मुना कुँवर/नयाँ पत्रिका काठमाडौ १०जेठ
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ओभर दी काउन्टर (ओटिसी) बजारमा ६४ करोड ६७ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांकअनुसार सो अवधिमा २६ वटा कम्पनीको ६६ लाख ७२ हजार ९ सय ५६ कित्ता सेयर खरिदबिक्री भएको हो ।
पछिल्लो समय ओटिसी बजारमा सेयर खरिद बिक्रीको क्रम बढेको नेप्सेको ओटिसी शाखा अधिकृत भेषराज खनालले बताए । ‘यो वर्षदेखि रजिस्ट्रार कम्पनीले कडाइ गर्न थालेको छ । त्यसैले ओटिसी बजारमा कारोबार बढेको हुन सक्छ,’ उनले भने ।
माउन्टेन इनर्जीको १६ लाख कित्ता कारोबार
चालू आवमा नेप्सेको ओटिसी बजारमा सूचीकृत भएका कम्पनीमध्ये माउन्टेन इनर्जीको सबैभन्दा धेरै सेयर खरिदबिक्री भएको छ । नेप्सेको तथ्यांकअनुसार गत वैशाख ६ गते माउन्टेन इनर्जीको प्रतिकित्ता १ सय ३ रुपैयाँमा १६ लाख ३२ हजार ५४० वटा सेयर खरिदबिक्री भएको छ ।
फरेस्टीको सेयर मूल्य सबैभन्दा धेरै
ओटिसी बजारमा सूचीकृत भएका कम्पनीमध्ये काठमाडौं फरेस्टी कलेजको सेयर मूल्य सबैभन्दा अधिक रहेको छ । प्रतिकित्ता १ हजार रुपैयाँमा उक्त कलेजको सेयर खरिदबिक्री भएको नेप्सेको तथ्यांकले देखाएको छ । गत कात्तिकमा फरेस्टी कलेजको १ हजार ९२ र मंसिर १३ गते १९२ कित्ता सेयर खरिदबिक्री भएको तथ्यांक छ ।
नेप्से र बोर्डलाई १४÷१४ लाख शुल्क प्राप्त
चालू आवका ओटिसी बजारमा भएको कारोबारबाट नेप्सेलाई १४ लाख ८९ हजार रुपैयाँ शुल्क प्राप्त भएको छ । नेपाल धितोपत्र विनिमय बजार लिमिटेड ओटिसी बजार सञ्चालन विनियमावली २०६५ का अनुसार बजारमा सेयर कारोबार गर्दा बिक्रीकर्ताले कारोबार रकमको निश्चित प्रतिशत नेप्से र बोर्डलाई बुझाउनुपर्छ । २५ हजार रुपैयाँसम्मको कारोबार हुँदा बिक्रीकर्ताले नेप्सेलाई शून्य दशमलव २० प्रतिशत रकम बुझाउनुपर्छ । त्यस्तै, २५ हजार १ रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको कारोबार हुँदा शून्य दशमलव १८ प्रतिशत र सोभन्दा माथिको कारोबार भएमा शून्य दशमलव १५ प्रतिशत शुल्क बुझाउनुपर्छ । त्यस्तै, कारोबार गर्दा बिक्रीकर्ताले नेपाल धितोपत्र बोर्डलाईं शून्य दशमलव शून्य १५ प्रतिशत शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ । यसरी चालू आवको वैशाखसम्ममा बोर्डले पनि कारोबार शुल्कबापत १४ लाख रुपैयाँ शुल्क संकलन गरेको छ । त्यस्तै, सरकारले करिब ८ लाख रुपैयाँ पुँजीकर लाभ प्राप्त गरेको छ ।
७८ वटा कम्पनी सूचीकृत
हालसम्म नेप्सेको ओटिसी बजारमा ७८ वटा कम्पनी सूचीकृत भएका छन् । विभिन्न कारणले नेप्सेको दोस्रो बजारमा व्यापार हुन नसकेको पब्लिक कम्पनीहरूको सेयर खरिदबिक्री ओटिसी बजारमार्फत गर्नुपर्ने कानुनी व्यवस्था छ । यस्ता कम्पनीको धितोपत्र व्यापार गर्नका लागि सबैभन्दा पहिला कम्पनी नेप्सद्वारा सञ्चालित ओटिसी बजारमा दर्ता हुनुपर्छ । दर्ता भइसकेपछि उक्त कम्पनीका लगानीकर्ताले सेयर बिक्री वा खरिद गर्न सक्नेछन् । तर, यसअघिसम्म पब्लिक कम्पनीहरूको सेयर खरिदबिक्री तथा सेयर हस्तान्तरणको काम कम्पनी रजिस्ट्रार कार्यलयबाट हुँदै आएको थियो । यसरी कम्पनी रजिस्ट्रार कार्यलयबाट कारोबार हुँदा सरकारले करोडौँ राजस्वसमेत गुमाउँदै आएको थियो ।
ओटिसीमा कारोबार हुने धितोपत्रहरू
नेपाल धितोपत्र विनिमय बजार लिमिटेड ओटिसी बजार सञ्चालन विनियमावली २०६५ का अनुसार ओटिसी बजारमा धितोपत्र बजारले सूचीकरण खारेज गरेका कम्पनीका धितोपत्र खरिदबिक्री गर्न सकिनेछ । त्यस्तै, धितोपत्र बजारको सूचीकरणका लागि आवश्यक सर्तहरू पूरा गर्न नसकी सूचीकरण हुन नसकेका कम्पनीका धितोपत्र, सूचीकरण प्रक्रियामा नआएका अन्य पब्लिक कम्पनीका तथा सरकारी संस्थाले सार्वजनिक निष्कासन गरेका धितोपत्रहरू खरिदबिक्री गर्न सकिनेछ । तर, ओटिसी बजारमा कारोबार गराउने अभिप्रायले कुनै पनि सूचीकृत कम्पनीको खारेज गरिनेछैन ।
के हो ओटिसी बजार ?
सेयर बजार व्यापारमा ब्रोकरहरूजस्ता मूल्य प्रणाली संलग्नताविना सीधा एक्सचेन्जमार्फत व्यापार गर्न अपनाइएको प्रणालीलाई ओटिसी बजार भनिन्छ । यसरी हुने व्यापारलाई छोटकरीमा ओटिसी अर्थात् ओभर दी काउन्टर भनिन्छ । सामान्यतया नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेका कम्पनीको धितोपत्रहरूमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओटिसीमार्फत सेयर व्यापार गर्ने गरिन्छ । सर्वसाधारणमा सेयर जारी नगरेका कम्पनीले यो प्रणालीमा आएर सेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटिसीमार्फत व्यापार गर्न कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन ।
http://www.enayapatrika.com/2018/05/24/53287/
No comments:
Post a Comment