Wednesday, April 25, 2018

भूकम्पले दिएको अनुभव

दीपप्रकाश पाण्डे काठमाडौं, १२ वैशाख | बैशाख १२, २०७५ 
०७२ सालको भूकम्पले नेपाल र नेपालीलाई विक्षिप्त बनायो । उक्त दुःखद घटनापछिको समयलाई शिखर इन्स्योरेन्स कम्पनीले भने अवसरका रूपमा परिणत ग-यो । भूकम्पले पु-याएको क्षतिको दाबी भुक्तानी गरेरै धेरै अनुभव बटुलेको कम्पनीको व्यवसाय अहिले ५० प्रतिशतले बढेको छ । अप्रत्याशित रूपमा गएको भूकम्प र त्यसपछि बिमा कम्पनीहरूले व्यहोर्नुपरेको अवस्थाको बारेमा शिखर इन्स्योरेन्सका कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेको अनुभव यस्तो छ :

भूकम्प अनुभव
०७२ वैशाख १२ मा भूकम्प जाँदा म आफ्नै कार्यालयको कार्यकक्षमा नै थिएँ । पहिलो कम्पन रोकिएपछि दौडिएर बरँडामा पुगे । जहाँबाट धरहरा देखिन्थ्यो । तर, बाहिर पुग्दा सो स्थानमा धरहरा थिएन, धुलैधुलो उडेको थियो । बरन्डामा बस्दा पनि कम्पन आइरहेको थियो ।

