Monday, April 30, 2018

नयाँ बिमा कम्पनी आउँदा कसैको भाग खोसिएको छैन, बरु बढ्दै छ

नयाँ पत्रिका काठमाडौं, १७ वैशाख | 
नेपालमा बिमाको पहुँच विस्तार गर्ने भन्दै बिमा समितिले हालै ९ वटा जीवन बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । यससँगै नेपालमा जीवन बिमा कम्पनीको संख्या १८ पुगेको छ । तर, सबै बिमा कम्पनी उस्तै खालका बिमा योजना र क्षेत्रहरूमा केन्द्रित हुँदा अस्वस्थ्य प्रतिस्पर्धा बढ्न सक्ने विज्ञहरूको अनुमान छ । तर, नेपाल लाइफ इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झा भने नयाँ कम्पनीहरूको प्रवेशले नेपालको बिमा बजारमा नवीनताको सिर्जना हुने बताउँछन् ।
नेपालमा बिमा कम्पनीहरू पुग्नुपर्ने धेरै क्षेत्र बाँकी छन् । त्यसैले अबका दिनमा कम्पनीले उक्त क्षेत्रहरूको खोजी गर्न सक्ने उनी बताउँछन् । नयाँ कम्पनीहरूको प्रवेशपछि पुराना कम्पनीको प्रस्तुति कस्तो हुनुपर्छ, बिमा कम्पनीहरू कस्तो क्षेत्रमा लगानी गर्न चाहन्छन्, मानव संसाधन विकासमा कम्पनीहरूले के गर्दै छन् भन्नेजस्ता विषयमा झासँग नयाँ पत्रिकाका जनार्दन बराल र मुना कुँवरले गरेको कुराकानीको सार :

नेपालको बिमा क्षेत्रमा भर्खरै नयाँ कम्पनी थपिएका छन् । नयाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न नेपाल लाइफले के कस्ता नवीनतम योजना बनाएको छ ?
नेपालमा बिमा व्यवसायको सुरुवात राष्ट्रिय बिमा संस्थानले ग-यो । हुन त संस्थान स्थापना हुनुअघि पनि नेपालमा बिमा व्यवसाय भइरहेको थियो । त्यतिवेला क्रस बोर्डर बिमा हुन्थ्यो, अर्थात् भारतीय बिमा कम्पनीहरूमा नेपालीले बिमा गर्थे ।
यसले गर्दा नेपालीमा बिमासम्बन्धी धेरै–थोरै जानकारी भयो । २०४६ पछि नेपालमा अन्य बिमा कम्पनी पनि स्थापना भए । तर, पनि नेपालमा क्रस बोर्डर बिमा भने रोकिएन । विगत ७–८ वर्षअगाडि मात्रै पनि ठूलो रकमको क्रस बिमा बोर्डर भएको देखिन्छ ।
यसको मुख्य कारण भनेको मानिसहरू पहिलेदेखि गरिँदै आएको कम्पनीसँगको सम्बन्धलाई तुरुन्तै परिवर्तन गर्न चाहँदैनथे । अर्को कारण भनेको नेपालमा स्थापना भएका कम्पनीले मानिसलाई आफ्नो कम्पनीप्रति आकर्षित गर्न सक्षम नहुनु हो ।
तर, विगत ३–४ वर्षदेखि नेपालको बिमा क्षेत्रको अवस्थालाई हेर्ने हो भने उल्लेखनीय वृद्धि भएको पाउन सकिन्छ । किनभने अब मानिसहरू बुझेर बिमा गर्न थालेका छन् । मानिसले बिमा कम्पनी र योजना तुलना गरेर बिमा योजना खरिद गर्न थालेका छन् । त्यसैले अब पालो भनेको नवीनताको हो । अब कम्पनीहरूले आफूले जारी गर्ने प्रडक्टमा नयाँपन ल्याउने वेला भएको छ ।
नेपाली कम्पनीले कत्तिको नवीनता ल्याएका छन् त ?
