Tuesday, May 15, 2018

मिटररिडरलाई अभिकर्ता बनाएँ


ओम सिंह, संस्थापक, नेपाल लाइफ
एन्ड जनरल इन्स्योरेन्स कम्पनी

सहयोग गर्न पाउँदा सन्तुष्ट लाग्छ
एकपटक एकजना सरकारी कर्मचारीको भद्रकालीमा दुर्घटना भयो । लामो समय भएकाले मलाई ठ्याक्क कार्यालय र व्यक्तिको नाम याद भएन । दुर्घटनामा उनको तत्काल मृत्यु भयो । सोधीखोजी गरी हामी उनको घर पुग्याैँ । उनको घर शोकमा डुबेको थियो । उनका परिवारले हामीलाई को हो ? कहाँबाट किन आएको भनेर सोधे ? अनि हामीले बिमा कम्पनीबाट आएको हो भन्यौँ । उहाँले बिमा गर्नुभएको थियो भन्याैँ ।

पहिला त उहाँहरूले पत्याउनुभएन । तर, हामीले मृतकको परिवारलाई कार्यालयमा बोलाएर नै भुक्तानी दियौँ । त्यसपछि मानिसहरू अचम्म परे । ए कम्पनीले पैसा दिने रहेछ भन्ने ज्ञान भयो । त्यस्तो अवस्थामा रकम भुक्तानी गर्न पाउँदा सन्तुष्टि हुन्छ मलाई । बिमा व्यवसाय मात्रै होइन । समाजिक सेवा पनि हो ।

