Monday, April 23, 2018

दुर्गम जाँदैनन् जीवन बिमा कम्पनी

मुना कुँवर/नयाँ पत्रिका काठमाडौं, ९ वैशाख
कर्णाली प्रदेशमा न्यून, ३ नम्बर प्रदेशमा उच्च बिमा पहुँच
जीवन बिमा कम्पनीहरूले आफ्ना अभिकर्ता गाउँ–गाउँ पसेको दाबी गरिरहँदा तथ्यांकले भने कम्पनीहरू सहरमै केन्द्रित रहेको देखाएको छ । विशेष गरी पहाडी क्षेत्रमा जीवन बिमाको पहुँच अत्यन्तै न्यून देखिएको छ । उक्त क्षेत्रमा कम्पनीहरूको उपस्थिति कम हुँदा बिमा पहुँच पनि पुग्न नसकेको हो ।
तथ्यांकअुनसार चालू आर्थिक वर्ष ०७४/७५ को फागुन मसान्तसम्ममा कर्णाली प्रदेशमा ५७ हजार २० वटा मात्र बिमालेख जारी भएका छन् । यो संख्या कुल बिमालेखको २.६१ प्रतिशत हो । त्यस्तै, कम्पनीहरूले १ अर्ब ८४ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । यो कुल बिमाशुल्कको २.२७ प्रतिशत मात्रै हो । हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालीकोट, दैलेख, जाजरकोट, रुकुम (पश्चिम), सुर्खेत र सल्यान १० जिल्ला रहेको ६ नं. प्रदेशमा जीवन बिमा कम्पनीहरूको शाखा संख्या ५३ रहेको छ ।