साधारणतया बिमाको चक्र १५ वर्षको हुन्छ । अर्थात् उक्त अवधिमा एउटा बिमितको बिमा योजना परिपक्क हुन्छ । हामी पनि अब त्यो चरणमा पुगेका छाैँ । अब बिमितसँग हाम्रो दोस्रो चरणमा जोडिने वेला भएको छ । यदि यो वेला कुनै पनि बिमितले आफूले खरिद गरेको योजनाबाट आफू सन्तुष्ट रहेको बताउँछ भने त्यो नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो । अब उसले सोधेर बुझेर नै बिमा योजना खरिद गर्छ । अहिले त्यो समय आएको छ । त्यसैले कम्पनीहरूको व्यवसायमा वृद्धि भएको हो ।
अबको समयमा हामीले बिमा योजना कपी गर्ने होइन, हाम्रो मुलुकको परिवेशअनुसारको योजना निर्माण गर्ने समय हो । अब हामीले बिमांकीलाई तपाईंसँग कस्तो बिमा योजना छ त्यो हामीलाई डिजाइन गरी दिनुहोस् भन्ने होइन, म यस्तो खालको योजना बनाउन चाहन्छु, डिजाइन गरी दिनुहोस् भन्ने वेला भएको छ ।
छिमेकी मुलुकको योजना कपी गरेर चलाउने समय सकिएको छ । त्यसैले अब नेपालको बिमा क्षेत्र नवीनतम युगमा प्रवेश गरेको छ । यस समयमा सबै कम्पनीले नयाँ–नयाँ र नेपाली परिवेशअनुसारको बिमा योजना सञ्चालनमा ल्याउनेछन् । हामी पनि त्यसैको तयारीमा छौँ ।
धेरै मानिसलाई लाग्छ कि नयाँ कम्पनी थपिएपछि पुराना कम्पनीको व्यवसाय घट्ने भयो भनेर । तर, यो भ्रम मात्रै हो । नयाँ कम्पनी आएपछि अझै व्यवसाय बढेको छ । सबै कम्पनीले उत्तिकै रूपमा व्यवसाय वृद्धि गरिरहेका छन् । किनभने नेपालमा बिमा बजार धेरै खाली छ ।
नेपालमा बिमाको बजार खाली छ भन्नुभयो । तर, बिमा समितिको तथ्यांकले अधिकांश कम्पनी त सहरकेन्द्रित भएको देखिन्छ । जहाँ सजिलो छ त्यहाँ मात्रै व्यवसाय गरेको पाइन्छ । नयाँ आउने कम्पनीले पनि व्यवसायका लागि सुगम ठाउँ नै रोज्ने हो भने त केकको आकार (बिमा बजारको आकार) कसरी बढ्छ होला र?
वास्तवमा बिमा कम्पनीको उपस्थिति सबैतिर छ । तर, नेपालको एकतिहाइ जनसंख्या विदेशमा, एकतिहाइ काठमाडौंमा र अन्य मानिस मुलुकको विभिन्न स्थानमा छरिएर बसेका छन् । त्यति मात्रै होइन, नेपालको केही जिल्लामा पहिले नै जनसंख्या कम छ ।
कुनै जिल्लाका मानिस पहिलेदेखि नै छिमेकी मुलुकमा गई बसेका छन् । त्यसैले त्यस्तो क्षेत्रमा बिमा अवस्था कमजोर देखिनु स्वाभाविक नै हो । अन्यथा कर्णालीमा नेपाल लाइफले धेरै अगाडिदेखि काम थालेको हो । हुम्लामा पनि राम्रो व्यवसाय गरिरहेका छौँ । तर, यसो भन्दैमा काठमाडौं र हुम्लाको बिमाशुल्कलाई दाँजेर हेर्न भने मिल्दैन ।
अर्को कुरा दिनप्रतिदिन नेपालमा जनसंख्या वृद्धि हुँदै गएको छ । त्योअनुसार कम्पनीहरूको वृद्धि हुन सकेको छैन । अर्थात् नयाँ कम्पनीहरूले पुरानोको केक बाँड्ने होइन, अझैसम्म नदेखेको केक धेरै छ, त्यो खोज्ने हो । कसैले कसैको भाग खोसेको छैन, किनभने केकको आकार अत्यन्तै ठूलो बनाउन सक्ने अवस्था छ ।
सबै कम्पनीले आफ्नो लक्ष्य निर्माण गर्दा नेपालका सबै नागरिकको बिमा गराउने भनेर लेखेका हुन्छन् । अर्थात् पहिलो काम त बिमा गराउने हो नि त । नाफा त पछि मात्रै आउँछ । त्यसैले बिमा समितिको साथ लिएर सबैको बिमा गर्ने वातावरणको खोजी गरौँ । तर, बिमा गराउने काम मात्रै पनि महत्वपूर्ण होइन । त्यसको राम्रो व्यवस्था गर्नु हाम्रो दायित्व हो ।
हामीले बिमितलाई राम्रो प्रतिफल दिनुपर्छ । आज कम्पनीहरूले अभिकर्ता र कर्मचारीलाई दोब्बर सुविधा दिएर लोभ्याइरहेका छन् । तर, खोइ कम्पनीहरूले बिमितले पाउने प्रतिफल दोब्बर बनाउनेबारेमा सोचेको ? जब हामीले बिमितलाई राम्रो प्रतिफल र सेवा दिन्छौँ व्यवसाय स्वस्फूर्त रूपमा बढ्छ ।
तर, नयाँ कम्पनीले पुरानै कम्पनीका कर्मचारी र अभिकर्ता तानेर लगेका छन् । यसले कसरी बिमाको नयाँ बजार सिर्जना हुन सक्छ र ?
