यातायात सिन्डिकेट खारेजीपछि मोटर बिमा संशोधनको तयारी
मुना कुँवर÷नयाँ पत्रिका
काठमाडौं, २५ वैशाख
यातायात क्षेत्रको सिन्डिकेट खारेजीसँगै सरकारले मोटर बिमामा पनि संशोधनको तयारी गरेको छ । यातायात समिति नरहने भएपछि व्यवसायीलाई सुरक्षित बनाउन सरकारले बिमा योजना संशोधनको तयारी गरेको हो । सरकारले मोटर बिमाअन्तर्गत उपचार खर्चबापतको रकम बढाउने र अन्य जोखिमबापतको भुक्तानीलाई असीमित बनाउने तयारी गरेको छ ।
बिमा योजनालाई परिमार्जन गर्ने विषयमा यातायात विभाग, बिमा समिति र अर्थ मन्त्रालयबीच पटक–पटक छलफल भइरहेको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए । ‘समितिसँग दुई–तीनपटक छलफल ग¥यौँ । दुर्घटना हुँदा उपचारबापतको रकम ५ लाख र अन्य जोखिमको भुक्तानी असीमित राख्ने प्रस्ताव गरेका छौँ,’ उनले भने, ‘यस विषयमा बिमा कम्पनीहरूसँग पनि छलफल गरी निर्णय हुन्छ ।’
यातायात विभागसँग मोटर बिमा योजना परिमार्जनको विषयमा छलफल भएको बिमा समितिका निमित्त कार्यकारी श्रीमान् कार्कीले बताए । ‘तर, बिमाशुल्क कति निर्धारण गर्ने, कस्ता जोखिम धारण गर्ने भन्ने विषयमा भने कुनै टुंगो लागेको छैन । हामी कम्पनीहरूसँग समेत छलफल गर्दै छौँ,’ उनले भने ।
हालको व्यवस्थाअनुसार दुर्घटनाबाट घाइतको उपचार गर्न कम्पनीले ३ लाख रुपैयाँसम्म भुक्तानी गर्छ । सो रकमभन्दा बढी खर्च भएमा यातायात समितिले नै भुक्तानी गर्दै आएको छ । तर, समिति नै नरहेपछि भुक्तानी कसले गर्ने भन्ने विषयमा अन्योल देखिएपछि सरकारले बिमा योजना परिमार्जन गरी व्यवसायीलाई सुरक्षित बनाउने तयारी गरेको हो ।
मेडिकल बिमा ५ लाख बनाउने योजना
मोटर बिमामा उपचार खर्चबापतको रकम ५ लाख बनाउने तयारी भएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईले बताए । अन्य जोखिमको भुक्तानी भने असीमित बनाउने तयारी भएको उनले बताए । उनका अनुसार मोटर बिमालाई नगदरहित बनाउने विषयमा पनि छलफल भएको छ । जसअनुसार कम्पनीसँग आबद्ध अस्पतालमा पुगेर घाइतेको उपचार गर्न सकिनेछ ।
कम्पनीमार्फत नै दाबी भुक्तानी
सवारीसाधन दुर्घटना हुँदा अबदेखि कम्पनीको नामबाट नै दाबी–भुक्तानी गर्ने व्यवस्था गरिने भएको छ । हालसम्म यातायात समितिमार्फत सवारीसाधनको बिमा गरिने र दाबी भुक्तानी पनि समितिकै माध्यमबाट भइरहेको थियो ।
कहिलेदेखि सुरु भयो मोटर बिमा
नेपालमा सवारीसाधन दुर्घटना हुँदा बन्द र हडताल हुने क्रम बढ्दै गएपछि सरकारले मोटर बिमाको तेस्रो पक्ष बिमालाई अनिवार्य गरेको हो । १ भदौ ०६६ देखि तेस्रो पक्ष बिमा अनिवार्य गरिएको थियो । सो व्यवस्थाअनुसार बिमा गरिएको सवारीसाधनका कारण तेस्रो पक्षलाई क्षति पुगेको अवस्थामा कम्पनीले दाबी–भुक्तानी गथ्र्यो । १ साउन ०७३ देखि लागू हुने गरी सरकारले यात्रु पक्षको बिमालाई पनि अनिवार्य गरेको छ । जसअनुसार व्यवसायीले सवारीसाधनको सिटका आधारमा बिमा गर्नुपर्नेछ । त्यस्तै, चालक र सहचालकको पनि बिमा गर्नुपर्नेछ ।
भुक्तानी गर्ने अवस्थाहरू