मानिस भन्थे म आफूलाई बिक्री गर्न चाहन्नँ
नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना भएपछि मैले जीवन बिमाको पनि व्यवसाय गर्नुपर्ने भयो । यसअघि त केवल निर्जीवन मात्रै गर्थें । मानिसलाई बिमा गर, भोलि तिम्रो मृत्यु हुँदा परिवारले पैसा पाउँछ भन्दा मानिसहरू रिसाउँथे । मृत्युको कुरा गरेको मानिसहरू सुन्न नै चाहँदैनथे । मानिसहरू भन्थे म आफूलाई बिक्री गर्न चाहन्नँ । त्यसपछि बोल्ने कुरा नै आउँदैनथ्यो ।
नेपालमा बिमाको अध्ययन गर्न आएको हो
मैले २०१७ सालमा कोलकातास्थित ब्रिटिस कम्पनी रोयल एक्सचेन्जमा एक्जुकेटिभ ट्रेनीबाट काम सुरु गरेको हो । कम्पनीले मलाई नेपालमा गएर बिमा क्षेत्रको अध्ययन गर्ने अफर ग-यो । मैले व्यवसाय मात्रै होइन, यदि कार्यालय खोलेर सेवा दिने भए जान्छु भने । कम्पनीले मेरो प्रस्ताव स्वीकार ग-यो र म नेपाल आएँ । त्यतिवेला नेपालमा नेपाल इन्स्योरेन्स (माल चलानी तथा बिमा कम्पनी) कम्पनीले काम गरेको थियो ।
पछि ओरियन्टल, रुबी, स्टलिङ, नेसनल जनरललगायतका कम्पनी पनि आए । लगत्तै रोयल कम्पनी राष्ट्रियकरण भएपछि मलाई सिंगापुर जान भनियो । तर, म गइनँ । नेपालमा सञ्चालित अन्य कम्पनीले मलाई प्रस्ताव गरे । म ०१८ मा नेसनल फायर एन्ड जनरल इन्स्यारेन्स कम्पनीमा प्रवेश गरेँ । तर, पछि भारतीय सरकारले ती कम्पनीलाई मर्ज हुन निर्देशन दियो । नेसनल, रुबी र हिन्दुस्तान गाभिएर नेसनल इन्स्यारेन्स बन्यो । नेसनल फायर एन्ड जनरल इन्स्योरेन्स, स्टलिङ र ओरियन्टल गाभिएर ओरिन्टल कम्पनी बन्यो । म ओरिन्टलमा नै काम गर्न थालेँ । ओरिन्टलमा ०३४ सम्म गरेँ ।
संस्थान खोल्न सहयोग गरेँ
नेपालमा त्यतिवेलासम्म व्यावसायिक कम्पनी थिएनन् । तत्कालीन योजना आयोग डा.यादव प्रसाद पन्त, डा.पुष्करनाथ पन्त, डा. भेगबहादुर थापालगायतका व्यक्ति हुनुहुन्थ्यो । डा.थापासँग मेरो राम्रो चिनजान थियो । एउटा भेटमा उहाँले नेपालको आर्थिक विकासका लागि के गर्न सकिन्छ भनेर सोध्नुभयो । मैले भने बैंकका बारेमा त मलाई जानकारी छैन । तर, बिमा मुलुकको आर्थिक विकासका लागि सम्भावित क्षेत्र बिमा भएको सुझाए । त्यसपछि आयोगको पहलमा राष्ट्रिय बिमा संस्थानको परिकल्पना गरियो । सरकारले ब्रिटिस नागरिक हटसनलाई सल्लाहकारका रूपमा बोलायो । उनले अध्ययन गरेर रिपोर्ट बुझाए । त्यसपछि ०२५ मा राष्ट्रिय बिमा संस्थानको स्थापना भयो । पहिला यसको कार्यालय न्युरोड स्थित नेपाल बैंकमा थियो । तत्कालीन राजा महेन्द्रले कम्पनीको उद्घाटन गरेका थिए । सोही दिन राजा महेन्द्रको मोटरको बिमा गरी निर्जीवन बिमाको सुरुवात गरिएको थियो ।
लाइसेन्स लिन १० वर्ष कुरेँ
मैले ओरियन्टल छोडेपछि आफैँले नयाँ कम्पनी स्थापना गर्ने विचार गरेँ । त्यसैले मैले लाइसेन्सका लागि आवेदन दिएँ । तर, मलाई कम्पनीको लाइसेन्स दिइएन । मैले ०३४ मा निवेदन दिएको थिएँ । तत्कालीन समयमा अर्थमन्त्री भरतबहादुर प्रधान हुनुहुन्थ्यो । कुनै न कुनै बहानामा मेरो निवेदनउपर काम गरिएन । मैले १० वर्ष पर्खें । २०४४ मा आएर मलाई लाइसेन्स दिइयो । त्यतिवेला अर्थमन्त्री प्रकाशचन्द्र लोहनी हुनुहुन्थ्यो । उहाँले ६ महिना निगरानी गरेपछि मलाई लाइसेन्स दिइयो । र, मैले नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी स्थापना गरे ।
मिटर रिडरलाई अभिकर्ता बनाएँ
त्यतिवेला बिमा जानेबुझेका मानिस नै थिएनन् । तर, काम त गर्नु थियो । त्यसैले मैले मिटर रिडरलाई अभिकर्ता बनाएँ । किनभने उनीहरू घरघरमा पुग्थे । कसको के–के सम्पत्ति थियो त्यो पनि थाहा पाउँथे । त्यसैले उनीहरूलाई सिकाएर अभिकर्ता बनाएँ । त्यस्तै, गाउँबाट आएका भर्खरै पढ्दै गरेका विद्यार्थीलाई पनि अभिकर्ता बनाएँ । उनीहरूलाई पढ्ने, खाने खर्च पनि जुट्थ्यो । काम पनि हुन्थ्यो ।

छलफलमा बोलाउनै छाडे
मैले १० वर्षपछि मात्रै कम्पनीको लाइसेन्स पाए । तर, लगत्तै अन्य कम्पनीहरूलाई सहजै लाइसेन्स दिइयो । एकपटक अर्थमन्त्रालयमा बिमा कम्पनीको विषयमा छलफल भएको थियो । प्रायः यस्तो छलफलमा मलाई पनि बोलाइन्थ्यो । त्यो दिन नेपालमा बिमाको अवस्थाबारे छलफल थियो । अनि मैले कम्पनीलाई के–के आधारमा लाइसेन्स दिएको भनेर छलफलमा सोधे ? कम्पनी आवश्यक छ कि छैन भनेर अध्ययन गरियो ? होइन भने कुन आधारमा लाइसेन्स दिनुभयो भनेर प्रश्न राखेँ । त्यसपछिका छलफलमा मलाई बोलाउनै छाडियो ।
http://www.enayapatrika.com/2018/05/15/50360/

No comments:

Post a Comment