन खर्च बढी हुन्छ । बिमा व्यवसाय विस्तारका लागि सरकारले नै बाध्यकारी व्यवस्था गर्नुपर्छ ।
http://www.enayapatrika.com/2018/05/04/46478/
No comments:
Post a Comment