नेपालमा बिमासम्बन्धी अनुभवी कर्मचारीको अभाव छ । यदि नयाँ कम्पनीले पुरानै कम्पनीका कर्मचारीलाई ताने भने पनि त ९ वटा कम्पनीका कर्मचारी १८ वटा कम्पनीका लागि पर्याप्त त हुँदैनन् । त्यसैले नयाँ कम्पनीले नयाँ टिम बनाउनैपर्छ ।

हामी सरकारी बन्डमा लगानी गर्न चाहन्छौँ, जसमार्फत 
सरकारले दीर्घकालीन पूर्वाधार विकासमा लगानी गर्न सकोस् । बिमा कम्पनीको दायित्व लामो अवधिको हुन्छ । त्यसैले सरकारले विशेष गरी जीवन बिमा कम्पनीलाई लक्षित गरी बन्ड जारी गर्नुप¥यो । यसमा अरूलाई प्रतिस्पर्धी बनाउनु भएन । त्यसो भयो भने यता पूर्वाधार विकास पनि हुने भयो र हामीले पनि लामो अवधिका लागि सुरक्षित र भरपरर्दो लगानी गर्न पनि पाउने भयौँ ।

त्यसैले सबैभन्दा राम्रो विकल्प भनेको मिश्रित समूह बनाउनु हो । नयाँ र पुरानो कर्मचारीसहितको टिम बनाउँदा राम्रो हुन्छ । आउँदा दिनमा कर्मचारी रिटायर्ड पनि त हुँदै जान्छन् । त्यसकारण कम्पनीहरूले चाहेर पनि नचाहेर भए पनि नयाँ टिम त बनाउनैपर्छ । त्यसैले जसले छिटो यो कुरा बुझेर काम गर्छ त्यही कम्पनी अगाडि बढ्छ ।
मानव संसाधन विकासमा कम्पनीहरूले कस्तो काम गर्दै छन् त ?
नेपालमा बिमासम्बन्धी दक्ष जनशक्ति उत्पादनका लागि हामीले पहिलेदेखि नै बिमा तालिम केन्द्रको परिकल्पना गरेका थियौँ । तर, हालसम्म यसले मूर्तरूप पाउन सकेको थिएन । अहिले आएर समितिले यस विषयमा पहल गरेको छ । समिति र कम्पनीहरू मिलेर एउटा तालिमकेन्द्र स्थापना गर्ने निर्णयमा पुगेका छौँ । यसका लागि एउटा समिति पनि निर्माण भएको छ । आगामी दिनमा छिटैै यसले काम पनि सुरु गर्नेछ । यसले विशुद्ध रूपमा बिमासम्बन्धी तालिम मात्रै प्रदान गर्नेछ ।
जीवन बिमा कम्पनीहरूको जीवन बिमा कोषमा ठूलो रकम थुप्रिएको छ । लगानीका लागि समितिले विभिन्न क्षेत्र पनि तोकिदिएको छ । तर, कम्पनीहरू बैंकमा निक्षेप राखेर ब्याज खाने सजिलो बाटोमा मात्रै पल्केको आरोप छ नि ?