केही समयमापछि कम्पनी आउनेक्रम कम भयो र दौडेर भुइँतला हुँदै खुला ठाउँमा बसेँ । आफू सुरक्षित भएपछि परिवार र कर्मचारीसँग सम्पर्क गर्न थालेँ । भूकम्पनको पहिलो दिन सबैको बारेमा सोधपुछ गर्दै बित्यो । संयोगवश त्यो समयमा मलाई अर्को कम्पनीबाट आकर्षक प्रस्ताव आएको थियो । तर, भूकम्पकै कारण मैले शिखर छोड्न सकिनँ ।
पुनर्बिमकबाट सहयोग
भूकम्पको भोलिपल्ट कार्यालयमा हामी सबै असमञ्जसमा थियौँ । तर, जेसुकै भए पनि दाबी भुक्तानी गर्ने हो, बरु अन्तिम चेक नै किन बाँकी नहोस्, त्यसमा पनि हस्ताक्षर गरेर छाड्ने संकल्प गरेँ । त्यसपछि हामीले आफ्ना पुनर्बिमकसँग छलफल ग-यौँ । पुनर्बिमक कम्पनीले पनि हामीलाई सहयोग गर्दै आवश्यक सर्भेयर र अग्रिम भुक्तानी दिने प्रतिबद्धता जनाए । भूकम्प गएको १४औँ दिनमा हामीले पुनर्बिमकबाट अग्रिम भुक्तानी पनि पायौँ ।
डर देखाइनँ मैले
पहिलोपटकको भूकम्पपछि कार्यालय सामान्य हुँदै गइरहेको थियो । हामी कसरी भुक्तानी गर्ने भनेर योजना बनाउँदै थियाँै । तर, वैशाख २९ मा दोस्रोपटक ठूलो भूकम्प गयो । कार्यालयमा रहेका कर्मचारीहरू पनि सबै अतालिन थालेका थिए । त्यसपछि कर्मचारीले बिल्डिङबाहिर बसेरै कार्यालयको काम सुरु गरे । त्यस्तो अवस्थामा पनि हाम्रा कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गरे ।
बिमा समितिको उचित निर्णय
भूकम्पपछि बिमा समितिका तत्कालीन अध्यक्ष डा. फत्तबहादुर केसीले लिएको नेतृत्व सराहनीय छ । भूकम्पलगत्तै समितिले सबै कम्पनीहरूलाई ताकेता गर्दै आवश्यक सहयोग पनि ग-यो । कम्पनीहरूले स्वनिर्णयले सर्भेयर राख्न पाउने व्यवस्था, भूकम्पले क्षति भएको हो भनेर प्रमाणित गर्नुनपर्ने व्यवस्थाजस्ता कतिपय स्वनिर्णय गर्ने अवरोधलाई फुकाइदियो ।
त्यतिवेला समितिले लिएको नेतृत्वकै कारण धेरै पीडितहरूले भुक्तानी सहज रूपमा पाउन सफल भएका हुन् । बिमा समितिको ताकेताकै कारण भुक्तानी गर्न कम्पनीहरू बाध्य भए । जसको परिणाम बिमाक्षेत्रकै लागि फलदायी भयो ।
बिमितलाई राहत महत्वपूर्ण
भूकम्पपछि एकजना महिला रुँदै मेरो कार्यालयमा आउनुभयो । उहाँको श्रीमान् विदेशमा हुनुहुँदो रहेछ । भूकम्पका कारण ढल्किएको घर छिमेकीले भत्काऊ भनेर कराएछन् । त्यस्तो अवस्थामा मैले बिमितको रक्षा गर्नु कम्पनीको दायित्व हो भन्ने सम्झेँ ।
सोही कारण हामीले तत्काल उहाँलाई १० लाख रुपैयाँ अग्रिम भुक्तानी दियाैँ । त्यतिवेला उहाँले राहतको सास फेरेर जानुभयो । मैले सन्तुष्टि महसुस गरे । भूकम्पपछि हामी बिमितको घरघरमा पुग्यो । बिमितलाई भेटेर ढाडस दिने काम गर्दा उनीहरूले कम्पनीले भुक्तानी पनि गर्ने रहेछ भन्ने महसुस गरे । यो बिमा कम्पनीहरूका लागि ठूलो उपलब्धि भयो ।
बिमाको बारेमा कम जानकारी
भूकम्प गएपछि मानिसले बिमाको बारेमा बुझेकै रहेनछन् भन्ने मैले महसुस गरेँ । धेरै व्यक्तिले बैंकबाट कर्जा लिँदा बिमा अनिवार्य भएकै कारण बिमा गरेका रहेछन् । त्यो पनि आंशिक बिमा । अर्थात्, धेरै व्यक्तिले बिमालाई बैंकको पार्टका रूपमा बुझेका रहेछन् । मानिसको बुझाइमा बिमा बैंकसँग जोडिएर मात्रै आउने रहेछ । तर, त्यो अवस्थामा कतिपयलाई बुझायाैँ । कतिले बुझे र आगामी दिनमा पूरै बिमा गर्ने रुचि देखाए ।
भुक्तानी गरेरै व्यवसाय बढ्ने रहेछ
भूकम्पपछि कम्पनीहरूले सिकेको पहिलो पाठ भनेको भुक्तानी गरेरे मात्रै व्यवसाय बढ्ने रहेछ भन्ने हो । ढिलो भुक्तानी गरे नाफा आर्जन गर्न सकिन्छ भन्ने परम्परागत सोचाइमा परिवर्तन आएको छ । अझ दुःख परेको समयमा तत्काल भुक्तानी गर्न सक्नु कम्पनीको ठूलो उपलब्धि रहेछ । भूकम्पले कम्पनीहरूलाई सिकाएको यो ठूलो पाठ हो ।
भूकम्पपछि बढ्यो व्यवसाय
भूकम्पपछि बिमा कम्पनीहरूको व्यवसाय विस्तार भएको छ । शिखर इन्स्योरेन्सको मात्रै कुरा गर्ने हो भने भूकम्पअगाडि हाम्रा शाखा कार्यालय ३४ वटा थिए । तीन वर्षको अवधिमा ७५ पुगेको छ । हामीले अझै १० वटा शाखा सञ्चालनका लागि समितिमा निवेदन दिएका छौँ । भूकम्पअगाडि बिमाशुल्क आम्दानी १ अर्ब ३५ करोड थियो ।
तर, गत आवमा कम्पनीले २ अर्ब ७५ करोड बिमाशुल्क आम्दानी गरेको छ । भूकम्पअगाडि कम्पनीले १ लाख ५५ हजार बिमालेख जारी गरेको थियो भने गत आवको अन्त्यसम्ममा २ लाख ६५ हजार जारी गरेको छ । भूकम्प हाम्रा लागि अवसर साबित भएको छ । हामीले समयमा नै भुक्तानी गरी दुःखलाई अवसरमा परिणत ग-यौँ ।
भूकम्पलाई बिर्सिए मानिसले
भूकम्पपछि नेपालमा बिमाको दायरा बढ्नेछ भन्ने हामीलाई लागेको थियो । तर, हामीले अपेक्षा गरेअनुसार भएन । सुरुवात धेरै मानिसले फोन गरेर जानकारी लिए । तर, अहिले मानिसले भूकम्पलाई बिर्सिएका छन् । भूकम्पपछि परेको आर्थिक र मानसिक पीडा पनि बिर्सिएका छन् । अब नेपालीलाई भूकम्प १० वर्षपछि मात्रै आउँछ भन्ने लागेको छ ।
अन्डर इन्स्योरेन्सको क्रम अझै घटेन
भूकम्पको समयमा धेरै मानिसले आंशिक बिमा गरेको भेटियो । जसले गर्दा धेरै बिमित दुःखी भए । अन्डर इन्स्योरेन्स भनेको सम्पतिको वास्तविक मूल्यभन्दा कमको बिमा गर्ने प्रक्रिया हो । अर्थात्, बिमितले आफूले कर्जा लिएको रकमको मात्रै बिमा गरेको भेटियो ।
अधिकांश बिमितले नबुझेर यस्तो गरेको देखियो । तर, भूकम्पबारे हामीले धेरैलाई सम्झायौँ । आंशिक बिमा गर्दा पूर्ण सुरक्षा हुँदैन भनेर । तर, अझै पनि अन्डर इन्स्योरेन्स जारी हुने क्रम घटेको छैन ।
http://www.enayapatrika.com/2018/04/25/43480/

No comments:

Post a Comment