बिमा गरिएको सवारीसाधनले तेस्रो पक्षलाई क्षति पु¥याएको अवस्थामा बिमा कम्पनीले भुक्तानी गर्छ । तेस्रो पक्ष, यात्रु पक्ष, चालक र सहचालकको मृत्युको भएको अवस्थामा कम्पनीले ५–५ लाख रुपैयाँ भुक्तानी गर्छ । घाइते भई उपचार गर्नुपरेमा ३ लाख रुपैयाँ भुक्तानी गर्ने व्यवस्था छ ।
तेस्रो पक्ष बिमालाई कम्पनीहरूले ३ वर्गमा विभाजन गरेका छन् । मोटरसाइकल दुर्घटनाबाट भएको व्यक्तिगत तथा सामानको क्षति भएमा कम्पनीहरूले अधिकतम २५–२५ लाख भुक्तानी गर्छन् । त्यस्तै, निजी सवारीसाधनले व्यक्ति वा सामानमा क्षति पु¥याएमा अधिकतम ८०–८० लाख भुक्तानी गर्छन् । व्यावसायिक सवारीसाधन दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षतिका लागि भने अधिकतम ५०–५० लाख भुक्तानी गर्ने व्यवस्था छ ।
तेस्रो पक्ष अनिवार्य
सुरुवातमा तेस्रो पक्षमा मृत्यु हुँदा ५ लाख रुपैयाँ र उपचार खर्चबापत १ लाख रुपैयाँ तोकिएको थियो । त्यस्तै, यात्रु पक्षको मृत्यु भएमा १ लाख रुपैयाँको व्यवस्था गरिएको थियो । यद्यपि बिमा अनिवार्य भने थिएन । तसर्थ सवारी दुर्घटनामा मृत्यु भएका यात्रुलाई पनि तेस्रो पक्ष बनाई दाबी गर्ने क्रम बढ्न थाल्यो । कम्पनीहरूमा बारम्बार यस्ता झुठा दाबी बढ्न थालेपछि सरकारले १ साउन ०७३ साउन देखि लागू हुने गरी यात्रु पक्ष बिमांक रकम बढाएर ५ लाख बनाएको छ । त्यस्तै, उपचारबापतको रकम बढाएर ३ लाख रुपैयाँ बनाएको छ । सवारी दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको अवस्थमा पनि ५–५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था छ । साथै, यात्रु, चालक र सहचालकको बिमा पनि अनिवार्य गरेको छ ।
मोटर बिमा भनेको के हो ?
मोटरसाइकल, कार, जिप, ट्रक, बस ट्र्याक्टरलगायत यान्त्रिक शक्तिद्वारा सडकमा गुड्ने सवारीसाधनको बिमा नै मोटर बिमा हो । यान्त्रिक शक्तिले चल्ने भए पनि रेल र स्टिमर मोटर बिमाको परिधिमा पर्दैनन् । मोटर बिमालाई तेस्रो पक्ष र व्यापक बिमामा विभाजन गरिएको छ ।
तेस्रो पक्ष बिमा
आफ्नो मोटरले अरूको मोटर, सम्पत्ति, बटुवा, पन्छी, चौपाया आदिमा हानि पु¥याई क्षतिपूर्ति गरिदिनुपर्ने दायित्व अवस्थाबाट जोगिन यो बिमा गरिन्छ । अनिवार्य तेस्रो पक्षप्रतिको दायित्व बिमासँग तोकिएको थप बिमाशुल्क भुक्तानी गरी अन्य जोखिमको पनि सुरक्षण गर्न सकिन्छ । जस्तै, बिमा गरिएको मोटरको चोरी, अग्नि बिमा, यात्रुप्रतिको दायित्व, सवारी चालक तथा अन्य कर्मचारीको पनि जोखिम सुरक्षण गर्न सकिन्छ ।
व्यापक (प्याकेज) बिमा ः
दुर्घटनाका कारण आफ्नो मोटरमा हुने क्षति, दुर्घटनास्थलबाट मोटर तान्ने खर्च, आफ्नो मोटरले अरूको मोटर, सम्पत्ति, बटुवा वा पन्छी, चौपाया आदिलाई क्षति पु¥याउने अवस्थाबाट जोगिन यो बिमा गरिन्छ । व्यापक बिमासँग तोकिएको थप बिमाशुल्क भुक्तानी गरेर अन्य जोखिमको सुरक्षण गर्न सकिन्छ । जस्तै, चालक, सहचालक, कर्मचरी, उपचार खर्च, मृत्यु, अंगभंग, यात्रुको समेत जोखिम रक्षावरण गर्न सकिन्छ ।
http://www.enayapatrika.com/2018/05/09/48077/
No comments:
Post a Comment