हामी प्रतिफल कति आउँछ भन्दा पनि कोष कसरी सुरक्षित हुन्छ भनेर सोच्छौँ । हामीले आम नागरिकको जोखिम व्यवस्थापन गर्न बिमा गराउँछौँ भने हामी आफैँले जोखिमपूर्ण क्षेत्रमा लगानी गर्न भने सक्दैनौँ । हामीले जोखिमपूर्ण क्षेत्रमा लगानी ग-यौँ भने लाखौँ जनताले दुःख पाउँछन् । त्यसले हामी सरकारी बन्डमा लगानी गर्न चाहन्छौँ, जसमार्फत सरकारले दीर्घकालीन पूर्वाधार विकासमा लगानी गर्न सकोस् ।
बिमा कम्पनीको दायित्व लामो अवधिको हुन्छ । त्यसैले सरकारले विशेष गरी जीवन बिमा कम्पनीलाई लक्षित गरी बन्ड जारी गर्नुप-यो । यसमा अरुलाई प्रतिस्पर्धी बनाउनु भएन । त्यसो भयो भने यता पूर्वाधार विकास पनि हुने भयो र हामीले पनि लामो अवधिका लागि सुरक्षित र भरपर्दो लगानी गर्न पनि पाउने भयौँ ।
वित्तीय क्षेत्रको तुलनामा बिमा क्षेत्रको संस्थागत सुशासन कमजोर रहेको पाइन्छ । सुशासनलाई बलियो बनाउन के गर्नुपर्छ ?
सुशासन भनेको स्वनियमन हो । कसैले जबर्जस्ती गरेर मात्रै सुशासन कायम हुँदैन । जबसम्म मानिस स्वनियममा रहँदैन तबसम्म उसले कमी कमजोरी खोजिरहन्छ र त्यसको दुरुपयोग गर्छ । त्यसैले पहिला कम्पनी आफैँले आफ्नो नियम बनाउनुपर्छ । तब मात्र सुशासन बलियो हुन्छ । स्वनियम नरहने मानिसलाई राम्रो काम गरेर सफल हुन सकिन्छ भन्ने नै विश्वास हुँदैन ।
त्यसैल ऊ नराम्रो काम गर्न थाल्छ । हाम्रोजस्तो अविकसित मुलुकमा यस्तो खालको अभ्यास धेरै हुन्छ । यसलाई दुईवटा तरिकाले निराकरण गर्न सकिन्छ । एउटा भनेको तालिम र अर्को भनेको नियमन हो । यो दुईवटा तरिका अपनाउँदा उत्कृष्ट अभ्यासको अनुसरण गर्नुपर्छ । पछिल्लो समयमा समितिले कार्यान्वयन गरेका निर्देशनहरू उत्कृष्ट छन् । तर, कहिलेकाहीँ कर्मचारीको अभाव तथा कम्पनीमा सिस्टम नहुँदा सुशासनमा समस्या देखिन्छ ।
जस्तै, बिमा क्षेत्रका लागि बिमांकी अति महत्वपूर्ण हुन्छ । तर, नेपालमा एउटा पनि बिमांकी छैन । जसका कारण हामी बिमांकीय मूल्यांकनका लागि अरू मुलुकमा भर पर्नुपर्छ । केही समयअघिसम्म हामीले प्रत्येक तीन÷तीन वर्षमा मात्रै मूल्यांकन गराउँथ्यौँ । तीन वर्षमा मूल्यांकन गराउँदा त्यसको परिणाम ६ वर्षमा आउँथ्यो ।
अर्थात्, कम्पनीका सरोकारवाला व्यक्तिले ६ वर्षमा मात्रै कम्पनीको अवस्था थाहा पाउँथे । अर्थात्, पारदर्शिता हुँदैनथ्यो । यसले सुशासन समस्या ल्याउँथ्यो । तर, अहिले हामीले प्रत्येक वर्षमा बिमांकीय मूल्यांकन गर्न थालेका छौँ । हुन सक्छ भोलिका दिनमा प्रत्येक त्रैमासिक पनि मूल्यांकन गर्न सकिने व्यवस्था होला । त्यतिवेला हामीले पारदर्शिता कायम गर्न सक्नेछौँ । अर्थात् समयअनुसार विकसित हुँदै जाने व्यवस्थाले पनि सुशासनलाई प्रभाव पारेको हुन्छ ।
वैदेशिक रोजगारी म्यादी जीवन बिमामा नक्कली बिमा जारी भएको घटना सार्वजनिक भएको छ । यसलाई नियन्त्रण गर्न तपाईंहरू के गर्दै हुनुहुन्छ ?