प्रदेश नं. ३ मा थुप्रिए कम्पनी
तथ्यांकअनुसार प्रदेश नम्बर ३ मा जीवन बिमा पहुँच सबैभन्दा बढी देखिएको छ । उक्त प्रदेशमा ९ लाख १९ हजार ६ सय २९ वटा बिमालेख जारी भएका छन् । यो संख्या कुल बिमालेखको करिब ४२ प्रतिशत हो । सो क्षेत्रबाट कम्पनीहरूले सबैभन्दा बढी ३२ अर्ब २७ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । यो रकम कम्पनीहरूले संकलन गरेको बिमाशुल्कको ४० प्रतिशत हो । उक्त क्षेत्रमा जीवन बिमा कम्पनीका शाखा तथा उपशाखा संख्या २ सय १८ वटा छन् । प्रदेश नम्बर तीनमा चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्ला पर्छन् ।
दोस्रोमा पर्‍यो १ नम्बर
कम्पनीहरूको तथ्यांकअनुसार बिमा पहुँचका आधारमा १ नम्बर प्रदेश दोस्रोमा परेको छ । उक्त प्रदेशमा कम्पनीहरूको ३ लाख २९ हजार ९ सय ६८ वटा बिमालेख जारी गरेका छन् । यो संख्या कुल बिमालेखको १५ प्रतिशत हो । त्यस्तै, कम्पनीहरूले ११ अर्ब ५४ करोड रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । यो रकम कुल बिमाशुल्कको १४ प्रतिशत हो । सो प्रदेशमा कम्पनीको शाखा कार्यालय १ सय ६३ पुगेका छन् ।
सामान्य छ प्रदेश २ को अवस्था
प्रदेश नम्बर २ मा जीवन बिमा कम्पनीहरूको हिस्सा करिब ११ प्रतिशत रहेको छ । उक्त क्षेत्रमा कम्पनीहरूले २ लाख ५८ हजार ९ सय २३ वटा बिमालेख जारी गरेका छन् । त्यस्तै, चालू आवको फागुन मसान्तसम्ममा ८ अर्ब ७६ करोड बिमाशुल्क संकलन गरेका छन् । यो रकम कुल बिमाशुल्कको १०.८४ प्रतिशत हो । सो प्रदेशमा कम्पनीको शाखा कार्यालयको संख्या १ सय ३० पुगेको छ ।
यस्तो छ प्रदेश नम्बर ४ मा
प्रदेश नम्बर ४ मा बिमा कम्पनीहरूको उपस्थिति तुलनात्मक रूपले कम देखिएको छ । तथ्यांकअनुसार उक्त क्षेत्रमा कम्पनीहरूले हालसम्म १ लाख ४८ हजार २ सय २३ बिमालेख जारी गरेका छन् । यो संख्या कुल बिमालेखको करिब ७ प्रतिशत हो । त्यस्तै, सो क्षेत्रबाट कम्पनीहरूले ७ अर्ब १४ करोड रुपैयाँ आम्दानी गरेका छन् । यो रकम कुल बिमाशुल्कको करिब ९ प्रतिशत हो । सो प्रदेशमा कम्पनीको शाखा ८१ वटा मात्रै पुगेका छन् ।
कम्पनीहरूको रोजाइ प्रदेश नम्बर ५
तथ्यांकअनुसार प्रदेश पाँचमा कम्पनीहरूले २ लाख ९९ हजार ४ सय १६ बिमालेख जारी गरेका छन् । यो संख्या कुल बिमालेखको करिब १४ प्रतिशत हो । त्यस्तै, उक्त क्षेत्रबाट कम्पनीहरूले हालसम्म १३ अर्ब ५ करोड बिमाशुल्क संकलन गरेका छन् । यो रकम कुल बिमाशुल्कको १६ प्रतिशत हो । उक्त प्रदेशमा १ सय ४९ वटा कम्पनीको शाखाको उपस्थिति रहेको छ ।
प्रदेश ७ मा ७ प्रतिशत हिस्सा
कम्पनीहरू जारी गरेको कुल बिमालेखमध्ये ७ नम्बर प्रदेशमा ७ प्रतिशत बिमालेख मात्रै जारी भएको छ । तथ्यांकअुनसार सो प्रदेशमा कम्पनीहरूको १ लाख ७१ हजार बिमालेख जारी गरेका छन् । त्यस्तै, उक्त क्षेत्रबाट कम्पनीहरूले ६ अर्ब १४ करोड बिमाशुल्क संकलन गरेका छन् । यो रकम कुल बिमाशुल्कको करिब साढे ७ प्रतिशत हो । सो प्रदेशमा बिमा कम्पनीका १ सय १८ वटा शाखा कार्यालय रहेका छन् ।
नेपालमा जीवन बिमाको इतिहास
नेपालमा बिमा व्यवसायको सुरुवात ०२५ सालबाट नै भए पनि जीवन बिमा व्यवसाय भने ०२९ देखि मात्रै सुरु भएको हो । निर्जीवन बिमा व्यवसायका लागि स्थापना भएको राष्ट्रिय बिमा संस्थानले नै जीवन बिमा व्यवसायको पनि सुरुवात गरेको थियो । निजी क्षेत्रबाट ०४६ सालमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बिमा व्यवसाय सुरु गरेको हो । ०५८ सालमा नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन तथा मेटलाइफले पनि व्यवसाय सुरु गर्‍यो । ०६४ सालमा अन्य ४ वटा कम्पनी (गुराँस, सूर्या, प्राइम, एसियन)ले पनि जीवन बिमा व्यवसाय सुरु गरे । चालू आवमा थप ९ वटा कम्पनीले जीवन बिमा व्यवसायको अनुमति पाएका छन् । हाल नेपालमा १८ वटा जीवन बिमा कम्पनी सञ्चालित छन् ।
क्षेत्र तोकेर खटाउनुपर्छ
डा. रवीन्द्र घिमिरे, बिमाविज्ञ
सरकारले बिमा कम्पनीहरूलाई प्रस्ट रूपमा क्षेत्र नै तोकेर काम गर्न निर्देशन दिनुपर्छ । दुर्गम क्षेत्रमा जाँदा उनीहरूको सञ्चालन खर्च बढ्छ । त्यसैले उनीहरू सुगम क्षेत्रमा नै केन्द्रित भएका हुन् । दुर्गम क्षेत्रमा जाने कम्पनीलाई इन्सेन्टिभको व्यवस्था गर्नुपर्छ । त्यस्तै, अभिकर्तालाई पनि थप कमिसनको व्यवस्था गर्नुपर्छ । त्यस्तो क्षेत्रका बिमितलाई बिमा गरेबापत थप सुविधा पनि दिनुपर्छ । करमा मात्रै छुट दिएर हुँदैन । अन्य छुट दिएर भए पनि आकर्षित गर्नुपर्छ ।
‘अभिकर्तालाई प्रोत्साहन’
डा. दामोदर बसौला, बिमाविज्ञ
नियमनकारी निकायले दुर्गम क्षेत्रमा बिमा गराउन कम्पनीहरूलाई अनिवार्य गराउनुपर्छ । कम्पनी विस्तार गरेर मात्रै हुँदैन । सबै प्रदेशमा कम्पनी विस्तार गर्न पनि लगाउनुपर्छ । अभिकर्तालाई प्रोत्साहित गर्ने खालका कार्यक्रमको आयोजना गर्नुपर्छ । स्थानीय निकायसँग समन्वय गरेर समितिले बिमासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
http://www.enayapatrika.com/2018/04/23/42947/

No comments:

Post a Comment