Wednesday, April 25, 2018

भूकम्पमा दाबीको ९८ प्रतिशत बिमा भुक्तानी

मुना कुँवर काठमाडौं, १२ वैशाख | बैशाख १२, २०७५ 

व्यक्तिगत घरको बिमा गर्ने ट्रेन्ड बढेन
२०७२ वैशाख १२ गते मध्याह्न ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पले ८ हजार ९ सय ७९ जनाको ज्यान लिएको थियो । २२ हजार ३ सय ९ व्यक्ति घाइते बनाएको भूकम्पले ७ खर्ब ६ अर्ब रुपैयाँबराबरको भौतिक सम्पत्तिको क्षति भएको राष्ट्रिय योजना आयोगको तथ्यांक छ ।
३ वर्षअघि गएको सो भूकम्पमा धेरै मानवीय तथा भौतिक क्षतिसँगै नेपालको बिमा क्षेत्रले धेरै कुरा सिक्ने मौका पायो । भूकम्पपछि नेपालको बिमा कम्पनी धरासायी हुने धेरैले अनुमान गरेका थिए । तर, यो ३ वर्षको अवधिमा अधिकांश कम्पनीले दाबीको भुक्तानी गरिसकेका छन् । नेपालको परिप्रेक्ष्यमा कम्पनीहरूले गरेको यो भुक्तानी सह्रानीय भएको बिमा समितिका निर्देशक राजुरमण पौडेल बताउँछन् ।

जीवन बिमा कम्पनीको शतप्रतिशत भुक्तानी
समितिको तथ्यांकअनुसार जीवन बिमा कम्पनीहरूमा सो अवधिको ३ सय ६० वटा दाबी आएको थियो । सो दाबीबराबर ९ करोड १५ लाख रुपैयाँ २०७३ पुसमा नै जीवन बिमा कम्पनीहरूले भुक्तानी गरिसकेका छन् ।
निर्जीवन कम्पनीद्वारा ९८ प्रतिशत भुक्तानी
निर्जीवन कम्पनीहरूमा परेको दाबीमध्ये संख्याका आधारमा ९८ दशमलव ३२ प्रतिशत भुक्तानी भइसकेको छ । त्यस्तै, रकमका आधारमा भने ८३ दशमलव १३ प्रतिशत भुक्तानी भएको छ । सो समयमा १६ अर्ब ६९ करोडबराबरको १७ हजार ८ सय बिमा दाबी परेको थियो । ती दाबीमध्ये १७ हजार ५ सय १ वटा दाबीबाट १३ अर्ब ८७ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । भुक्तानी गरिएको रकममध्ये कम्पनीहरूले ८ अर्ब ८ करोड रुपैयाँ पुनर्बिमा कम्पनीबाट पाएका थिए ।
निर्जीवन बिमा कम्पनीहरूमा परेका दाबीमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स कम्पनीले शतप्रतिशत भुक्तानी गरिसकेका छन् । लुम्बिनीले ८ सय ८० वटा दाबीबराबर २५ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, एभरेस्टले १ सय ६२ दाबीको १४ करोड ७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।
यस्ता दाबीको भुक्तानी बाँकी
दाबी रकमका आधारमा बिमा कम्पनीहरूले ८३ प्रतिशत रकम भुक्तानी गरेका छन् । १७ प्रतिशत रकम भने भुक्तानी हुन बाँकी रहेको बिमा विज्ञ भोजराज शर्माले बताए । उनका अनुसार जटिल किसिमका र विचाराधीन अवस्थामा रहेका दाबीको मात्रै भुक्तानी हुन बाँकी छ । त्यसमा पनि करिब १ अर्ब रुपैयाँ कम्पनीले पटके बिमा गर्दा देखिएको दोहोरो दाबीको तथ्यांक रहेको उनको भनाइ छ ।
अग्निअन्तर्गत नै भूकम्प बिमा राख्दा राहत
२०७० सालमा बिमा समितिले भूकम्प बिमालाई बेसिक बिमा बनाएको थियो । सोही कारण भूकम्पको समयमा भएको क्षतिको क्षतिपूर्तिस्वरूप धेरै बिमितले भुक्तानी पाए । यदि तत्कालीन समयमा भूकम्पलाई बेसिक बिमा नगराएको भए ५ अर्बजतिको मात्रै दाबी हुने बिमा विज्ञ शर्माले बताए ।
‘भूकम्पको बिमा गर्नुपर्छ भन्ने विषयमा मानिस सचेत नै थिएनन् । केही गैरसरकारी संस्थाले बिमा गर्दा मात्रै यस्तो जोखिमको सुरक्षण गर्थे,’ उनले भने, ‘तर, हामीले भूकम्पको अनुमान गरी अग्नि बिमाको साथमा भूकम्प बिमालाई पनि बेसिक बनायौँ ।’ समितिको यस्तो प्रावधानले कुनै पनि भौतिक सम्पत्तिको बिमा गर्दा भूकम्प बिमा पनि अनिवार्य खरिद गर्नुपथ्र्यो ।
भूकम्पपछिको अवसरलाई क्यास गर्न सकेनन् कम्पनीहरूले
भूकम्पको अवसरलाई कम्पनीहरूले क्यास गर्न नसकेको बिमा विज्ञ शर्माको धारणा छ । कम्पनीहरूको लागि भूकम्प ठूलो अवसर थियो । अहिलेसम्म हरेक घरको बिमा भइसक्नुपथ्र्यो । अभिकर्ताले मिहिनेत गर्न चाहेनन् । कम्पनीहरू व्यावसायिक भवन, कर्पोरेट भवन र इन्डस्ट्रिजमा मात्रै केन्द्रित भए, व्यक्तिको घरमा पुगेनन् । ऋण गरेर घर बनाएको प्रत्येक व्यक्तिलाई बिमा आवश्यक छ ।
अब मोबाइल एपबाटै भुक्तानी दाबी
एनपी प्रधान, प्रमुख कार्यकारी अधिकृत, लुम्बिनी जनरल इन्स्योरेन्स
दाबीको समयमै भुक्तानी गरेर नै व्यवसाय बढ्ने रहेछ । भूकम्पपछि हामी बिमितको घरमै पुगेर १८ महिनामै सबै दाबी भुक्तानी गर्न सफल भयौँ । भुक्तानीको प्रक्रियालाई अझ सरल बनाउन हामीले स्मार्ट भुक्तानी योजना पनि सुरु गरेका छौँ ।
अब मोबाइल एपबाट नै बिमितले दाबी गर्न सक्नेछन् । बिमा गरिएको सम्पत्ति क्षति भएमा बिमितले एपको माध्यमबाटै घटनाको विवरण पठाउन सक्छन् । कागजपत्र सबै पुगेको अवस्थामा ७ दिनमा मृत्युको दाबी भुक्तानी र १५ देखि ३० दिनमा अन्य दाबीको भुक्तानी गर्ने योजनामा छौँ ।

http://www.enayapatrika.com/2018/04/25/43479/


No comments:

Post a Comment