वैदेशिक रोजगारमा रहरले कोही पनि जाँदैन । मानिसले ऋण लिएर दुःख गर्न विदेश जान्छन् । यस्तो कामदारलाई पनि मानिसले ठग्न छाड्दैनन् । यो दुःखद कुरा हो । गत वर्षदेखि वैदेशिक रोजगार म्यादी जीवन बिमा अनलाइनबाट नै हुन थालेको छ । त्यसपछि सायद यस्ता घटना कम भएको हुन सक्छ ।
तर पनि यस्ताखालका गलत क्रियाकलाप हाम्रो कम्पनीमा नहोस् भनेर हामी चनाखो भएका छौँ । केही समयअगाडि वैदेशिक रोजगार बिमालाई नेपाल लाइफ नै नेतृत्व गरेको थियो, तर अहिले हामी बिस्तारै यो व्यवसायलाई कम गर्दै लगेका छौँ । हामी संघीय संरचनाअनुसार कम्पनीको व्यवसायलाई विस्तार गर्नमा केन्द्रित छौँ । हामी व्यवसायभन्दा पनि सेवालाई बढी प्राथमिकता दिन्छौँ ।
बिमा गर्नु मात्रै ठूलो कुरा होइन, बिमितलाई सेवा दिनु पहिलो दायित्व हो । वैदेशिक रोजगार बिमालाई एउटै ढोकाबाट वितरण गर्ने प्रणालीको विकास गर्न सके यस्ताखालका गतिविधि रोक्न सकिन्छ जस्तो लाग्छ । कम्पनी, समिति र वैदेशिक रोजगार विभागको सहकार्यमा यस्तोखालको संरचनाको विकास गर्नु आवश्यक छ ।
समितिले हालसम्म बैंकासुरेन्सको व्यवस्था गरेको छैन । हाल बैंक र बिमा कम्पनीबीच संस्थागत अभिकर्ता सम्झौता मात्रै हुने गरेको छ, तर बजारीकरण भने किन बैंकासुरेन्सको गरिन्छ ?
बिमा समितिको नियमअनुसार बैंकलाई संस्थागत अभिकर्ताका रूपमा नियुक्त गर्न मिल्छ । हामीले पनि संस्थागत अभिकर्ताका रूपमा मात्रै नियुक्त गरेका छाैँ । समितिले बैंकासुरेन्सको कहीँकतै व्यवस्था गरेको छैन । तर, बिमा र बैंकबीचको सहकार्य भएकै कारण कम्पनीहरूले बैंकासुरेन्सको नाम राखेको हुन सक्छ ।
बिमा समितिले परिमार्जन गर्न लागेको संस्थागत सुशासनमा बिमा कम्पनीका प्रमुख कार्यकारीको लागि कुलिङ पिरियडको व्यवस्था गरिएको छ । बिमा क्षेत्रमा यो आवश्यक छ कि छैन ?
विश्वका बिमा तथा वित्तीय क्षेत्रमा यो अभ्यास धेरैअघिदेखि नै थियो । समितिले नै यो व्यवस्था गर्नुभन्दा पनि सम्बन्धित व्यक्तिले यसलाई स्वनियमनअनुसार पालन गर्नुपर्ने हो । यद्यपि समितिले नै यो व्यवस्था गर्छ भने यसलाई झनै स्विकार्नुपर्छ । कुलिङ पिरियडको वैज्ञानिक कारण छ । समितिले यस्ताखालका अन्य विश्वका उत्कृष्ट अभ्यासलाई अनुसरण गर्नुपर्छ । विश्वमा नेपालको सुशासन अब्बल भएको देखाउने हो भने सरोकारवालाहरूले यसलाई स्वीकार गर्नुपर्छ ।
समितिले बिमाको दायरा विस्तार गर्न बैंकासुरेन्स निर्देशिका ल्याउने तयारी गरेको छ । बैंकासुरेन्स लागू भएमा धेरै अभिकर्ता विस्थापित हुने सरोकारवालाहरूले अड्कल गरेका छन् । त्यसैले अभिकर्ताहरू पनि यसको विरोधमा छन् । नेपालको परिप्रेक्ष्यमा बैंकासुरेन्स आवश्यक छ कि छैन ?
