Thursday, May 17, 2018

सेवाको व्यापार घाटा कम गर्न पुनर्बिमालाई बलियो बनाऔँ : अर्थमन्त्री

याँ पत्रिका काठमाडौं, ३ जेठ
अर्थमन्त्री डा.युवराज खतिवडाले बिमा सेवाको व्यापार घाटालाई कम गर्न नेपालमा पुनर्बिमा कम्पनीलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपालमा बिमा सेवा आयातमा वृद्धि भएको बताउँदै उनले बिमा सेवा निर्यातमुखी बनाउन नेपालकै पुनर्बिमा कम्पनीलाई बलियो बनाउनुपर्ने बताएका हुन् ।
मंगलबार बिमा समितिको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.खतिवडाले नेपालको पर्यटन, यातायात, शिक्षा, स्वास्थ्यलगातय क्षेत्रमा व्यापार घाटा बढी रहेको अवस्थामा वित्तीय सेवा मात्रै भए पनि नाफामा लैजान सके राम्रो हुने बताए । ‘यसतर्फ बिमा समितिले काम गर्न सकोस्,’ उनले भने ।

बैंकिङ प्रणालीको जस्तो समस्या नदोहोरियोस्
अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको बिमा क्षेत्रमा बैंकिङ प्रणालीको जस्तो घटना हुन नदिन सचेत गराएका छन् । एकैपटक धेरै वित्तीय संस्थालाई लाइसेन्स दिँदा जबर्जस्ती मर्जरको नीति अपनाउनुपरेको बताउँदै बिमा क्षेत्रमा यस्तो घटना नदोरियोस् भन्नेप्रति समितिलाई सजग गराएका हुन् ।
यसका लागि केही न केही विकेन्द्रीकरणको उपाय अपनाउनसमेत उनले सुझाएका छन् । ‘धेरै संस्था आउँदा प्रतिस्पर्धा हुन्छ, बिमाको दायरा बढ्छ, सेवा विस्तार हुन्छ, पोलिसीमा प्रतिस्पर्धा हुन्छ भन्नु गलत छ । यसको प्रमाण बंैकिङ क्षेत्रको लाइसेन्स बाँडेपछि देख्यौँ,’ उनले भने, ‘जसै गरे पनि कम्पनीहरू केन्द्रीकृत नै हुँदा रहेछन् । त्यसैले केही न केही विकेन्द्रीकृत उपाय अपनाउनुपर्छ । अन्यथा, बैंकिङ प्रणालीकै समस्या दोहोरिन्छ ।’
क्रसबोर्डर बिमा रोक्नुपर्ने
नेपालमा बिमा व्यवसाय सुरु भएको ७ दशक बितिसक्दा पनि क्रसबोर्डर बिमा रोकिएको छैन । अझै पनि सीमावर्ती क्षेत्रमा विदेशी बिमा कम्पनी सक्रिय भएको अर्थमन्त्री डा.खतिवडाले बताए । ‘नेपाली कम्पनी त्यहाँ जान नसक्ने, विदेशी कम्पनी घरघरमा पुग्ने,’ उनले भने । आगामी एक वर्षभित्र योजना बनाएर यस्तो अवस्थाको अन्त्य गर्न अर्थमन्त्री डा.खतिवडाले समितिलाई निर्देशन दिएका छन् । साथै, बिमा कम्पनीबाहेकका कुनै पनि निकायले बिमाजस्तै कार्यक्रम सञ्चालन गरे कारबाही गरिने उनले बताए ।
लघुबिमाको हिस्सा १० प्रतिशत हुनुपर्ने
अर्थमन्त्री डा. खतिवडाले बिमा कम्पनीले गरेको व्यवसायमध्ये लुघबिमाको हिस्सा १० प्रतिशत पु¥याउनुपर्ने बताएका छन् । ‘अधिकतम ४ वर्षभित्रमा बिमाको पहुँच २५ प्रतिशत पु¥याउनुहोस् । जसमा लघुबिमाको हिस्सा १० प्रतिशत होस्,’ उनले भने । बिमाको पहुँच विस्तारका लागि सरकार बिमाशुल्कमा छुट दिइरहने, बिमा कम्पनीहरू भने ध्यान नदिने र समितिले दबाब दिन नसक्ने प्रणालीको अन्त्य हुनुपर्ने उनले बताए ।
बजारमा हस्तक्षेप गर्न तयार छौँ
अर्थमन्त्री डा.युवराज खतिवडाले नियामक निकायले आवश्यक परे बजारमा हस्तक्षेप गर्नसमेत तयार भएको बताएका छन् । ‘बजारले नै स्वतस्फूर्त रूपले हाम्रो आवश्यकता महसुस गरी लघुबिमालाई अगाडि बढायो भने हामीलाई केही भन्नु छैन । तर, हामी आवश्यक पर्दा बजारमा हस्तक्षेप गर्न तयार छौँ । हामी रमिते बनेर बस्दैनौँ । आमजनतलाई बाली र सुरक्षित जीवन बिमा गर्ने कुरामा हामी कुनै पनि कदम उठाउन सक्छौँ,’ उनले भने, ‘बजारलाई हामी स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ । सहयोग गछौँ । अलि बढी फोर्सफुली गर्छौं । त्यसरी पनि नभए त्योभन्दा पछाडिको कदममा पनि जानुपर्ने हुन्छ ।’
अभिकर्तालाई अधिकतम परिचालन गर्नुपर्छ
नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले बिमा व्यवसाय वृद्धिका लागि अभिकर्तालाई अधिकतम परिचालन गर्नुपर्ने बताए । बिमामा अभिकर्ताको भूमिका महत्वपूर्ण हुने भएकाले जतिसक्दो अभिकर्तालाई प्रेरित गरी परिचालन गर्नुपर्ने उनले बताएका हुन् । मंगलबार बिमा समितिको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै गभर्नर नेपालले बिमाका लागि घरघरबाट सोच आउनुपर्ने बताए ।
तेस्रो पक्ष बिमालाई नगदरहित बनाउने योजना
बिमा समितिले तेस्रो पक्ष बिमालाई नगदरहित बनाउने तयारी गरेको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले बताए । यातायातको सिन्डिकेट अन्त्य भएपछि तेस्रो पक्ष भुक्तानीलाई सरल बनाउन नगदरहित बनाउने तयारी गरिएको उनले बताए । त्यस्तै, विभिन्न निकायद्वारा सञ्चालन गरिएका बिमा योजनालाई समितिकै माताहत ल्याउने तयारी छ ।
http://www.enayapatrika.com/2018/05/17/51142/

No comments:

Post a Comment