हामी अहिले पूर्ण रूपमा व्यक्तिगत अभिकर्तामा केन्द्रित छौँ । कुनै पनि नयाँ कुराको प्रयोग गर्दा त्यसलाई सन्तुलित बनाइनुपर्छ । यस्ता नयाँ कुराको निर्णय गर्नुअघि सरोकारवाला बसेर छलफल गर्नु आवश्यक छ ।
बिमा कम्पनीहरूले अभिकर्ता फकाउन जथाभावी कर्जा दिने गरेको पनि सुनिन्छ नि ?
नेपालमा अधिकांश अभिकर्ता पार्टटाइमका रूपमा काम गर्छन् । जीवन बिमा व्यवसाय पूर्ण रूपमा अभिकर्तामा आधारित हुने भए पनि नेपालमा अभिकर्ता पूर्ण व्यावसायिक रूपमा काम गर्न सक्ने वातावरण बनेको छैन । नेपालको परिप्रेक्ष्यमा मानिसलाई बिमाको आवश्यकता र महत्व बुझाएर बिमा गराउनु कम चुनौतीपूर्ण पनि छैन ।
यस्तोखालको काम गर्ने अभिकर्तालाई उसले पाउने कमिसनका आधारमा कर्जा पाउँछ भने त्यसमा कुनै पनि आपत्ति छैन । अभिकर्ताको प्रस्तुतीकरणको आधारमा नै कर्जा दिन सकिन्छ । तर, एक कम्पनीबाट अर्को कम्पनीमा मुभमेन्ट गर्दा अभिकर्ता मात्र नभएर कर्मचारीहरूले कर्जा भुक्तान नगरेकोे सुनिएको छ । जुन गलत हो । यसका लागि हामी आफैँले नियम बनाउनुपर्छ । आवश्यक कारबाहीको व्यवस्था पनि गर्न सकिन्छ ।
त्यस्तै, कुनै पनि कम्पनीले अभिकर्तालाई कर्जा दिँदा त्यो उठ्छ कि उठ्दैन भन्ने कुराको निश्चितता हुनुपर्छ । कर्जा उठ्ने आधारविना नै वितरण गरिएका कर्जाले कम्पनीलाई नै असुरक्षित बनाउँछ । यस्तोखालको अस्वस्थ प्रतिस्पर्धा गर्नुहुँदैन । कम्पनीको फन्ड भनेको जनताको रकम हो । जसको उचित व्यवस्थापन गर्नुपर्छ ।
लघुबिमामा कम्पनीहरू त्यति चासो देखाएको देखिन्न नि । किन ?
लघुबिमा जारी गर्नका लागि कि त हामीले स्थानीय संस्थाहरूसँग सहकार्य गर्नुपर्छ । या त हामी आफैँ स्थानीय क्षेत्रमा जानुपर्छ । जुन कम्पनीहरूका लागि अलि कठिन छ । स्थानीय संस्थाहरूले पनि बिमाजस्ता योजना बिक्री गर्दै आएका छन् । तर, उनीहरूले कर्जाको सुरक्षणका लागि मात्रै बिमा गर्दै आएका छन् । व्यक्तिको भने बिमा गरेका छैनन् ।
कर्जा बिमा गर्दा कर्जा त सुरक्षित हुन्छ, तर त्यो कर्जा लिएर काम गर्ने व्यक्तिको सुरक्षाका लागि भने सोचिएको छैन । त्यसैले यसमा कम्पनीहरूले कसरी काम गर्न सक्छन् भन्ने विषयमा पनि ठूलो बहस भएको छ । हामीले पनि न्यून आय भएका व्यक्तिलाई केन्द्रमा राखी दुईवटा लघुबिमा योजना बनाउँदै छौँ । निकट भविष्यमा हामी यसको बजारीकरण पनि गर्छौं ।
http://www.enayapatrika.com/2018/04/30/45068/

No comments:

Post a Comment